रवि मिश्र ‘शिलापत्र वर्षकार्टुनिस्ट २०८०’ चयन भएका छन् । विधाविज्ञको रायमा मनोनयन र पाठकहरूको मतका आधारमा मिश्रलाई ‘वर्षकार्टुनिस्ट’ चुनिएको हो । १७ वर्षदेखि कार्टुनकारिता गरिरहेका उनी हाल नयाँ पत्रिका दैनिकमा कार्यरत छन् । त्यहाँ उनको कार्टुन स्तम्भ ‘कर्नर किक’ चर्चित छ । चित्रकलामा स्नातकोत्तर मिश्र कार्टुनिस्ट क्लब अफ नेपालका महासचिव पनि हुन् ।
समसामयिक विषयलाई हाँस्य चेत र चित्रकारीसँग घतलाग्दो तरिकाले उन्न सक्ने उनै रवि ‘शिलापत्र वर्षकार्टुनिस्ट २०८०’ चुनिएका हुन् ।
मनोनयनमा परेका ५ कार्टुनिस्टमध्ये मिश्रलाई ‘वर्षकार्टुनिस्ट’ बनाउन कुल २८ दशमलव ८ प्रतिशतले मत हालेका छन् । अनलाइन सर्वेक्षणमा ७ हजार ७ सय ५२ उत्तरदाता सहभागी भएका थिए । उनीपछि क्रमशः अनुप गुरुङले १९ दशमलव ९, रविन साय्मिले १६ दशमलव ८, अविन श्रेष्ठले १६ दशमलव २ र वासु क्षितिजले १५ दशमलव ५ प्रतिशत मत पाए । मनोनयन र छनोट प्रक्रियाको विस्तृत विवरण केही दिनमा सार्वजनिक गरिने छ ।
शिलापत्रले वर्षान्त अभियानअन्तर्गत २०७७ सालदेखि वर्षव्यक्तिसहित विभिन्न विधाका पात्र र सिर्जनाहरूबाट उत्कृष्ट एक घोषित गर्दै आएको छ । वर्षकार्टुनिस्ट यसै वर्षदेखि थप गरिएको विधा हो ।
को हुन् वर्षकार्टुनिस्ट रवि मिश्र ?
नुवाकोटको पञ्चकन्या गाउँपालिका-२, मिश्रगाउँको मध्यमवर्गीय परिवारमा जन्मेका रवि मिश्रलाई चित्रकलातिर तान्ने एउटा रोचक किस्सा रहेछ ।
उनका अनुसार, कुरा १/२ कक्षामा पढ्दाखेरिको हो । कृष्णा जन्माष्टमीको दिन आमाले कृष्णको पूजा गर्नुपर्ने थियो । तर, घरमा कृष्णको फोटो वा चित्र थिएन । रविले आमालाई भनेछन्, ‘पूजाका लागि कृष्णको चित्र म बनाइदिन्छु नि त ।’
‘मैले चित्र बनाएर दिएँ । आमाले खुसी हुँदै त्यसैमा पूजा गर्नुभयो’, रवि सम्झिन्छन्, ‘त्यो दिन मलाई ठूलो काम गरेजस्तो महसुस भयो । आर्ट बनाउनु भनेको ठूलो काम गर्नु रहेछ, आर्टिस्टले त देउतै बनाउन सक्ने रहेछन् भन्ने लाग्यो ।’
बाल मष्तिस्कमा त्यही बेला चित्रकलाप्रतिको आशक्ति गढेको उनी बताउँछन् ।
राजनीतिक कार्टुनिस्ट बन्न चित्रकलासँगै समसामयिक घटनाक्रमबारे ज्ञान र हास्यचेत अनिवार्य सर्त हुन् । उनका अनुसार, सानैदेखि पत्रपत्रिका पढ्ने, रेडियोमा समाचार सुन्ने बानीले उनलाई कार्टुनतिर नजिकिन सघायो । विद्यालयमा हुने चित्रकला प्रतियोगिताहरूमा भाग लिन उनी छुटाउँदैनथे ।
५/६ कक्षा पढ्दादेखि नै आफूलाई अखबारहरू पढ्ने बानी लागेको उनी बताउँछन् । 'भाँडभैलो'लगायत गाईजात्रा विशेष पत्रिकाहरू उनी खोजीखोजी पढ्थे । रेडियोमा उनी अक्सर राजनीतिक समाचार तथा रिपोर्टहरू चाख दिएर सुन्थे । ‘त्यो बेला मलाई क्याबिनेटका मन्त्रीहरूको नाम कण्ठ नै हुन्थ्यो । पत्रिकामा फोटो देखेका धेरैलाई चिन्थेँ,’ उनी भन्छन् ।
पत्रिकामा उनलाई सबैभन्दा चाख लाग्ने कन्टेन्ट हुन्थ्यो कार्टुन । मनमोहन अधिकारी, कृष्णप्रसाद भट्टराई, गिरिजाप्रसाद कोइरालालगायत कार्टुन धेरै नै बन्थे ।
‘एक दिन पत्रिकामा एउटा रोचक कार्टुन देखेँ, वासु क्षितिज दाइले बनाउनुभएको हुनुपर्छ । त्यसमा गिरिजा र मनमोहन लाप्पा खेलिरहेका थिए । एक जना खुट्टा मास्तिर पारेर पछारिएका हुन्छन् । अनि लड्नेले भनिरहेको हुन्छ- पछारेँ भन्ठानेको होला, मेरो खुट्टा तेरोभन्दा माथि नै छ, बुझिस् ! यो कार्टुनले मलाई खुब इम्प्रेस गरेको थियो ।’
९/१० कक्षामा पुगेपछि अखबारका कार्टुन हेर्ने मात्र होइन, उनले कपी पनि गर्न थाले । यसले उनको कार्टुनकलालाई तिखार्न मद्दत गर्यो ।
गाउँकै अमरज्योति माध्यमिक विद्यालयबाट एसएलसी परीक्षा दिएपछि उनी काठमाडौं आएका थिए । उनलाई काठमाडौंमा चित्रकला पढाइ हुने ललितकला क्याम्पस रहेको थाहा रहेनछ । त्यसैले एसएलसी उत्तीर्ण गरेपछि सरस्वती क्याम्पसमा आईकममा भर्ना भए ।
राजतन्त्र फ्याँक्ने आन्दोलनले काठमाडौं भर्खरै शान्त बनेको थियो । उनले आईकम परीक्षा दिएर पाएको फुर्सदलाई कार्टुन बनाउने अभ्यासमै लगाएका थिए ।
कार्टुनमै केही गरौँ भन्ने हुटहुटीले उचालिरहे पनि उनलाई एउटा चिन्ताले भने सताइरहेको रहेछ । खासमा उनले स्कुल पढ्दा नै ‘हिमाल’मा अहिलेका वरिष्ठ कार्टुनिस्ट रविन साय्मिको एक तस्वीर हेरेका रहेछन् । ‘फोटोमा उहाँ (साय्मि) कम्प्युटर चलाइरहेको देखिनुहुन्थ्यो । अहो, कार्टुन बनाउन कम्प्युटर चाहिने रहेछ भन्ने लाग्यो । हाम्रो लागि त कम्प्युटरको पहुँच साह्रै महँगो कुरा थियो । त्यसैले कार्टुनिस्ट बन्नचाहिँ सकिँदैन कि क्या हो भन्ने ठानेर निराश थिएँ,’ मिश्र सम्झिन्छन् ।
तैपनि उनी कार्टुनिस्ट बन्ने अर्को बाटो पाइने आशामा थिए । त्यसैले प्रयास नै गर्न छोड्ने निचोडमा पुगेनन् । काठमाडौं आएपछि उनले भृकुटीमण्डपको पुस्तकालयमा वरिष्ठ कार्टुनिस्ट राजेश केसीको कार्टुन पुस्तक हात पारे, जसमा केसीले आफ्नो कार्टुन करिअरबारे खुलाएका छन् ।
‘म कार्टुनिस्ट कसरी बनेँ भनेर राजेश दाइले लेखेको पुस्तक पढेपछि कार्टुन बनाउन कम्प्युटर नचाहिने रहेछ भन्ने थाहा पाएँ,’ उनी भन्छन्, ‘अनि उत्साहित भएर मैले तत्काल हिमालय टाइम्समा फोन गरेँ । उहाँहरूले बोलाउनुभयो, यसरी हिमालय टाइम्समा मैले जागिरकै रूपमा कार्टुनकारिता सुरु गरेँ ।’
हास्यलेखन र ब्लगिङमा समेत दख्खल राख्ने रविले २०६३ सालदेखि हिमालय टाइम्सका लागि कार्टुन बनाउन थालेका थिए ।
दोस्रो जनआन्दोलनपछि सरकार र शान्ति प्रक्रियामा आएको नेकपा माओवादीबीच वार्ता चलिरहेको थियो । सेना समायोजन, हतियार व्यवस्थापन, अन्तरिम संविधानजस्ता महत्त्वपूर्ण विषय वार्ताका एजेन्डा थिए । तर, तारन्तारका वार्ता निष्कर्षविहीन भइरहेका थिए । बैठक सकिएपछि पत्रकारहरूले सहभागी नेतालाई वार्ताको निचोड सुनाउन भन्थे । तर, कहिल्यै माथिका विषयमा सहमति भएको कुरा आउँदैनथ्यो । यही विषयलाई व्यङ्ग्य गरेर रविले कार्टुन बनाए ।
वार्तास्थलबाट एक मन्त्री बाहिर निस्कन्छन् । अनि भन्छन्, ‘सेना, हतियार र अन्तरिम संविधानलगायत विषयबाहेक अरु विषयमा सहमति भो ।’
२०६३ सालमा हिमालय टाइम्समा छापिएको यो कार्टुन नै रविको पहिलो प्रकाशित कार्टुन हो । त्यसपछि उनले कारोबारमा ८ वर्ष काम गरे । आर्थिक दैनिक, छलफल, बुटवल टुडेलगायत पत्रिकामा पनि उनका कार्टुन छापिए । पाँच वर्षयता उनी नयाँ पत्रिकामा छन् ।
आजसम्म मिश्रले ३ हजारभन्दा बढी कार्टुन बनाइसकेका छन् । उनी राजनीतिक कार्टुनिस्टका रूपमा स्थापित छन् । यसै वर्षको मध्यतिर उनले आफ्नो पहिलो कार्टुन प्रदर्शनी ‘डिपिक्सन’ सफलतापूर्वक सम्पन्न गरे । उनी नेतृत्वको कार्टुनिस्ट क्लबले यही चैतमा ‘नेपाली क्यारिकेचर प्रदर्शनी’ मार्फत नयाँ पुस्तालाई प्रोत्साहन गर्ने काम गर्यो । ‘यसै वर्ष कार्टुनकै बारेमा कार्यपत्रहरू प्रस्तुत गरेँ । विभिन्न ‘वर्कसप’मा सहभागी भएँ,’ उनले भने, ‘२०८० साल मेरा लागि कार्टुनकै पेरीफेरीमा घुमिरह्यो ।’
व्यवस्थापनमा स्नातक र चित्रकलामा स्नातकोत्तर गरेका रवि मिश्र अब गैरराजनीतिक कार्टुन प्रदर्शनी गर्ने योजनामा छन्। ‘शिलापत्र वर्षव्यक्ति २०८०’ घोषित कार्टुनिस्ट मिश्रलाई आगामी दिनमा अझै प्रभावशाली सिर्जनासँगै उत्तरोत्तर प्रगतिका लागि शुभकामना छ ।
भिडियाे हेर्नुहाेस् :
यो पनि...
प्रकाशित मिति: बुधबार, चैत २८, २०८० १८:३१