आगामी १५ वैशाखमा इलाम– २ मा हुने उपचुनावमा मनोनयन दर्ता गराएका २० जना उम्मेदवार घरदैलो अभियानमा छन् । उपचुनावबाट निर्वाचित हुने सांसदको कार्यकाल भने करिब साढे तीन वर्ष हुनेछ । उम्मेदवारहरू इलाम र बाहिरी जिल्लाका पनि छन् । उम्मेदवारहरूका चुनावी एजेन्डा, मतदाताले मत दिनुपर्ने कारण, चुनाव जित्ने आधारलगायत विषयमा केन्द्रित रहेर ‘उम्मेदवारसँग पाँच प्रश्न’ शृङ्खला शिलापत्रले सुरु गरेको छ । तेस्रो शृङ्खलामा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार मिलन लिम्बू ।
०००
तपाईंलाई किन मत दिने ?
विगतमा राजनीतिक दलहरूले जनतासँग यो गर्छौं, त्यो गर्छौं भनेर गरेका प्रतिबद्धताहरू पूरा गरेका छैनन् । जनतामा ठूलो आक्रोश छ । निराशा छ । विकासको हिसाबले लामो समयदेखि इलाम–२ धेरै पछि परेको छ । त्यसकारणले इलामलाई समृद्ध बनाउन पनि यसपटक जनताले मलाई मतदान गर्नुपर्छ ।
चुनाव जित्ने माहोल बन्यो त ?
अहिले परिस्थिति सबै राष्ट्रिय स्वतन्त्र पार्टीको पक्षमा छ । जनताले अहिले पुराना दलहरूप्रतिको वितृष्णा अनि विकास र समृद्धिको चाहनाले अहिलेको अवस्थामा राष्ट्रिय स्वतन्त्र पार्टीलाई मतदान गर्छौं भन्दैछन् र चुनाव हामी जित्छौँ ।
स्वतन्त्र उम्मेदवारी घोषणा गर्दा र अहिले रास्वपाको उम्मेदवार हुँदा समर्थन कहिले बढी पाउनुभयो ?
मैले हिजो स्वतन्त्र हुँदा पनि समर्थन पाएको थिएँ । आज पनि समर्थन पाइरहेको छ । समग्रमा भन्दाखेरी हिजोको भन्दा आज जनताको समर्थन सशक्त छ र राम्रो छ ।
तपाईंले नै यसअघि रास्वपासँग कुनै पनि हालतमा सहकार्यको सम्भावना छैन भन्नुभएको थियो । तर, फेरि कसरी सहकार्य गर्नुभयो ?
मैले विभिन्न घटनाक्रमहरूमा सहकार्यको सम्भावना जीवित रहन्छ है भन्दै आएको छु । म स्वतन्त्र उम्मेदवार भएर चुनावी मैदानमा उत्रिँदै गर्दा जनताले तपाईं एक्लै भएर केही पनि सम्भव हुँदैन । राजनीतिक रूपमा एजेण्डा मिल्ने शक्तिसँग सहकार्य गर्नुहोस्, त्यसमा पनि तपाईंले उठाउनुभएको एजेन्डा र राष्ट्रिय स्वतन्त्र पार्टीका एजेन्डाहरू मिल्छन्, त्यसकारण रास्वपासँग सहकार्य गरे राम्रो हुन्छ भन्नुभएको थियो । त्यही आधारमा मैले सहकार्य गरेँ ।
रास्वपा संघीयताको पक्षमा छ । तर, प्रदेश संरचनामा प्रश्न उठाएको छ । प्रदेशको संरचना सबैभन्दा कमजोर छ । यसले संघीयतालाई नै कमजोर बनाउँछ । यसले संघीयतालाई नै बिदू्रपीकरण गर्छ । अधिकारविहीन संघीयता वा प्रदेशको के काम ? यसलाई पुनःसंरचना गर्नुपर्छ र संघीयतालाई बलियो बनाउनुपर्छ भन्दै आएको छ रास्वपाले । त्यसकारण संघीयतयाको विरोध कहिल्यै पनि गरेको छैन ।
रास्वपाबाट उम्मेदवार भएपछि इलाम २ को विकास र समृद्धिका तपाईंका एजेन्डाहरू के के हुन् ?
इलाम समृद्धिको आधार कृषि हो । कृषिबाट इलामलाई समृद्ध बनाउन सकिन्छ । त्यसपछि पर्यटन हो । जस्तैः यहाँका कृषिजन्य उत्पादनको आधुनिकीकरण गरेर कृषकको स्तर उकास्नुपर्छ । कृषकले उत्पादन गरेका जति पनि कृषिजन्य उत्पादनको बजारीकरण गर्नुपर्छ । विश्वव्यापीकरण गर्नुपर्छ । ब्रान्डिङ गर्नुपर्छ र समृद्धितर्फ लानुपर्छ । यहाँका अदुवा, अलैँची, अम्रिसोजस्ता नगदे बालीको राम्रोसँग प्रवर्द्धन गर्यौँ भने यसले समृद्धितर्फ लैजान्छ ।
खासगरी सांसदको भूमिका त नीति निर्माण गर्ने हो । तर, नेपालको सन्दर्भमा विधायकी (सांसद) जिम्मेवारी रहँदारहँदै बारम्बार दुईवटा काम गर्नुपर्छ भन्दै आएको छु । एउटा नीति निर्माण छँदै छ, अर्को चाहिँ विकासको साझेदार बन्ने सन्दर्भमा हो । विकासको साझेदार बन्ने सन्दर्भमा मैले बारम्बार भन्दै आएको छु, इलाम र सिंहदरबारको म पुल बन्छु । विकासको सन्दर्भमा हामीले सडक बनाउनुछ । बिजुली बत्ती र खानेपानीको व्यवस्था गर्नुछ । शैक्षिक सुधार गर्नुछ । स्वास्थ्य केन्द्रहरू स्थापना गर्नुछ । प्राविधिक शिक्षातर्फ जानुछ । सूचना प्रविधितर्फ लम्किनुछ । यी कुराहरू गर्दा इलाम समृद्ध हुन्छ ।
शृङ्खला १ : मैले कसैलाई एक झापु हानेको छैन, मान्छे पिटेर हिँडिस् भन्नु अफवाह हाे : डम्बर खड्का (अन्तर्वार्ता)
शृङ्खला २: पहिचानका लागि आन्दोलित मलाई ४१ घटकको साथ छ, जनताले जिताउँछन् : डकेन्द्रसिंह थेगिम
प्रकाशित मिति: बुधबार, चैत २८, २०८० १०:१७