रिक्त रहेको सभामुख कसलाई बनाउने भन्नेमा सत्तारूढ दल नेकपामा आन्तरिक गृहकार्य थालिएको छ । तत्कालीन सभामुख कृष्णबहादुर महराले यौन दुव्र्यवहार प्रकरणमा मुछिएपछि सभामुख पदबाट राजीनामा दिएका थिए । महराको राजीनामासँगै सभामुख पद रिक्त रहँदै छ ।
सभामुख र उपसभामुखमध्ये एक पद त्याग गर्नुपर्ने भएपछि नेकपाले उपसभामुखलाई राजीनामा गराएर सभामुख आफूले राख्ने गरी नयाँ सभामुखका लागि छलफल अघि सारेको हो ।
सभामुख पदमा अब को आउला भन्ने अड्कलबाजी भइरहेको समयमा सोमबार नेकपा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालबीच भएको छलफलमा समेत सभामुखको विषयले प्रवेश पाएको थियो ।
प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा चीनका राष्ट्रपति सी चिनफिङको भ्रमणको विषयमा समीक्षा भएको थियो । त्यसक्रममा सभामुखबारे समेत छलफल भएको स्रोतले जानकारी दिएको छ ।
सत्तारूढ नेकपाभित्र सभामुख पदमा चयन हुन ठूलो कसरत सुरु भएको छ । अध्यक्षद्वय ओली र दाहालको सहमति नभई सभामुखको उम्मेदवार चयन हुन असम्भव जस्तै छ । तर, यसमा प्रधानमन्त्री ओलीको ‘च्वाइस’ नै अन्तिम हुने नेकपाका एक केन्द्रीय सदस्य बताउँछन् ।
प्रधानमन्त्री ओलीको विश्वासपात्र मानिने नेकपा संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङ सभामुखका बलियो दाबेदार हुन् । उनलाई नै सभामुख बनाउने विषयमा नेकपाभित्र छलफल भएको छ । पार्टीभित्रको शक्ति बाँडफाँटको हिसाबले तत्कालीन माओवादी केन्द्रले नै सभामुख पाउनुपर्ने तत्कालीन माओवादी केन्द्र पक्षधर नेताहरूले दाबी गरिरहेका छन् ।
प्रकाशित मिति: मंगलबार, असोज २८, २०७६ ०७:१६