शिलापत्रको वर्षान्त अभियानमा मत जाहेर गर्ने समय अब ३ दिन बाँकी छ । १५ चैतदेखि १० दिनको समय राखेर शिलापत्रले विभिन्न विधामा भर्चुअल्ली मत हाल्न पाउने गरी फारम राखेको छ । २५ चैत राति १२ बजेसम्म भोट गर्न पाइनेछ ।
यो मल्टिमिडिया अन्तर्क्रियामा पाठकले एक/एक वर्षव्यक्ति, वर्षकलाकार, वर्षखेलाडी, वर्षकार्टुनिस्ट, वर्षसिनेमा, वर्षनाटक र वर्षपुस्तकका रूपमा एक/एक गैरआख्यान, आख्यान र कविताका साथै १५ समाचार निर्मातालाई छानेर मत दिन पाउने व्यवस्था मिलाइएको छ ।
वर्षव्यक्तिमा वैज्ञानिक महावीर पुन, उद्यमी विनोद कुँवर, फुटबलर सावित्रा भण्डारी (साम्बा) तथा संयुक्त रूपमा एसएसपीद्वय दानबहादुर कार्की र मनोजकुमार केसीलाई राखिएको छ । वर्षव्यक्तिमा नचुनिएका बाँकी तीन जना यस वर्षको प्रमुख समाचार निर्माता हुनेछन् । यो सूची कसरी तयार गरियो भन्ने जान्न यहाँ क्लिक गर्नुहोस् ।

यसैगरी, पाठकले वर्षकलाकार पनि छान्न पाउने व्यवस्था मिलाइएको छ । लोकगायक खेम सेन्चुरी, अभिनेता दयाहाङ राई, गायकहरू प्रकाश दूतराज, प्रकाश सपुत, भुपू पाण्डे, गायिका शान्तिश्री परियार, कलाकार संयुक्त रूपमा सन्तोष पौडेल बटुकजी र अमृता पौडेल, गायिका समिक्षा अधिकारी, अभिनेताहरू सौगात मल्ल र विपिन कार्कीमध्ये एक जना वर्षकलाकार चुनिनेछन् ।

वर्षखेलाडीमा यसपालि पुरुष फुटबलमा अनन्त तामाङ, एथलेटिक्समा दीपक अधिकारी, पुरुष क्रिकेटमा दीपेन्द्र सिंह ऐरी, पारा तेक्वान्दोमा पलेसा गोवर्धन, पुरुष भलिबलमा मानबहादुर श्रेष्ठ, रवि केसी, महिला क्रिकेटमा रुविना क्षत्री, एथलेटिक्समा सन्तोषी श्रेष्ठ र महिला भलिबलमा सरस्वती चौधरीको नाम राखिएको छ । यीमध्ये एक जना वर्षखेलाडी हुनेछन् ।
सकारात्मक वा नकारात्मक दुवै कोणबाट, रचनात्मक क्षमताले होस् वा शक्तिको प्रभावले, साल २०८० लाई सर्वाधिक प्रभाव पारेका वा चर्चामा रहेका पात्रहरूलाई समाचार निर्माताको सूचीमा समावेश गरिएको छ ।

यसपल्ट वर्षकार्टुनिस्ट चुन्न पाउने व्यवस्था पनि मिलाइएको छ । अनुप गुरुङ, अविन श्रेष्ठ, वासु क्षितिज, रवि मिश्र र रविन साय्मिमध्ये सबैभन्दा बढी भोट पाउने एक जना वर्षकार्टुनिस्ट घोषित हुनेछन् ।
यसैगरी, पाठकहरूले उत्कृष्ट एक एक सिनेमा, नाटक, आख्यान, गैरआख्यान र कवितालाई पनि मत दिन पाउनेछन् । सबैभन्दा पहिला शिलापत्र वर्षकलाकार घोषणा गरिनेछ । वर्षफिल्मको सूचीमा अगत्स्य, जारी, दिमाग खराब, नाङ्गो गाउँ, परदेशी २, प्रसाद २, फूलबारी, महाजात्रा, महानगर र हल्कारा समावेश छन् ।
वर्षनाटकमा अन्धवेग, गंगालाल, जयमाया आफू मात्रै लिखापानी आइपुगी, ट्रान्जिट, दमिनी भिर, दुर्वासा, म्लेच्छ, मासिन्या, वेडिङ आलबम र शत्रु छन् ।
वर्षपुस्तक २०८० मा आख्यानतर्फ विष्णु सापकोटाको ‘अडिएका पाइला’, रमेश सायनको ‘अन्तर’, बाह्रखरीको ‘उत्कृष्ट कथा’, विश्व कुइँकेलको ‘गोपिचा’, भक्तमान स्याङ्तानको ‘डम्फूको आत्मालाप’, कृष्ण कुसुमको ‘पार्श्वधुन’, गोविन्द कुसुमको ‘भृकुटी’, मनप्रसाद सुब्बाको ‘मिसाम’, सागर खड्काको ‘राइपाली भञ्ज्याङ’ समावेश छन् ।
गैरआख्यानतर्फ यज्ञराज उपाध्यायको ‘काली-कर्णालीको लोकसाहित्य र संस्कृति’, ददि सापकोटाको ‘जीवगाथा’, कुमार नगरकोटीको ‘जोगियाना’, ओममूर्ति अनिलको ‘जीवन्त सम्बन्ध’, विवेककुमार शाहको ‘दरबारबाट देखेको नेपाल’, ध्रुवेशचन्द रेग्मीको ‘नेपाली संगीत दरबार’, खगेन्द्र लामिछानेको ‘पानीफोटो’, उमाकान्त पौडेलको ‘बुद्धकालीन समाज’, अमृता लम्सालको ‘मिडिया महिला र म’, मोहन मैनालीको ‘मुकाम रणमैदान’ र डा. भेषबहादुर थापाको ‘राष्ट्र-परराष्ट्र’ छन् ।
वर्षकविताको सूचीमा देवव्रतको ‘अश्वत्थामाको निधारबाट बागमती बग्छ’, राजु स्याङ्तानको ‘ओ पेङ्दोर्जे’, निर्भीकजंग रायामाझीको ‘त्यसरी त कहिल्यै सोचिएन’, रेशम विरहीको ‘प्रतिरोधको लय’, सुमिनाको ‘बागी स्त्रीको आत्मकथा’, भूपिनको ‘भूपिनका कविता’ र अभय श्रेष्ठको ‘लहना र तीर’, मीनबहादुर विष्टको ‘साला पहाडमें क्या हे’, प्रकाश रम्घालीको ‘साँझको संगत’ र गणेशकुमार राईको ‘सिलीदुङः गीलु रातोस’ छन् । प्रत्येक विधातर्फ १० मध्ये एक सिर्जनालाई पाठकले चुन्न सक्नेछन् ।
क्रमशः वर्षखेलाडी, वर्षकार्टुनिस्ट, सिनेमा, नाटक र पुस्तक घोषणा गरिएपछि ३० चैतमा वर्षव्यक्ति घोषणा गरिनेछ ।
२०७७ सालयता शिलापत्रले वर्षव्यक्ति र समाचार निर्माता’ घोषणा गर्दै आएको छ । २०७७ मा न्यायाधीशद्वय बमकुमार श्रेष्ठ र कुमार रेग्मी वर्षव्यक्ति घोषित भएका थिए भने २०७८ मा १ सय ४० विद्यालयलाई ‘पढ्दै कमाउँदै’ कार्यक्रम दिने सुर्खेतका शिक्षक नारायण सिग्देल वर्षव्यक्ति चुनिएका थिए ।
शिलापत्रको यो मल्टिमिडिया अन्तर्क्रियामा सहभागी हुन यसै समाचारको तल गुगल फारम राखिएको छ, जहाँ तपाईंले आफूलाई मन परेका पात्र र सिर्जना छान्न सक्नुहुनेछ । मनोनयन र छनोट विधिबारे शिलापत्रले विस्तृत विवरण सार्वजनिक गर्नेछ ।
गुगल फारमः
प्रकाशित मिति: बिहीबार, चैत २२, २०८० १३:०५