बन्दुकको नालबाट सत्ता जन्माउन सशस्त्र युद्धमा होमिएका लडाकुले सुन्दर फूल फूलाऊलान् भन्ने अपेक्षा कसैको थिएन । सशस्त्र विद्रोहको समयमा कमाण्डर बनेर गोला, बारुद, बम र बन्दुकसँग खेलेका हातहरू यतिबेला फूलखेतीमा व्यस्त छन् ।
हेटौँडा–६ का बालकृष्ण चौलागाईं (विकल) र हेटौँडा–१२ का ललितकुमार घलानको फूलखेतीले हेटौँडालाई नै रङ्गीन बनाएकाे छ । १२ वर्ष बन्दुक बोकेर समाज परिवर्तन गर्न हिँडेका चौलागाईं कुनै बेला माओवादी केन्द्रका अध्यक्ष तथा हालका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको अंगरक्षक थिए । तिनै चौलागाईं साधारण सदस्यसमेत नरहने गरी माओवादी पार्टी छाेडेर अहिले फूलखेतीमा रमाएका छन् । फूलखेती गर्नुअघि चौलागाईं माओवादी केन्द्रकै सिफारिसमा तत्कालीन जिल्ला खेलकुद विकास समिति मकवानपुरको अध्यक्ष पनि बनेका थिए ।

घलान भने फूलखेतीसँगै दलीय राजनीतिमा पनि सक्रिय छन् । घलान हाल जिल्ला समन्वय समिति मकवानपुरका प्रमुखसमेत हुन् । ३० वैशाख २०७९ मा भएको स्थानीय तह निर्वाचनमा १२ नम्बर वडाको अध्यक्ष जितेका घलानलाई छोटो समयमै समन्वय समितिको प्रमुख बन्ने अवसर जुटेको थियो । हेटौँडा उपमहानगरपालिकाको वडा अध्यक्ष छोडेर उनी जिल्लाका १० स्थानीय तह हेर्ने समन्वय समितिको प्रमुख बनेका थिए । विशेषगरी दसैँ, तिहारजस्ता चाडपर्वको समयमा चौलागाईं र घलानको फुर्सद निकाल्न मुस्किल छ ।
सयपत्री र मखमलीका मालाको अडर लिने र तयारी गर्ने काममा उनीहरूलाई भ्याइनभ्याइ भएको छ । पदमपोखरी र चौघडाका स्थानीयले पनि घलान र चौलागाईंको नक्कल गर्दै फूलखेती गर्न थालेका छन् । पछिल्ला वर्षमा मकवानपुरमा व्यावसायिक फूलखेती हुने क्रम बढ्दै गएको छ । मकवानपुरमा २० देखि २५ जना व्यावसायिक फूलखेती गर्ने किसान रहेको जिल्ला समन्वय समितिका प्रमुखसमेत रहेका घलानले जानकारी दिए ।
घलानले १ बिघा क्षेत्रफलमा व्यावसायिक फूलखेती गर्दै आएका छन् । विगत ५ वर्षदेखि फूलखेती गर्दै आएका घलानको मुख्य आयस्रोत फूलखेती हो । जिल्ला समन्वय समितिमा दिनभर काम गरे पनि उनी बिहान बेलुकी फूलखेतीमा ध्यान दिन्छन् ।
हेटौँडा–६ का कृषक चौलागाईंले विगत ६ वर्षदेखि व्यावसायिक फूलखेती गर्दै आएका छन् । सयपत्री फूल फूलेपछि वरिपरिको सौन्दर्यसमेत बढेको छ । छोटो समयमा राम्रो आम्दानी गर्न सकिने भएकाले यसतर्फ किसानको आकर्षणसमेत बढ्दै गएको चौलागाईं बताउँछन । चौलागाईंले यो तिहारमा २० हजार माला बजार लैजाने तयारी गरेको बताए । उनले बिरुवा उत्पादन गरेर स्थानीय किसानलाई बेच्ने गरेका छन् ।
हेटौँडामा रहेका गौतम नर्सरी, जोशी नर्सरी, विकास नर्सरी, पौडेल नर्सरीलगायतले बाहिरबाट फूलको बिरुवा ल्याएर गमलामा रोप्न चाहनेहरूलाई उपलब्ध गराउँदै आएका थिए । तर, अहिले चौलागाईं र घलानले आफ्नै नर्सरीमा उत्पादन गरेका बिरुवा बेच्दै आइरहेका छन् । कलकत्ते भेराइटीका सयपत्री फूलका बिरुवा बाहिरबाट आयात गर्ने क्रम रोकिएको छ । हेटौँडासहित मकवानपुरका अधिकांश स्थानीय तहमा कुनै बेला भारतबाट आयातित कृत्रिम फूलका मालाको भरमा तिहार पर्व मनाउने गरिन्थ्यो ।
इन्द्रसरोवर, बकैया, कैलाश, भीमफेदीलगायतका पालिकाहरूमा फूलेका ढकमक्क फूलले तिहार पर्व आएको अनुभूति गराउँथ्यो । तर, हेटौँडा, मनहरी, मकवानपुरगढी, थाहा नगरपालिकाको तल्लो क्षेत्रमा स्थानीय स्तरमै उत्पादित फूल अपुग भएपछि भारतबाट आयातित कृत्रिम फूलका मालाको भर पर्नुपर्थ्यो । अब भने हेटौँडाका विभिन्न स्थानमा व्यावसायिक फूलखेती हुन थालेपछि भारतीय कृत्रिम फूलका माला बिस्तारै विस्थापित हुँदै छन् । भारतीय कृत्रिम फूलको आयात भने रोकिएको छैन । भारतीय कृत्रिम फूलको आयात रोक्नुपर्ने आवाज किसानहरूले उठाउँदै आएका छन् ।
हेटौँडामा किसानले लगाएको सयपत्री फूल यतिबेला बारीमा ढकमक्क फूलेर बजार लैजान तयार भएका छन् । मकवानपुरको माथिल्लो भेग अर्थात् थाहा नगरपालिका, इन्द्रसरोवर गाउँपालिका, भीमफेदी गाउँपालिका र मकवानपुरगढीमा सयपत्री फूलको बढी खेती हुने गरेको छ । तर, यहाँको खेती सिजनमा मात्रै भइरहेको जिसस प्रमुख घलानले बताए । हेटौँडामा भने बाह्रै महिना फूलखेती गर्ने किसान धेरै भइसकेका छन् ।
हेटौँडाकै १६, १७ र १८ नम्बर वडाको हर्नामाडी, हटियामा व्यावसायिक फूलखेती बढ्दै गइरहेको घलानले जानकारी दिए । हेटौँडा–६, १२, १३, १४ नम्बर वडालगायतका स्थानका २० बिघा क्षेत्रफलमा फूलखेती भइरहेको छ । उत्तरी क्षेत्रमा भीमफेदी गाउँपालिकाको नामटार, भैँसे, इन्द्रसरोवर गाउँपालिकाको हुमाने भञ्ज्याङ, मकवानपुरगढीको बुढीचौर, बकैयाको ठिंगनलगायत क्षेत्रमा बढी फूलखेती हुने गरेको छ ।
घलान नगदेबाली भएकाले मनग्य आम्दानी गर्न सकिने बताउँछन् । उनी भन्छन्, ‘नगदे बाली हो । सिजनमा राम्रो हुन्छ । तिहार, संघसंस्थाको साधारणसभा, अन्य चाडपर्व, मेला–महोत्सवमा, विवाह लगनमा माग बढ्दो छ । फूलको माग नहुने दिन नै छैन, पूजाआजा नहुने बेलामा माग आउँदैन ।’ सिजनमा मात्रै खेती गर्नेले ५–६ लाख र बाह्रै महिना खेती गर्नेले १० देखि १५ लाख रुपैयाँसम्म आम्दानी गर्ने उनको भनाइ छ ।
घलान आफूलाई पनि फूलखेतीबाट राम्रो आम्दानी भइरहेको बताउँछन् । फूलखेतीमा लागतको दोब्बर आम्दानी हुने उनले बताए । चिसो मौसमा बढी समय बोटमा फूल रहिरहने र चाँडै नओइलाउने भएकाले माथिल्लो भेगमा खेती उत्तम रहेको घलानले सुनाए । हेटौँडामा १३ नम्बर वडामा सुरज थिङ, हेटौँडा–१२ काचन्द्र घलानले व्यावसायिक रूपमा फूलखेती गर्दै आएका छन् ।
आफ्नो ६/७ जनाको घरपरिवार यसै व्यवसायले धानेको पनि उनले बताए । तिहारको बेला मात्रै नभई ३ सय ६५ दिन नै फूल बेच्न लागिपरेको उनकाे भनाइ छ । कुनै सार्वजनिक कार्यक्रममा पनि स्वदेशमै उत्पादित फूलको माग बढ्दो रहेको उनले बताए ।
विगतमा भारतबाट आयातित खादाको प्रयोग गरिने औपचारिक कार्यक्रमहरूमा हाल फूलको प्रयोग बढेको हो । चौलागाईंलाई औपचारिक कार्यक्रमहरूका लागि फूलको माग आउने गरेको छ । अहिले खादाको विकल्पमा मालाको प्रयोग बढ्दै गएको उनले बताए ।
प्रकाशित मिति: शनिबार, कात्तिक २५, २०८० ०६:३०