राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद डा. चन्दा कार्कीले द्रुतमार्गको काम ६ वर्षसम्म किन नसकिएको भन्दै प्रश्न गरेकी छिन् ।
बुधबार बसेको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा सांसद कार्कीले ६ वर्षसम्म पनि द्रुतमार्गको काम नसकिनुको कारण मागेकी हुन् । द्रुतमार्ग निर्माणको जिम्मेवारी नेपाली सेनाले पाएको छ । तर, ६ वर्ष बितिसक्दा पनि द्रुतमार्गको काम २७ प्रतिशत मात्रै सम्पन्न भएको छ ।
उनले भौतिक निर्माणको काम सेनाको नभएको पनि बताइन् । 'भौतिक निर्माणको काम सेनाको होइन । द्रुतमार्गको काम कहिले पूरा होला भनेर कुरेर बसेको आयोजना हो । सेनाले गरेको भएर हुन्छ कि भन्ने थियो । तर, ६ वर्षसम्म पनि काम सकिएन,' उनले भने ।
सांसद कार्कीले सेनाले पनि अरु ठेकदार राखेर द्रुतमार्गको काम गरेकोमा आपत्ति जनाइन् । 'अहिलेसम्म जम्मा २७ प्रतिशत काम भएको छ । अब ३ वर्षमा ७२ प्रतिशत काम कसरी सकिन्छ ? काम ढिलो गर्नेलाई जरिवाना हुन्छ । सेनालाई जरिवाना हुन्छ कि हुँदैन ?,' उनले प्रश्न गरिन् ।
प्रकाशित मिति: बुधबार, पुस ४, २०८० १३:१२