विज्ञहरूका अनुसार बर्खा सकिएलगत्तै डेंगी संक्रमणको जोखिम झन् बढ्ने गर्छ । र, यसको जोखिम केही समयसम्म रहन्छ । बर्खा सकिए पनि नेपालमा डेंगी संक्रमण घटेको छैन ।
डेंगी संक्रमणको जोखिम केही जिल्लाहरूमा अझै बढ्न सक्ने अनुमान गरिएको छ । गत वर्ष काठमाडौं उपत्यकामा महामारीको रूप लिएको डेंगी पछिल्लो केही दिनयता उपत्यकासहित केही जिल्लामा बढ्दै गएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको तथ्याङ्कले देखाएको छ ।
यो वर्ष सबैभन्दा धेरै डेंगीबाट प्रभावित भएका सुनसरी, झापा, धादिङ, मोरङलगायत जिल्लामा संक्रमणदर घट्दै गएको छ । तर, गोरखा, कास्की, तनहुँ, काठमाडौंमा भने बढ्दै गएको किटजन्य रोग शाखाका प्रमुख डा. गोकर्ण दाहाल बताउँछन् ।
उनी भन्छन्, ‘यी जिल्लामा संक्रमणले ठूलो रूप लिने सम्भावना एकदमै कम देखिन्छ । बर्खाको समय भएको अवस्थामा भने बढ्न सक्ने सम्भावना थियो । अब तापक्रम कम पनि हुँदैछ । कहीँकतै देखिए पनि यसले ठूलो रूप लिने सम्भावना एकदमै कम देखिन्छ । र, यसको ट्रेन हेर्दा पनि त्यही देखिन्छ ।’
तापक्रम घट्दै जाँदा डेंगीको जोखिम पनि कम हुँदै जाने उनको भनाइ छ । तर, संक्रमणको जोखिम भने कात्तिक महिनासम्म रहिरहने डा. दाहालले बताए । उनले भने, ‘हामी डेंगीको जोखिम कात्तिक महिनासम्म हुन्छ भन्छौँ । अब केही ठाउँमा बढ्दै गएको संक्रमण क्लस्टरका रूपमा देखिए पनि प्रकोपको रूप लिन सक्दैन ।’
सन् २०२३ सुरु भएदेखि हालसम्म ३९ हजार ३६० जनामा संक्रमण पुष्टि भइसकेको छ । त्यस्तै, तथ्याङ्क अनुसार संक्रमणका कारण हालसम्म २० जनाले ज्यान गुमाइसकेका छन् । महाशाखाको पछिल्लो तथ्याङ्क हेर्ने हो भने संक्रमणदर विस्तारै बढेको देखिन्छ । अहिले डेंगीसँग मिल्दा जुल्दा लक्षण लिएर अस्पताल पुग्नेहरूको संख्या कायमै रहेको संक्रामक रोग विशेषज्ञ डा. अनुप सुवेदी बताउँछन् ।
‘अहिलेको समयमा डेंगी संक्रमित अस्पताल पुग्ने गरे पनि पोहोरजस्तो धेरै देखिएको छैन । केही बिरामी अस्पताल आए पनि भर्ना गर्नुपर्ने केसहरू छैनन्,’ उनले भने । यसो हुँदा अब डेंगी संक्रमण विस्तारै कम हुँदै जाने उनको बुझाइ छ ।
‘चिसो बढ्न थालेपछि यो घट्न सक्छ । तथ्याङ्क हेर्ने हो भने पनि एउटा लेभलमा पुगेपछि यो ह्वात्तै बढेको छैन । र, अब विस्तारै कम हुँदै जाने देखिन्छ,' डा. सुवेदीले भने । हरेक वर्ष डेंगी संक्रमण देखिने गरे पनि सरकारले यसका लागि कुनै ठोस कदम भने चाल्न सकेको छैन । हरेक वर्ष देखिने डेंगी संक्रमणबाट वर्षेनि मानिसहरूको मृत्यु हुने गरेको छ ।
नेपालमा पहिलोपटक सन् २००४ मा नेपालमा एक जनामा मात्रै डेंगी संक्रमण पुष्टि भएको थियो । त्यस्तै, सन् २०२२ मा ५४ हजार सात सय ८४ जनामा संक्रमण पुष्टि भएको थियो । र, संक्रमणकै कारण ८८ जनाको मृत्यु भएको थियो ।
डेंगी भाइरसबाट संक्रमित एडिज जातका लामखुट्टेको टोकाइबाट डेंगी सर्छ । एडिज जातका लामखुट्टे पानी जम्मा भएको जुनसुकै ठाउँमा पनि हुर्कन सक्छन् । जसका कारण आफ्नो घर वरपर पानी जम्ने सबै खाल्डाखुल्डी पुर्नुपर्छ ।
प्रकाशित मिति: सोमबार, असोज २९, २०८० १६:५९