बरफ भनेपछि रमेश हुरुक्कै हुन्थ्यो । तराईमा चैत महिनाको उखरमाउलो गर्मी खप्न भर्खरै पहाडबाट झरेको ठिटोलाई हम्मे-हम्मे परेको थियो । पाँचथरबाट झापा झर्दा उसले तराईमा गर्मी र लामखुट्टेले यसरी सताउला भन्ने कल्पनासम्म गरेको थिएन ।
ऊ लामखुट्टेसँग अभ्यस्त हुँदै गयो । गर्मी पचाउन भने उसलाई हम्मेहम्मे परेको थियो । असाध्यै गर्मी भएको बेला बरफ चुस्न पाए ऊ मक्ख पर्थ्यो । तर, चार आनाको बरफ पनि उसका लागि महँगो हुन्थ्यो ।
पहाडमा झोसिएको विद्रोहको आगोमा रमेशको गाउँ पनि अछुतो रहेन । एक रात अनुहारमा मुखुण्डो लगाएका विद्रोहीहरू रमेशको घरमा आए र उनीहरूको विद्रोहमा रमेशलाई सामेल गराइदिन धम्कीपूर्ण आग्रह गरेर गए । रमेशका बाले आफूलाई सोच्न एक-दुई दिनको समय मागे र त्यसको भोलिपल्टै सबै अचल सम्पत्ति छोडेर तराई झरेका थिए ।
रमेशका बा सानो हुँदा पनि देशमा विद्रोह भएको थियो रे । व्यवस्था बदल्ने नारा लिएर हिँडेकाहरूले भन्थे रे- हामीले सोचेको शासन प्रणाली देशमा आएपछि जनताको जीवनमा आमूल परिवर्तन आउनेछ । पहाडका कुना काप्चामा बाटो पुग्नेछ । घरघरमा पानीका धारा हुनेछन् । विभेदको खाल्डो कम हुनेछ ।
रमेशका बाले आफ्नो समयमा पनि क्रान्ति देखे । क्रान्तिका बाछिटाले निर्दोषहरूको ज्यान त्यो बेला पनि लिएको थियो । रमेशका हजुरबा भन्थे, 'क्रान्तिका नाम भैँसी-बाख्राका थुन मात्र काटिएन, निर्दोष मानिसहरू पनि मारिए ।'
देशले कालान्तरमा परिवर्तन देख्यो । तर, देशमा आएको परिवर्तन रमेशका बाको गाउँसम्म कहिल्यै पुगेन । रमेशले आफ्नो समयमा पनि विद्रोह भएको देख्यो । विद्रोहमा निर्दोष मानिसहरू हताहती भएको पनि देख्यो । तराई झरेपछि रमेशका बाआमाले शून्यबाट सुरु गरे जीवन । शून्यबाट सुरु गर्नुपर्ने भएपछि चार आना पनि महँगो हुँदोरहेछ ।
रमेशका बाले आफ्नो स्वच्छ आर्थिक अनुशासन, तराईमा भएका आफन्तको दर्विलो साथ लिएर तराईमा सानो धर्तीको टुक्रो जोडे, छाप्रो हाले । रमेशका बा र आमाले सायदै आराम गरे । बाआमा, दुई दाजुभाइ र तीन दिदीबहिनीसहित सात जनाको परिवार नयाँ ठाउँमा टिकेर खानु सजिलो थिएन ।
एक दिन ख्याल-ख्यालमा रमेशले आफ्ना बालाई सोधेको थियो, 'बा, यति धेरै सन्तान किन जन्माएको ?'
बाले फिस्स हाँस्दै भनेका थिए, 'तँ गधालाई पर्खेर बसेको नि । मर्दा मेरो लासलाई दुईतिरबाट काँध हाल्न अरुका छोरा आउन नपरोस् भनेर ।' रमेशकी आमाले पनि थपिन्, 'पशुपतिमा गएर भाकल गरेपछि मात्र तँ जन्मेको होस् । मैले पशुपतिका प्रत्येक ढुंगामा टाउको राखेर तँलाई मागेकी हुँ ।'
सानो हुँदा रमेशलाई बाआमाको कुरामा कहिल्यै विश्वास भएन । ठूलो भएपछि मात्र उसलाई लाग्यो- बाआमाले ठट्टा गरेका थिएनन् ।
अहिले पनि छोराको मोहले परिवारमा गहिरो जरा गाडेको छ । बीसौँ वर्षपहिले रमेशका बाआमाले छोराको मोह गर्नु अचम्मको कुरै थिएन । हड्डी घोटेर रमेशका बाआमाले सबैलाई पढाए । सबैले आ-आफ्नो क्षमताअनुसार शैक्षिक उन्नयन गरे । रमेशले पनि रसायनशास्त्रमा स्नातकोत्तर गर्यो ।
देशमा द्वन्द्व चलिरहेकै थियो । युवा-युवतीहरू गाउँमा जानु दोहोरो मारमा पर्नुहुन्थ्याे । कहिले विद्रोहीहरू आएर आफ्नो पक्षमा लड्न धम्कीपूर्ण आग्रह गर्थे । कहिले सेना पुलिस आएर दुस्मन पक्षको लडाकुलाई झैँ व्यवहार गर्थे ।
एक दिन सेनाको हुल रमेशको घरमा छिर्यो । सिपाहीले रमेशका बालाई यसरी केरकार गरे कि मानौँ, उसको परिवार राज्यकै विरुद्ध लडेको छ । सेना बाको उमेर ख्यालै नगरी अभद्र शैलीमा प्रस्तुत भएको थियो ।
आत्मसम्मानको ख्याल गर्ने रमेशका बा सेनाको शैलीले उत्तेजित भए । उनले सेनालाई नै प्रतिप्रश्न गरे, 'भाइ, तिमी अहिले कहाँ छौ ? तिम्रा बाआमा कहाँ छन् ? के तिमी आफ्ना बाआमासँग यसरी नै कुरा गर्छौ ?'
अमेरिकाले सुधालाई काम सिकायो । कामप्रति सम्मान गर्ने बानी सिकायो । नेपाल छँदा बाहिर निस्केर कहिल्यै काम नगरेकी सुधालाई पैसाको मूल्य अमेरिकाले नै चिनायो ।
त्यो दिन रमेशमा बाको कञ्चटमा गोली लाग्न सक्थ्यो । छेउमा भएको मेजरले स्थिति नियन्त्रणमा लिँदै भन्यो, 'बुवा, माफ गर्नुहोला । हाम्रो उद्देश्य हजुरलाई अपमानित गर्ने हुँदै होइन । हामी तपाईंहरूकै सेवामा खटिएका छौँ । हामी चाहन्छौँ– हजुरको परिवार राज्यविरुद्ध नजाओस् । हजुरका छोराहरू आंतककारीको मतियार नहोऊन् ।'
त्यसपछि रमेशका बाले भने, 'तपाईंहरू नोकरीमा भएजस्तै हाम्रा छोरा-छोरीहरू पनि नोकरीमा छन् । उनीहरू काठमाडौंतिरै बस्छन्, कोही सरकारी सेवामा छन् । कोही कलेज पढ़ाउँछन् । तपाईंहरूका आँखाले सबैलाई आतंककारी ठान्नु भएन ।'
रमेशका बाले कुन आँटले जवाफ दिए थाहा भएन तर त्यो दिन उनी सेनाको निसानाबाट बाँचे । खुसीको कुरा, त्यो दिनबाट सेनाको टुकडीले रमेशका बाआमाको आँगन नै टेकेन । सेना आँगनबाट फर्किएलगत्तै रमेशका बालाई लाग्यो– बढेका छोराछोरी गाउँघर आउनु सुरक्षित छैन ।
गाउँमा द्वन्द्वसँगै विदेशिनेको संख्या दिन-दिनै बढ्न थालेको थियो । धेरैजसो खाडीतिर लागे । केही पश्चिमा मुलुकतिर लागे । अमेरिका जानेहरू या त अमेरिकाको आप्रवासी चिट्ठामार्फत जान्थे या त उच्च शिक्षा हासिल गर्न आफ्नै खर्चमा वा छात्रवृत्ति मार्फत जान्थे ।
विज्ञान विषयमा स्नातकोत्तर गरेकाहरू छात्रवृत्तिमार्फत अमेरिका जान पाउने कुरा औपचारिक शिक्षा नलिएका रमेशका बालाई पनि थाहा थियो । बालाई अमेरिका जान आवेदन दिनुअघि टोफलमा राम्रो अंक ल्याउनुपर्छ भन्नेसम्म थाहा थियो । यो कुरा उनले आफ्नै गाउँबाट अमेरिका गएको छिमेकीको छोराबाट थाहा पाएका थिए ।
बालाई पनि लाग्यो, मेरो केटो अमेरिका जावोस् र उच्च शिक्षा हासिल गरोस् । पढ्न सकेन भने पनि यो द्वन्द्वबाट चैँ भागोस् । रमेशमाथि परिवारबाटै देश छोड्न दबाब आउन थाल्यो । रमेश चाहन्थ्याे, देशमै बसौँ, केही गरौँ ।
परिवारको दबाब, राजनीतिक द्वन्द्व र साथी समूहको दबाबले रमेशलाई अछुतो राखेन । अन्तत: उसले अमेरिका जाने निर्णय गर्यो । रमेशले अमेरिकाको प्रवेशाज्ञा पाएको दिन बाको छाती तराईको फाँटझैँ भएको थियो रे ।
रमेशले देश छोड्यो । देशका लागि फगत एक नागरिक बाहिरिएको थियो । रमेशकी आमालाई लाग्यो, मुटु नै छाती छोडेर निस्किएको छ । मुटु नै नभएपछि ज्यानले के अनुभूत गर्दो हो ? रमेशका बालाई लाग्यो, उनको छाती सगरमाथाझैँ चौडा भएको छ ।
देश छोडेर गएपछि दसैँ-तिहारमा रमेश आएन, रमेशसँगै दायाँ-बायाँ हिँड्दै आँगन टेक्ने सुधा पनि देखा परिन । भर्खरै तोते बोली बोल्दै गरेकी नातिनी ऋचा पनि आइन ।
देश छोडेको पहिलो वर्ष रमेशका परिवारले आँसुको ढिक्कासँग दसैँ मनाए । रमेशकि आमाले साडीको सप्कोले आँसु पुछेर दसैँ मनाइन् । तिहारमा दिदीबहिनीले रमेशको फोटोमा सप्तरंगी टीका लगाएर भाइटीका मनाए । रमेशले विश्वविद्यालयमा दसैँ-तिहार सम्झँदै गृहकार्य गरेर दिन बितायो ।
नौलो देश, फरक परिवेश र फेरि सुरु भएको औपचारिक विद्यार्थी जीवन । परिवारको आशा, पारिवारिक दायित्व, आर्थिक व्यस्थापन । सबै कुराले एकैचोटि छोपेको थियो रमेशलाई । परिवारको खर्च धान्न रमेश रातिराति मोटेलमा काम गर्थ्यो । सुधा काखको दूधे छोरी छोडेर शनिबार र आइतबार अरुकै बच्चा हेर्न जान्थी । अमेरिकामा अवैधानिक काम गर्दा पुलिसको फेला परे देश निकालामा परिने डर र आफ्नो छोरीलाई छोडेर अरुकै बच्चा हेर्नुपर्दा परेको मानसिक दबाबले सुधा विक्षिप्त भएकी थिई । नेपाल छँदा आफ्नो घरमा काम गर्ने मान्छे राखेर बसेकी सुधाका लागि अमेरिका आफैँले सोचेजस्तो स्वर्ग भएन ।
तर, अमेरिकाले सुधालाई काम सिकायो । कामप्रति सम्मान गर्ने बानी सिकायो । नेपाल छँदा बाहिर निस्केर कहिल्यै काम नगरेकी सुधालाई पैसाको मूल्य अमेरिकाले नै चिनायो ।
नेपाल छँदा कहिल्यै छोरी नहेरेको रमेशलाई बच्चा हेर्न, हुर्काउन, खाना खुवाउन, बच्चाको डाइपर बदल्न, भान्साघरको पूरै जिम्मा लिन सक्ने अमेरिकाले नै बनायो । घरभित्र नदेखिने कामको थुप्रो कति हुँदो रहेछ, रमेशले अमेरिका आएपछि मात्र थाहा पाएको हो । यहीबीचमा रमेशले आफ्ना बाआमालाई अमेरिका बोलायो । दूतावासले पनि सजिलै भिसा दियो ।
रमेशका बाआमा अमेरिकाको न्युयोर्कमा उत्रे । विश्वकै शक्तिशाली देशको प्रमुख शहर, विकासको अद्भुत चमत्कार देखिने शहर । गगनचुम्बी महल र तराईको फाँटझैँ लाग्ने राजमार्ग । धुवाँ ननिकाली तीव्र गतिमा चल्ने सवारीसाधन । यी सब देखेर रमेशका बाआमा चकित परे, जसरी पहिलोपटक यी सब देखेर रमेश र सुधा अचम्मित बनेका थिए ।
जाडो मौसममा घुँडासम्म हिउँ पर्दा पनि निरन्तर सक्रिय हुने शहर देखेर त झन् रमेशका बाआमा दंग परेका थिए । तर, त्योभन्दा ज्यादा दंग त्यति खेर परे, जब दिनभरि विश्वविद्यालय गएर आएको छोराले रातिराति मोटेल गएर काम गर्ने कुरा सुनायो । बुहारी सुधाले आफ्नी नातिनीलाई दूध खुवाउन छोडेर अरुकै बच्चा हेर्न जाने कुरा सुनाइन् । अमेरिका आएको केही हप्तामै बाआमाको मन यसरी भाँचियो कि मानौँ, यसको कुनै उपचार नै सम्भव छैन ।
बाआमालाई रमेशले राति पनि नसुतीनसुती कमाएर ल्याएको पैसाले धानेको कोठामा बस्न मन भएन । सुधाले पनि आफ्नै नातिनीलाई दूध नचुसाई-नचुसाई अरुकै बच्चाको हेरचाह गर्न गएको झनै चित्त बुझेन । तर, उनीहरूलाई यो पनि थाहा भयो कि यी सब काम उनीहरू बाध्यताले गरिरहेका छन् ।
रमेशका बाआमालाई लामो समय अमेरिका बस्न मन भएन । उनीहरू ढिपी गरेर योजना गरेको समयभन्दा धेरै अगाडि देश फर्किए ।
'तँभन्दा अगाडि म यो देश आएको भए तँलाई मरेकाटे पनि यो देश आउन दिने थिइनँ,' देश फर्कने दिन यत्ति भनेर रमेशका बा शिरमा लगाएको टोपी निकालेर अनुहार छोप्दै डाँको छोडेर रोएका थिए ।
'तँ त यो देशमा पढ्न आएको होस् । पढिसकेर देश फर्की रमेश, केही काम पाइनस् भने पनि हामीले जोडेको जमिनले तिमीहरूको जिन्दगी राम्रै चल्छ,' रमेशकी आमाले यत्ति भनेर मजेत्रोको सप्कोले आँसु पुछेकी थिइन् ।
रमेशले बाआमा यसरी रोएको कहिल्यै देखेको थिएन । बाआमालाई सम्झाउन ऊसँग कुनै शब्द थिएन । ऊ लाचार भएर त्यो दृश्य हेरिरहेको थियो । एयरपोर्टमा बाआमालाई छोडेर आउँदा रमेश बाटोभरि रोयो । धेरै दिनसम्म रमेशका आँखामा बाले टोपीले अनुहार छोपेर रोएको, आमाले मजेत्रोको सप्कोले आँसु पुछेको दृश्य झलझली आइरह्यो ।
समय बित्दै गयो । रमेश र सुधा अमेरिकी जीवनशैलीसँग अभ्यस्त हुँदै गए । रमेशलाई बिस्तारै आफ्नै पढाइको चाप बढन् थाल्यो । उसले प्रोफेसरको निगरानीमा अनुसन्धान पनि सुरु गर्यो । विद्यावारिधिका लागि गहन खोज अनुसन्धान गर्ने, प्रयोगशालामा गरिएका प्रयोग/परीक्षणबाट प्राप्त नतिजाहरूलाई विश्वप्रसिद्ध जर्नलहरूमा प्रकाशित गर्ने उसको खास दायित्व थियो ।
छालाको संसर्गमा एक थोपा मात्र रसायन परे मान्छेको जीवन सकिने कैयन् रसायनहरूका बारेमा उसले प्रयोगशालामा काम गर्दागर्दै सिकेको हो । रसायनले मानव जीवन र वातावरणमा पार्न सक्ने गम्भीर असरका बारेमा गहिरो जानकारी पाएपछि केन्द्रीय क्याम्पसको प्रयोगशालामा प्रयोगात्मक कक्षामा गरिएका असावधानी सम्झेर ऊ झस्किएको थियो ।
रमेशले देश छोडेर अमेरिका छिरेको पनि चार वर्ष बितिसकेको थियो । सामान्यतया अनुसन्धान सुरु गरेको दोस्रो वा तेस्रो वर्षपछि विद्यार्थीबाट जर्नलमा लेखहरू प्रकाशित होऊन् भन्ने प्रोफेसरहरू चाहन्छन् । चौथो वर्षको आधा वा पाँचौँ वर्षपछि विद्यार्थीलाई थप वैज्ञानिक लेखहरू छाप्ने, आफ्नो थेसिस लेख्ने, थेसिसको प्रस्तुतिका लागि थप गहन अध्ययन गर्नुपर्ने र जागिर पनि खोज्नुपर्ने बाध्यता हुन्छ । एकैसाथ आउने यति धेरै कामको चाप थेग्ने बानी पनि रमेशले अमेरिका आएपछि नै सिकेको हो ।
रमेशका बाआमा दंग त त्यति खेर परे, जब दिनभरि विश्वविद्यालय गएर आएको छोराले रातिराति मोटेल गएर काम गर्ने कुरा सुनायो । बुहारी सुधाले आफ्नी नातिनीलाई दूध खुवाउन छोडेर अरुकै बच्चा हेर्न जाने कुरा सुनाइन् । त्यो देखेपछि उसका बाआमाको मन नै भाँचियो ।
समयको लय आफ्नै हिसाबमा चल्दै थियो । अकस्मात् रमेशका बा बिरामी भएको खबर आयो । उच्च रक्तचाप भएका रमेशका बा खेत घुम्न गएको बेला आलीबाट चिप्लेर अनियन्त्रित भई लडेपछि टाउकोमा रक्तश्राव भएछ । नजिकैको बारीमा काम गर्दै गरेकी रमेशकी आमाले बा चिप्लेर लडेको करिब २० फिटको दूरीबाट देखेकी थिइन् । उनले छिमेकी भतिजलाई बोलाएर हत्तपत्त श्रीमान्लाई अस्पताल पुर्याउँदा डाक्टरले केही गर्न नसकिने बताएछन् ।
रमेशलाई तुरुन्तै नेपाल आउन भनियो । उसलाई बा अकस्मात् लडेर अवस्था चिन्ताजनक भएपछि इन्टेन्सिभ केयर युनिटमा राखेर उपचार हुँदै गरेको भनियो । रमेशले आफ्नी आमासँग कुरा गर्न खोज्थ्यो । तर, यो वा त्यो बहानामा आमासँग पनि कसैले कुरा गराएन । दिदी-बहिनी र आफन्तले पनि बाको अवस्था गम्भीर भएको मात्र बताए । रमेश तुरुन्तै नेपाल फर्कियो । उसले सबैभन्दा छोटो समयमा नेपाल पुग्ने टिकट लिएको थियो । तर, २२ घण्टाको उडान पनि उसका लागि बाइस महिनाको झैँ भएको थियो ।
नेपाल घर पुग्दा रमेशका बाको ज्यान थियो, जीवन थिएन । बाको ज्यानलाई डीप फ्रिजमा राखिएको थियो । रमेशका बाले फेर्ने श्वास हावामा विलीन भइसकेको थियो । आफ्नो जीवनकालमा भोगेका सुख र दु:ख छोडेर रमेशका बा जीवनको अन्तिम सत्यमा समाहित भइसकेका थिए । महाप्रस्थानको तयारीमा थिए रमेशका बा । रमेशका बालाई न अब आफ्नै श्रीमतीको चिन्ता थियो, न त आफ्नै सन्तानले दिएको सुखद अनुभूति वा सन्तापको आगो । उनले साथीभाइ, छरछिमेकी र आफ्नै परिवारको माया र घृणा दुवैलाई यही लोकमा छोडेर ब्रह्मलोकको यात्रा तय गरिसकेका थिए ।
बासँग रमेशले भौंतिक साथ बिताएको पछिल्लो स्थान जेएफके अन्तर्राष्ट्रिय एयरपोर्ट थियो । रमेशले एयरपोर्ट जाँदै गर्दा बाटोमा रूँदै गरेका आफ्ना बालाई सम्झियो । उसले सोचेको थियो– जुन दिन मैले विद्यावारिधिले दीक्षित भएको टोपी लगाउनेछु, त्यो दिन टोपी खोलेर बाको शिरमा लगाइदिनेछु र भन्नेछु– 'बा, यो टोपीमा तपाईंको पनि हक त्यत्ति नै छ, जति मेरो छ । तिमीले रातदिन नभनी रगतपसिना बगाएर मलाई स्कुल/कलेज नपठाएको भए, जबर्जस्ती नै किन नहोस्, अमेरिका पढ्न जा नभनेको भए घुँडा फाटेको सुरुवाल लगाएर हिँड्ने किसानको छोरो कसरी यो उपाधिबाट विभूषित हुन्थ्यो र ? म त फगत एउटा हाँगोमा फुलेको फूल हुँ बा, तिमी मलाई फुलाउन चुपचाप जमिनमा गाडिएका थियौँ । मैले भर्खरै पाएको विद्यावारिधिको सर्टिफिकेटमा हामी सबैको सपना मिसिएको छ ।'
तर, उसले विद्यावारिधि नसक्दै रमेशका बाले संसार छोडे । रमेशले आफ्ना बालाई केही भन्नै पाएन । बाको अन्तिम संस्कार सकेर आफ्नो पढाइ पूरा गर्न रमेश फेरि अमेरिकातर्फ लाग्यो । देश गएको तीन हप्तापछि रमेश अमेरिका फर्किएको थियो । यति लामो समय उसले आफ्नी छोरी ऋचालाई कहिल्यै छोडेको थिएन । बा गुमाउनुको पीडा र सन्तान छोडेर बस्नुको पीडा रमेशले पहिलोपल्ट एकैसाथ अनुभव गर्यो ।
अपार्टमेन्ट पुग्नेबित्तिकै ऋचाले रमेशलाई अंकमाल गर्दै भनी, 'मिस यु ड्याड ।'
'मिस यु टु बेबी,' रमेशले छोरीलाई छातीमा च्याप्दै भन्यो । एकछिन् छोरीसँग खेलेपछि रमेशले सोध्यो, 'मेरो बेबीलाई के दिऊँ त छोरी ?'
'मलाई फ्रिजबाट एउटा पपसिकल दिनुस् न ।'
रमेशले पपसिकल झिक्नलाई डीप फ्रिज खोल्यो । डीप फ्रिजमा उसले पपसिकल देखेन, आफ्ना बाको चिसो शरीर निष्प्राण लम्पसार परेको देख्यो । ऊ आफ्नै पिताजीलाई सम्झिएर भक्कानियो । ऋचा भने आफ्नो ड्याडी बच्चाजस्तो रोएको देखेर अलमलमा परिन् ।
प्रकाशित मिति: शनिबार, पुस ७, २०८० ०८:१५