अर्थमन्त्री वर्षमान पुनले आर्थिक वर्ष २०८१/८२ को बजेटले देशभित्रै अवसर नखोजी विदेश जान सजिलो मान्ने युवाहरूमा स्वदेशमै आशा जगाउन मद्दत गर्ने बताएका छन् ।
‘यो बजेटले देशभित्र अवसर खोजी नगरी बााहिर जान सजिलो मान्ने युवाहरूमा आशा जगाउन मद्दत गर्छ,’ बुधबार आयाेजित पत्रकार सम्मेलनमा उनले भने, ‘व्यक्ति या नेता तथा मन्त्रालयको नेतृत्वको कमजोरी भन्दा पनि आशा जगाउने हुनुपर्छ । हामी आर्थिक सुधार गर्नेतर्फ केन्द्रित हुने कोसिस गरेका छौँ ।’
अर्थमन्त्री पुनले नयाँ चरणको सुधारबाट देशलाई गति दिन सकिने बताए । ‘विगतका नीतिको सीमासमेत विश्लेषण गरेर अघि बढ्ने योजनामा छौँ,’ उनले भने । उनले निजीक्षेत्रलाई पनि फकाउने कोसिस गरे । विमानस्थल, सडक, सिग्नेचर ब्रिजजस्ता पूर्वाधारमा अब निजीक्षेत्रलाई सहभागी गराइने उनले बताए ।
पुनले तीव्र आर्थिक वृद्धिका लागि सरकार र निजीक्षेत्रको सहकार्यमा जोड दिए । ‘५/६ प्रतिशतभन्दा बढीको आर्थिक वृद्धि गर्न सरकारी लगानी मात्र पर्याप्त छैन,’ उनले भने, ‘ठूला पूर्वाधार विकासमा हामी निजीक्षेत्रसँग मिलेर काम गर्छौं ।’
समग्रमा, अर्थमन्त्री पुनले वर्तमान आर्थिक शिथिलताको अवस्थामा आगामी आर्थिक वर्ष २०८१/८२ को बजेट आशा जगाउने खालको आएको बताएका छन् । 'चालु आवको प्रक्षेपण नमिलेको अवस्थामा वस्तुपरक बनाउने प्रयास यसपटक भएको छ,’ उनले भने ।
मन्त्री पुनले लामो छलफलपछि स्पञ्ज आइरनमा कर हेरफेर गरेको बताए । ‘विगतमा विचलन आएको र अर्को विचलन नहोस् भनेर, अर्थमन्त्री, अर्थसचिव र राजस्व सचिव बसेर कसैको अनुहार नहेरी करको दर हेरफेर गरिएको हो,’ अर्थमन्त्री पुनले भने ।
मन्त्री पुनले स्क्र्याप १ प्रतिशत, स्पन्ज आइरन २.५ प्रतिशत र बिलेट ५ प्रतिशत लगाइएको बताए । कच्चा पदार्थ र तयारी वस्तुहरूको भन्सारमा एक तहको सीमा राखिएको बताए । मन्त्री पुनले आइरनको करको दर संशोधन पश्चात सबै उद्योगहरू सुचारु भएर चल्ने बताए ।
प्रकाशित मिति: बुधबार, जेठ १६, २०८१ १४:१३