एसईई परीक्षाको नतिजाले देशभर सबैभन्दा धेरै विद्यार्थी गणितमा कमजोर देखिएका छन् । बिहीबार सार्वजनिक परीक्षाफलमा गणितमा ननग्रेडिङ (एनजी) हुने विद्यार्थीको संख्या १ लाख ७७ हजार ९८५ छ । गणितपछि विज्ञानमा १ लाख २६ हजार ९३३ को एनजी आएको छ ।
राष्ट्रिय परीक्षा बोर्डका अनुसार, अग्रेजीमा अनुत्तीर्ण हुनेको संख्या १ लाख १ हजार ३८३ छ भने सामाजिकमा ७३ हजार ८७७ विद्यार्थी ननग्रेडिङमा परेका छन् ।
बहुुसंख्यक विद्यार्थी मातृभाषा नेपालीमै पनि ठूलो संख्यामा असफल भएका छन् । बोर्डका अनुसार, नेपालीमा ६९ हजार ५३२ विद्यार्थी ननग्रेडिङमा परेका छन् । त्यस्तै, अर्थशास्त्रमा ६९ हजार ४१६ विद्यार्थी एनजीमा परेका छन् भने ऐच्छिक गणितमा २० हजार ३५२ विद्यार्थी असफल भएका छन् ।
गत चैतमा लिइएको परीक्षामा ५२ दशमलव १४ प्रतिशत अर्थात् २ लाख ४२ हजार ३ सय १३ विद्यार्थी ननग्रेडिङमा परेका हुन् । तीमध्ये दुई विषयमा एनजी आएका विद्यार्थीले मौका परीक्षा दिन पाउनेछन् । त्यस्ता विद्यार्थीका लागि १८ र १९ साउनमा पूरक परीक्षा तोकिएको छ ।
ग्रेडिङ प्रणालीमा सैद्धान्तिक परीक्षामा ३५ र प्रयोगात्मकमा ४० प्रतिशत ल्याउनुपर्ने व्यवस्थाले धेरै विद्यार्थी ननग्रेडिङमा परेको बोर्डको प्रारम्भिक विश्लेषण छ ।
प्रकाशित मिति: बिहीबार, असार १३, २०८१ १९:२६