कोभिडको त्रासदीबाट बचाउन प्रभावकारी दाबी गरिएको एस्ट्राजेनेका खोप मानवका लागि घातक रहेको तथ्य बाहिर आएको छ ।
ब्रिटिस फर्मा कम्पनी एस्ट्राजेनेकाले नै आफूले उत्पादन गरेको कोभिडविरुद्धको खोपको खतरनाक साइड इफेक्ट हुने स्वीकार गरेको छ । एस्ट्राजेनेकाको खोप लगाएका केही व्यक्तिको मृत्यु भएको छ भने केही गम्भीर बिरामी परेका हुन् ।
एस्ट्राजेनेकाको जुन सूत्र थियो, त्यही सूत्रबाट भारतमा सिरम इन्स्टिच्युटले कोभिशिल्ड नामको खोप बनाएको हो । बेलायतको एक उच्च अदालतमा जम्मा गरिएका दस्तावेजमा कम्पनीले आफ्नो कोरोना खोपबाट थ्राम्बोसिस थ्राम्बोसाइटोपेनिया सिन्ड्रोम अर्थात् टीटीएस हुन सक्ने स्वीकार गरेको छ । तर, यो निकै कममा मात्रै देखिनेछ ।
यस्तो अवस्थामा बिरामीको रगतका ढिक्का जम्ने र प्लेटलेट्सको संख्या पनि कम हुने हुन्छ । जसका कारण हृदयाघात र स्ट्रोकको खतरा हुन्छ । कम्पनीविरुद्ध ५१ मामिलामा अदालतले मुद्दा चलाइरहेको छ । पीडितले एस्ट्राजेनेकासँग करिब १ हजार करोडको हर्जाना माग गरेका छन् ।
एस्ट्राजेनेकाले अक्सफोर्ड विश्वविद्यालयसँग मिलेर खोप बनाएको हो । कम्पनीले सुनुवाइका क्रममा खोपका कारण केही व्यक्तिको मृत्यु र अन्य गम्भीर बिरामी भएको स्वीकार गरेमा अदालतले जरिमाना लगाउन सक्छ । अप्रिल, २०२१ मा जेमी स्कट नामका व्यक्तिले खोप लगाएपछि उनको अवस्था गम्भीर बनेको थियो ।
सुरुमा रगत जम्ने र त्यसको असर मस्तिष्कमा समेत परेको थियो । जसका कारण उनको मस्तिष्कमा इन्टरनल ब्लिडिङसमेत भएको थियो ।
उनले गत वर्ष एस्ट्राजेनेकाविरुद्ध मुद्दा दर्ता गरेका थिए । सन् २०२३ मेमा एस्ट्राजेनेकाले आफ्नो खोपले टीटीएस नहुने दाबी गरेको थियो । तर, यसै वर्ष जनवरीमा संकलन गरिएका दस्तावेजबाट टीटीएस हुन सक्ने खुलासा भएको हो ।
एस्ट्राजेनेका आफैँले केही मामिलामा यस्तो हुन सक्ने स्वीकार गरेको छ । तर, कुन कारणले यस्तो बिरामी हुन सक्छ भन्ने कुरा फाइलमा उल्लेख छैन । यो दस्तावेज बाहिर आएपछि स्कटका वकिलले अदालतमा एस्ट्राजेनेका–अक्सफोर्डको खोपमा समस्या रहेको र यसअघि गलत जानकारी दिएको दाबी गरेका छन् ।
वैज्ञानिकले सबैभन्दा पहिले मार्च, २०२१ मा एक बिरामीमा भ्याक्सिन इन्ड्युड इम्युन थ्राम्बोसिस थ्राम्बोसाइटोपेनिया सिन्ड्रोम (भीआईटीटी) को पहिचान गरेका थिए ।
कम्पनीले सन् २०२१ को अप्रिलमा नै प्रोडक्ट इन्फर्मेसनमा केही मामिलामा टीटीएस हुने खतरा उल्लेख गरेको दाबी गरेको छ । केही अध्ययनमा कोरोना महामारीका क्रममा एस्ट्राजेनेकाको खोप आएको पहिलो वर्षमा नै करिब ६० लाखको ज्यान बचेको दाबी गरिएको छ ।
विश्व स्वास्थ्य संगठनले पनि १८ वर्षभन्दा माथिका मानिसका लागि यो खोप प्रभावकारी भएको बताएको थियो । यो खोप लञ्च हुँदा तत्कालीन बेलायती प्रधानमन्त्री बोरिस जोनसनले ब्रिटिस वैज्ञानिकको ठूलो जित भएको बताएका थिए । तर, यतिबेला यो खोप बेलायतमा प्रयोग भइरहेको छैन । टेलिग्राफको रिपोर्टअनुसार यो खोप बजारमा आएको केही समयपछि नै वैज्ञानिकले यसको खतरा अनुमान गरेर ४० वर्षभन्दा कम उमेरका मानिसलाई अर्को पनि खोपको मात्रा दिन सुझाव दिएका थिए ।
एस्ट्राजेनेकाको खोपबाट हुने नोक्सान कोरोनाको खतराभन्दा बढी थियो । बेलायतमा मात्रै खोपका कारण रगत जमेर मृत्यु भएका ८१ वटा घटना बाहिर आएका छन् । यसको साइड इफेक्ट भएका हरेक ५ जनामध्ये १ जनाको मृत्यु भएको बताइएको छ ।
प्रकाशित मिति: मंगलबार, वैशाख १८, २०८१ १२:४७