त्रिभुवन विश्वविद्यालयका पूर्वउपकुलपति केदारभक्त माथेमा सामाजिक सञ्जालमा भेटिँदैनन् । ७९ वर्षीय माथेमालाई औपचारिक कार्यक्रमको निम्तो आउँछ, जान रुचाउँदैनन् । सेतै फुलेको कपाल र उमेरले बुढ्यौलीको संकेत गर्छ ।
रिटायर्ड भएर हो ? होइन ।
भेट्न कोही नआए हुन्थ्यो लाग्छ, उनलाई ।
झन्झट लागेर हो ? होइन ।
‘घरको कुनामा बसेर पढ्न पाए त्यो नै आदर्शको समय लाग्छ,’ माथेमा जोसिलो आवाजमा हाँस्दै भन्छन्, ‘कहाँ अहिले रिटायर्ड हुनु । हँ ! के त्यस्तो देखिन्छु र ?’
प्रातःकालै अर्थात ५ बजे आसपासमै उनको आँखा बिउँझन्छ । उनलाई भेट्न मानिसहरू बिहानैदेखि माथेमा निवास पुग्छन् । ‘एकछिन फुर्सद हुँदैन । कोही लेख्नुपर्यो भन्छन् । कोही सल्लाह सुझाव लिन आउँछन्,’ माथेमा भन्छन् ।
माथेमाको अधिकांश समय लेखपढ, प्राज्ञिक चिन्तनमननमै बित्छ । ‘पढ्ने कुरा नसकिने रहेछ । थप जिज्ञासाहरू थपिने रहेछन्,’ उनी लाइब्रेरीमै रमाउँछन् ।
सानेपास्थित निवासमा पुग्दा माथेमा निजी लाइब्रेरीमै थिए । लाइब्रेरीको तस्वीर खिच्न नमानेका माथेमाले लाइब्रेरीबाट उपकुलपति हुँदा आफूले बनाएको सुधारका योजनाको फाइल भने निकाले ।
‘प्रविधिमैत्री भौतिक संरचना । ल्याब र लाइब्रेरी । अध्ययन र अनुसन्धान गर्ने कक्षहरू । विद्यार्थी र प्राज्ञबीचको विमर्श । यस्तै विश्वविद्यालय बनाउने मास्टर प्लान थियो।मास्टर प्लानकहाँ गयो कहाँ ?,’ माथेमा विश्वका उत्कृष्ट विश्वविद्यालहरूको तस्वीर देखाउँदै आफ्नो मास्टर प्लानको पाना पल्टाउँछन् ।
के थियो उनको मास्टर प्लानमा ? किन सफल भएन ? काम गर्न कसले रोक्यो उनलार्ई ? यिनै प्रश्नको उत्तर यो अंकमा माथेमा आफैँले केलाएका छन् ।
1701767586.jpg)
०००
त्रिविबाट तीनपटक निकालिए
२१–२२ वर्षको उमेरमै त्रिचन्द्रबाट स्नातकोत्तर सकाएका थिए– माथेमाले । लक्का जवान केटो । लगत्तै शिक्षक बने । उनले पढाउने अंग्रेजी साहित्यमा मोहित हुन्थे विद्यार्थी । ‘विद्यार्थीको नजरमा उत्कृष्ट थिएँ,’ माथेमा २०२७ सालका ती दिन सम्झन्छन् । तर, उनी पञ्चायतको भने निसानामा परे । ‘विद्यार्थीले औधी मन पराए, पञ्चायतले रुचाएन,’ माथेमा सुनाउँछन् ।
कारण ?
‘चार्ल्स डिकेन्सको ‘अ टेल अफ टु सिटिज’ उपन्यास पढाएको थिएँ । फ्रेन्च क्रान्तिको कथा थियो । पञ्चायतले रुचाएन । मेरो विकल्पमा अर्को शिक्षक ल्याइएको भनियो,’ उनलाई त्रिचन्द्र छोड्न पञ्चायतले बाध्य बनायो ।
उनको पक्षमा विद्यार्थीहरू हडतालमा उत्रिए । ‘मभन्दा अनुभवी र राम्रो शिक्षक आउनुभएको छ भनेर विद्यार्थीलाई सम्झाएँ, हडताल रोकियो,’ त्रिचन्द्रमा पढाउने माथेमाको ढोका पहिलोपटक बन्द भयो ।
तर, त्रिचन्द्रबाट बाहिरिएको केही समयमै उनका लागि केन्द्रीय क्याम्पस कीर्तिपुरको ढोका खुल्यो । र, माथेमा २०३२ सालमा केन्द्रीय क्याम्पसको प्रमुख बने । फेरि उनीमाथि पञ्चायत लाग्यो । राष्ट्रवादी विद्यार्थी मण्डल (मण्डले) र विद्यार्थीबीच झडप भयो । क्याम्पसमा प्रहरीलाई छिर्न दिएनन् उनले । माथेमाले विद्यार्थीलाई साथ दिएको आरोप पञ्चायतले लगायो । र, उनलाई क्याम्पस प्रमुखबाट हटाइयो ।
‘विद्यार्थीलाई साथ दिएको भनेर पञ्चायतले दुई ग्रेड घटायो । तपाईँको जागिर तपाईं नै खानुहोस् भनेर राजीनामा दिएर हिँडेको हुँ,’ यसरी दोस्रोपटक निकालिए माथेमा ।
तर, उनको राजीनामा भने स्वीकृत भएन । २०४८ मा उनी उपकुलति भएर फेरि त्रिविमै पुगे तर उनले आफ्नो राजीनामा आफैँले स्वीकृत गरेनन् । उनले क्याम्पस प्रमुखबाट दिएको राजीनमा आफूभन्दा पछि आएको उपकुलपतिबाट स्वीकृत गराए । ‘त्रिविमा ९ वर्ष पढाएर निस्किएको हुँ । राजीनामा ३० वर्षपछि स्वीकृत भयो,’ मुस्कुराउँछन् माथेमा ।
1701767618.jpg)
०००
विश्व बैंकको जागिरे
त्रिविबाट बाहिरिएपछि उनी विश्व बैंकको जागिर खान पुगे । बैंकमा काम गरे पनि उच्च शिक्षामा उनको चासो उत्तिकै थियो । बौद्धिक माथेमाका लेख रचना आइरहन्थ्यो । ‘विश्वविद्यालयको चासो र चिन्ता लाग्थ्यो, माया लाग्थ्यो । प्राज्ञिक थलोको माया लाग्थ्यो, लाग्छ,’ माथेमा घोत्लिन्छन् ।
पञ्चायत ढलेर बहुदलीय व्यवस्था आयो । यो व्यवस्थाले उनलाई उपकुलपति बन्ने प्रस्ताव ल्यायो । तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले उनलाई बोलाएर उपकुलपति बन्न अनुरोध गरे। ‘विश्वविद्यालय सम्हाल्नुपर्यो भनेर प्रधानमन्त्रीबाट प्रस्ताव आएको थियो तर सहर्ष स्वीकार भने गरिनँ,’ उनले प्रधानमन्त्रीसँग सर्त राखे ।
1701767641.jpg)
०००
तीन सर्तसहित उपकुलपति बन्न तयार
तत्कालीन प्रधानमन्त्री कोइरालासँग उनले तीन सर्त तेर्स्याए । ‘पहिलो सर्त पार्टीको झण्डा लिएर नजाने । दोस्रो, काममा सरकार र दलबाट हस्तक्षेप गर्न नहुने, स्वतन्त्र काम गर्न दिनुपर्ने । र तेस्रो, चाहेको बखत सरकारले सहयोग गर्नुपर्ने,’ यी तीन सर्त थिए माथेमाका ।
तत्कालीन प्रधानमन्त्रीले माथेमाको सर्त मान्ने वचन दिए । ‘प्रधानमन्त्री सर्त मान्न तयार भएपछि उपकुलपति बनेको हुँ,’ माथेमा भन्छन् । १५ वर्ष विश्व बैंकमा काम गरेर फेरि माथेमा त्रिविमै छिरे ।
‘बैंकमा काम गरेर आएकाले के विश्वविद्यालय चलाउँछ ?,’ उपकुलपति भएपछि विरोधीहरूले उनलाई प्रश्न गर्न थाले । ‘वातावरण अनुकूल थिएन । बाम साथीहरूले विज्ञप्ति नै निकालेर विरोध गर्नुभयो,’ अवरोधका गाँठाहरू देखिन थाले ।
उनी उपकुलपति भएपछि अन्य पदमा भागवण्डा गर्न बामहरूले भन्न थाले । ‘२०४६ सालपछि पुराना हटाएर नयाँ पदाधिकारी भागवण्डामा आएको रहेछ । म आएपछि पनि भागवण्डाको प्रस्ताव आयो । अहँ ! मेरो पालामा भागवण्डा गरेर त्रिवि चल्दैन,’ माथेमाले अड्डी लिए ।
माथेमालाई बामहरूले दुई हप्ताको समय दिए । तर, उनी डगमगाएनन् । उनले भागवण्डालाई खारेज गरिदिए । केही डिन र निर्देशकहरू राजीनामा दिएर विरोधमा उत्रिए । ‘राजीनामा नदिनुहोस्, मिलेर काम गरौँ भनेको हुँ, मान्नु भएन । राजीनामा दिने केही सहपाठी पनि थिए । राजनीतिले सहपाठी पनि नचिन्ने रहेछ,’ माथेमा त्यो समयको समीक्षा गर्छन् ।
त्यसपछि माथेमाले आफ्नो विवेक प्रयोग गरे । ‘भागवण्डाबाट मुक्त गर्न आफ्नो हिसाबले रजिस्ट्रार, रेक्टर र डिन नियुक्ति गरेँ । कोही बाम झुकावको पर्नुभयो । कति अरु पर्नुभयो । तर भागवण्डामा नियुक्ति गरिनँ । निष्पक्ष, प्राज्ञिक र योग्य समर्पित टिमले घेरिएको थिएँ,’ माथेमाको निष्कर्ष हो यो ।
1701767673.jpg)
०००
त्रिवि बनाउने ‘मास्टर प्लान’
उनले आफ्नो टिम तयार पारेपछि त्रिवि सुधारको योजना बनाए । त्रिविमा बेथिति रहेको उनले चाल पाएका थिए । सुधारका लागि आज, भोलि र पर्सिको मन्त्र बनाए उनले । ‘आज त्रिवि कुन अवस्थामा छ । पर्सि कुन स्थानमा पुर्याउने ? भोलि भनेको आफ्नो कार्यकालको समय हो,’ माथेमा आफ्नो मन्त्र सुनाउँछन् । उनले यो मन्त्र राजा वीरेन्द्र र प्रधानमन्त्री कोइरालासामु पनि प्रस्तुत गरेका थिए ।
त्रिविको आर्थिक पाटो धराशायी थियो । सरकारबाट भनेजति बजेट नआउने । कसरी त्रिवि चलाउने त ? उनले निचोड निकाले, ‘१८ वर्षदेखि नबढेको विद्यार्थीको शुल्कमा परिमार्जन गर्ने ।’ ‘विश्वविद्यालयलाई आर्थिक रूपले सबल बनाउन शुल्क बढाउने निर्णय गरेँ,’ माथेमा भन्छन्, ‘खर्चको ६ प्रतिशत शुल्कबाट उठ्थ्यो बढाएर १२ प्रतिशतमा पुर्याए ।’
उनको यो निर्णय दलनिकटका विद्यार्थी संगठनले स्वीकारेनन् । माथेमाविरुद्ध प्रदर्शनमा उत्रिए । विद्यार्थी नेतासँग उनको नोकझोँक चल्यो । विद्यार्थीको आन्दोलनले उग्र रूप लियो । माथेमाको निर्णयबाट सरकार पनि डराएको थियो । तर, उनी शुल्क फिर्ता लिने पक्षमा थिएनन् ।
‘त्रिविको प्राङ्गणमा टियर ग्यास र प्रहरीको लाठी चार्ज चल्यो । महिनौँ आन्दोलन भयो । मेरो कात्रो बनाएर बालियो । कालो झण्डा देखाइयो । हुनेखानेका छोराछोरी उच्च शिक्षा पढ्ने थिए । शुल्क फिर्ता नगरी कार्यान्वयनमा लगेँ । आन्दोलन आफैँ सेलायो,’ माथेमा जब्बर देखिन्छन् ।
शुल्क बढाएर तातेको त्रिविको राप सेलाएको थिएन । फेरि उनले क्याफ्टेरिया बन्द गर्ने निर्णय गरे । ‘वार्षिक १ करोड ५० लाखभन्दा बढी त्रिविको खर्च क्याफ्टेरियामा हुन्थ्यो । यो त्रिविले चलाउने होइन । चलाउने भए प्राइभेटले चलाउँछ भनेर बन्द गरिदिएँ,’ माथेमा एकपछि अर्को निर्णय गर्दै जान्छन् । विद्यार्थी नेताहरूको आन्दोलन फेरि चर्कंदै जान्छ ।
‘माथेमाजी ! कहिले शुल्क बढाउनुहुन्छ । कहिले क्याफ्टेरिया बन्द गर्नुहुन्छ । केके गर्नुहुन्छ भनेर प्रधानमन्त्रीले गुनासो गर्नुहुन्थ्यो तर मैले मेरा लागि गरेको थिइनँ । मेरो तलब बढाउन होइन । त्रिविलाई आर्थिक रूपमा सबल बनाउन थियो,’ उनी प्रधानमन्त्रीलाई जवाफ फर्काउँथे ।
क्याफ्टेरिया बन्द भएपछि फेरि दुई/तीन महिना त्रिविमा टियर ग्यास, ढुगामुढा चल्न थाल्यो । ‘क्याफ्टेरिया बन्द गर्दा विद्यार्थीलाई मर्का नपरेको होइन तर विश्वविद्यालयलाई झन् बढी आर्थिक मर्का परेको थियो,’ माथेमा भन्छन्, ‘क्याफ्टेरियाको सट्टा गर्ल्स होस्टल बनाउने योजना थियो ।’ केही वर्षपछि सहुलियत दिएर क्याफ्टेरिया चलाउने उनको योजना थियो । तर, सरकार ढलेसँगै उनको पद पनि ढल्यो । उनले विद्यार्थीका लागि सहुलियतमा क्याफ्टेरिया चलाउन पाएनन् ।
1701767717.jpg)
०००
अनावश्यक कर्मचारीको बिदाइ, पूर्वाधारको विकास
तीन वर्षमा उनले सुधारको खाका बसालिसकेका थिए । उनले एकपछि अर्को बोल्ड निर्णय गर्न थाले । अनावश्यक कर्मचारीको कटौती गर्ने अठोट लिए । ‘सचिव तहका १५ जनाभन्दा बढी कर्मचारीलाई थप पाँच वर्षको सेवा सुविधा दिएर बिदा गरेँ,’ उनी भन्छन्, ‘कति त म विद्यार्थी हुँदादेखिका कर्मचारी थिए ।’
त्यसपछि उनले भौतिक संरचनाको सुधारमा जोड दिए । सरकारले पर्याप्त बजेट नदिने । स्रोत कहाँबाट जुटाउने त ? उनले सरकारबाट स्वीकृति लिएर विश्व बैंकबाट २० मिलियन डलर ल्याए । र, त्रिविको पूर्वाधारमा खर्च गरे । अहिलेको घण्टीघर लाइब्रेरीलगायतका भवन बनाए । अस्रट्रेलियाबाट आर्किटेक्चर झिकाएर उनले भौतिक संरचनाको डिजाइन गरेका थिए । आफ्नो कार्यकालमा बनाएको मास्टर प्लानको योजना अहिले पनि उनीसँग सुरक्षित छ । आफ्नो योजना देखाउँदै उनी भन्छन्, ‘योअनुसार काम भएको भए आज त्रिवि कस्तो हुने थियो ?,’ अफसोच ! उनको त्यो प्लानलाई उनीपछिका उपकुलपतिले अगाडि लैजान सकेनन् ।
आंगिक क्याम्पसलाई पनि सबल बनाउनु थियो । शहरी क्षेत्रका क्याम्पस प्रमुखहरूलाई बोलाएर उनले निर्देशन दिए, ‘क्याम्पसको जग्गा छ भने लिजमा दिएर आर्थिक उपार्जन गर्नू । पैसा विश्वविद्यालयको खातामा पठाउनु पर्दैन ।’ काठमाडौंका शंकरदेव, ललितकला, विश्वभाषालगायतका क्याम्पसलाई उनले निर्देशन दिएका थिए । ‘कतिपय कलेजले सुरु गरेका थिए । यस्तो ट्रेन्ड अन्य देशमा पनि छ,’ माथेमा भन्छन् ।
त्रिविमा भइरहेको आर्थिक चुहावटको बाटो पनि माथेमाले देख्न थाले । तलब शीर्षकमा पठाएर बढी भएको रकम क्याम्पसहरूले फिर्ता नगर्ने चाल उनले पाए । कसरी नियमन गर्ने त ? ‘आंशिक शिक्षक राख्नुपर्छ भन्दै बहाना बनाएर तलब शीर्षकमा बचेको पैसा क्याम्पसबाट फिर्ता नआउने रहेछ । कलेजकै खातामा राख्नू । केन्द्रीय कार्यालयमा फिर्ता पठाउनु पर्दैन भनेपछि आफ्नोजस्तो ठानेर क्याम्पसहरूले जोगाउन थाले,’ उनी भन्छन् ।
1701767700.jpg)
०००
अनि प्राज्ञिक सुधार
त्रिविमा सुधारका रेखाहरू देखिन थालेका थिए । संरचनासँगै प्राज्ञिक सुधारमा लागे माथेमा । ‘दुई वर्षको बीएले अन्तर्राष्ट्रिय मापदण्ड समातेको थिएन । त्यसलाई तीन वर्षको बनाउने र विश्वविद्यालयले स्नातकबाट मात्र पढाउने । ११ र १२ लाई छुट्याउने निर्णयमा पुगे उनी । ‘सरकारसँग सामान्य गरेर त्रिविले स्नातकबाट सञ्चालन गर्ने निर्णय गरेको हो,’ उनी भन्छन्, ‘दुईवर्षे कोर्सलाई तीन वर्षको बनाएपछि पाठ्यक्रम पनि निर्माण गर्यौँ ।’
त्यसपछि उच्च शिक्षा पढ्न विद्यार्थीले इन्ट्रान्स दिनुपर्ने व्यवस्था ल्याए उनले । ‘विश्वविद्यालय पढ्न योग्य छ कि छैन भनेर हेर्न इन्ट्रान्स लिन थालेका थियौँ । एकैपटक सम्भव थिएन । पहिलोपटक आईएस्सीमा त्यसपछि बीएस्सी र एमएस्सीमा इन्ट्रान्स सुरु गरेका थियौँ,’ इन्ट्रान्स परीक्षाको पनि विरोध भयो ।
तर, उनले कार्यान्यनमा लगिछाडे । ‘विद्यार्थीले तपाईं अलोकप्रिय भइरहनुभएको छ भनेर भन्थे । ए हो र ! लोकप्रिय हुन म प्रतियोगितामा भाग लिन आएको होइन भनेर विद्यार्थीसँग ठट्टा गर्थें,’ माथेमा भन्छन्, ‘त्रिवि बनाउन धेरै अलोकप्रिय निर्णय गरेँ ।’ तर पछि ती विद्यार्थीलाई भेट्दा तपाईंको कार्यकाल स्वर्णयुग थियो भनेर माथेमासँग बातचित गर्थे ।
विद्यार्थीको भविष्यप्रति पनि चिन्तित थिए माथेमा । समयमा भर्ना, कक्षा, परीक्षा र नतिजा नआउने त्रिविको रोग थियो । यसलाई चिरफार गर्ने नीति लिए माथेमाले । ‘क्यालेन्डर बनाएर भर्ना, कक्षा, परीक्षा र नतिजा निकाल्ने योजना ल्याएँ,’ माथेमा भन्छन् । भर्नाको समयमा विद्यार्थीलाई उनी आश्वस्त पार्थे । भर्ना भएको एक वर्षमा ठ्वाक्कै परीक्षा । ‘नतिजा कुर्दाकुर्दा विद्यार्थीको समय बर्बाद भएको देखेर समाधान गर्न क्यालेन्डरको सोच ल्याइएको हो,’ उनी भन्छन् ।
1701768210.jpg)
०००
नक्कली प्रमाणपत्रधारीको नाम सार्वजनिक
त्रिवि सुधारको ग्राफ उकालो चढ्दै थियो । एक दिन संस्कृत विषयको अन्तर्वार्तामा बसेका थिए उनी । अन्तवार्ता दिन आएका ती व्यक्तिलाई गज भनेको थाहा रहेनछ । कसरी उच्च शिक्षाको प्रमाणपत्र हात पर्यो ? माथेमाको मथिङ्गल हल्लियो । कतै नक्कली प्रमाणपत्र होइन ? उनको मनमा संशय पैदा भयो ।
र, उनले नक्कली प्रमाणपत्रको अनुसन्धान गर्न एक टोलीलाई गोप्य रूपमा भारत पठाए । भारत पुगेपछि नेपालका धेरै व्यक्तिले नक्कली प्रमाणपत्र लिएको पुष्टि भयो । उनले ५ सय जनाको नक्कली शैक्षिक प्रमाणपत्र भएको नाम गोरखापत्रमा छपाए । ‘ठूलै साहस लिएर, जोखिम मोलेर गोराखापत्रमा नाम निकालेको हुँ,’ माथेमा भन्छन्, ‘नक्कली प्रमाणपत्रधारी कोही सेना प्रहरीका जागिरेसमेत थिए ।’
राज्यले गर्नुपर्ने काम आफूले गरेको माथेमा बताउँछन् । ‘यो मेरो काम थिएन । एकपटक गरेर देखाऊ भनेर हो । यो काम सरकारको थियो,’ उनी भन्छन् ।
1701767763.jpg)
०००
त्यसपछि फेरि त्रिविबाट निकालिए
त्रिविमा सुधारको रङ देखिन थाल्यो । विद्यार्थी नेताहरूले विरोध गर्थे तर भित्रभित्र माथेमाको कामलाई रुचाइरहेका हुन्थे । ‘बाहिरबाहिर आन्दोलन गर्ने तर मनैदेखि माथेमाले राम्रो गरेको छ भन्थे,’ माथेमा सबैसँग राम्रो सम्बन्ध बनाउन माहिर थिए । उनी कांग्रेस होस् वा बाम, जसले बोलाए पनि विद्यार्थीले गरेको कार्यक्रम छुटाउँदैनथे ।
‘विद्यार्थीको औधी माया लाग्थ्यो । जुन पार्टीनिकटको भए पनि बोलाएको ठाउँमा पुग्थेँ,’ माथेमा भन्छन् । दिनभर आन्दोलन गरेका विद्यार्थी नेता बेलुका छलफल गर्न र खाना खानका लागि माथेमाको निवासमा पुग्थे । हाल ती विद्यार्थी नेता धेरैपटक मन्त्रीसमेत बनिसके । ‘बेलाबखत उहाँहरूसँग भेट हुन्छ । अहिले पनि सम्बन्ध राम्रो छ,’ माथेमा भन्छन् ।
विद्यार्थीमाझमा पनि प्रिय थिए माथेमा । तर बहुदलीय व्यवस्थासँगै बनेको कांग्रेस नेतृत्वको सरकार ढल्यो । उनको उपकुलपति पद पनि धरमरायो । २०५१ मा एमालेका मनमोहन अधिकारीको नेतृत्वमा अल्पमतको सरकार बन्यो ।
तत्कालीन प्रधानमन्त्री अधिकारीले त्रिविमा राम्रो काम गर्न माथेमालाई ढाडस दिन्थे । ‘उहाँ (मनमोहन) सँग राम्रो थियो । कतिपटक घरमै आएर घनटौँ कुराकानी गर्नुहुन्थ्यो । त्रिविलाई राम्रो बनाउन सुझाउनुहुन्थ्यो,’ माथेमा मनमोहनलाई सम्झन्छन् ।
तर, शिक्षामन्त्री भने उनको विपक्षमा उभिए । घुमाउरो हिसाबमा तत्कालीन शिक्षामन्त्री मोदनाथ प्रश्रितले मार्गप्रशस्त गर्न भने ।
‘मनामोहनले सहयोग गर्नुहोस् है केदारजी भन्नुहुन्थ्यो । प्रश्रितजीले राजीनामा माग्नुभयो,’ माथेमा मन्त्रीको कुरा सुनेर अचम्मित बने । कांग्रेस सरकारले उपकुलपति बनाएका कारण राजीनामा मागिएको निचोेड माथेमाको छ ।
उनको कार्यकाल सकिन अझै एक वर्ष बाँकी थियो तर राजीनामा दिए । ‘समय बाँकी थियो । विश्वविद्यालयलाई दुःख नहोस् भनेर राजीनमा दिएँ,’ पदको लोभ गरेनन् उनले । र, यसरी उनी तेस्रोपटक त्रिविबाट निकालिए । उनको कार्यकालपछि झन् दलीय भागवण्डामा नियुक्ति गर्ने चलन मौलाएर गयो । आजसम्म पनि त्यो क्रम रोकिएको छैन ।
1701767922.jpg)
०००
त्रिविको गर्भबाट विश्वविद्यालय जन्माउने सपना अधुरो
सरकारले साथ दिएको भए यो एक वर्षसँगै थप अर्को एक कार्यकाल काम गर्न चाहन्थे माथेमा । ‘कम्तीमा ८ वर्ष काम गर्न पाएको भए त्रिविको सुधार गर्न सकिन्छ भन्ने सोच थियो,’ माथेमा भन्छन् । तर, उनको कक्षमा समय चलेन । सरकारको साथ नपाएपछि काम गर्न सहज नहुने निष्कर्ष निकालेर राजीनामा दिएका थिए उनले ।
पूरा कार्यकाल काम गर्न पाएको भए त्रिवको गर्भबाट अरु विश्वविद्यालय जन्माउने उनको सपना थियो, त्यो पूरा हुन सकेन । पृथ्वीनारायण क्याम्पस, महेन्द्र मोरङ क्याम्पसलगायतलाई विश्वविद्यालय बनाउन चाहन्थे उनी ।
‘ती क्याम्पसलाई यो वर्ष प्रश्न बनाउन दिने । अर्को वर्ष उत्तरपुस्तिका जाँच गर्न दिने । तेस्रो वर्ष आफैँ नतिजा सार्वजनिक गर्न लगाउने । चौथो वर्ष कलेजकै नाममा सर्टिफिकेट दिन लगाउने । त्यसपछि विश्वविद्यालय बनाउने योजना थियो, अधुरै रहयो,’ माथेमा अधुरो सपना सुनाउँछन् ।
तर, सरकारले पूर्वाञ्चल र पोखरा विश्वविद्यालय जन्मायो । यसमा माथेमा सन्तुष्ट छैनन् । ‘रिबन काटेर नयाँ विश्वविद्यालय ल्याइयो । डुप्लिकेसन छ । कसरी विश्वविद्यालय सुधार हुन्छ ?,’ माथेमा प्रश्न गर्छन् । उनको अर्को सपना थियो आरआर, पद्यमकन्या, सरस्वतीजस्ता क्याम्पसलाई स्वायत्त बनाउने, त्यो पनि सफल हुन पाएन ।
1701767780.jpg)
०००
फेरि उपकुलपतिको प्रस्ताव आयो तर स्वीकार गरेनन्
उपकुलपतिबाट बाहिरिएको केही वर्षपछि फेरि उनलाई उपकुलपति बन्न प्रस्ताव आएको थियो तर स्वीकार गरेनन् । ‘दोहोर्याएर जाने कुरा भएन । भीसी खाने भनेको जागिर खाने होइन । मिसन लिएर जाने हो । रात दिन विश्वविद्यालयमा समर्पित हुने हो,’ उनी भीसी हुँदा मध्यरातसम्म काम गरेको सम्झन्छन् ।
भीसी हुँदा उनले घरपरिवारलाई पनि समय दिँदैनथे । ‘सपनामा पनि विश्वविद्यालय नै आउँथ्यो । घरको रेखदेख श्रीमतीलाई छोडेर त्रिविमा समर्पित भएँ,’ माथेमा विश्वविद्यालयप्रति समर्पित भाव देखाउँछन् । पाँच जना भीसीले समर्पित भएर काम गरे त्रिविको मुहार फेरिने बताउँछन् माथेमा । ‘एक जनाले चार वर्ष अहोरात्र खटिने हो भने पाँच जना भीसी बन्दा २० वर्षमा त्रिविको कायापलट गर्न सकिन्छ,’ माथेमा भन्छन्, ‘तर कसैले पनि त्रिविलाई सुधार गर्न चाहेनन् ।’

०००
किन बिग्रियो त्रिवि ?
त्रिवि लथालिङ्ग हुनुको कारण राजनीतिक हस्तक्षेप नै देख्छन् माथेमा । विश्वविद्यालयमा चरम राजनीतिक हस्तक्षेप छ । दबाब र प्रभावमा नियुक्ति हुन्छ । यो नै त्रिविको रोग हो,’ माथेमाको निष्कर्ष छ, ‘योग्यता र क्षमताको नियुक्ति हुन छोड्यो ।’ उपकुलपति भएपछि राजनीतिक चस्माले हेर्न नहुने बताउँछन् माथेमा । ‘विश्वविद्यालय गएपछि राजनीतिक झलक आउनु भएन । दलको चस्मा लगाएर त्रिविलाई हेर्नुहुन्न,’ माथेमा भन्छन् ।
त्रिवि कमजोर हुनुको अर्को कारण आर्थिक पाटो भएको निष्कर्ष उनको छ । ‘सरकारबाट सहायता आउँदैन । आएको पनि अपुग छ । विश्वविद्यालय भनेको महँगो व्यवस्था हो । सस्तोमा चल्दैन । रिसर्च ल्याब लाइब्रेरी महँगो चीज हो । यसमा लगानी छैन,’ उनी भन्छन्, ‘उच्च शिक्षामा कम खर्च गर्ने मुलुकमा नेपाल पर्छ ।’
गुणस्तर बढाउन भन्ने तर लगानी नबढाउने नीतिको चपेटामा त्रिवि परेको उनी बताउँछन् । विश्वविद्यालयले पनि सरकारको मात्र मुख ताक्न नहुने मत उनको छ । ‘विश्वविद्यालयले आफैँले पनि स्रोत जुटाउनुपर्छ,’ माथेमा भन्छन् ।

०००
सुधार्न कस्तो भीसी बनाउने ?
२० वर्षदेखि उनी एउटै कुरा बोल्दै आएका छन् । प्रधानमन्त्री कुलपति हुने प्रावधानलाई खारेज गरौँ । राजनीतिक भागवण्डाका आधारमा हुने नियुक्ति खारेज गरौँ । तर, उनको कुरा विश्वविद्यालयका कुलपति एवं प्रधानमन्त्रीहरूले सुनेनन् । ‘देउवा, ओली र प्रचण्डलाई बालुवाटार गएर कतिपटक भनिसकेँ । सुनुवाइ भएन । २० पर्षदेखि एउटै कुरा कति बोल्ने ?,’ झोँकिन्छन् माथेमा, ‘गभर्निङ बोर्डले उपकुलपति बनाउनुपर्छ, प्रधानमन्त्रीले होइन ।’
उपकुलपति भनेको प्राज्ञिक नेता हो । प्राज्ञिक ठाउँबाट नै उपकुलपति चयन हुनुपर्ने राय माथेमाको छ । ‘विश्वविद्यालय मन्त्रालयजस्तो होइन । भीसी प्रशासक होइन । हामीले खोजेको प्राज्ञिक नेता हो । प्राज्ञिक नेताले मात्र विश्वविद्यालय सुधार्न सक्छ,’ माथेमा त्रिवि सुधार गर्ने व्यक्ति प्राज्ञिक नेता उपकुलपति भएको हेर्न चाहन्छन् ।
तस्वीर : सुशील श्रेष्ठ
प्रकाशित मिति: मंगलबार, मंसिर १९, २०८० १९:००