कर्णाली प्रदेशमा ५२ प्रतिशतले बालविवाह गर्ने गरेको तथ्यांक सार्वजनिक भएको छ । सुर्खेतमा आयोजित बाल कचहरीमा यस्तो तथ्यांक सार्वजनिक गरिएको हो ।
कर्णाली प्रदेशमा बालविवाहको यो तथ्यांक डरलाग्दो भएको सरोकारवालाहरूले बताएका छन् । कर्णालीमा बालविवाहको तथ्यांक डरलाग्दो भएकाले यसको न्यूनीकरणका लागि प्रदेश सरकारले ‘बैंक खाता छोरीको, सुरक्षा जीवनभरिको’ योजना ल्याउन लागिएको कर्णालीका सामाजिक विकासमन्त्री दल रावलले बताए ।
‘बालविवाहको अवस्था भयावह भएकाले नै प्रदेश सरकारले जन्मेदेखि २० वर्ष उमेरसम्म उनको बैंक खाता खोल्ने र त्यसैमा पैसा जम्मा गरिदिन लागेका छौं,’ उनले भने, ‘२० वर्ष उमेर पुगेपछि विवाह गरेमा उनीहरूले पैसा पाउँछन् । उमेर नपुगी विवाह गरे, त्यो खाताको पैसा पाउँदैनन् ।’
कर्णालीमा हुने गरेका बालविवाहमध्ये ९८ प्रतिशतले भागी विवाह गर्ने गरेको र २ प्रतिशत विवाह मात्र अभिभावकको सहमतिमा हुने गरेको बालअधिकारकर्मी बाले विश्वकर्माले बताए । ‘बालविवाह गर्नेमध्ये अधिकांशले भागी विवाह गर्ने गरेका छन्,’ उनले भने, ‘अभिभावकको सहमतिमा त थोरै मात्र हुने गरेको छ ।’
कर्णालीका कुन जिल्लामा कति प्रतिशत बालविवाह ?
उक्त तथ्यांकअनुसार सबैभन्दा बढी बालविवाह रुकुम पश्चिममा हुने गरेको पाइएको छ । रुकुममा ७१.६ प्रतिशत बालविवाह हुने गरेको पाइएको छ । त्यसैगरी, सल्यानमा ६९.८८, सुर्खेतमा ६८.८२, दैलेखमा ७०.६६, जाजरकोटमा ६५.८६, डोल्पामा ४९.९५, जुम्लामा ६९.७६, कालिकोटमा ५९.१७, मुगुमा ५७.३९ र हुम्लामा ५२.३८ प्रतिशत बालविवाह हुने गरेको छ ।
सबैभन्दा बढी १५ देखि १९ वर्षसम्मका बालबालिकाले बालविवाह गर्ने गरेको तथ्यांक छ ।
सानै उमेरमा गर्भवती हुनेको संख्या झण्डै ४१ हजार
कर्णालीमा २० वर्षभन्दा कम उमेरमा बितेको तीन वर्षमा झण्डै ४१ हजार बालिका गर्भवती भएको तथ्यांक सार्वजनिक गरिएको छ । सार्वजनिक तथ्यांकअनुसार कर्णालीमा गर्भवती हुने बालिकाको संख्या ४० हजार ९ सय ६१ छ । जसमध्ये डोल्पामा ६ सय ८७, मुगुमा २ हजार ३ सय २६, हुम्लामा ९ सय २, जुम्लामा २ हजार ८ सय ३० र कालिकोटमा २ हजार ५ सय ३८ जना बालिका गर्भवती भएका छन् ।
त्यस्तै, दैलेखमा ४ हजार ६ सय ९६, जाजरकोटमा ४ हजार २४, रुकुम पश्चिममा ७ हजार ५ सय ९०, सल्यानमा ६ हजार ६ सय ५२ र सुर्खेतमा सबैभन्दा बढी ८ हजार ७ सय १६ जना २० वर्षभन्दा कम उमेरमै गर्भवती भएका छन् ।
प्रकाशित मिति: बुधबार, असोज २९, २०७६ १७:३१