काभ्रेपलाञ्चाेकको पाँचखाल नगरपालिकामा महिला औद्योगिक ग्राम बनाउने सरकारी तयारी शिलान्यासअघि नै विवादमा परेको छ । बुधबार पाँचखालमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, अर्थमन्त्री प्रकाशशरण महत र उद्योग वाणिज्य तथा आपुर्तिमन्त्री रमेश रिजालसमेतको उपस्थितिमा शिलान्यासको तयारी भइरहेको छ ।
करिब एक सय रोपनी जग्गामा झण्डै एक अर्ब रुपैयाँको लगानीमा महिला औद्योगिक ग्राम बन्न लागेको हो । महिला उद्यमीहरू नजोडिएको संस्था दक्षिण एशियाली महिला विकास मञ्चलाई राजनीतिक सम्बन्ध र पहुँचका आधारमा उक्त औद्योगिक ग्राम सञ्चालनको जिम्मा दिन लागिएको भन्दै विवाद देखिएको हो । २४ जेठ ०८० को मन्त्रिपरिषद् बैठकले औद्योगिक ग्राम कार्यक्रमअन्तर्गत निर्माणाधीन पाँचखालको पार्कलाई ‘महिला औद्योगिक ग्राम’ बनाउने निर्णय गरेको थियो ।
बुधवार उद्घाटन हुने पार्क निर्माणका लागि पाँचखाल नगरपालिकाकाले एक सय रोपनी जग्गा उपलब्ध गराएको नगरप्रमुख महेश खरेलले बताए । शिलापत्रसँगको कुराकानीमा खरेलले एक सय रोपनीमा निर्माण हुन लागेको महिला औद्योगिक पार्क बुधबार शिलान्यास हुन लागेको उल्लेख गरे । खरेलले भने, ‘बुधबार शिलान्यास हुन लागेको छ । त्योभन्दा बढी केही बताउन सक्दिन शिलान्यासपछि विज्ञप्तिमा विस्तृत भनौँला ।’
औद्योगिक पार्क २५ वर्षका लागि जमिन भाडामा दिने सम्झौता भएको छ । झण्डै एक अर्ब लगानी हुने अनुमान गरिएको ग्रामका लागि सरकारले औद्योगिक ग्राम निर्माणका लागि ४१ करोड रूपैयाँ बजेट विनियोजन गरेको छ ।
नेपालमा लामो समयदेखि महिला उद्यमीहरूको क्षेत्रमा काम गर्दै आएको महिला उद्यमी महासंघलाई भने उक्त प्रक्रियामा सहभागी गराइएको छैन । महिला उद्यमशीलता, उद्यमी कोष, औद्योगिक ग्राम , स्थानीय महिलाको उद्यमशीलताको क्षेत्रमा महासंघले काम गर्दै आएको छ । तर, त्यही महासंघको पूर्वअध्यक्षसमेत रहेकी प्रमिला रिजालले त्यही महासंघलाई उक्त अभियानमा भने पन्छाएकी छिन् । तर, उद्योग मन्त्रालयले पनि तिनै रिजाल अध्यक्ष रहेको दक्षिण एशियाली महिला विकास मञ्च जोडेको छ ।
उद्योगमन्त्री रमेश रिजाल र पाँचखाल नगरपालिकाका नगरप्रमुख महेश खरेल अध्यक्ष रिजालका नातेदार भएकै कारण महिला विकास मञ्चले भूमिका पाएको आरोप लागेको छ । मञ्चमा महिला उद्यमीहरूको संख्या जोडिएको छैन तर महिला उद्यमी महासंघमा करिब ६ हजार महिला उद्यमीहरू सदस्य रहेका छन् ।
त्यसैले, महिला उद्यमीहरू भएको संस्थालाई पाखा लगाएर महिला विकास मञ्चले अग्रसरता लिएको भन्दै कतिपय महिला उद्यमीहरूले विरोध गरेका हुन् । शिलान्यास अघि नै विवाद देखिएपछि कुरा गर्न खोज्दा नगरप्रमुख खरेलले भने आज केही नभन्ने भन्दै पन्छिए ।
पार्कमा पर्यावरणीय पर्यटन, उत्पादन क्षेत्र र सूचना तथा प्रविधि गरी तीन विभागमा विभाजन गर्न खोजिएको छ । पर्यावरणीय पर्यटन क्षेत्रमा विभिन्न जातीय संस्कृति र शिल्पको प्रत्यक्ष सीप प्रदर्शन गरिनेछ । स्थानीय खाना अर्थात परम्परागत खाना र स्थानीय मदिरालगायत प्रदर्शनी हुने बताइएको छ ।
त्यसैगरी, उत्पादन क्षेत्रअन्तर्गत स्थानीय कच्चा पदार्थ र कृषिमा आधारित पचासवटा साना उद्योग स्थापना र त्यसमध्ये २५ वटा लघु उद्यमीका उद्योग २५ वटा स्टार्टअप हुने पनि भनिएको छ । पार्कमा भर्चुअल बजार पनि निर्माण गरिने योजना पनि रहेको बताइएको छ । स्थानीय उत्पादक र कृषकहरूले हरित औद्योगिक पार्कभित्र महिला उद्यमीहरूसँग प्रत्यक्ष कारोबार गर्न सक्ने गरी व्यवस्था गरिने योजना पनि रहेको बताइएको छ ।
प्रकाशित मिति: मंगलबार, मंसिर २६, २०८० १९:५२