उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठलाई शुुक्रबार आईसीयूबाट जनरल वार्डमा सारियो । बुधबार राति हृदयाघात भएपछि श्रेष्ठलाई बेइजिङको पेकिङ युनियन मेडिकल कलेज अस्पताल पुर्याइएको थियो ।
श्रेष्ठलाई ‘एक्युट मायोकार्डियल इन्फार्क्सन’ भएको र आकस्मिक कोरोनरी एन्जियोग्राफी गर्दा ‘ओब्टस मार्जिनल शाखा’ मा अवरोध देखिएको अस्पतालले जनाएको छ ।
तेस्रो बेल्ट एन्ड रोड फोरम फर इन्टरनेसनल कोअपरेसन (बीआरएफ)मा सहभागी हुन चीनको बेइजिङ पुगेका थिए ।
गत मंगलबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड अस्पताल भर्ना भएका थिए । नियमित स्वास्थ्य परीक्षण गर्न नर्भिक अस्पताल भर्ना भएका प्रचण्डलाई कोरोनरी एन्जिओग्राम गरिएको थियो । उनको मुटु स्वस्थ रहेको रिपोर्ट थियो ।
प्रधानमन्त्री प्रचण्ड सुगरका बिरामी छन् । नियमित रूपमा बिहान कडा शारीरिक अभ्यास गर्छन् उनी ।
‘पहिलेदेखि नियमित रूपमा सुगरको औषधि सेवन गर्नुुहुन्छ । अस्तिको परीक्षामा मुटु बलियो छ, दश वर्षसम्म परीक्षण गर्नु पर्दैन भन्ने कुरा आयो । अरु स्वास्थ्य समस्या केही पनि छैन,’ प्रधानमन्त्री प्रचण्डका प्रेस सल्लाहकार गोविन्द आचार्यले भने, ‘बिहान १ घण्टा शारीरिक अभ्यास गर्नुहुन्छ । हिँड्न अझै पनि कसैले भ्याउँदैन ।’
प्रचण्ड बिहान ७ देखि बेलुका ९ बजेसम्म सार्वजनिक रूपमा सक्रिय हुन्छन् । उनको स्वास्थ्यमा अन्य समस्या छैन ।
राष्ट्रपति रामचन्द्र पौडेललाई पेटको समस्या छ । उनको छाती र कोखामा समस्या आउने गर्छ । राष्ट्रपति पौडेल वैशाख ६ गते दिल्ली पुगेर उपचार गराएका थिए ।
केही दिनअघि सञ्चारकर्मीहरूसँगको भेटमा राष्ट्रपति पौडेलले आफ्नो स्वास्थ्यबारे भनेका थिए, ‘बुढेसकाल भएर होला रिकभर हुन अलि समय लाग्ने रहेछ । अहिले ठीक छु । पूर्ण निको हुन समय लाग्ला । सामान्य अवस्थामै मेरो स्वास्थ्य छ ।’
गत असार पहिलो साता उनको मुटुको शल्यक्रिया गरिएको थियो ।
अहिले उपराष्ट्रपति रामसहाय यादव डेंगी संक्रमणबाट मुक्त हुँदै छन् । असोज २५ गते उनी सिभिल अस्पताल भर्ना भएका थिए । अहिले उनको स्वास्थ्य सामान्य हुँदै गएको छ ।
‘उहाँको स्वास्थ्य ठीक छ । प्लेट्सलेट्स बढ्दै छ । अन्य स्वास्थ्य समस्या छैन । मौसमी बिरामीबाहेक अन्य समस्या देखिएको छैन,’ उपराष्ट्रपतिका प्रेस संयोजक दिनेश यादवले शिलापत्रसँग भने ।
कांग्रेस सभापति शेरबहादुर देउवालाई उच्च रक्तचापको समस्या छ । त्यसको नियमित औषधि लिने गर्छन् देउवा । त्यसबाहेक अन्य स्वास्थ्य समस्या उनमा छैन ।
‘उहाँको स्वास्थ्य अवस्था ठीक छ । प्रेसरको औषधि नियमित लिनुहुन्छ । त्यसबाहेक अरु केही समस्या छैन,’ देउवाका स्वकीयसचिव भानु देउवाले भने ।
प्रमुख प्रतिपक्षी दल एमालेका अध्यक्ष केपी शर्मा ओलीको मिर्गौला प्रत्यारोपणपछि स्वास्थ्यमा समस्या देखिएको छैन । उनको २०७६ सालमा बहालवाला प्रधानमन्त्री रहँदै शिक्षण अस्पतालमा मिर्गौला प्रत्यारोपण गरिएको थियो ।
‘मिर्गौला प्रत्यारोपण गरेपछि मिर्गौलाको समस्या छैन । अन्य स्वास्थ्य समस्या खासै छैन । अहिले स्वास्थ्य अवस्था छैन,’ ओलीका स्वकीय रामशरण बजगाईंले शिलापत्रसँग भने ।
एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाललाई पनि उच्च रक्तचापको समस्या छ । उनले नियमित औषधि सेवन गर्छन् । ‘सामान्य रक्तचापको औषधि नियमित लिनुहुन्छ । प्रोटेस्टको पनि सामान्य समस्या छ । अन्य स्वास्थ्य समस्या देखिएको छैन,’ नेपालका स्वकीय मोहन गौतमले भने ।
पूर्वप्रधानमन्त्री तथा नेपाल समाजवादी पार्टीका अध्यक्ष डा बाबुराम भट्टराई स्वास्थ्यप्रति सजग देखिन्छन् । उनले नियमित योगाभ्यास गर्छन् । खानामा पनि निकै ध्यान दिन्छन् ।
‘उहाँको स्वास्थ्य अवस्था ठीक छ । रक्तचापको औषधि नियमित लिनुहुुन्छ । अन्य स्वास्थ्य समस्या छैन,’ उनका स्वकीय रोशन पोखरेलले भने ।
नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाको स्वास्थ्यमा समस्या देखिएको छैन । आफैँमा चिकित्सक रहेका कोइरालामा दीर्घरोग केही पनि छैन । उमेरका कारण आँखाको दृष्टि अलि कमजोर छ । ‘उहाँको स्वास्थ्य अवस्था ठीक छ । अहिलेसम्म कुनै समस्या छैन,’ कोइरालाका स्वकीय दिनेशचन्द्र थपलियाले शिलापत्रसँग भने ।
प्रकाशित मिति: शुक्रबार, कात्तिक ३, २०८० १९:०७