मंगलबार सुदूरपश्चिम प्रदेश सरकार निर्माणमा सत्ता गठबन्धनबीच भएको सहमति बुधबार भत्केको छ ।
मंगलबार केन्द्रमा प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाल र नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रञ्जिता श्रेष्ठबीच सुदूरपश्चिममा नेकपा एसलाई मुख्यमन्त्री दिने सहमति भएको थियो । गठबन्धनको प्रमुख दल एमालेका अध्यक्ष केपी शर्मा ओली भने चुनावी प्रचारमा इलाममा थिए ।
ओलीले मंगलबार आफ्नो अनुपस्थितिमा भएको सहमति माने पनि अन्तिममा नेकपा एसका सुदूरपश्चिम संसदीय दलका नेता दीर्घ सोडारीलाई मुख्यमन्त्री नस्वीकार्ने सन्देश दिएपछि फेरि गठबन्धन समस्या आएको माओवादीका एक प्रदेशसभा सदस्यले बताए ।
ती प्रदेशसभा सदस्यले भने, ‘हिजो एसका दलका नेता दीर्घ सोडारीलाई मुख्यमन्त्री बनाउने सहमति प्रदेशमा भएको हो । तर, हिजै रातिबाट एमालेले सोडारीलाई मुख्यमन्त्रीमा समर्थन नगर्ने भनेपछि समस्या आएको छ । व्यक्ति अर्को हुनुपर्छ भनेर अडान राख्न केन्द्रबाट निर्देशन आएजस्तो छ ।’
एमाले अध्यक्ष ओलीले सोडारीको नाममा मुद्दा भएकाले मुख्यमन्त्रीमा स्वीकार्न नसकिने सन्देश प्रचण्ड र खनाललाई दिएको स्रोतले बतायो । स्रोतले भन्यो, ‘नेकपा हुँदा ओली प्रधानमन्त्री र सोडारी सुदूरपश्चिम प्रदेशमा मन्त्री थिए । सोडारीको एक महिलासँग अडियो सम्वाद पार्टीमा आएको थियो । उक्त अडियो संवाद सुनेपछि ओलीले सोडारीलाई मन्त्रीबाट मात्र होइन पार्टीबाट पनि निलम्बन गरेका थिए । अहिले पनि ओली सोडारीको सट्टा नरेश कुमार शाहीलाई मुख्यमन्त्री दिन तयार दिखिएका छन् । तर, सोडारीलाई समर्थन नगर्ने भएका छन् ।’
तर, नेकपा एसका सांसद शाही भने सोडारीको विकल्प सोच्न नहुने बताउँछन् । 'सत्ता गठबन्धनमा नेकपा एसलाई मुख्यमन्त्री दिने सहमति भएको छ । हाम्रो दलको नेता नै मुख्यमन्त्री हुन्छ । आफ्नो दलबाट मुख्यमन्त्री कसलाई बनाउने भन्ने अधिकार हाम्रो पार्टीलाई भएकाले यो ठूलो विषय हुनु हुँदैन,' उनले भने, ‘एमालेले व्यक्तिमा अप्जेक्सन गर्यो भन्ने सुनेका छौँ । तर, हाम्रो पार्टीबाट सोडारी कमरेड नै मुख्यमन्त्री हुनुहुन्छ । त्यसको विकल्प सोच्ने कुरा हुँदैन ।’
सुदूरपश्चिम प्रदेसस्थित एमाले संसदीय दलका नेता राजेन्द्र रावल भने केन्द्रको निर्णय आफूहरूले पालना गर्ने बताउँछन् । ‘म एमालेको कार्यकर्ता हुँ । मेरो शीर्ष नेतृत्वले गरेको निर्णय प्रदेशसभामा कार्यन्वयन गर्छु । अझै दुई दिन बाँकी छ । अहिले नै कुन व्यक्ति भन्नेमा नजाऊँ,’ उनले भने ।
गत वर्ष माओवादी केन्द्र र एमाले गठबन्धन बन्दा सुदूरपश्चिम प्रदेश एमालेका भागमा परेको थियो । त्यतिबेला सोडारीले रावलको विकल्पमा अर्को नेतालाई मुख्यमन्त्री स्वीकार्ने तर रावलाई नस्वीकार्ने र उनलाई भोट नहाल्ने भनेर अडान लिएका थिए ।
योपटक एमालेका रावलले पनि त्यही अडान निकालेर सोडारीलाई मुख्यमन्त्री हुनबाट रोक्ने रणनीति अपनाएको बताइन्छ ।
सोमबार नेकपा एसले कांग्रेससँग मिलेर नाउपाका लक्ष्मण चौधरीलाई मुख्यमन्त्रीमा समर्थन गरेको थियो । नेकपा एसले कांग्रेससँग मिलेर चौधरीलाई मुख्यमन्त्रीमा समर्थन गरेपछि एमाले अध्यक्ष ओलीले विपक्षीहरूको आशा पलाउने गरी र जनतामा केही मात्रामा भए पनि निराशा पलाउने गरी नेकपा एसले कदम चालेको भनेर आलोचना गरेका थिए ।
ओलीले नेकपा एसको व्यवहारले अवसरवादी चरित्र प्रकट भएको टिप्पणी गरेका थिए । यसले फरक पार्नेवाला छैन भन्दै आक्रोश पोखेका थिए । उनले भनेका थिए, ‘कम्युनिस्ट साइनबोर्ड राखेर कामचाहिँ कांग्रेसको पक्षमा गर्ने ।’
पछिल्लो समयमा गठबन्धनमा एक निर्णय १२ घण्टा पनि नटिक्ने अवस्था आएको छ ।
प्रकाशित मिति: बुधबार, वैशाख ५, २०८१ ११:३६