महाराजगञ्जबाट २ करोड ६७ लाख रुपैयाँसहित प्रहरीले २५ जुवाडेलाई पक्राउ गरेको घटनामा नेपाली कांग्रेसका नेता पूर्व गृहराज्यमन्त्री इन्द्र बाँनियालाई प्रहरीले छोडेको खुलेको छ ।
काठमाडौं प्रहरी परिसर स्रोतका अनुसार बाँनियाँलाई प्रहरीका एक उच्चपदस्थकाे आदेशमा छोडिएको हो । बानियाँसँगै नेकपाका सांसद् धनबहादुर बुढा पनि जुवा खेल्न गएकाे स्राेतले जानकारी दिएकाे छ ।
स्रोतका अनुसार बाँनियाले आफूले जुवा नखेलेको र हेर्न मात्र पुगेकाे भनेपछि उनलाई छोड्न लगाइएको हो । तर, प्रहरीले भने बाँनियाँलाई पक्राउ नै नगरेको जनाएको छ ।
महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख डीआईजी सैलेश थापा क्षत्री भने जुवाडे छुटाउन कसकाे आदेश वा संलग्नता छ भन्ने विषयमा आफूलाई जानकारी नभएकाे बताउँछन् ।
‘जुवाडेलाई फोन गरेर छुटाउन हाम्राे नैतिकता र व्यावसायिकताले दिँदैन । कसले गरेकाे हाे, मलाई थाहा पनि छैन,’ उनले भने ।

शनिबारराति महानगरीय प्रहरी वृत्त महाराजगञ्जको टोलीले महाराजगञ्ज पीपलमार्गस्थित विक्रम गौतमको घरमा जुवा खेलिरहेको अवस्थामा पक्राउ गरेको थियो ।
पक्राउ परेका जुवाडेहरूमा बलराम सापकोटा, साेभित सिलवाल, प्रदीप बोगटी, रामकृष्ण केसी, इन्दु श्रेष्ठ, रञ्जन राजवंशी, सीताराम खड्का, रोशन तामाङ, राम तामाङ, कृष्ण भण्डारी, सुमन गुरुङ, सुमन अग्रवाल, सोदेल कार्की, पवन अग्रवाल, पवित्रकुमार कार्की, बलराम सापकोटा, मुक्ति लामा, भक्त तामाङ, शम्भु बुढाथोकी, प्रेम थापामगर र अशोक श्रेष्ठ छन् ।
यसैगरी हलामप्रसाद पराजुली, बुद्ध लामा, थम्कु शेर्पा र नवाङ लामा रहेका छन् । उनीहरूमाथि जुवातास मुद्दा चलाउने प्रहरीले जनाएको छ ।
प्रकाशित मिति: आइतबार, कात्तिक १०, २०७६ १२:२६