सन् १९९९ मा साहित्यतर्फको नोबेल पुरस्कार विजेता जर्मन मूर्तिकार, कवि तथा साहित्यकार गुएन्तर ग्रास (GUNTER GRASS) ले 'What Must Be Said' शीर्षकको एउटा कविता लेखेर इजरायललाई संसारको शान्ति सुरक्षाको शत्रु ठहर गरे । ‘द टिन ड्रम’ जस्तो बहुचर्चित उपन्यासका लेखक ग्रास लामो समयसम्म मौन बसेका थिए । तर, उनले ८४ वर्षको उमेरमा अप्रिल २०१२ मा लेखेको यो कविता प्रकाशित भएपछि उनलाई इजरायल प्रवेशमा प्रतिबन्ध लगाइयो, जुन एउटा ऐतिहासिक परिघटना हो ।
यो विवादास्पद कवितामार्फत उनले आफ्नो राष्ट्र जर्मनीको अनुहारमा कहिल्यै नपखालिने गरी लागेको दोष र दागको ग्लानि, पीडा र पछुतो सबै व्यक्त गरेका छन् । अहिले फेरि जर्मनी सरकारले इजरायललाई अत्याधुनिक पनडुब्बी बेचेर उसको आणविक हतियारको मारक क्षमतामा वृद्धि गरेकोमा उनको पीडा, पछुतो र आक्रोश सबै बढेको छ । जर्मनीले पुनः अर्को अपराध गरेको भन्ने उनको ठम्याइ छ ।
यो कवितामा उनले उपनिवेशवादी पश्चिमा राष्ट्रहरू र जियोनवादी इजरायलको अनैतिक साँठगाँठको चरित्रलाई प्रस्टसँग उजागर गरेका छन् । उनी पश्चिमा पाखण्डबाट आजित भएका छन् । इजरायललाई पारमाणविक शक्तिसम्पन्न बनाउन शक्तिशाली राष्ट्रहरूले गरेको कुटिल तथा गोप्य कृत्यमा आफू अहिलेसम्म मौन बस्नुको कारण आफूमाथि यहुदी विरोधको ‘फतवा’ लाग्ने र यसले आफ्नो ज्यानमाथि नै खतरा उत्पन्न हुने डरले अहिलेसम्म चुप लागेको प्रस्टीकरण पनि उनले कवितामार्फत नै दिएका छन् ।
तर, अब चुप लागेर बस्दा मानवतामाथि नै संकट आउने खतरा देखेर म किन मौन बसेँ, किन लामो समयसम्म लुकिरहेँ, अब बोल्नैपर्छ, मैले बोलेपछि अरुले पनि बोल्नेछन् भनेरै कवितामार्फत उनी बोलेका छन् । केही पंक्तिहरू:
म किन मौन बसेँ, किन लामो समयसम्म लुकिरहेँ,
..., ..., हाय ! म आफूलाई किन रोकिरहेँ
त्यो अर्को देशको नाम किटान गर्न
जहाँ केही वर्ष पहिलेदेखि नै – लुकीलुकी नै किन नहोस्
एउटा बढिरहेको पारमाणविक शक्ति उपस्थित छ,
तर जसमाथि कसैको नियन्त्रण छैन ।
किनकि त्यो जाँचभन्दा टाढा छ ?
यो तथ्यका बारेमा एउटा सार्वजनिक मौनता
जसमा मेरो मौनता पनि मिसिएको छ ।
..., ..., मेरो देश
जसलाई ती अपराधहरूको अगाडि उभिनुपर्यो
जसको कुनै उदाहरण पाउनु दुर्लभ छ
अनि बारम्बार सफाइ दिनुपरिरहेको छ
..., मेरो देश जसमाथि एउटा कहिल्यै नमेटिने दाग लागेको छ ।
...., ..., अनि म अहिले आएर यो किन बोलिरहेको छु
वृद्धावस्थामा अनि मसीको अन्तिम थोपासँगै
‘पारमाणविक शक्ति भएको इजरायल एउटा खतरा हो
सबैभन्दा कमजोर भएको विश्व–शान्तिका लागि
यो (नभनी नहुने सबैका लागि मैले) भन्नैपर्ने थियो
जसलाई भोलि भनियो भने हुन सक्छ त्यो ढिलो होला’
..., ..., शायद यस प्रकार धेरैजसो अरुहरू पनि चुप लाग्ने बाध्यताको
दासताबाट आफूलाई मुक्त गर्न सक्छन् होला ?
त्यसपछि उनले कवितामा इजरायललाई पारमाणविक हतियारसम्पन्न गराएर शक्तिशाली बनाउन भूमिका खेल्ने खतराका कुटिल सूत्राधार देश तथा तिनका नेताहरूसँग हिंसाको त्याग गर्न सबैले माग गर्नुपर्ने आह्वान पनि गरेका छन् । शत्रुतापूर्ण पागलपनले ग्रस्त मध्य–पूर्वमा स्थायी शान्तिका लागि र अन्ततः सम्पूर्ण मानवताकै भलाइका लागि इजरायलको पारमाणविक सामर्थ्य र इरानी पारमाणविक अड्डाहरूको बिनाकुनै व्यवधान स्थायी अनुगमन र नियन्त्रण गर्न सक्ने एउटा अन्तर्राष्ट्रिय इकाइको गठन गर्ने प्रस्ताव पनि उनले कवितामा राखेका छन् ।
रुस–युक्रेन र इजरायल–प्यालेस्टाइन युद्धले विस्तृत आकार ग्रहण गर्दै तेस्रो विश्वयुद्ध हुने र मानव प्रजाति नै लोप हुने भयावह अवस्था देखिन्छ । त्यसैले अब समस्याको शान्तिपूर्ण रूपले समाधान खोज्नेतर्फ विश्वशक्ति केन्द्रित हुनुपर्छ ।
ग्रासको कविता प्रकाशित हुनुभन्दा चार वर्षअगााडि जनवरी २००८ मा अमेरिकाबाट प्रकाशित हुने न्यूज वीकमा महात्मा गान्धीका नाति अरुण गान्धीले 'Jewish Identity Can’t Depend on Violence' शीर्षकमा एउटा लेख लेखे, जसमा उनले इजरायलले प्यालेस्टाइनका जनतामाथि निरन्तर गरिरहेको अन्याय, अत्याचार र हिंसात्मक आतंककारी कारबाहीको निन्दा गरे, अनि भने, ‘इजरायल र यहुदी हिंसाको संस्कृतिलाई प्रोत्साहन दिन्छन् । हिंसाको बलमा निर्भर भएर आफ्नो अस्तित्वलाई प्रमाणित गर्ने कार्य सधैँ प्रतिउत्पादक हुन्छ र अन्त्यमा यसले आत्मपराजय गराउँछ । सैनिक बल प्रयोगले विश्व समुदायलाई विभाजित गराउँछ र यसले विश्वशान्ति स्थापनाको कार्यलाई पर धकेल्छ ।’ यसको बदलामा गान्धीले इजरायललाई द्वन्द्व समाधानका लागि अहिंसात्मक विधि अपनाउन सल्लाह दिए ।


तर, गान्धीको असन्तुष्टि र सुझावको प्रतिक्रियामा सम्पूर्ण जियोनवादीहरू उनीमाथि खनिए र इजरायललाई ‘सैनिक शक्ति प्रयोग गरेर आफ्नो रक्षा गर्ने अधिकार भएको’ धम्कीपूर्ण जवाफ फर्काएर मात्र तिनीहरू चुप लागेर बसेनन् । अरुण गान्धी युनिभरसिटी अफ रोचेस्टरसँग सम्बन्ध भएको ‘एमके गान्धी इन्स्टिच्यूट अफ नन भायलेन्स’ को डाइरेक्टर थिए । शक्तिशाली अमेरिकी जियोनवादीहरूले दबाव सृजना गरेर उनलाई सो पदबाट हटाई छाडे ।
जुन बेला नाइके सुँढेनी र सहायक सुँढेनी राष्ट्रहरू प्यालेस्टाइनी भूमिमा इजरायलको विस्तार गर्न भूमिका खेलिरहेका थिए, त्यस समयमा नै मध्य–पूर्वमा मात्र हाेइन, विश्व शान्तिका लागि समेत यो एउटा खतरा हो भन्ने कुरा ग्रासले कविता लेख्नुभन्दा ६५ वर्षअगाडि महात्मा गान्धीले भनेका थिए, ‘प्यालेस्टाइन अरबीहरूको निवासस्थान हो जसरी इङ्ल्यान्ड अंग्रेजहरूको वा फ्रान्स फ्रान्सिसीहरूको । यहुदीहरूलाई अरबीहरूको बीचमा लगेर बसाउनु, यो गलत र अमानवीय हुनेछ । अरबीहरूको गौरवलाई घटाएर प्यालेस्टाइनको कुनै भाग वा पूरै क्षेत्रलाई यहुदीहरूलाई गृहराष्ट्रको रूपमा दिनु निश्चय नै मानवताको विरुद्धमा यो अपराध हुनेछ ।’ र भयो ।
त्यसको कटु प्रतिफल मध्य–पूर्व एसियाले भोगिरहेको छ । त्यहाँ सधैँ डढेलो सल्किने फिलिङ्गो राखेर युरोप र अमेरिकाले चैनको अनुलोम–विलोम गरिरहेका होलान् तर त्यस डढेलोको विषाक्त वायुले तिनीहरूको फोक्सो नै क्षतिग्रस्त हुनेछ भन्ने कुरा तिनीहरूले हेक्का राख्नुपर्ने हो । अहिले नै नियन्त्रणबाहिर पुगिसकेको पारमाणविक शक्तिले सम्पन्न इजरायल तिनीहरूले पनि भनेको नमानेर मैमत्त भई तिनीहरूकै पछाडि दौडियो भने के होला ?
प्यालेस्टाइनमा नरसंहारको निरन्तरता कहिलेसम्म ?
गएको अक्टुबर ७ देखि फेरि सल्कियो फिलिङ्गो र सुरु भयो इजरायल–प्यालेस्टाइन युद्धको विभीषिका । अनि यसले एकपटक पुनः मध्य–पूर्वमा मात्र होइन, विश्वभर नै मडारिन लाग्यो शंका–उपशंका, पक्ष–विपक्ष र अशान्तिका काला बादलहरू । सार्वजनिक छवि बनाएका कसैले प्यालेस्टाइनी जनताको पक्षमा बाेल्यो भने उसमाथि यहुदी विरोधीको फतवा लगाइन्छ । अनि त्यसलाई उसको इजरायल र प्यालेस्टाइन द्वन्द्वलाई हेर्ने हलुको, एकहोरो, अपूर्ण, त्रुटिपूर्ण दृष्टिकोण मात्र हो भनिन्छ । अनि प्यालेस्टाइनीहरूको आतकंकारी क्रियाकलाप र हमासले इजरायललाई स्वतन्त्र देशको मान्यता नदिएको र उसको अस्तित्वलाई नै अस्वीकार गरेको तर्फ उनीहरूको ध्यान नगएको भनिन्छ ।
इजरायलले सुनियोजित रूपमा गरिरहेको प्यालेस्टाइनका बारिस्दाहरूको नरसंहारलाई अमानवीय र क्रूर भनियो भने सदाझैँ हिटलर र उसको नाजी सरकारले ६० लाख यहुदीहरूको सुनियोजित र क्रमबद्ध रूपमा गरेको नरसंहारलाई देखाइन्छ । यसको निहितार्थ इजरायललाई जति पनि नरसंहार गर्ने छुट छ भनेको हो । त्यसैले होला इजरायलले आफ्नो जन्मसँगै लाखौँ प्यालेस्टाइनीहरूको हत्या गरिसकेको छ र दशौँ हजार व्यक्तिहरूलाई बेपत्ता पारिसकेको छ । अब ऊ गाजा क्षेत्रको पूरै बस्तीलाई नै ‘किलिङ जोन’ तथा अत्याधुनिक मारक हथियारको ‘परीक्षणस्थल’ मा परिणत गर्नेतर्फ उद्यत् देखिन्छ । यो युद्धोन्माद कहिलेसम्म ? प्रश्न छ– अब इजरायल र यहुदी के चाहन्छन् ? नाजीहरूले मानव इतिहासमा गरेको सबैभन्दा ठूलो नरसंहारको रेकर्डलाई प्यालेस्टाइनका आमजनताको हत्या गरेर उछिन्न चाहन्छन् ?विश्वको आमजनमानस आज कतातिर ? यो प्रश्न आज मानवताको अगाडि यक्ष प्रश्नझैँ उभिएको छ । संसारमा कहीँ र कसैप्रति पनि अन्याय हुँदा मौन बस्नु भनेको अन्यायको पक्षधर हुनु हो ।
इजरायलले आतंकवादलाई कडा जवाफ फर्काइरहेको छ भन्ने भनाइ राख्नेहरूले यो बुझ्नु आवश्यक छ कि आफ्नो जन्मको ७५ वर्षपछि पनि ऊ आतंकवादबाट मुक्त भएको छैन, बरु त्यसबाट झन् बढी पीडित भएको छ । आज मध्यपूर्वमा पहिलेको भन्दा धेरै हत्या हिंसाका घटनाहरू भइरहेका छन् । पहिलेको भन्दा धेरै युवाहरू आत्मघाती विधिलाई अपनाउन थालेका छन् ।
इजरायलद्वारा प्यालेस्टाइनी शरणार्थी शिविर र बसोबासका इलाकाहरूमा रकेट हमला गर्ने र त्यसमाथि बुलडोजर चलाएर बस्तीहरूलाई नष्ट गर्ने कार्यले शान्ति कायम गराउने परिस्थितिलाई झन् जटिल र बिग्रँदो अवस्थातिर धकेलिरहेको छ ।
इजरायलले प्यालेस्टाइनी जनतामाथि गरेको अन्याय, अत्याचार र उत्पीडनको विद्रोही सन्तान हो प्यालेस्टाइनी आतंकवाद र हमास । किनकि, जब अन्याय र अत्याचारलाई समाप्त गर्नका लागि प्रयास गरिएका सबै शान्तिपूर्ण प्रक्रिया र विधिहरूलाई वास्ता गरिँदैन र त्यसलाई कुचलिन्छ, पन्छाइन्छ भने प्यालेस्टाइनीहरूका अगाडि आतंकवाद नै एक मात्र विकल्प बाँकी रहन्छ ।
इजरायलका यिनै काम कारबाहीको फलस्वरुप नै पुस्तकको झोला पिठ्युँमा बोकेर स्कुल जानुपर्ने प्यालेस्टाइनका बालबालिकाहरू इजरायलका ट्याङ्क देखेर डराउँदैनन्, बरु त्यसको साटो नाङ्गो हातले बाटोमा इँटा, ढुङ्गा जे भेटिन्छ, त्यही टिपेर ट्याङ्कमाथि प्रहार गर्छन् । कति घृणा र आक्रोश ? किन छ इजरायलीहरूमाथि प्यालेस्टाइनी जनताको यस्तो व्यवहार ? प्यालेस्टाइनी बालबालिकाहरूमा विकास भएको यो साहस र निडरता उनीहरूमाथि निरन्तर भइरहेको अत्याचारको प्रतिफल नै हो, जो उनीहरूले आफ्नो जन्मदेखि मात्र नभएर आमाको गर्भबाटै भोग्दै आइरहेका छन् ।
प्यालेस्टाइनी भूमिमा इजरायलको अवैध जन्म गराइँदा त्यहाँका जनतालाई आतंकवाद र आतंककारी कारबाहीका बारेमा केही थाहा थिएन । तर अहिले त्यहाँका युवाहरू आत्मघाततिर लागेका छन् । गाजा क्षेत्रको अधिकांश भूमिमा सुरुङ सञ्जाल बिछ्याइएको छ । इजरायलले प्यालेस्टाइनी जनतामाथि गरेको अन्याय, अत्याचार र उत्पीडनको विद्रोही सन्तान हो प्यालेस्टाइनी आतंकवाद र हमास । किनकि, जब अन्याय र अत्याचारलाई समाप्त गर्नका लागि प्रयास गरिएका सबै शान्तिपूर्ण प्रक्रिया र विधिहरूलाई वास्ता गरिँदैन र त्यसलाई कुचलिन्छ, पन्छाइन्छ भने आफ्नो घरबार उजाडिएका प्यालेस्टाइनी अरबीहरूको अगाडि इजरायली सरकारको अत्याचारसँग लड्नका लागि आतंकवाद नै एक मात्र विकल्प बाँकी रहन्छ । आखिर यो आतंकवाद र आतंककारी विधि सिकाउने गुरु पनि त उही हो । भष्मासुरलाई वरदान दिएपछि ...? विषवृक्ष हुर्काएपछि ...?
पृथ्वीको कुनै पनि कुनाका, कुनै पनि भाषा बोल्ने र कुनै पनि धर्म र संस्कृतिमा आस्था राख्ने भए पनि न्यायप्रेमी स्रष्टाहरूको विचार अन्याय, अत्याचार, उत्पीडन र निरंकुशताको विरुद्धमा अनि न्याय, समानता, स्वतन्त्रता र मानवताको पक्षमा एकमत भएर उभिएको देखिन्छ । यसले कालको सीमालाई पनि अतिक्रमित गरेको छ ।
कुनै समय, प्राचीन्कालमा, महाभारत युद्ध पनि त्यही कारणले मञ्चन भएको होइन र ? कौरवहरूको अन्याय, अत्याचारहरू कुनै पनि शान्ति प्रक्रिया; अनुरोध, छलफल, वार्ता, सम्झौता आदिबाट गरिएका सबै प्रयास निष्फल भएपछि कृष्णको कुटिल आतंककारी सुझाव र संलग्नतामा न्याय प्राप्तिका लागि अनेक घात प्रतिघात त त्यस समयमा पनि भएकै हुन् नि ! युद्धको घात प्रतिघातको कुरै छाडौँ, युद्ध समाप्त भइसकेपछि पनि अश्वस्थामाले पाण्डव शिविरमा मध्यरातमा पसेर सुतेकाहरूको हत्या गर्नु र गर्भमा भएको भ्रूणको पनि हत्या गर्नेसम्मको कुकृत्य मानव प्रजातिले कहिले छोड्ने हो ? यस्तो द्वेष र घृणा पलाउने कुकृत्य पनि अर्को पक्षले नछोड्दासम्म यो वृत्ति त चलिरहन्छ ।
स्रष्टाको मतैक्यता
प्यालेस्टाइनका राष्ट्रीय कवि महमूद दरवेशले गाजा शहरको वर्तमान भयावह अवस्थालाई चित्रण गर्दै ‘गाजा शहर’ शीर्षकको कवितामा लेखेका छन्:
..., ..., ..., ..., तिनका बालबच्चाहरू
गल्लीहरूमा उभिएका छन्
पङ्क्तिबद्ध
कैदीहरूझैँ
मृत्युको शिविरमा ।
..., ..., ..., प्रत्येक घर एउटा बन्दीगृह भएको छ
र प्रत्येक कोठा एउटा पिँजडा
..., ..., गाजा यो शहर
गर्भवती छिन्
कवही मानिसहरूले
उसको पीडामा मद्दत गर्दैनन्
कहीँ सडक छैन
अस्पताल छैन
स्कुल छैन
हवाई अड्डा छैन
श्वास लिन प्राणवायु पनि छैन
र म यहाँ एउटा कोठामा बन्द छु
झ्यालनजिक उभिएको
असहाय अनुपयोगी ।
अनि अर्का कवि अब्दुलकरीमले विभिन्न देशमा शरणार्थी हुन बाध्य बनाइएका प्यालेस्टाइनीहरू आफ्नो देशमा फर्किनेछन् भनेर आशावादी हुँदै ‘हामी फर्किन्छौँ’ शीर्षक कवितामा लेखेका छन्:
..., प्यारो प्यालेस्टाइन
..., ..., मेरा मित्रहरू सोध्छन्
‘के हामी फेरि फर्किन्छौँ ?’
हो, ..., भोलि हामी फर्किन्छौँ
र पुस्ताहरूले सुन्नेछन्
हाम्रो पगध्वनि
हामी फर्किनेछौँ हुरी–बताससँगै
बिजुली र उल्काहरूको साथमा
हामी फर्किन्छौँ
आफ्नो आशा र गीतहरूको साथमा
उडिरहेको बाजसँगै
बिहानीको सूर्योदयसँगै
जो मरुभूमिमा हाँस्छ
समुद्रको लहरहरूमाथि नाच्दै गरेको बिहानीसँगै
रगतले भिजेको झण्डासँगै
र चम्किरहेको तलवारसँगै
अनि गतिमान भालासँगै
हामी फर्किन्छौँ ।
अन्याय, अत्याचारको विरुद्धमा माथिका कविताहरू लेखिनुभन्दा धेरै वर्षपहिले, आजभन्दा ८० वर्षपहिले वि.सं. २००० साल कात्तिकमा नेपालका कवि गोपालप्रसाद रिमालले लेखेका छन्:
आमा, त्यो आउँछ र ?
'हो बा, त्यो आउँछ ।
त्यो बिहानको सूर्यझैँ उज्यालो छर्दै आउँछ ।
त्यसको कम्मरमा झुण्डिएको शीतजस्तै टल्कने
तिमी एक हतियार देख्नेछौ,
त्यसैले ऊ अधर्मसित लड्नेछ !
..., हेरौला, त्यो हुरी भएर आउनेछ,
तिमी पात भएर पछ्याउनेछौ !'
पृथ्वीको कुनै पनि कुनाका, कुनै पनि भाषा बोल्ने र कुनै पनि धर्म र संस्कृतिमा आस्था राख्ने भए पनि न्यायप्रेमी स्रष्टाहरूको विचार अन्याय, अत्याचार, उत्पीडन र निरंकुशताको विरुद्धमा अनि न्याय, समानता, स्वतन्त्रता र मानवताको पक्षमा एकमत भएर उभिएको देखिन्छ । यसले कालको सीमालाई पनि अतिक्रमित गरेको छ । स्रष्टाहरूबीचमा भाव जगत्को मतैक्यताको सूक्ष्म र अदृश्य रज–सेतु रहस्यमय तरिकाले एक–अर्कासँग जोडिएको हुन्छ ।
विजेता भनिने मानव समूहले पराजित मानव समूहमाथि गर्ने अन्याय, अत्याचार, उत्पीडन र नरसंहारका अमानुषिक घटनाहरूले गर्दा विश्व इतिहासका अधिकांश पानाहरू मानव रगतले भिजेका छन् । अब अझ कति पाना भिजाउने, अनि इतिहासबाट कहिले पाठ सिक्ने ? अहिले एकातिर रुस–युक्रेन युद्ध र अर्कोतर्फ इजरायल–प्यालेस्टाइन युद्धले विस्तृत आकार ग्रहण गरेर तेस्रो विश्वयुद्ध हुने र मानव प्रजाति नै पृथ्वी ग्रहबाट लोप हुने भयावह अवस्था देखिन्छ । यो कालो बादल छाँटिनुपर्छ र शान्तिपूर्ण तरिकाले द्वन्द्वको दीर्घकालीन समाधान खोज्नेतर्फ विश्वशक्ति केन्द्रित हुनुपर्छ । अहिलेको युग भनेको सभ्यताहरूको बीचमा संघर्ष होइन, संवाद हो । क्रमशः
अबको लेखः मध्यपूर्वको जटिल समस्या, इजरायलको जन्म र प्यालेस्टाइनको प्रतिरोध
प्रकाशित मिति: शनिबार, मंसिर ९, २०८० ०७:००