मोहन मैनाली आफू सक्रिय पत्रकार मात्रै होइनन्, नयाँ पुस्ताका कैयौँ रिपोर्टरका गुरु पनि हुन् । लामो समययता खोज पत्रकारितामा सक्रिय रहँदै उनले नेपाली रिपाेर्टरहरूलाई ‘खोज पत्रकारिता’ सिकाउँदै आएका छन् ।
पत्रकारिता र लेखनलाई कुशलतापूर्वक उन्न सफल लेखकमा पर्ने मैनालीले नेपालको उत्तरी भेगको यात्रा गरेर ‘उपल्लो थलो’, सशस्त्र द्वन्द्वका रिपोर्टिङहरू उनेर ‘मान्ठा डराएको जुग’, आफूले देखे, भोगे र लागेका कुरा समेटेर ‘देखेको देश’ र २ सय ९ वर्षअघिको नालापानी युद्धका सिपाहीहरूको पत्र खोलेर ‘मुकाम रणमैदान’ पुस्तक लेखेका छन् । अनुवाद, निबन्ध, वृत्तचित्रलगायत विधामा पनि उनी सिद्धहस्त मानिन्छन् ।
मैनालीको पछिल्लो पुस्तक हो- मुकाम रणमैदानः नेपाल-अंग्रेज युद्धको बखान ।
पछि सुगौली सन्धिको कारक मानिएको नेपाल–अंग्रेज युद्धबारे लेखिएको पुस्तक पाठकको हातसम्म पुर्याउन उनले अढाई वर्ष मिहिनेत गरेका रहेछन् ।
१८७०/७१ सालदेखि करिब चार वर्षको अवधिमा नेपालीले अंग्रेजसँग लडेको युद्धमाथि लेखिएको पुस्तकमार्फत उनले अहिलेसम्म कसैले खोल्न नसकेको पहेली खोलिदिएका छन् । पुस्तक पढ्दा लाग्छ, मैनाली त्यो इतिहासमा फूलबुट्टा भरेर लेखिरहेका छैनन्, बरु रिपोर्टिङ गरिरहेका छन् । नालापानी युद्धमा के-के भएको थियो, नेपाली र अंग्रेज सिपाहीले त्यसबेला लेखेका चिट्ठीका आधारमा मैनालीले ऐतिहासिक लडाइँको कथा भनेका छन् ।
इतिहासमा खास रुचि राखे पनि कुनै दिन इतिहासबारे पुस्तक नै लेख्छु भन्ने उनलाई लागेको थिएन रे । हुन पनि 'मुकाम रणमैदान' दिमागमा आउनुअघि उनले यसलाई केवल २५ सय शब्दको लेख मात्रै ठानेका रहेछन् । तर, जसै उनले राष्ट्रिय अभिलेखालयमा २ सय वर्षअघिका पत्र खोलेर पढे, त्यसपछि उनको योजना र इच्छा बदलिएछ । यो कुरा उनले हामीसितको अन्तर्वार्तामा बताएका छन् ।
प्रस्तुत छ, लेखक मैनालीसित पुस्तक 'मुकाम रणमैदानः नेपाल-अंग्रेज युद्धको बखान' र यो लेख्दाको अनूभूतिबारे गरिएको कुराकानीको सम्पादित अंश:
तपाईं पत्रकारिता र अनुवादमा कहलिनुभएको व्यक्ति, इतिहासतिर फर्किने सुर कसरी चल्यो ?
नेपाललाई अहिलेको अवस्थामा राख्ने सबैभन्दा ठूलो घटना सुगौली सन्धिअगाडिको लडाइँ हो, १८७१– ७२ सालको । त्यसको पूर्ण चित्र आउने गरी लेखिएको इतिहास मैले भेटिनँ । खण्डखण्डमा अमरसिंह थापा, बलभद्र कुँवर, अरु केही भागमा उजिरसिंह थापाका बारेमा लेखिएको छ । तर, पूर्वमा टिष्टादेखि पश्चिममा सतलजसम्म भएको लडाइँका बारेमा लेखिएकै छैन । त्यसैले नलेखिएका कुरा लेख्न पो हुन्छ कि भन्ने भयो । तर, लेख्ने सामग्रीबिना रहर मात्रै गरेर पनि भएन । यसका लागि सामग्रीहरू पनि रहेछन् । लडाइँका बेलामा इस्ट इन्डिया कम्पनी र नेपाल दुवैतिरका सिपाहीले कमाण्डरलाई लेखेका, कमाण्डरले सिपाहीलाई लेखेका चिट्ठीहरू लगभग एउटा किताब हुने खालका रहेछन् । २ सय ९ वर्षभन्दा पहिलेका चिट्ठीहरूसमेत राखिएका रहेछन् । बुझिने खालका पनि रहेछन् । अनि किन कोसिस नगर्ने त भनेर लागेको हुँ ।
नेपाल–अंग्रेज युद्धको नालीबेली उधिन्छु भनेरै लेख्न थाल्नुभएको थियो ?
म राष्ट्रिय अभिलेखालय अरु नै कामले गएको थिएँ । त्यहाँ पुगेपछि पुराना चिट्ठी भएको कुरा थाहा पाएँ । अनि खोज्न थालेँ । सुरुमा त २५ सय शब्दजतिको एउटा लेख लेखौँला भन्ने थियो । तर, खोज्दै जाँदा एउटा किताबै हुने दस्तावेजहरू फेला पारेँ । फेरि म लेख्ने पढ्ने नै काम गरिरहेको छु भने किन नगर्ने त भनेर पुस्तक नै लेख्न थालेको हुँ ।
दुई सय वर्षअघिको युद्धको इतिहास पानामा उतारिरहँदा, कतिपल्ट सिपाही बन्नुभो होला, कतिपल्ट चिट्ठी पढ्ने राजा, महाराजा बन्नुभो होला, कतिपल्ट सिपाहीको परिवारको सदस्य बन्नुभो होला, कस्तो थियो लेख्दाको अनुभूति ?
यो पुस्तक लेखिरहँदा मैले आफूलाई रिपोर्टरै मानेँ । नालापानी युद्धबाट जसले पत्र लेखेको हुन्छ, मैले त्यसका आधारमा रिपोर्ट बनाउने हो नि त । यस क्रममा म घरि नेपालतिर बसेर यताका सिपाही, कमाण्डरलाई युद्ध कसरी लड्यौ भनेर सोध्ने रिपोर्टर, घरि अंग्रेजतिर बसेर त्यो युद्ध कसरी लड्यौ भनेर सोध्ने रिपोर्टर, दुवैतिरका कुरा ल्याउने रिपोर्टर बनेर मैले यो पुस्तकमा काम गरेँ ।
सुरुमा त म यो आफैँ लेख्दिनँ भन्ने लागेको थियो । त्यो चिट्ठी जसले, जुन ठाउँमा बसेर लेखेको छ, त्यही ठाउँ र उसको नामसहित राख्छु भन्ठानेको थिएँ । जसरी हामीले रिपोर्टमा ‘काठमाडौं, २०८० मंसिर २५ गते’ ‘फलानो’ भनेर लेख्छौँ, उसैगरी ‘नालापानी १८७२ मंसिर १४ गते, ‘रिपुमर्दन थापा’ भनेर राख्ने सोचेको थिएँ ।
अंग्रेजको तोपबारे एक ठाउँमा नेपाली सिपाहीले ‘धरती धकेल भन्याको तोप लिएर आयो’ भनेको छ । अर्थात् धरती नै धकेल्न सक्ने शक्ति भएको तोप भन्न खोजेको हो । यो भनेको अठार पाउन्डको गोला खाने तोप रहेछ । हतियारका दृष्टिले अंग्रेजको तुलनामा नेपालीहरू धेरै नै कमजोर रहेछन् ।
त्यही लडाइँ लडेको कर्णेल मबिसँग त्यही दिनको अनुभव के थियो, उसैको पत्रबाट सुनाउने भन्ने योजना थियो । तर, यसो गर्दा पूर्ण जानकारी नआउने रहेछ । कुनै ठाउँमा अलिकति व्याख्या पनि गर्नुपर्ने भयो । उहाँहरूले लेखेकोबाट मात्रै पूरा नहुने भयो । नभए मैले सबै कुरा एउटा रिपोर्टरले लेखेजस्तै गरेर लेख्ने थिएँ ।
तपाईं वास्तवमा पत्रकारै भएकाले इतिहास लेख्दा पत्रकार नै बन्ने प्रयास गरेँ भन्नुभयो । स्वभावैले पत्रकार प्रतिप्रश्न गर्ने स्वभावका हुन्छन् । २०० वर्षअघिको इतिहास खोतल्दै गर्दा कति प्रतिप्रश्न उठे होलान्, कति अपूरा जानकारी थिए होलान्, त्यसको कमीलाई पूरा गर्न कति अप्ठेरो भयो, कसरी पूरा गर्नुभयो ?
नेपालतिरबाट लेखेका कुरामा जानकारी नपुगे उता अंग्रेजतिर खोजेँ । किनभने त्यो लडाइँ त दुवै पक्षले लडेका हुन् नि त ! मैले दुवैतिरका सूचना, जानकारी समेटेर पूर्ण पार्ने कोसिस गरेँ । तर, कतिपय जानकारी पाउन यसो गरेर पनि सम्भव हुँदैन । यस्तोमा मैले त केही गर्न सक्ने कुरा भएन । जे–जे खोज्न सकेँ, भेट्न सकेँ, ती जानकारी राखेको छु । तर, यस्तो असाध्यै थोरै अवस्थामा मात्रै छ ।
राजा, महाराजा, नायकको आँखाबाट अक्सर हामीलाई इतिहास देखाइन्छ, तपाईंले सिपाहीको आँखाबाट देखाउनुभयो, हामीले पढी, सुनिभ्याएको भन्दा तपाईंले ल्याएका नयाँ कुरा अरु के–के छन् ?
सामान्यतः हामीले कुनै आख्यान पढ्यौँ, कुनै कविता पढ्यौँ भने ती सबैमा अलिकति बढाइचढाइचाहिँ भएको देखिन्छ । इतिहास, गैरआख्यानमा पनि फुलबुट्टा भर्ने पहिल्यैदेखिको चलन छ । नेपाल-अंग्रेज युद्धको इतिहासबारे पनि कताकता यस्तै पाइयो । नालापानी युद्ध नेपालीहरूले साह्रै दुःखले लडेका हुन् भन्ने कुराचाहिँ नेपाल र अंग्रेज दुवै पक्षको चिट्ठी हेर्दा प्रस्ट हुन्छ ।
नालापानी युद्धको पृष्ठभूमि के थियो, अलिकति बताइदिनुस् न !
हिन्दुस्तानमा अंग्रेजहरूले आफ्नो उपनिवेश विस्तार गर्दै गए । यता नेपालले पनि गोरखा राज्य विस्तार गर्दै गयो । त्यसैले कतै न कतै पुगेर दुवै पक्ष ठोक्किनुपर्ने नै थियो । यस क्रममा पूर्व टिष्टादेखि पश्चिम सतलजसम्म १५ सय किलोमिटरभित्र सिमाना थुप्रै ठाउँ विवाद भयो । उता अंग्रेजले पनि अर्काको लिएको छ, यता नेपालले पनि विभिन्न राज्य लिने क्रम चलिरहेको थियो । अहिले त सिमानामा हाम्रो विवाद हुने गरेको छ भने त्यतिबेला झन् नहुने कुरै भएन । त्यसैले सीमा विवाद हुँदै गयो । अरु कुनै किसिमले विवाद सुल्झाउन नसकिने भएपछि युद्ध सुरु भएको देखिन्छ ।
यसअघिका पुस्तकसँग आफ्नो पछिल्लो पुस्तक कसरी दाँज्नुहुन्छ ? कन्टेन्टभन्दा पनि लेख्दाको अनुभवसँग ?
मेरा यसअघिका पुस्तकहरू उपल्लो थलो, मान्ठा डराएको जुग, देखेको देश, मैले भोगेको, देखेको र जानेको समयमा आधारित हुन् । प्रशंगवश कुनै पुराना कुरा राखिनु बेग्लै कुरा भयो । मूलतः ती मेरा किताब वर्तमान समयका थिए । मुकाम रणमैदानचाहिँ वर्तमान समयलाई निर्देशित गर्ने २ सय वर्षभन्दा पुरानो सन्दर्भको हो । समयका दृष्टिले पनि फरक हो । पछिल्लो पुस्तक हामीभन्दा ८/१० पुस्ताअगाडिको सन्दर्भमा आधारित छ । त्यो बेलाका मान्छेले देखे, भोगेका कुरालाई मैले पुनर्कथन, पुनर्बखान गरेको हुँ ।
आधुनिक नेपालको इतिहास बुझ्न केवल नेपाली भाषा जानेर पुग्ने रहेछ कि अरु पनि चीज जान्नुपर्ने रहेछ ?
कुनै पनि कुरालाई विस्तृतमा बुझ्नु छ भने यसको पृष्ठभूमिबारे जानकारी आवश्यक पर्छ । जस्तो कि, आजको सन्दर्भमा लेखिएका जानकारीको पृष्ठभूमि मसित हुन्छ, तर २ सय वर्षपछिको मान्छेले त सजिलै यसको पृष्ठभूमि बुझ्दैन नि । समय धेरै बदलिएको वा अगाडि गइसकेको हुन्छ । पृष्ठभूमि नै नबुझेपछि जानकारी भएर पनि त्यसलाई बुझ्न कठिन हुन्छ । शब्द वा भाषा देखिन्छ, त्यो कुन प्रसंगमा भएको भन्ने बुझ्न गाह्रो हुन्छ ।
दुई सय वर्षअघि राज्यलाई ‘ढुंगो’ भनिदो रहेछ । आज हामी ढुंगोलाई देश भनेर बुझ्दैनौँ । जस्तै, अहिले उपत्यका भन्दा काठमाडौंमा बस्ने मान्छेले काठमाडौं उपत्यका सम्झिने भए, दाङमा बस्ने मान्छेले दाङ उपत्यका सम्झिने भए । जहाँजहाँ उपत्यकामा छन्, त्यहाँका मान्छेले आफैँ बसेको स्थानलाई उपत्यका बुझ्ने भए । तर, त्यो कुन प्रसंगमा भनिएको हो भन्ने प्रस्ट भएन भने त दाङ उपत्यका हो कि, काठमाडौं, राप्ति हो कि स्पष्ट नहुने भयो । यस्तो समस्या हुँदो रहेछ ।
२००७ सालसम्म नेपालमा जम्माजम्मी २ प्रतिशत मान्छे साक्षर थिए, २ सय वर्षअघि, त्यो पनि सिपाहीहरूले लेखेका चिट्ठीपत्रमा केकस्ता शब्द, भाषा रहेछन्, बुझ्न कति कठिन भयो ?
पहिलो त अक्षर बुझ्न समस्या भयो । केही ठाउँ जस्तै; बुढाकाजी अमरसिंह थापा नालापानी, उजिरसिंह थापा पाल्पाजस्ता महत्त्वपूर्ण ठाउँमा लेखनदास हुँदा रहेछन् । उनीहरूका अक्षर अलिक राम्रा छन् । कतिपय सिपाहीले आफैँले लेखेका छन् । कुन अक्षर कसरी लेख्ने भन्ने कुरामा पारंगत नभएको मान्छेले पनि लेख्नुपर्ने बाध्यता थियो ।
त्यतिबेला ‘ख’ को काम पनि ‘ष’बाटै चलाइँदो रहेछ । त्यसैले लेखिएको चित्रले कुन अक्षर जनाउँछ भनेर चिन्न कठिन भयो । चिनिसकेपछि त्यसबाट बन्ने शब्दको अर्थ के हो, पहिल्याउन पनि गाह्रो । जस्तै ‘लोत’ भन्ने शब्द त मैले बुझेँ तर यसको अर्थ मैले बुझेको भन्दा फरक रहेछ । तत्कालीन समयमा लोत भनेको लासलाई भनिदो रहेछ । अहिले हामी ‘लोथ’ भन्छौँ, जुन लोतकै लाक्षणिक प्रयोग रहेछ । सिपाहीलाई तिलंगा भनिदो रहेछ । अचेल प्रचलनमा नरहेका त्यसबेलाका शब्दहरूले अप्ठेरो पारेकै हुन् ।
त्यो बेला नेपालीको वास्तविक युद्ध रणनीति, सामर्थ्य र नेपाली फौजबारे अंग्रेजको अड्कलबीच के भिन्नता पाउनुभयो ?
नालापानीकै पहिलो लडाइँबाट हेरौँ न । नालापानी हान्न आएका कर्णेल मबिले नेपालीलाई खासै शक्तिशाली ठानेनन् । ठूला तोपबिनै यिनेरुलाई ठेगान लगाउँछु भन्ने ठानेछन् । त्यसैले सानो फौज लिएर आएका थिए । तर, उनले सोचेभन्दा ठीक विपरीत भयो र नेपाली फौजले अंग्रेजहरूलाई लज्जास्पद हार चखाए । अनि मबिले ठूला तोप नल्याईकन यहाँबाट नेपालीलाई लघार्न असम्भव छ भन्ने महसुस गरे । त्यहाँनेर अंग्रेजले पहिलोपल्ट नेपालीको शक्ति थाहा पाए ।
नालापानी गएर नेपालीलाई पाटपिट पारी धपाएर आउनू भनेर मबिलाई पठाउने व्यक्ति थिए जेनेरल जिलेस्पी । आफ्नो फौज हारेर फर्केपछि मबिले सकेन, आफैँ गएर नेपालीलाई ठीक लाउँछु भन्दै जिलेस्पी स्वयं नालापानी उक्लिए । साथमा सानातिना तोप, बन्दुक लगेका थिए । तर, जिलेस्पी आफैँ मारिए । यसपछि अंग्रेजलाई ठूलो धक्का लाग्यो, नैतिक रूपले पनि, मनोवैज्ञानिक रूपले पनि । मान्छे पनि मारिए, हतियार पनि धेरै खर्च भयो ।
दोस्रो आक्रमणमा पनि अंग्रेजहरू नेपालीसित हारे । त्यतिबेला मात्रै नेपालीहरूको धैर्यता, वीरता अंग्रेजहरूले थाहा पाए । नेपालीहरू पहाडको टुप्पामा बसेर युद्ध लडिरहेका थिए । भौगोलिक दृष्टिले पनि अंग्रेजका लागि यो निकै चुनौतीपूर्ण थियो । यसरी मूलतः दुई कारण पहिलो, उनीहरू बसेको ठाउँका कारणले र दोस्रो, उनीहरूको वीरता र धैर्यताका कारणले आग्राबाट ठूलठूला तोप नल्याई जित्न नसकिने निचोड अंग्रेजहरूले निकाले ।
ठूलठूला तोप लिएर आएका अंग्रेजसँग लड्ने नेपाली फौजका हातहतियारचाहिँ कस्ता थिए ?
भाला, खुकुरी, धनु, काँड, विष, थोरथोरै तोप, बन्दुक पनि थिए । तर, अंग्रेजको तुलनामा आधुनिक हतियार असाध्यै कम थिए । अंग्रेजको तोपबारे एक ठाउँमा नेपाली सिपाहीले ‘धरती धकेल भन्याको तोप लिएर आयो’ भनेको छ । अर्थात् धरती नै धकेल्न सक्ने शक्ति भएको तोप भन्न खोजेको हो । यो भनेको अठार पाउन्डको गोला खाने तोप रहेछ । हतियारका दृष्टिले अंग्रेजको तुलनामा नेपालीहरू धेरै नै कमजोर रहेछन् ।
नालापानीको लडाइँ महिला, बच्चाले पनि लडेका थिए भन्ने गरिन्छ, के तिनीहरू त्यहाँ लडाइँकै लागि गएका थिए ?
महिला र बालबालिका लड्नका लागि होइन, सुरक्षाकर्मीका जहानपरिवार थिए । अंग्रेजले आक्रमण गरेपछि प्रतिरक्षामा उनीहरू पनि उत्रिएका हुन् । गोली सकिएपछि बन्दुक भएर पनि काम भएन । यस्तो बेला हान्ने भनेको ढुंगा नै थियो । ढुंगामुढा त महिला, बालबालिकाले पनि गरे होलान् । तर, उनीहरू त्यहाँ लड्न गएका वा लगिएका होइनन् । त्यो बेला कबिला भनिदो रहेछ । कबिला भनेको खासमा आदिवासी हो । तर, त्यसबेला कबिला भनेको लडाकुका जहानपरिवार हुन् । अंग्रेजीमा क्याम्पफलोअर्स भन्ने गरिन्छ ।
‘मुकाम रणमैदान’मा तपाईंले तोप लागेर छटपटिएका, भोकतिर्खाले तड्पेका, यत्रतत्र छरिएका लास, बाँच्नका लागि गरेको याचनालाई ‘लाइभस्ट्रिम’ जस्तो गरी वर्णन गर्नुभएको छ नि, त्यो के आधारमा ?
त्यस अवस्थामा अंग्रेज सिपाही त्यहाँ पुग्यो र आफ्नी श्रीमतीलाई चिट्ठी लेख्यो । यसलाई पछि किताबका रूपमा ल्याइयो । त्यो घटनाचाहिँ मैले चिट्ठीबाट नभएर पुस्तकबाट नै अनुवाद गरेको हुँ । त्यो किताबमा त्यो सिपाहीको बयान छ । तर यति मात्र पनि होइन, कर्णेल मबिको चिट्ठीलाई पनि आधार बनाएको हुँ । यस्तो वर्णन नेपालीको चिट्ठीमा चाहिँ छैन ।
नेपाली सिपाहीको वीरताको गाथा हामीले खुबै सुन्यौँ, पढ्यौँ । एउटा भनाइ नै छ, मृत्युबाट डराउँदिनँ भन्छ भने कि त्यो मूर्ख हो, कि त्यो गोरखाली हो । नेपाल–अंग्रेज युद्धको इतिहास नियाल्दा वास्तविकता के पाउनुभयो ?
नेपालीहरू वीर थिए भन्ने सत्य हो । लेख्नेले पनि यसरी नै लेखेको छ र परिस्थितिले पनि त्यही भन्छ । अंग्रेजहरूले नै भनेका छन्, ‘हामीले नेपालीले खाने पानीको मुहान काटिदियौँ । घ्याम्पामा राखेको पनि सकियो । बचेखुचेको पनि तोपको गोला परेर फुट्योे । कति छाक पानी नै खान नपाई लडे नेपालीले ।'
मैले लेखेको ७४ हजार शब्दको किताब करिब चार वर्षभित्रको घटनामा आधारित छ । चार वर्षभित्रका पनि सबै घटना होइनन् । योबीचमा अरु पनि काम भए, घटना भए । चार वर्षभित्र भएको एउटा घटनाको यत्रो किताब हुँदो रहेछ भने त्यही अवधिमा अरु पनि काम भएका थिए नि ।
नेपाली र अंग्रेजीका चिट्ठी हेर्दा पनि नेपालीहरूको वीरता अनुमान लगाउन गाह्रो पर्दैन । र, सायद पहिलोपल्ट अंग्रेजले नेपालीहरूको त्यो अद्भुत क्षमता र बफादारी देखेर नै होला, गोरखा फौज भर्ती गर्ने काम थाल्यो ।
नेपालमा ऐतिहासिक सामग्रीको अभिलेख कस्तो पाउनुभयो ?
म छक्क परेको त के भने, त्यतिबेलादेखिका सामग्री कुनै न कुनै हालतमा त राखेको रहेछ । यद्यपि, केही चिट्ठीको अवस्था नाजुक छ । कुनै धुलिएका छन्, कुनै डल्लो परेका छन्, कुनै जालीजस्तै लाग्ने गरी प्वालैप्वाल परेका छन् । तर, पनि धेरै चिट्ठीहरू अहिलेसम्म राम्रो अवस्थामा छन् । अबचाहिँ तिनलाई जतिसक्दो छिटो विज्ञहरूको सुझावमा व्यवस्थित र सुरक्षित ढंगले राख्नुपर्छ ।
पुस्तक लेख्दाखेरि परराष्ट्र मन्त्रालयका कर्मचारीको ढिलासुस्ती र सनक पनि झेल्नुभएछ, समस्या के परेको थियो खास ?
केही हदसम्मचाहिँ झेलेकै हुँ । तर, अवकाश लिएपछि उहाँले मेरो आफ्नो पदीय सीमाले गर्दा केही भयो होलाचाहिँ भन्नुभयो । खुलापन नभएको हाम्रोजस्तो ठाउँमा २ सय वर्षअगाडिको कुरा किन लुकाएर राखेको भन्ने प्रश्न कर्मचारीको स्तरमा गरेर हुँदैनथ्यो होला । अथवा कर्मचारीलाई पनि आफ्नो अधिकार भएपछि उपयोग वा अलिअलि दुरुपयोग गरौँ भन्ने पनि भयो होला । तैपनि उहाँहरूको सहयोग नपाएको भए त मैले पढ्नै पाउँदैनथेँ । उहाँले परराष्ट्र मन्त्रालयबाट राष्ट्रिय अभिलेखालय पुगेर, त्यहाँको चाबी खोलिदिएर त्यो पोका निकाल्दिनुपर्थ्यो मेरा लागि । परराष्ट्रमा यो मात्र हेर्ने छुट्टै मान्छे रहेनछ ।
भनेपछि आधुनिक नेपालको वास्तविक इतिहास उधिन्ने हो भने थुप्रै नयाँ तथ्य भेटिन्छन् ?
अहिले मैले लेखेको ७४ हजार शब्दको किताब करिब चार वर्षभित्रको घटनामा आधारित छ । चार वर्षभित्रका पनि सबै घटना होइनन् । योबीचमा अरु पनि काम भए, घटना भए । चार वर्षभित्र भएको एउटा घटनाको यत्रो किताब हुँदो रहेछ भने त्यही अवधिमा अरु पनि काम भएका थिए नि ।
नेपालमा इतिहासबारे लेखन र पठन संस्कृति कस्तो छ ?
इतिहासको पठन त कम देख्दिनँ म । डिजिटल प्लेटफर्महरू नै हेरौँ न, इतिहाससम्बन्धी सामग्रीको शेयर, कमेन्टहरू धेरै हुन्छन् । यसको अर्थ यसमा मानिसहरूको चासो छ । अलिकति अगाडिसम्म हेर्दाखेरि लेखनमा केही हदसम्म प्रयास भएको छ । तल्सिराम वैद्य, त्रिरत्न मानन्धरलगायतले आफ्नो किसिमले परख गरेर गर्नुभएको छ । तर, अर्को कुरा के भने, यी दस्तावेज छन् भन्ने थाहा नहुँदै नेपालको इतिहास लेख्न थालियो । कसैले दार्जिलिङमा बसेर लेखे । त्यहाँ बसेर लेख्दा यी सामग्री आधारित हुँदैन थिए । तर, यस्ता कमीलाई पछि अध्यावधिक गरेर पूरा गर्ने कामचाहिँ गर्नुपर्थ्यो । पहिलाको मितिमा जेजति आधार उपलब्ध भए, त्यसका आधारमा जेजति लेखिए, आजको मितिमा वा केही वर्षअगाडिदेखि यतिमै चित्त बुझाएर बस्न हुँदैनथ्यो ।
यो पुस्तकले इतिहासबारे अझै लेख्न हौस्यायो कि कायल बनायो ?
स्नातकसम्म मैले पढेको विषयमध्ये एउटा इतिहास थियो । परीक्षामा सबैभन्दा बढी अंक पाएको पनि इतिहासमै हो । डिग्रीमा मैले सबैभन्दा बढी अंक पाएको चाहिँ रिसर्च मेथोडोलोजी हो । दुवै मेरो रुचिका विषय भएकाले इतिहास लेख्न मैले सक्ने नै रहेछु । रुचि कायमै छ । तर, यस्तो काम धेरै गर्न एक जना व्यक्तिले सक्दैन । अरु कुनै किसिमको सहयोग हुने हो भने बेग्लै कुरा हो । नभए गर्नु पनि हुँदैन । त्योचाहिँ मूर्खता हुन्छ । आफैँलाई सन्तुष्ट पार्ने एउटा प्रयासचाहिँ मैले गरेँ, यस्तै खालको अर्को काम एक्लै त आँट गर्दिनँ ।
प्रकाशित मिति: शनिबार, मंसिर ३०, २०८० ०८:१५