कोरोना भाइरसपछि बालबालिकाहरूमा पनि आँखाको रोग बढ्दै गएको तथ्यांक बाहिरिएको हो । नेपाल आँखा अस्पतालले आइतबार पत्रकार सम्मेलन गर्दै नेपालमा दिनप्रतिदिन आँखाका बिरामीहरू बढ्दै गएको भन्दै आँखाको हेरचाहमा ध्यान दिन आग्रह गरेको छ । पत्रकार सम्मेलनमा बोल्दै अस्पतालका सचिव यज्ञध्वज सापकोटाले अर्थिक वर्ष २०८१/०८२ को ८ महिनामा अस्पतालमा आँखाका बिरामी बढ्दै गएको बताए ।
उनले यो अवधिमा एक लाखभन्दा बढीलाई उपचार सेवा दिएको बताए । उनले इमर्जेन्सी सेवामार्फत २ हजार ७३५ जनालाई सेवा दिएको जानकारी दिए । उनले आँखाको रोग शुरुवाती उमेर र वृद्ध उमेरमा बढी देखिने भए पनि कोभिड १९ पछि बालबालिकाहरूमा धेरै मात्रामा रोग देखिएको जनाए । उनले अस्पतालले १६ वर्ष उमेर पुगेका भन्दा कम उमेर समूहका १५ हजारभन्दा बढी बालबालिकाको यस आठ महिनाको अवधिमा उपचार गराएको बताए । उनले ३ हजार ५ सय ९८ सर्जरी गरेको पनि जानकारी दिए ।
उनले अस्पताल आउन नसक्नेहरूलाई दूरदराजमै पुगेर आठ महिनाको अवधिमा ७२१ जनाको शल्यक्रिया गरेको बताए । दैनिक ४ सयदेखि ७ सय जना बिरामीहरूलाई बहिरंग सेवा दिने गरेको बताए ।
उनले विद्यार्थीहरूको आँखा जाँच गरी विपन्नलाई निःशुल्क चश्मा वितरण गरेको पनि बताए । गत ८ महिनामा १५ हजार बढी विद्यार्थीहरूको आँखा परीक्षण गरी १ हजारभन्दा बढी विपन्न विद्यार्थीलाई चश्मा वितरण गरेको बताए ।
प्रकाशित मिति: आइतबार, चैत २५, २०८० १७:११