मे १ अर्थात् अन्तर्राष्ट्रिय श्रमिक दिवसलाई संसारभरिका मजदुरहरूले श्रमिक आन्दोलनको एक महान् उत्सवका रूपमा मनाउने गर्छन् । यो दिन विश्वभर पसिनाको सम्मान गरेर श्रमिक दिवस मनाउने गरिन्छ ।
गैँती बेल्चा उचालेर, पहरालाई छिचोलेर, डाँडाकाँडा बाटो बनायो
के खायो नि कुल्ली दाइले, के पायो नि कुल्ली भाइले, अर्कैले ट्याक्सी गुडायो ...।
खुसीराम पाख्रिनको यो जनप्रिय गीतमा श्रमिकका आवाज मुखरित भएका छन् । घामपानी, भोकतिर्खा केही नभनीकन निरन्तर पसिना बगाउने समाजको पिँधमा रहेको समूह हो– श्रमिक वर्ग । उनीहरूकै श्रम र पसिनाले धर्ती हराभरा हुन्छ । अन्नबाली लहलहाउँछ । उनीहरूले नै सडक, पुल, भवनहरू निर्माण गर्छन् । कर्ममै मात्र जोतिइरहन्छन् । तर, तिनै मजदुरहरूले खान–लाउन पुग्ने गरी ज्याला पाउँदैनन् ।
गाँस, बास र कपासको अभावमा उनीहरू भौँतारिन्छन् । च्यातिएका झुत्राझाम्रा लुगा लगाउँछन् । बिरामी पर्दा औषधि नपाई अल्पायुमा मर्छन् । जीवनका आधारभूत वस्तुहरूबाट वञ्चित हुँदाहुँदै पनि उनीहरू पहरा र चट्टान फोरेर सडकहरू बनाउँछन् । त्यसबेला पनि ठेकेदारले उनीहरूलाई शोषण गर्छ । उनीहरूले जीवन हत्केलामा राखेर बनाएका सडकहरूमा अर्कैले ट्याक्सी गुडाउँछन् । मजदुरहरूको भने काम पनि सकिन्छ, ज्याला पनि सकिन्छ । आजै कमायो आजै खायो, भोलि कमायो भोलि नै खायो । जिन्दगीभरि साहु–महाजनको सेवा गर्यो । पसिना बगायो, हात लाग्यो शून्य । वास्तवमा, युगौँयुगदेखि श्रमिक मजदुरहरू श्रम शोषणमा पर्दै आइरहेका छन् ।
आफैँले सिर्जना गरेका गाँस, बास र कपासबाट वञ्चित भएर पसिना बगाउने, श्रम गर्ने, पेचकस श्रमिकहरू उचित ज्याला र आरामको अभावमा संसारभरि नै मर्कामा परे, पर्दै छन् । अनि तिनीहरू आफ्नो श्रम शोषण गर्नेहरूविरुद्ध गोलबद्ध भएर आन्दोलनमा होमिए । वास्तवमा कर्मनिष्ठहरूले श्रम शोषणविरुद्ध आवाज बुलन्द गरेको दिन हो– अन्तर्राष्ट्रिय श्रमिक दिवस अर्थात् मे दिवस ।
कसरी सुरु भयो मे दिवस ?
१८औँ शताब्दीको अन्त्य र १९औँ शताब्दीको सुरुतिर युरोप र अमेरिकामा प्रारम्भ भएको औद्योगिक क्रान्ति नै मजदुर आन्दोलनको सुरुवाती चरण थियो । त्यस बखत कृषि र घरेलु उद्योगहरू विलुप्त भई त्यसको ठाउँ ठूलाठूला उद्योग र यन्त्रीकरण भएका कारखानाहरूले लिन थाले । र, त्योसँगै कृषि र घरेलु उद्योगमा जीविकोपार्जन गरिरहेका मजदुरहरू शहरबजारका उद्योग, कलकारखानातिर ओइरिन पुगे ।
आज पनि अमेरिका, जर्मनी, फ्रान्स, बेलायत, भारत, चीनलगायत विश्वको ठूलठूला अर्थतन्त्र भएका औद्योगिक राष्ट्रका सरकारहरूलाई बेलाबेला त्यहाँका मजदुर आन्दोलन टाउको दुखाइको विषय बन्ने गरेको छ । ती मुलुकहरूमा एक दिनको मात्र मजदुर हडतालले करोडौँको आर्थिक क्षतिका साथै ब्रान्डिङमा समेत असर पार्ने गरेको छ ।
त्यसले ठूलाठूला शहरहरूको निर्माण हुन पुग्यो । नयाँनयाँ उद्योगधन्दा र कलकाराखाहरू खुल्दै गए, तिनमा काम गर्ने मजदुरहरूको संख्या निकै बढ्यो । त्यहाँभित्र दुई वर्ग जन्मिए– मालिक र मजदुर । एउटा मालिकका उद्योग, काराखानामा लाखौँ मजदुरहरूले काम गर्न थाले । तर विडम्बना, सीमित मालिक वर्ग मजदुरको पसिना चुसेर मस्ती गर्थ्यो भने बहुसंख्यक मजदुर र तिनका परिवार गाँस, बास, कपास, शिक्षा, स्वास्थ्यजस्ता मानवका आधारभूत आवश्यकताहरूको अभाव र पीडाले छटपटाउन थाले । अनि तिनै गरिब मजदुर वर्ग मालिकहरूमाथि खनिन थाले ।
मजदुर वर्गमाथिको चरम शोषण र दमनकै कारण विश्वव्यापी मजदुर आन्दोलन उठ्यो । आफ्नो हकअधिकारका लागि विश्वभरका मजदुरहरू एक भएर मालिक वर्गका विरुद्ध जाइलागे । मजदुर–मालिकबीचको त्यही द्वन्द्वले उनीहरूलाई सौदाबाजी गर्न बाध्य तुल्यायो । र, मजदुर र मालिक वर्गबीच सिर्जित द्वन्द्व सौदाबाजीमा पुगेर टुंगिन थाल्यो ।
सन् १८०० आसपासदेखि नै अमेरिकी महाद्वीपमा औद्योगिक चरण सुरु भएको मानिन्छ । त्यसबखत उद्योगमा काम गर्नेहरूको अवस्था ज्यादै दयनीय थियो । त्यस्तो अवस्थामा मजदुरहरूको हकहितका लागि भनेर पहिलोचोटि ‘नाइट्स अफ लेबर’ राष्ट्रिय मजदुर संगठनको रूपमा जन्मिन पुग्यो । यद्यपि, मेरील्यान्ड राज्यको बाल्टिमोरमा २० अगस्ट १८६६ मा राष्ट्रिय मजदुर संगठन दर्ता भयो र त्यसले अमेरिकी राष्ट्रिय कंग्रेससामु दिनमा ८ घण्टामा भन्दा बढी मजदुरहरूले उद्योगधन्दा तथा कलकारखानामा काम गर्दैनौँ भन्दै आफ्ना माग प्रस्तुत गर्यो ।
मजदुरहरूमा बढ्दै गएको चेतनासँगै उनीहरूले आफ्नो कामको उचित मूल्य खोज्न थाले । मालिकभन्दा मजदुरहरूको संख्या निकै बढी हुँदै गयो । विश्व औद्योगिक क्रान्तिले जतिजति गति लिँदै गयो, त्यतित्यति मालिकहरूले मजदुर वर्गमाथि शोषण र दमन गर्ने गति पनि बढ्दै गयो । र, अन्त्यमा मजदुर–मालिक वर्गबीचको टकराव नै विश्व मजदुर आन्दोलन बनेर समाजलाई हल्लाइदियो ।
सन् १८८६ मा अमेरिकाको सिकागो शहरमा ‘आठ घण्टा काम, आठ घण्टा मनोरञ्जन र आठ घण्टा आराम’ भन्ने नारासहित सुरु भएको मजदुर आन्दोलनको सम्झनामा संसारभर मजदुर दिवस मनाइन्छ । मे १ का दिन अमेरिकाभरिका लाखौँ श्रमिकहरूले दिनको आठ घण्टाभन्दा बढी काम नगर्ने भन्दै हडताल गरे । दिनैभरि काम गर्नुपर्ने त्यसबेलाको मजदुरमारा नीतिको विरोधमा मजदुरहरू सडकमा आएका थिए ।
उक्त आन्दोलनका क्रममा सिकागोस्थित हेमार्केटमा बम विस्फोटन भयो । बम विस्फोटन कसले गराएको हो भन्ने नखुले पनि प्रहरीले आन्दोलनरत मजदुरहरूमाथि व्यापक धरपकड र दमन गर्यो । प्रहरीको गोली लागेर आन्दोलनरत सात मजदुरको मृत्यु भयो । आन्दोलन निकै चर्केपछि अमेरिकामा मात्र सीमित रहेन, आन्दोलन अमेरिकी र युरोपियन महाद्वीपभरि फैलियो । अन्त्यमा सन् १८८९ फ्रान्सको पेरिसमा सम्पन्न विश्वका श्रम संगठन तथा श्रमिक नेताहरूको बैठकले मे १ तारिखलाई विश्वभरि श्रमिक दिवसका रूपमा मनाउने निर्णय गरे । त्यसयता मे १ मा विश्वभरि श्रमिक दिवस मनाउँदै आइरहेको पाइन्छ ।
आज पनि अमेरिका, जर्मनी, फ्रान्स, बेलायत, भारत, चीनलगायत विश्वको ठूलठूला अर्थतन्त्र भएका औद्योगिक राष्ट्रका सरकारहरूलाई बेलाबेला त्यहाँका मजदुर आन्दोलन टाउको दुखाइको विषय बन्ने गरेको छ । ती मुलुकहरूमा एक दिनको मात्र मजदुर हडतालले करोडौँको आर्थिक क्षतिका साथै ब्रान्डिङमा समेत असर पार्ने गरेको छ ।
जबजब राज्य र मालिक वर्गले आफूहरूलाई शोषण गरेको निर्णयमा मजदुरहरू पुग्छन्, तब विश्वभरका मजदुरहरूको एउटै स्वर हुन्छ– विश्वभरका मजदुरहरू एक होऔँ ।
विश्वभरका मजदुरहरूले मे दिवस आफ्ना हकअधिकारको सुनिश्चितताका लागि सरकार र रोजगारदाताहरूलाई दबाब दिने उद्देश्यले विभिन्न कार्यक्रमहरू गरी मनाउँछन् ।
नेपालमा मे दिवस मनाउने चलन
विश्व मजदुर आन्दोलनको बाछिटाले नेपाललाई पनि भिजाएको छ । अर्थात् विश्व मजदुर आन्दोलनको असर र प्रभाव नेपालका मजदुरहरूसम्म आइपुगेको छ ।
२००३ सालमा पूर्वी नेपालको विराटनगरस्थित जुट मिलमा पहिलोपटक संगठित रूपमा मजदुर आन्दोलन भएको थियो । उक्त आन्दोलन त्यसबेलाको जहाँनियाँ राणा शासकका ज्यादती र अन्यायविरुद्ध थियो । त्यसबेला सत्तामा रहेका जुद्ध शमशेरले मजदुर नेताहरूलाई पक्रेर चरम यातना दिए । फलस्वरूप त्यसले जनक्रान्तिको रूप लियो र अन्त्यमा ७ फागुन २००७ मा राणाशासन ढल्यो । त्यसैबेलादेखि नेपालमा मे १ लाई अन्तर्राष्ट्रिय श्रमिक दिवसका रूपमा मनाउन थालियो ।
यद्यपि, पञ्चायतकालभरि यो दिवसमा बिदा दिइँदैनथ्यो । जब २०४६ सालमा बहुदलीय संसदीय शासन व्यवस्था पुनर्वहाली भयो, अनि मे १ मा बिदा दिन थालियो । त्यसपछि कांग्रेस, कम्युनिस्ट समर्थित मजदुरहरूले संगठित रूपमा विविध कार्यक्रमका साथ मे दिवस मनाउँदै आएका छन् ।
भिडियाे हेर्नुहाेस् :
प्रकाशित मिति: बुधबार, वैशाख १९, २०८१ १९:३७