निर्माण व्यवसायीहरूको गुनासोलाई महालेखापरीक्षक कार्यालयले सुन्नुपर्ने सरोकारवालाहरूले बताएका छन् । आइतबार नेपाल निर्माण व्यवसायी महासंघले काठमाडौंमा आयोजना गरेको पूर्वाधार विकास सुशासनमा बेरुजु न्यूनीकरण विषयक संवाद कार्यक्रममा बोल्दै सरोकारवालाहरूले यस्तो बताएका हुन् ।
उनीहरूले निर्माण व्यवसायीहरूका गुनासोलाई पनि महालेखाले सुनुवाइ गरिदिन आवश्यक रहेको बताए । उनीहरूले निर्माण व्यवसायीहरूको बद्मासी भए पनि व्यवसायीहरूलाई चित्त बुझाएर पठाउन सक्नुपर्ने बताए । कार्यक्रममा बोल्दै प्रतिनिधसभाकाे पूर्वाधार विकास समिति सभापति दीपकबहादुर सिंहले मुलुकमा युवा र उद्योगी व्यवसायीहरूसमेत विदेशीयको भन्दै नेपालमा राजनीतिक पार्टीले डामेका उपभोक्ता समितिका साँढेबाहेक कोही नभएको टिप्पणी गरे । उनले मुलुक निर्माणकाे जिम्मा निर्माण व्यवसायीहरूको काँधमा आएकाले महालेखापरीक्षक कार्यालयले गुनासो सुन्न आवश्यक रहेको बताए ।
उनले मुलुकका भएको भ्रष्टाचार तलबाट नभई माथिबाट रोक्न जरुरी रहेको बताए । उनले नेपाल सरकारका सचिवहरूले रिटार्यड भएको पाँच वर्षसम्म विदेशी संस्थाहरूमा काम गर्न नपाउने कानुनी व्यवस्था गर्न आवश्यक रहेको बताए ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव गोपाल सिग्देलले खरिद नियमावलीमा भएको खरिदका विभिन्न विधिको कारणले पूर्वाधार विकास र सुशासनमा बेरुजु वृद्धि भइरहेको बताए । उनले पूर्वाधार विकासमा उस्तै प्रकृतिका काम भएर पनि बेरुजु बढेको बताए । उनले सरकारको ८० प्रतिशत भुक्तानी हुने बेलासम्म पेश्की फछ्र्यौट भइसक्नुपर्ने भने पनि अवधि नभनेको तर त्यहाँ अवधि मानेर बेरुजु निकाल्ने काम भएको उल्लेख गरे ।
सचिव सिग्देलले निर्माण व्यवसायी कम्पनीको फल्टको कारणले म्याद थप नहुने बताए । उनले निर्माण कम्पनीको फल्ट भन्दा पनि कामदारको फल्ट भएकाले त्यस्ता आयोजनाहरूमा म्याद थप दिन आवश्यक रहेको बताए
नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले बेरुजुमा निर्माण व्यवसायीहरू तेस्रो पक्ष नभएको बताए । उनले बेरुजुले निर्माण व्यवसायीहरूलाई प्रत्यक्ष असर पर्ने उल्लेख गरे । उनले बेरुजु फछ्र्यौट गर्ने भनेर असुलउपर गर्ने प्रक्रिया पनि गलत रहेको बताए । उनले सम्बन्धित कार्यालय, सम्बन्धित लेखा अधिकृतलाई जिम्मेवार बनाउने भने पनि सिधा असर निर्माण व्यवसायीलाई भएको बताए । उनले निर्माण व्यवसायीहरूको घर खेत गएर समाप्त भइरहेको दाबी गरे । उनले डकुमेण्टमा भएका विषय पालना गर्दा बेरुजु उठ्छ भने डकुमेण्ट बन्ने प्रक्रियालाई सुधार गर्न आवश्यक रहेको बताए ।
प्रकाशित मिति: आइतबार, असार २, २०८१ १६:१२