कोशी प्रदेशको आगामी आर्थिक वर्ष २०८१/८२ को नीति तथा कार्यक्रम मन्त्रिपरिषद्ले पारित गरेको छ । आइतबार मुख्यमन्त्री हिक्मत कार्कीको अध्यक्षतामा बसेको मन्त्रिपरिषद् बैठकले सोमबार प्रदेशसभामा पेस गर्ने नीति तथा कार्यक्रम स्वीकृत गरेको हो ।
भोलि सोमबार बस्ने गरी तोकिएको प्रदेशसभाको बैठकमा प्रदेश प्रमुख पर्शुराम खापुङले सरकारको नीति तथा कार्यक्रम पेस गर्नेछन् । 'आज मन्त्रिपरिषद्ले नीति तथा कार्यक्रम स्वीकृत गरेको छ,' मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्दै आन्तरिक मामिलामन्त्री लीलावल्लभ अधिकारीले भने, 'भोलि ४ बजे प्रदेश प्रमुखले सदनमा पेस गर्नुहुन्छ ।'
महालेखापरीक्षकको कार्यालयबाट प्राप्त प्रदेशको महालेखापरीक्षक प्रतिवेदनसमेत प्रदेशसभामा पेस गर्न मन्त्रिपरिषद्ले स्वीकृति दिएको छ ।
प्रकाशित मिति: आइतबार, जेठ २०, २०८१ १७:०६