हाँस्यकलाकार श्रीकृष्ण सिम्खडाको घरको कोठाका भित्ता सम्मानपत्रले भरिएको छ । भित्ता भरिएर कति सम्मानपत्र त बाकसमा कोचेर राखिएका छन् ।
उनीसँग नेतादेखि पत्रकारसम्मको ‘क्यारिकेचर’ गर्ने क्षमता छ । उनलाई सार्वजनिक कार्यक्रममा जान भ्याई नभ्याई हुन्थ्यो । देश विदेश गएर कार्यक्रम पनि गरे । गलामा फूलका माल नपहिरेको दिन हुँदैनथ्यो । तर, अचेल उनलाई सम्मान र गलामा लगाउने फूलमाला भारी लाग्छ । भ्रम लाग्छ ।
त्यसैले, पछिल्लो समय उनी सार्वजनिक शौचालयमा भेटिन्छन् । अर्थात् सार्वजनिक शौचालय सफाइ गरिरहेको अवस्थामा भेटिन्छन् । हातमा पन्जा, मुखमा माक्स लगाएर हर्पिक र ब्रस बोकेर सरकारी अस्पताल, क्याम्पस र स्कुलका शौचालयमा पुग्छन् ।
शौचालय सरसफाइ अभियान चलाउनुको कारणबारे सिम्खडा भन्छन्, ‘शौचालय सफाइमा धेरैले चासो दिएनन् । जुन देशको शौचालय सफा छैन । त्यो देश कसरी राम्रो हुन्छ ? कसरी विकास हुन्छ ? देशलाई राम्रो बनाउने हो भने शौचालय राम्रो बनाउनुपर्छ । अरुलाई सानो लागेको काम मलाई पवित्र लागेर शौचालय सफाइ अभियान सुरु गरेको हुँ ।’
‘गु–मूत’ सफा गर्यो भने मुलुक परिवर्तनका लागि सही सन्देश जाने उनको विश्वास छ । उनी भन्छन्, ‘मानिस पहाड फोरौंलाझैं गर्छन् । ठूला गफ गर्छन् । तर सानो–सानो काम गर्न पछि हट्छन् ।’
उनी थप्छन्, ‘सार्वजनिक शौचालयको अवस्था दयनीय छ । मानिसमा शौचपछि सफा गर्नुपर्छ भन्ने चेत छैन । सरकारी अस्पताल, क्याम्पस, स्कुल गएर हेर्नुस् त ? देशको खास स्थिति के छ ? छर्लङ्ग देखिन्छ ।’
‘सफा नेपाल स्वस्थ नेपाली’ नारा लिएर उनी शौचालय सफा गर्दै हिँडेका छन् । आरआर क्याम्सबाट अभियान सुरु गरेका उनी अहिले उपत्यकाका धरै ठाउँमा शौचालय सफा गर्न पुगेका छन् । भद्रवासको आदर्श माध्यमिक विद्यालय, गागलफेदीको सिद्धिगणेश उच्च माध्यमिक विद्यालय, पशुपति माध्यमिक विद्यालय चाबहिलको शौचालय उनले सफा गरेका छन् ।
‘शौचालय सफा नभएसम्म अभियानलाई जारी राख्छु,’ उनले भने, सबैबाट सकारात्मक प्रतिक्रिया आएको छ । अब अस्पताल र सरकारकी कार्यालयका शौचालय सफा गर्छु ।’
सामुदायिक विद्यालय, सरकारी अस्पताल, कार्यालयका शौचालयलाई उनले प्राथमिकता दिएका छन् । शौचालय सफाइ अभियानका क्रममा क्याम्पस प्रशासनले शौचालय व्यवस्थापन गर्न चासो नदिएको पाइएको उनले बताए ।
‘अस्पताल र क्याम्पसको दुर्गन्धित शौचालय प्रधानमन्त्रीदेखि मन्त्री सांसदले समेत प्रयोग गरेका छन् । तर, शौचालयको व्यवस्थापनमा कसैले चासो दिएनन्,’ उनले भने ।
कतिपय क्याम्पस र कार्यालयमा वर्षौंसम्म पनि शौचालय सफा नगरिएको पाइएको उनले बताए । ‘शौचालयमा पानी, डस्टबिन, ढोकामा चुकुल र बत्तीसमेत छैन,’ उनले भने, ‘शौचालयको अवस्था देख्दा मन दुख्छ ।’
सिम्खडा भन्छन्, ‘उपचारका लागि अस्पताल पुगेको बिरामी शौचालयका कारण अर्को रोग लिएर फर्किनुपर्ने अवस्था छ । स्कुल पढ्न गएको विद्यार्थी शिक्षाको सट्टा रोगी बन्ने अवस्था छ । राज्यले गरेन भनेर मात्र बस्ने ? एउटा कलाकारको चाहिँ दायित्व हुँदैन ? देश बनाउने काम शौचालयबाट सुरु गर्ने हो ।’
‘काठमाडौंमा पर्याप्त शौचालय छैन । बाटोमा दिशापिसाब लाग्यो भने जाने ठाउँ छैन । हुनेहरू त पाँचतारे होटलमा गएर गर्लान् तर गरिब निमुखा नागरिक आपतमा कहाँ जाने ?,’ उनले सरकारलाई प्रश्न गरे ।
शौचालय सफा गर्ने मजदुरलाई उचित पारिश्रमिकसमेत नदिइएको उनले गुनासो गरे । ‘शौचालय सफा गर्नेको पारिश्रमिक राम्रो छैन,’ उनले भने, उनीहरूलाई उच्च पारिश्रमिक दिइनुपर्छ ।’
शौचालय सफाइ अभियानमा डाक्टर इन्जिनियर पाइलट अधिकारकर्मी र आम नागरिकले समेत साथ दिएका छन् । सफाइका लागि शौचालय अस्पतालका डाक्टर, क्याम्पस स्कुलका शिक्षकले पनि साथ छन् । उनको अभियानले सम्बन्धित संस्थाका प्रतिनिधिलाई नै नैतिक दबाब दिएको छ ।
‘एक दिन मात्र शौचालय सफा गरेर हुँदैन,’ उनले भने, ‘यो अभियानमा धेरै ‘श्रीकृष्ण’ जन्मनुपर्छ ।’
आज सरकारले तामझामका साथ खुला दिशा मुक्त देश घोषणा गर्यो । ३ सय मिटरमा एउटा शौचालय हुनुपर्छ । तर, काठमाडौं महानगरमा सार्वजनिक शौचालय भेट्न मुश्किल पर्छ । भएका शौचालयमा पनि शौच गर्न जाँदा प्राणै जालाजस्तो हुन्छ । कतै सरकारको घोषणाले सरकारलाई नै गिज्याइरहेको त छैन ?
याे पनि पढ्नुहाेस् ः
प्रकाशित मिति: सोमबार, असोज १३, २०७६ १५:५४