रुकुमपश्चिमको त्रिवेणी गाउँपालिकाबाट ६ करोड रुपैयाँभन्दा बढीको अदुवा बिक्री भएको छ । पालिकाभर २ हजार ६ सय किसानले उत्पादन गरेको अदुवा बिक्रीबाट ६ करोड २४ लाख आम्दानी भएको त्रिवेणी गाउँपालिकाले जनाएको छ ।
गाउँपालिकाका कृषि शाखा प्रमुख रमेश पुनले यस वर्ष १५ लाख ६० हजार केजी अदुवा उत्पादन भएको जानकारी दिए । गाउँपालिकाभित्र अदुवाखेती गर्ने २ हजार ६ सय घरधुरी रहेको र ५ हजार २ सय रोपनी क्षेत्रफलमा अदुवा उत्पादन हुने गरेको जनाइएको छ ।
एक रोपनी जग्गामा ३ सय केजी अदुवा उत्पादन हुने गरेको उनले जानकारी दिए । प्रत्येक किसानले गाउँबाटै प्रतिक्वीन्टल ४ हजारका दरले बिक्री गरेका छन् । अदुवाका लागि व्यापारी गाउँमै पुगेर खरिद गर्ने गरेकाले बजारको समस्या नरहेको कृषि शाखाले जनाएको छ ।
व्यावसायिक रूपमा अदुवाखेती गरेका त्रिवेणी– ४, खुम्चेरीका नरे खड्काले यस वर्ष अदुवा बिक्रीबाट १ लाख आम्दानी गरेको बताए । विगत २० वर्षदेखि अदुवाखेतीमा लागेका उनले निरन्तर खेती गर्दै आएका छन् । यस वर्ष उत्पादन भएको साढे तीन क्वीन्टल बिउका लागि र १२ क्वीन्टल प्रतिक्वीन्टल चार हजारदेखि ८ हजारका दरले बिक्री गरेको उनले बताए ।
त्रिवेणी–४, खुम्चेरीका ५५ वर्षीय कृषक हरिबहादुर खड्काले यस वर्ष अदुवा राम्रो उत्पादन भएको जानकारी दिए । ३० वर्षदेखि निरन्तर कृषि पेसा गर्दै आएका उनले यस वर्ष अदुवा बिक्रीबाट १ लाख ५० हजार आम्दानी गरे ।
अदुवा गाउँबाटै प्रतिक्वीन्टल ४ हजार र बिउका लागि प्रयाेग हुने अदुवा प्रतिक्वीन्टल ८ हजाारदेखि १० हजार रुपैयाँसम्ममा बिक्री भएकोमा उनी खुसी छन् । 'पहिले एक क्वीन्टल अदुवाबाट सात क्वीन्टल उत्पादन गरिन्थो, उमेर पनि ढल्किँदै गयो अहिले त एक क्न्विन्टल अदुवाबाट तीनदेखि चार क्वीन्टलसम्म उत्पादन गर्ने गरेको छु,' उनले भने । यस वर्ष बिउका लागि १२ क्वीन्टल अदुवा भण्डारण गरेर राखेको किसान खड्काले बताए । रासस
प्रकाशित मिति: बुधबार, पुस ११, २०८० ०८:३३