अर्थमन्त्री वर्षमान पुनले चालु आर्थिक वर्षको अन्त्यसम्ममा ४.५ प्रतिशतको आर्थिक वृद्धिदर पुग्ने अपेक्षा रहेको बताएका छन् ।
बुधबार काठमाडौंमा आयोजित ‘दिगो विकासका लागि वित्त नीति’ विषयक कार्यशालालाई सम्बोधन गर्दै अर्थमन्त्री पुनले अर्थ मन्त्रालयले मुलुकमा पछिल्लो समय भएका आर्थिक गतिविधि र प्रयास हेर्दा आर्थिक वर्षको अन्त्यसम्ममा ४.५ प्रतिशतभन्दा बढी आर्थिक वृद्धि हुने अनुमान गरेको बताएका हुन् । उनले विश्व बैंकले चालु आर्थिक वर्षमा ३.३ र एसियाली विकास बैंकले ३.६ प्रतिशत भनेको भए पनि त्योभन्दा अझ राम्रो हुने संकेत रहेको बताए ।
अर्थमन्त्री पुनले गत वर्षको तुलनामा अर्थतन्त्रमा सकारात्मक संकेत देखापरेको र अझै ३ महिना आर्थिक गतिविधि हुन बाँकी रहेकाले राष्ट्रिय तथ्यांक कार्यालयको प्रक्षेपणभन्दा वृद्धि हुने दाबी गरे । उनले सरकारले गर्ने पुँजीगत खर्च अबको तीन महिनामा वृद्धि हुने बताए ।
अर्थमन्त्री पुनले आन्तरिक र बाह्य कारणले अर्थतन्त्र शिथिलता भए पनि पछिल्लो समय शिथिलताबाट बाहिर आउन थालेको बताए ।
प्रकाशित मिति: बुधबार, वैशाख १९, २०८१ १८:४२