१८ वर्षदेखि निरन्तर पार्टी नेतृत्वमा छन् जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव । तर उनको उदय एक चामत्कारिक नेताका रूपमा भए पनि अहिले भने उनको अवस्था दयनीय बनिरहेको छ । २०६४ को संविधानसभा चुनावमा ५३ सिट जितेर मधेशकेन्द्रित दलमध्ये सबैभन्दा ठूलो दल मात्र बनाएका थिएनन्, उनले केन्द्रीय सत्तालाई संघीयतामा ल्याउन झुकाएका पनि थिए । यो १८ वर्ष निरन्तर पार्टीको नेतृत्वमा रहेका उनी अहिले जसपा नेपालमा निर्विकल्प त भएका छन्, शक्ति भने निकै क्षीण भइसकेको छ ।
३१ जेठमा सकिएको महाधिवेशनपछि उनले झन् शक्ति केन्द्रित गरेका छन् । महाधिवेशनबाट आफू सर्वसम्मत अध्यक्ष चयन भए, अन्य पदाधिकारी र केन्द्रीय सदस्यको चयन पनि आफैँ गर्ने म्यान्डेट लिएका छन् ।
एकल नेतृत्व
उपेन्द्र यादव जसपा नेपालका निर्विकल्प अध्यक्ष बनेका छन् । उनले पार्टी महाधिवेशन पनि यस्तो समयमा गरेका छन् कि १२ जना सांसद भएको पार्टी विभाजन भएर उनको पक्षमा ५ जना मात्र छन् । नेतृत्वका लागि उनीसँग प्रतिस्पर्धा गर्न सक्ने नेताहरू पार्टी विभाजन गरी गएपछि उनले महाधिवेशन गरे । उनीभन्दा राजनीतिमा धेरै सिनियर नेता अशोक राईको नेतृत्वमा जसपा नेपाल विभाजन भई जसपा बनेको अवस्थामा यादवले पार्टीको महाधिवेशन गरेका हुन् ।
संसदीय राजनीतिमा भाग लिँदा यादवको तत्कालीन पार्टी मधेशी जनाधिकार फोरमले पहिलोपटक नै ५३ सिट जितेको थियो । पहिलो संविधानसभाको चुनावमा पाएको यो सफलता उपेन्द्रले फेरि दोहोर्याउन सकेका छैनन् ।
मधेशी सेन्टिमेन्टको राजनीति गरेका यादवले समयक्रमसँगै जति पार्टी विभाजनको पीडा भोगेका छन्, त्यति नै अरु पार्टी वा नेताहरूलाई पार्टीमा ल्याएका पनि छन् । तर, उनीसँग नेताहरू भने लामो समय टिक्न सकेका छैनन् । सबैले उनलाई छाड्दै गएका छन् ।
राजनीतिक दलको मुख्य नेतृत्वले विचार, नीति, जनताका समस्यामा भन्दा पदमा ध्यान दिँदा, नेतृत्वको व्यवस्थापन गर्न नसक्दा विभाजन हुने गरेको राजनीतिक विश्लेषक विजयकान्त कर्ण बताउँछन् । उनले भने, ‘राजनीतिक दलका मुख्य नेतृत्वले नै विचार छोड्दै जानु, राजनीतिक मुद्दाहरू ओझेल पारेर पद प्रमुख बन्नु, विचारधाराभन्दा पदका कारण एकता गर्ने प्रवृत्तिले राजनीतिक दलहरू छिट्टै विभाजन हुन्छन् । एकले अर्काको साथ छोड्छन् । त्यही यो पार्टीमा पनि भइरहेको छ ।’
पहिलो संविधानसभामा मधेशकेन्द्रित राजनीतिक दलहरूको राम्रो उपस्थिति थियो । दोस्रो संविधानसभा निर्वाचनपछि कमजोर बन्दै गयो । जबकि नेपालमा संघीयता ल्याउनमा मधेश आन्दोलन र उपेन्द्र यादवको मुख्य भूमिका मानिन्छ । देशमा संघीयता ल्याउन मुख्य भूमिका खेलेको र मधेशको प्रतिनिधित्व गर्दै संघीय राजनीतिमा हस्तक्षेपसम्म गरेको उपेन्द्र यादव नेतृत्वको पार्टी जतिपटक एकतामा गयो त्यतिपटक नै विभाजन भयो । यसको धुरी यादव बनिरहे ।
सबैभन्दा पहिला उपेन्द्रले अहिले साथ छोडेका राईसँग पार्टी एकता गरेका थिए । २२ जेठ २०७२ मा तत्कालीन मधेशी जनअधिकार फोरम नेपाल र अशोक राई नेतृत्वको संघीय समाजवादी पार्टी नेपालबीच एकीकरण भयो । पार्टीको नाम संघीय समाजवादी फोरम नेपाल राखियो ।
राजनीतिमा उपेन्द्र एमालेको सामान्य कार्यकर्ता हुँदा राई केन्द्रीय नेता थिए । तर, एकतापछि उपेन्द्रले आफूभन्दा धेरै सिनियर राईलाई वरिष्ठ नेता मात्र बनाए । भर्खर एमाले छोडेका राई उपेन्द्रलाई नेता मानेर बसे । राईले उपेन्द्रसँग एकता गर्नुको मुख्य कारण एमाले छाडेर बनाएको संघीय समाजवादी पार्टीले दोस्रो संविधानसभाको चुनावमा पाएको असफलता थियो । उता पहिलो चुनावमा जस्तो उपेन्द्रले पनि दोस्रो चुनावमा सफलता पाएका थिएनन् । त्यसैले यी दुई नेताबीच एकता सम्भव भएको थियो ।
राईसँग पार्टी एकीकरण गरेपछि २०७५५ साल माघ २८–३० सम्म जनकपुरमा एकता महाधिवेशन गर्ने निर्णय गरेको थियो । तर तोकिएको समयमा यादवले महाधिवेशन गर्न चाहेनन् । त्यसपछि अर्को मिति २०७६ वैशाखका लागि तय गरे । त्यो समयमा पनि यादवलाई राईले चुनौती दिइहाल्छन् कि भनेर डर रहेको बताइन्छ ।
२०७६ सालमा हुने भनिएको महाधिवेशन बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्तिसँग एकता गरेर टारेका थिए उपेन्द्रले । सिनियर नेताहरू सँगै हुँदा महाधिवेशन टार्दै आएका यादवले पार्टीबाट सबै सिनियर नेताहरूले छोड्दै गएपछि भने महाधिवेशन गरेका छन् । अझ पार्टी विभाजन भएको एक महिना नपुग्दै महाधिवेशन गरेका छन् ।
यादवसँग सबैभन्दा लामो समय टिकेका नेता राई नै हुन् । उनको साथ सबैभन्दा छिटो मधेशवादीहरूले नै छोडेका छन् ।
गच्छदार र गुप्ताले छोडे साथ
मधेश आन्दोलनको रापतापमा कांग्रेस छाडेर विजय गच्छदार उपेन्द्रको पार्टीबाट चुनाव लडे । पहिलो संविधानसभामा उनी कांग्रेसले दिएको उम्मेदवारीको टिकट त्यागेर उपेन्द्र यादवसँग मिसिएका थिए । तर, गच्छदार र उपेन्द्रबीचको सहयात्रा २५ साउन २०६६ मा टुंगियो । गच्छदारले मधेशी जनाधिकार फोरम लोकतान्त्रिक नामको पार्टी बनाए । मधेशी जनाधिकार फोरम विभाजित भयो ।
त्यसको दुई वर्षपछि फेरि कांग्रेस पृष्ठभूमिका जयप्रकाश प्रसाद गुप्ताले मधेशी जनाधिकार फोरम विभाजित गरे । फोरमले पार्टीको आकार नलिँदै अभियानका रूपमा उपेन्द्र र गुप्ताबीच सहकार्य थियो । तर, संविधानसभामा सरकार बनाउने र ढाल्ने खेलले उनीहरूको सहकार्य टुट्यो । यसअघि नै सानो टिम लिएर पार्टीबाट पहिलोपटक भाग्यनाथ गुप्ता बाहिरिएका थिए । त्यसपछि गच्छदार र गुप्ताले पार्टी फुटाएका थिए ।
मधेशवादी नेता टिकाउनै सकेनन्
संविधानसभाको चुनावको अघि र पछि राजनीतिक रुपमा विभिन्न विचारधाराबाट उदाएका मधेशवादी नेताहरूले नेतापिच्छे नै पार्टी खोल्ने होड चल्यो । केही नेताहरू कांग्रेस छोडेर मधेशकेन्द्रित दल खोल्न थाले । त्यसअघि नै मधेशमा नेपाल सद्भावना पार्टी संगठित थियो । बिस्तारै त्यो दल पनि विभाजन हुँदै गयो ।
उता माओवादी छोडेर बसेका उपेन्द्रलाई पनि राष्ट्रिय राजनीतिमा उदाउनु थियो । सात राजनीतिक दलहरू र माओवादी रहेको अन्तरिम संसद र सरकार थियो । त्यही समयमा अन्तरिम संविधान जारी भयो । अन्तरिम संविधानको विरोध गर्दै यादवको फोरमले १ माघ २०६३ मा माइतीघर मण्डलामा अन्तरिम संविधानको प्रतिलिपि नै जलायो । त्यसपछि उपेन्द्रको चर्चा सुरु भयो ।
लामो समय राजनीति गर्दै आएका महन्थ ठाकुर र राजेन्द्र महतोबीच मधेशमा वर्चस्वको लडाइँ थियो । एकले अर्काको अस्तित्व स्वीकार्दैनथे । त्यसमा थपिए उपेन्द्र । उपेन्द्रले संघीयताको माग राखी आन्दोलन चर्काएपछि तत्कालीन सरकारले संघीताको माग पूरा गर्ने सम्झाैता गर्यो । यसबाट उपेन्द्र मधेशका सबैभन्दा ठूला र लोकप्रिय नेता भए ।
संविधानसभाबाट संविधान जारी भएपछि भने मधेशकेन्द्रित दलहरू अस्तित्व जोगाउनै संकटमा परे । २०७४ को चुनावपछि मधेशकेन्द्रित दलहरू संकटमा रहेका बेला उपेन्द्रको संघीय समाजवादी पार्टी विभाजन हुने चर्चा चल्यो । तत्कालीन ओली सरकारले पार्टी विभाजन गर्न सहज हुने गरी अध्यादेश ल्याएपछि मधेशवादी दलहरू रातारात एकता गर्न तयार भए ।
१० वैशाख २०७७ मा राति महन्थ ठाकुर, राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय जनता पार्टी र उपेन्द्र यादवको जनता समाजवादी पार्टीबीच एकता भयो । पार्टीको नाम जनता समाजवादी पार्टी राखियो । तर, उपेन्द्रको हेपाहा प्रवृत्तिले २०७८ साल भदौमा ठाकुर र महतोलगायतले पार्टी विभाजन गरे ।
उनको हेपाहा प्रवृत्तिका कारण उनीसँग मधेशवादी नेताहरू टिक्न नसकेको आरोप लाग्ने गरेको छ । राजनीतिक दलहरूमा पदका लागि एकता गर्ने र नेताहरूको पदको व्यवस्थापन हुन नसकेपछि फुट्ने गरेको कर्ण बताउँछन् । उनले भने, ‘विचार र मुद्दाभन्दा पद बढी महत्त्वपूर्ण भएपछि राजनीतिमा एकता दीर्घकालीन हुँदैन । नेतृत्वले आफैँ मात्र सबै थोक हो भनेपछि अरुले स्वीर्कादैनन् । विभाजन हुन्छ ।’
बाबुरामलाई पनि हेप्न थाले
२०७६ साल वैशाखमा बाबुराम नेतृत्वको नयाँ शक्ति र यादव नेतृत्वको संघीय समाजवादी फोरमबीच पार्टी एकता भएको थियो । एकतापछि पार्टीको नाम संघीय समाजवादी पार्टी राखियो । बाबुराम भट्टराई र उपेन्द्र यादव दुवै पार्टी अध्यक्ष बने । भट्टराई संघीय परिषद् र यादव केन्द्रीय समिति अध्यक्ष भए ।
पूर्वप्रधानमन्त्री भट्टराईको साथ पाएपछि उपेन्द्रको पार्टी फस्टाउने आकलन गरिएको थियो । मधेशमा यादवको र पहाडमा भट्टराईको शक्ति राम्रो हुने र साच्चै नयाँ ढंगको पार्टी बन्ने अनुमान गरिएको थियो । तर यादवले मधेशी नेताहरूलाई हेपेजसरी भट्टराईलाई पनि हेप्न खोजेपछि विवाद बढ्न थालेको भट्टराईनिकट नेता ईश्वर रिजाल बताउँछन् ।
‘पार्टी एकता गरेपछि दुईपटक बाबुरामजीसहितको बैठक बोलाइएको थियो । त्यसपछि बैठक नै नबोलाउने आफूअनुकूल निर्णय गरेर हैरान बनाएका थिए,’ रिजाल भन्छन्, ‘बाबुरामजीलाई बैठकमा अतिथि बनाउनुपर्छ भनेर तीन वर्षमा दुई बैठकमा बोलाएका हुन् । पहिलो एकतापछि र त्यसपछि बीचमा एकपटक । कतिसम्म हेपाहा प्रवृत्ति थियो भन्ने यहीँबाट प्रस्ट हुन्छ । अनि को बस्छ उपेन्द्रसँग अपमानित भएर ?’
यादव र भट्टराईबीच विवाद बढेपछि भट्टराईले ३१ असार २०७९ मा पार्टी विभाजन गरे । जनता समाजवादी पार्टी (जसपा) नेपाल दोस्रोपटक विभाजन भयो । भट्टराईले केही मधेशवादी नेताहरूलाई उपेन्द्रबाट आफूसँग ल्याए, जसमा महिन्द्र राय यादव, रमेश यादवलगायत केही प्रभावशाली नेताहरू थिए । बाबुरामलाई टिकाइराख्नुभन्दा पनि उपेन्द्रले आफ्नो पार्टी फुटाएर बाहिर जाओस् भन्ने सोचेको आरोप लाग्ने गरेको छ ।
कुनै समयमा माओवादीको उच्च तहको नेतृत्व गरेका बाबुरामको कार्यकर्ता रहेका यादवले बाबुरामलाई नै हेप्न थालेपछि उनका कार्यकर्ता बैठकमा नै यादवको प्रतिकारमा उत्रेको रिजाल बताउँछन् । उनले भने, ‘बाबुरामसँग एकता गरेपछि उपेन्द्र आफूले ८४ वर्षका क्रान्ति योद्धासँग शपथ खाए तर बाबुरामलाई उपेन्द्रले शपथ खुवाए । उक्त कुरा हामीलाई पाच्य भएन । सुरुमा नै अपहेलना गरेको महसुस भयो । तर, बाबुरामले जोडबल गर्दा हामी केही समय बस्यौँ । अन्तिममा बस्न नसकिने भएपछि अलग भएका हौँ ।'
कतिपय महत्त्वपूर्ण निर्णय एक्लै गर्ने र पार्टीभित्रको असन्तुष्टि र गुनासोको समाधान नगर्ने नेताको छवि उपेन्द्रको छ । पार्टीभित्रका निर्णयहरू सामूहिकभन्दा पनि एकल रूपमा गर्दा नेताहरू उनीबाट टाढिएको राई नेतृत्वको जसपाका महासचिव मोहमम्द इस्तियाक राई बताउँछन् ।
यादवलाई चर्चामा ल्याउने गौर हत्याकाण्ड
१ माघ २०६३ मा माइतीघर मण्डलामा अन्तरिम संविधानको प्रतिलिपि जलाएको दुई महिनापछि ७ चैत २०६३ मा रौतहटको सदरमुकाम गौरमा माओवादीका २७ जना कार्यकर्ताको निर्मम ढंगले हत्या भयो । जसलाई गाैर हत्याकाण्ड भनिन्छ । घटनास्थलमै ज्यान गुमाउनेमा ५ महिला र २२ पुरुष थिए । त्यस्तै, ५३ जना घाइते भए ।
त्यस दिन तत्कालीन मधेशी जनाअधिकार फोरम र माओवादीले एकैठाउँ आमसभा राखेका थिए । उक्त आमसभामा फोरमले उपेन्द्र यादवलाई प्रमुख अतिथि बनाएको थियो । यादव त्यतिबेला फोरमका अध्यक्ष थिए ।
माओवादीले मात्र होइन मानवअधिकारवादी संस्था अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले समेत उक्त आक्रमण नियोजित र संगठित रूपमा भएको देखिएको जनाएको थियो । यो हत्याकाण्डको मुख्य आरोपीको रूपमा उपेन्द्र यादव रहेको मृतकका परिवारहरू बताउँदै आएका छन् । उपेन्द्रविरुद्ध अहिले पनि सर्वोच्च अदालतमा मुद्दा विचाराधीन छ ।
प्रकाशित मिति: शुक्रबार, जेठ ३२, २०८१ २०:२१