पछिल्लो समय नेपालमा हुने खाने वर्गका मात्रै होइन हुँदा खाने वर्गका मानिसहरूमा समेत देशमा कुनै सम्भावना छैन भन्दै धमाधम विदेशिने क्रम बढेको छ । राम्रो सेवा सुविधा र पारिश्रमिकको लोभले दिनानुदिन दक्ष जनशक्ति विदेश पलायन हुने क्रम बढेको छ ।
आकर्षक तलव, सुरक्षित भविष्य खोज्दै दैनिक देश छोड्ने अन्य युवाहरू जस्तै पछिल्लो समय स्टाफ नर्सहरू पनि विदेश जानेक्रम जारी छ । नेपालमा काम गर्ने वातावरण, राम्रो तलबभत्ता, पढ्नका लागि पर्याप्त वातावरण नहुने र बढी श्रम गर्नुपर्ने अवस्थाकै कारणले विदेश जान बाध्य भएको नर्सहरू बताउँछन् ।
निजीदेखि सरकारी अस्पतालसम्म स्वास्थ्य सेवाका मेरुदण्ड नर्सहरूलाई नेपालमै आस जगाउने सेवा सुविधाको व्यवस्था नहुँदा नर्सिङ पेशाप्रति नै नैराश्य छाउँदै गएको छ । जसका कारण आफ्नै देशमा बसेर काम गर्छु भन्नेको संख्या घट्दो छ । विदेशमा आकर्षण हुनेको संख्या प्रतिदिन बढ्दै गइरहेको छ ।
नेपाल नर्सिङ काउन्सिलका अनुसार हालसम्म ३२ हजार नर्सले रोजगारीको खोजीमा नेपाल छाडिसकेका छन् । तर मुगुकी सगुना परियार, स्टाफ नर्स अध्ययनपछि रोजगारीका लागि वैदेशिक यात्राको सोच राख्नेहरूलाई आफ्नै देशमा पनि रोजगारी पाउन सकिन्छ भन्ने एक गतिलो उदाहरण बेनेकी छिन् । मुगुकी २५ वर्षीया स्टाफ नर्स सगुना परियार जसले आफूभित्रको आत्मविश्वासलाई जगाएकी छिन् । दृढ संकल्पलाई सफलतामा परिणत गर्न सफल भएकी छिन् ।
मुगुको छायाँनाथ रारा नगरपालिका–१, क्षत्रीबाडाकी सगुना एक वर्षमा लोकसेवा आयोगले लिएका ७ पदमा नाम निकाल्न सफल भएकी छिन् । हालै संघीय लोकसेवा आयोगको कार्यालय दिपायलले सार्वजनिक गरेको स्टाफ नर्सको नतिजासँगै सगुनाले एकै वर्षमा ७ वटा लोकसेवा परीक्षा उत्तीर्ण गर्न सफल भएकी हुन् ।
उनले गत वर्ष लोकसेवा आयोग लुम्बिनीले लिएको प्रदेश निजामती सेवातर्फ अनमी, स्थानीय सेवातर्फ अनमी, कर्णाली प्रदेश अनमी र पब्लिक हेल्थतर्फ नर्सिङ, कोशी प्रदेश अनमी, संघीय लोकसेवा आयोग दिपायलबाट स्टाफ नर्स र निजामती कर्मचारी अस्पतालमा नाम निकालेकी छिन् ।
यसरी तय भयो सगुनाको सफलताको यात्रा
दुर्गम ठाउँ । सञ्चारको असुविधाका कारण नर्सिङ कहाँ पढाइ हुन्छ ? कहिले भर्ना खुल्छ ? कहिले प्रवेश परीक्षा हुन्छ ? भन्ने केही थाहा हुँदैन थियो । मुगुको दुर्गम बस्तीबाट नर्सिङ पेशासम्मको यात्रा उनका लागि सहज पनि थिएन । सानैदेखि नर्स बन्ने सपना बुनेकी उनी पढाइमा अब्बल थिइन् । परिवारको पूर्ण साथ पाएकी उनले जसोतसो महेन्द्रनगरमा पीसीएल नर्सिङमा भर्ना खुलेको थाहा पाइन । समयमै भर्ना खुलेको थाहा नपाएपछि एक वर्ष ब्याक भएकी सगुनाले यसपटक छात्रवृत्तिमा नाम निकाल्न सफल भइन् ।
सेती महाकाली नर्सिङ क्याम्पसबाट २०७५ सालमा उत्कृष्ट नम्बरमा नर्सिङ पास गरिन् । पास भए लगत्तै उनी स्वास्थ्य सेवा कार्यालय मुगुमा २ वर्ष करार सेवामा काम गरिन । नर्सिङ पास भएलगत्तै लोकसेवा आयोगको तयारी गर्ने सोचमा उनि थिइन् तर, कोरोना महामारीका कारण रोकियो ।
कोरोना महामारी कै दौरानमा लोकसेवाले अनमी र जनस्वास्थ्यमा दरवन्दी खुलायो । त्यसपछि उनी लोकसेवा तयारी गर्न जागिर छोडेर काठमाडौं पुगिन । काठमाडौंमा एक महिना जस्तो तयारी गरेपछि पुनः कोरोनाको दोस्रो लहरले उनको तयारी बीचमै रोकियो ।
त्यसपछि उनले ३ महिनासम्म अनलाइन कक्षा लिएर संघीय, प्रादेशिक र स्थानीय तहमा लोकसेवाले खुलाएको ७ पदमा परीक्षा दिइन् । परीक्षा पश्चात नाम निस्के ठीकै छ, खालि किन बस्ने भनेर उनी सुशील कोइराला क्यान्सर अस्पताल नेपालगन्जमा करारमा काम गर्न थालिन् । त्यसपछि लोकसेवा आयोगले नतिजा सार्वजनिक गर्न थाल्यो । पहिलोपल्ट कर्णाली प्रदेशले लिएको अनमी र जनस्वास्थ्यतर्फ नर्सिङ पदमा नाम निस्कियो । उनले अनमी छाडेर जनस्वास्थ्यतर्फ नर्सिङ सेवा रोजिन् । अन्तर्वार्तामा सफल भएर उनी गत मंसिर ८ गतेदेखि दैलेखको दुल्लु नगरपालिकामा पब्लिक हेल्थ नर्सका रुपमा कार्यरत छिन् ।
आफूभित्र भएको इच्छा र चाहानाअनुसार निरन्तर मेहनत गरे सफलता सहजै प्राप्त गर्न सकिने सगुना बताउँछिन् । ‘आफूभित्र चाहाना, इच्छा र त्यहीअनुसार दृढता र लगाव हुनुपर्यो असम्भव भन्ने केही छैन, अवसरका लागि विदेशिनु नि पर्दैन, विदेश जाने सबैले अवसर नै नपाएर भन्दा पनि आकर्षक तलब सुविधाले पनि होला,’ उनले भनिन् ।
नेपालमा नर्सहरूले जागिर नै पाउँदैनन्, उनीहरूको भविष्य नेपालमा छैन भन्ने भाष्य गलत रहेको बताउँछिन् सगुना । हरेक ठाउँमा जागिर खानलाई आफ्ना मान्छे चाहिने, भनेको सेवा सुविधा नहुने जस्ता परिस्थितिले कतिपयलाई विदेशिनु पर्ने बाध्यता पनि हुनसक्ने उनको बुझाइछ । सगुनाले महाकाली माध्यमिक विद्यालय गमगढीबाट एसएलसी उत्तीर्ण गरेकी थिइन् ।
प्रकाशित मिति: शनिबार, माघ ६, २०८० १४:४४