त्रिभुवन विश्वविद्यालयको उपकुलपतिका लागि आवेदन दिएका ४३ जनामध्ये 'सर्ट लिस्ट'मा परेका १४ जनाकाे नाम सार्वजिनक हुँदा केही व्यक्तिका नाममा विराेध भएकाे छ । छनोट तथा सिफारिस समितिले बिहीबार राति सार्वनजिक गरेको ‘सर्ट लिस्ट’मा त्रिविका पूर्वउपकुलपति तीर्थराज खनियाँ पनि परेपछि विरोध भएको छ ।
उनीमाथि बौद्धिक चोरीको आरोप छ । उपकुलपति हुँदाको समयमा पनि उनी विवादित थिए । विवादमा तानिएका व्यक्ति पनि सर्ट लिस्टमा परेपछि संसदको चौथो ठूलो दल राष्ट्रिय स्वतन्त्र पार्टीले विरोध जनाएको छ । प्रधानमन्त्री एवं कुलपति पुष्पकमल दाहाल प्रचण्डले मेरिटका आधारमा उपकुलपति नियुक्त गर्ने बारम्बार उद्घोष गरे पनि खनियाँकाे नाम सर्ट लिस्टमा पर्नुले उनकाे भनाइअनुसार हुन्छ कि हुँदैन भन्ने आशंका जन्माएकाे छ ।
सर्ट लिस्टमा रहेकाकाे नाम सार्वजनिक भएपछि रास्वपाकी सांसद सुमना श्रेष्ठले भागवण्डा नगर्ने भनेर भाषण मात्र भएको टिप्पणी गरेकी छिन् ।
‘त्रिवि उपकुलपतिमा भागवण्डा नगर्ने, स्वच्छ छवीको योग्य व्यक्ति नियुक्ति गर्ने प्रतिबद्धता देशको सर्वोच्च पद भनिनेहरूमा आसिनहरूबाट सुनियो । ठूला, साना, युवा, झन् युवा सबै नेतागणबाट पनि यस्तै आदर्शको भाषण सुनियो । अनि आज सर्ट लिस्ट भएकाहरूको नाम देख्छु– वाह ! अझ निमित्तले नियुक्ति सरुवा गरिरहेका छन् रे । अन्य विश्वविद्यालयमा पनि नियुक्ति अड्काइरहेको कुरा सुनिन्छ,’ सुमनाले भनेकी छिन् ।
प्रधानमन्त्रीले भागवण्डा रोक्छु भनेर झुक्याएको उनको भनाइ छ । ‘त्रिविमा भागवण्डा रोक्छु भन्नुभएको थियो तर झुक्याउनुभयो ,’ उनले भनेकी छिन् ।
रास्वपाका प्रवक्ता मुकुल ढकालले पनि सर्ट लिस्टमा रहेका नामहरू राजनीतिक रङले रङ्गिएको टिप्पणी गरेका छन् । ‘यो नामावलीमा रानजीतिक रङले रङ्गिएकाहरू हुनुहुन्छ । प्रधानमन्त्रीले राजनीतिक भागवण्डा गर्दिनँ भनेर आश्वासन त दिए तर प्रक्रियाको सुरूवातले नै त्यो फगत आश्वासन मात्र थियो भनेर पुष्टि गर्छ,’ उनले भनेका छन् ।
१४ जना को कस्ता हुन् ?
१४ जनामा बौद्धिक चोरीको आरोप लागेका पूर्वउपकुलपति खनियाँदेखि कार्यवाहक उपकुलपति प्राडा शिवलाल भुसालसम्म छन् । भुसालमाथि रेक्टर भएको समयमा सूचना लुकाएको आरोप लागेको छ । पोखरा विश्वविद्यालयका पूर्वउपकुलपति केशरजंग बराल पनि १४ जनाभित्र अटाएका छन् ।
शिक्षाशास्त्र संकायको सहायक डिन भएर चार वर्ष तथा सोही संकायको डिन भएर साढे तीन वर्ष काम गरेका चित्रबहादुर बुढाथोकी पनि परेका छन् । उनले भारतको जवाहरलाल नेहरू विश्वविद्यायबाट विद्यावारिधि गरेका हुन् ।
त्यसैगरी, प्रा.डा. टंकनाथ धमलाकाे नाम पनि १४ जनामा छ । उनी त्रिविको केन्द्रीय गणित विभाग र कम्प्युटर विज्ञान तथा सूचना प्रविधि विभागको प्रमुखसमेत भइसकेका छन् । त्रिविको सन् १९८९ मा चान्सलर गोल्ड मेडल पाएका उनले जर्मनीबाट पीएचडी र क्यानडाबाट पोस्ट पीएचडी गरेका छन् ।
प्राध्यापक डा. भोजराज अर्यालले पनि सर्ट लिस्टमा परेका छन् । व्यवस्थापन केन्द्रीय विभागको प्रमुख र स्कुल अफ म्यानेजमेन्टको सह–निर्देशक भएर काम गरेको अनुभव अर्यालसँग छ । विश्वविद्यालय कार्यकारी परिषद्को बैठकले गत साउनमा अर्यालको संयोजकत्वमा विश्वविद्यलायमा देखिएको समस्या र समाधानबारे अध्ययन गर्न समिति बनाएको थियो । उनी नेतृत्वकाे समितिले रिपोर्ट बनाएर बुझाएको छ ।
त्यसैगरी, त्रिविको मानविकी तथा समाजशास्त्र संकायकी डिन प्राध्यापक डा. कुसुम शाक्य पनि परेकी छिन् । त्रिविमा ३५ वर्षदेखि काम गर्दै आएकी शाक्य पीएचडी रिसर्च कमिटी र एकेडेमिक काउन्सिलको सदस्य भएर काम गरेकी छिन् । उनी अर्थशास्त्र विभागको प्रमुख पनि भएकी थिइन् । उपकुलपतिका लागि २ जना महिलाको आवेदन परेको थियो, जसमा शाक्य मात्र सर्ट लिस्टमा परेकी हुन् । प्रा.डा. संगीता रायमाझीले पनि दरखास्त दिएकी थिइन् । तर, उनी सर्ट लिस्टमा परिनन् ।
त्यसैगरी, त्रिवि कीर्तिपुर क्याम्पसका पूर्वप्रमुख गोविन्द सुवेदी, माइक्रोबायाेलोजी विभागका पूर्वप्रमुख प्रकाश घिमिरे, रसायनशास्त्र विभागका पूर्वप्रमुख रामचन्द्र बस्नेत, इतिहासका प्राध्यापक ज्ञानेन्द्र पौड्याल, जनसङ्ख्याका प्राध्यापक महेन्द्र शर्मा पनि सर्ट लिस्टमा अटाएका छन् । पूर्वसह–परीक्षा नियन्त्रक नारायणप्रसाद बेलवासे पनि १४ जनाभित्र परेका छन् ।
शिक्षा मन्त्रालयका एक अधिकारीका अनुसार ४३ जनामध्ये १५ जनाको नाम सर्ट लिस्टमा सार्वजनिक गर्ने भनिए पनि अन्तिम समयमा १४ जनाको मात्र नाम सार्वजनिक गरिएको हो । १४ जनामध्ये अब ३ जनाको नाम उपुकलपतिका लागि सिफारिस हुनेछ ।
सर्ट लिस्टमा परेकाहरूको प्रस्तुतीकरण २९ माघदेखि फागुन २ गतेसम्म गर्ने कार्यतालिका छ । अन्तर्वार्तापछि ३ जनाको नाम कुलपति एवं प्रधानमन्त्री प्रचण्डलाई सिफारिस गरिनेछ । ३ जनाबाट १ जनालाई कुलपति प्रचण्डले उपकुलपतिमा नियुक्त गर्नेछन् । २३ पुसमा छनाेट तथा सिफारिस समितिले १५ दिनको समय दिएर आवेदन मागेको थियो ।

प्रकाशित मिति: शुक्रबार, माघ २६, २०८० १७:१९