करिब ७ हजार बचतकर्ताको झण्डै ६ अर्ब रुपैयाँ अपलचन गरेको आरोप थियो सीबी लामालाई । कान्तिपुर सेभिङ एण्ड क्रेडिट कोअपरेटिभका संस्थापक रही निरन्तर २४ वर्ष अध्यक्ष रहेका लामालाई उपत्यका अपराध अनुसन्धान कार्यालयले त्यही आरोपमा १८ जेठ अर्थात आज पक्राउ गरेको छ ।
तीन महिनादेखि फरार रहेका लामा काठमाडौंमा भने बस्ने गरेका थिएनन् । अपचलन थेगिन नसक्ने अवस्थामा पुगेपछि लामा काठमाडौंबाहिर नै बस्न थालेका थिए । खासगरी, भारत र नेपालको सीमा क्षेत्रमा बस्ने गरेका थिए । प्रहरीले उनलाई त्यसरी नै ट्रयाकिङ पनि गरेको थियो । सीमा क्षेत्रमा बसेर पक्राउ पर्नबाट जोगिँदै आएका लामा आज भने चितवनबाट प्रहरीको नियन्त्रणमा आए ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका वरिष्ठ प्रहरी उपरीक्षक सानकुमार भट्टराईका अनुसार पक्राउ परेका लामालाई काठमाडौं ल्याइँदैछ । शिलापत्रसँगको कुराकानीमा भट्टराईले लामालाई चितवनबाट पक्राउ गरिएकाे जानकारी दिए । भट्टराईले भने, ‘दुई/तीन महिनादेखि फरार रहेका लामा भारतीय सीमा क्षेत्रमा हुने गरेको पाइएको थियो । अहिले भने चितवनबाट पक्राउ परेका छन् । उनलाई काठमाडौं ल्याइँदैछ ।’
सहकारी क्षेत्रमा टाइकुनकै रूपमा रहेका लामा अहिले पशुपति सेभिङ एण्ड क्रेडिट कोअपरेटिभका अध्यक्ष थिए । कान्तिपुरको अलावा पशुपतिको पनि करिब २ अर्ब रुपैयाँ अपचलन गरेको आरोप लामामाथि छ । त्यसरी हेर्दा ८ अर्बभन्दा बढी सहकारीको रकम लामाले अपचलन गरेको देखिन्छ ।
लामाले कान्तिपुर सहकारीको बचत रकमलाई निजी प्रयोगमा उपयोग गरेको अध्ययनमा देखिएको छ । सहकारी रकमबाट निजी सम्पत्ति रिर्सोट, घरजग्गालगायतका निजी कम्पनीमा लगानी गर्दा एकातिर बचतकर्ताकाे रकमक दुरुपयोग भएको थियो भने अर्कातिर सहकारी उद्देश्यविपरीत लगानी भएको थियो ।
तर, लामाले सुरुवाती चरणबाट नै उन्मुक्ति पाउँदै आएका थिए । नेपालको ठूलो मध्येकै सहकारीमा गनिने कान्तिपुर सहकारीले १८ वटा स्थानबाट सेवा प्रवाह गर्ने गरेको थियो । शाखा विस्तारसमेत गरेर सेवा प्रवाह गरेका कारण बचतकर्ताको संख्या ह्वात्तै बढेको थियो जसले गर्दा बचत रकम पनि बढेको थियो । १४ हजारसम्म बचतकर्ता पुगेको कान्तिपुर सहकारीका लामाले राजनीतिक ओत पनि त्यसरी नै पाउन थालेका थिए । त्यही राजनीतिक ओतका कारण लामाले कान्तिपुर सहकारीकाे रकम अपचलनमा हिम्मत जुटाएको चर्चा अहिले पनि भइरहेको छ ।
पछिल्लो अध्ययन अनुसार ७ हजार बचतकर्ताको ६ अर्ब १३ करोड बचत रहेको छ । उक्त सहकारीको शेयर पुँजी भने करिब ४० करोडमात्र रहेको छ । त्यसो त, कान्तिपुर सहकारीले ६ अर्ब २२ करोड ऋण लगानी गरेको विवरण रहेको छ । त्यही ६ अर्ब रुपैयाँको ऋणमा सञ्चालक समितिमा रहेका व्यक्तिले अपचलन गरेको आरोप लागेको हो । तत्कालीन अध्यक्ष लामामात्र होइन, अहिलेका अध्यक्ष हिमालयबिक्रम मल्ल ठकुरीसमेत यो अपचलनमा मुुछिएका छन् । त्यसबाहेक सञ्चालक समितिमा रहेका इन्दु थापा, जोगलाल लामा, नारायणप्रसाद रिमाल, सानुकान्छा लामा, प्रेम तामाङ र देवराज पराजुलीसहितको टोली अपचलनमा संलग्न रहेको अनुसन्धानका क्रममा देखिएको छ । उनीहरूको टोलीले ठूलो मात्रामा जग्गा खरिद गरेको पाइएको छ ।
उनीहरूले काभ्रे, खोटाङ, काठमाडौं, मकवानपुर र मोरङमा गरी ४ सय रोपनी जग्गा खरिद गरेका पाइएको हो । लामाको समयदेखि अहिलेसम्म गरी ३२ स्थानमा घरजग्गा खरिद गरेको छ । सहकारी विभागमा कान्तिपुर सहकारीले बुझाएको विवरण अनुसार काठमाडौं अन्तर्गत फर्पिङमा २२ रोपनी, बूढानीलकण्ठमा २ रोपनी, थली–डाँछीमा १ रोपनी ११ आना, चपली भद्रकालीमा घरसहित १ रोपनी १२ आना २ पैसा, टेकुमा २२ आना, नयाँपाटीमा ११ आना २ पैसा, लाजिम्पाटमा २ आना २ पैसा, नयाँबानेश्वरमा ४ आना २ पैसा, बौद्धमा ५ आना २ पैसा, साँखुमा ३ आना जग्गा रहेको छ । त्यसैगरी, सहकारीका सञ्चालकले काभ्रे भुम्लु गाउँपालिकामा ७ सय रोपनी जग्गा जाेडेका छन् । उक्त जग्गा क्षेत्रमा बाख्रा फार्म चलाइएको छ । काभ्रेकै पनौतीमा १२६ रोपनी जग्गा किनेर सञ्चालकहरूले उडुवादेवी रोडाढुंगा उद्योग नामक क्रसर उद्योग चलाएको आरोप छ । याे सबै सहकारीको उद्देश्यपिरीतको लगानी हाे ।


क्रसर उद्योगप्रति स्थानीयको विरोध पनि थियो । त्यहीकारणले पनि हुनसक्छ ती सञ्चालकहरूले क्रसर उद्योग बन्द गरेर उक्त क्षेत्रको जग्गा भने प्लटिङ गरेर घडेरी बेच्न थालेका छन् । यो जग्गा सहकारीको भन्दा पनि सञ्चालकहरूको हातमा रहेको छ । सञ्चालकहरूले बदमासी गर्ने क्रममा काभ्रे क्रसर उद्योग चलाई जग्गा प्लटिङमा समेत जोडिएका उनीहरू खोटाङको हलेसीमा रिर्सोट चलाउन पुगेका थिए । हलेसीमा सहकारीका ५ जना सञ्चालकहरूले १८ रोपनी जग्गामा जाम्बला रिर्सोट सञ्चालन गरेका थिए । सहकारीका सञ्चालकहरूले उक्त रिर्सोट चलाएको भए पनि पैसा चाहिँ सहकारीको नै लगानी भएको थियो ।
कान्तिपुर सेभिङ एण्ड क्रेडिट कोअपरेटिभलाई संसदीय छानबिन समितिले पनि अध्ययन गर्ने सूचीमा राखेको छ । १५ जेठमा गठन भएको संसदीय छानबिन समितिले अनुसन्धान गर्ने भनिएका २९ वटा सहकारीको सूचीमा कान्तिपुर पनि रहेको छ । त्यसैले, सरकार र संसदले नै सहकारी ठगीलाई गम्भीरतापूर्वक लिएको देखिएलगत्तै लामा पक्राउ परेका हुन् ।
प्रकाशित मिति: शुक्रबार, जेठ १८, २०८१ १४:२६