‘लाहुरे’ शब्द सुन्नासाथ मेरो मन चरोझैँ उडेर आफ्नै पाखा–पखेरामा पुग्छ । कारण, म गुरुङ गाउँ र लाहुरे परिवेशमा जन्मे–हुर्केँ । त्यो परिवेश र समाजसँग म चाहेर पनि छुट्टिन सक्दिनँ । त्यहाँ, मेरा जिबा र हजुरबा पुस्तादेखि लाहुरेको बिँडो थामिँदै आएको थियो । त्यो समयभन्दा पनि पल्तिर, कहिलेदेखि स्याङ्जाको बाङ्खे, राम्चे, रानीस्वाँरा, माझकोट, बुढाकोट, सिँगारकोट, कुमेरदुङ, सपाउँदेलगायत लेकाली गाउँमा लाहुरेहरू जन्मे र हलक्क बढे; अनि बेलायती तथा भारतीय छाउनीमा पुगे । कहिलेदेखि गाउँमा लाहुरेको हरक भित्रियो; त्यो पक्ष समयलाई छोडिदिऊँ ।
परिवेश
मेरा गाउँका दुई वृद्ध लाहुरेहरू (ज्ञानबहादुर गुरुङ र बखतबहादुर गुरुङ) अझै पनि जीवित छन् । ती कुनै समय मेरै पिताजीका दामली थिए । पिताजी अध्ययनका लागि वनारस पुग्नुभयो, उनीहरू गोलीगट्ठा, तुम्लेट, राइफल र खुकुरी भिरेर भारतीय छाउनीमा पुगे । सम्भवतः त्यतिबेलाको गाउँको सामाजिक चलन यही र यस्तै थियो । आज पिताजी भूलोकमा हुनुहुन्न । ती लाहुरे बाहरू भने जीवनका उत्तरार्धका घाम तापिरहेका छन् ।
कान्छाबा (बखतबहादुर) अहिले पक्षघातले थलिएका छन् तर जेठाबा (ज्ञानबहादुर) ९१ वर्षमा पनि सजिलै हिँड्डुल गर्छन् । मैले थाहा पाउँदा जेठाबा पेन्सनर लाहुरे बनेर गाउँ फर्किसकेका थिए । यी हरफहरू लेखिरहँदा अनुमान लाउँछु, सायद ‘जेठाबा’ आफ्नी सोल्टिनीको माया घरबुनाको रुमालमा पोको पारेर छाउनी हिँडेका थिए । २–३ वर्षवरपर मात्रकी जेठीआमा उबेलाकी उनकी सोल्टिनी थिइन् वा थिइनन्, अहिलेसम्म सोधेको छैन ।
जेठाबाको अहिलेको उमेरसँग तुलना गर्दा पक्कै उनी सन् १९३९ देखि सुरु भएको दोस्रो विश्वयुद्धका लाहुरे थिए । हामी पढाइ र इलमका लागि गाउँबाट शहर झरेपछि आँखाका कचौरामा आँसु भरेर बोल्ने जेठाबाको बोली म कहिल्यै बिर्सिन्नँ । उनी भन्ने गर्थें, ‘अरूले त छोड्यो–छोड्यो, तेरो बाले पनि छोडेर गयो ।’ अचेल म फाट्टफुट्ट गाउँ पुग्दा शताब्दीनजिक पुगेका जेठाबा गिजा तन्काउँदै हसिला देखिन्छन्– ओऽऽ पातेँ खनी खलो ?
जेठाबाहरूपछि कति कान्छाबाहरू, दाइहरू, भाइ र भतिजाहरू लाहुर हिँडे । कति उतै रत्तिए, कति फर्किए, त्यसको हिसाब छैन । मेरै दामलीहरू पनि ‘हुने बिरुवाको चिल्लो पात’जस्तो पढाइ छोडेर लाहुर हुर्रिए । केही अझै भारतीय छाउनीको ‘गोर्खा रेजिमेन्ट’मै त केही पेन्सनर भएर दोस्रो पेसामा मलाया र ब्रुनाईतिर घोटिँदै छन् । दामलीहरू लाहुर हिँडेपछि म भावुक हुन्थेँ । मलाई पनि बेलाबेला लाहुरतिर हुइँकिऊँ नलागेको होइन तर संस्कारले ‘पढ्नुपर्छ, पढ्नुपर्छ र पढ्नुपर्छ’मै थिचिरह्यो । लाहुर गएका साथीभाइलाई सम्झिँदै म लक्ष्मण रायमाझीको सङ्कलन र नारायण रायमाझीको स्वर रहेको कर्खा शैलीको यो गीत सुनेर भावुक हुन्थेँः
मलाई सम्झी रेलिमई नरोऊ है आमा
तिम्रो छोरो रेलिमई जिउँदै छ रनमा, ...।
लाहुरेहरू, गाउँ र झ्याउरे भाकामा जोडिएर गाइने ‘रेलिमई’ थेगोले एउटा सिङ्गो सभ्यतालाई आजपर्यन्त जोगाएर राखेकै छ । यी विषयहरू सप्रसंग यहाँ उतार्नुको एउटै ध्येय हो, केही समयअघि पढिसिध्याएको विजय हितानकृत जीवनीपरक उपन्यास लाहुरेको रेलिमाईबारे केही कोर्नु । यो कथा मेरा गाउँका जेठाबा, काका र दाइहरूको होइन तर तिनकै प्रतिनिधि हो भन्दा हुन्छ । यस कृतिमा कहिएको गाथा उनै मास्टर मित्रसेन थापाको हो; जो आज नेपाली जनमनमा पिरतीको मीठो भाका बनेर गाइएका छन् ।
मलाई खुत्रुक्कै ...
मलाई खुत्रुक्कै पार्यो, जेठान तिम्रो बहिनीले, ... मैले पहिलोपटक मित्रसेनलाई सुनेको यही गीतमा हो । प्राचीन्कालका मान्छेको जस्तो स्वर र रागात्मक लचकताले मलाई लोभ्याएको थियो । गीत सुन्दाताका यी को र कताका हुन् भन्नेतिर ध्यानै गएन । आफैँलाई गायक बन्ने रहरले कुत्कुत्याएर केही वर्ष सङ्गीत पाठशालातिर रल्लिँदा पनि उनीबारे जान्ने चाह भएन । उहिले एक समय म जनकविकेशरी धर्मराजा थापासँगको सान्निध्यमा पुगेँ । उहाँको पुस्तकालयमा एउटा पातलो पुस्तक भेटेँ– बहुमुखी प्रतिभाका धनी, मास्टर मित्रसेन थापा मगर (संक्षिप्त जीवनी) । लेखक थिए, डा. हर्षबहादुर बुढा मगर ।
पुस्तकको आवरणमा अर्धकदमा दौरामाथि घिउ रङको कोट थियो । सायद, मित्रसेनले दौरा–सुरुवाल लगाएको हुनुपर्छ । शिरमा गडवालीहरूले लगाउनेजस्तो बिर्के टोपी दाहिने कानतिर ढल्काइएको । त्यो ‘स्केच’जस्तो फोटो देख्नेबित्तिकै म तानिएँ र धर्मराज बालाई नभनी सुटुक्क पुस्तक चोरेर हिँडेको थिएँ । पुस्तक त चोरेँ तर पढ्ने जाँगर चलेन । त्यसभित्र छिर्न सकेको भए त्यतिबेलै उनको परिचयको साङ्गोपाङ्ग पाइन्थ्यो । म भने पुस्तक र्याकतिर घुसारेर उनका गीतहरू सुन्न खोजी गर्दै गएँ । लाहुरेको रेलिमई फेसनै राम्रो, रातो रुमाल रेलिमई खुकुरी भिरेको र मलाई खुत्रुक्कै पार्यो ... बाहेक अरू गीतहरू चाहे पनि भेटिनँ ।
उनका गीतमा गाउँ, भिरपाखा, लेक र बेँसीमा गुञ्जिने ‘लोकगीत’का सुस्केराको भाव पाइन्छ । पहरा र छहरामा ठोक्किएर उडिहिँड्ने मखमली बतासको धुनजस्तै सुनिन्छ तर तिनमा मादल, बाँसुरी, सारङ्गीजस्ता लोकबाजाको मूर्च्छना पाइँदैन । स्वर लोकशैलीको तर हार्मोनियमसँगै पश्चिमा शैलीका बाजाहरू सुन्दा मैले मित्रसेनको गाउँ–ठाउँका विषयमा अनुमान लाउनै सकिनँ । म उनका दुइटा गीत मात्र सुन्नमा सीमित रहेँ । गण्डकी क्षेत्रका कवि, कलाकारहरूले मित्रसेन पश्चिमतिरका हुन् भन्ने घुइरो–घुइरो सुनेको हुँ तर विस्तृतमा कसैसँग सोधीखोजी गरिनँ ।
धेरै वर्षपछि मलाई खुत्रुक्कै पार्यो जेठान, तिम्रो बहिनीले, ... लोकगायक बुद्धिसागर बस्यालले लोकबाजा राखेर गाएको सुनियो । त्यो गायनमा मित्रसेनको जस्तो मौलिकता भने थिएन । यति हुँदा पनि धुलोमैलो काखी च्यापेर र्याकमा टुक्रुक्क बसेको डा. हर्षबहादुर बुढा मगरको पुस्तकभित्र पस्ने जाँगर पलाएन । उनका विषयमा सोधखोज गर्ने चाह बढ्दै गए पनि मलाई जिन्दगीको लुतेधन्दाले पिङ खिलाइरह्यो । म त्यतै मात्र मच्चिँदै गएँ ।
भेटभित्रको भेट
ती मित्रसेन हजुरबालाई जान्नु रै'छ, चिन्नु रै'छ; र त मलाई समयको डोरीले उनीतिरै तानेको पत्तै भएन । समयलाई अर्घ्य चढाएर साइत नगरेसम्म कहीँ नपुगिँदो रहेछ; यो भूलोकको शाश्वत् सत्य यही होला । बाँकी त सबै दुई दिनको रामछाया ! गएको वैशाख २३ गते; प्रातःकालमै गुरु (प्रा.डा. गोविन्दराज भट्टराई) सँग फोनवार्ता भयो– भाइ, आज शिल्पी थिएटर जानुपर्छ है । निकै महत्त्वपूर्ण पुस्तक लोकापर्ण हुँदै छ, लाहुरेको रेलिमाई ।
घाम मध्याह्नको पालीमुन्तिर थिए । म गुरुसँगै मोटरमा शिल्पीतिर हाँकिएँ । जमलबाट युवा साहित्यकार अनिता पन्थी मिसिइन् । मैले विजय हितानबारे एक–दुई वचन सोधेँ– हितान भनेको के हो गुरु ? उहाँले मतिर हेर्दै बुझाउनुभयो, ‘थाहा हुनुपर्ने त पश्चिम गुल्मीतिरका मगर हुन् ।’
म गुरुङ परिवेशमा हुर्किएँ । स्कुलमा तल्लो बलेउका केही मगर सहपाठीहरू थिए । अझ, मेरो मावली गाउँ ओरस्टेे पूरै मगरहरूको । ‘उनीहरूका धेरै थरसँग जानकार छु’ जस्तो लाग्थ्यो तर हितान पहिलोपटक सुनेँ । नेपाल प्रज्ञा–प्रतिष्ठानको शब्दकोश पल्टाउँदा पत्ता लाग्यो– हितान त मध्यकालीन नेपालका राजाका सल्लाहकार रहेछन् । भनेपछि, हितानहरू उहिलेका राजा रजौटाका सल्लाहकार अर्थात् भित्रिया पो रहेछन् ।
यता, गुल्मी सुन्नेबित्तिकै म भावनामा एकाकार भएँ– गुल्मी स्याङ्जासँग साँध जोडिएको जिल्ला; बीचमा कालीगण्डकीले वारिपारि बनाइदिएको न हो ! नचिनेकै भए पनि विजय र म उतै–उतैका; साँध जोडिएका छिमेकी । हामी दाजुभाइजस्ता । सायद, उनी मलाई सानैमा छोडेर पल्टन हिँडेका थिए । ती पक्कै मभन्दा जेठा होलान् । मनमनै मैले उनीसँग ‘दाइ’ साइनो जोडेँ । यसरी, आफ्नै भावना र गुरुसँग बात मार्दै शिल्पी पुगियो ।
मध्याह्नका घाम कोल्टे पर्दै थिए । शिल्पीको आँगनमा मान्छेहरूको राम्रै चहलपहल थियो । सबै ढोकाबाहिरको कालो पर्दाभित्र छिर्दै थिए । म पनि त्यहीँ छिरेँ । भित्र मचानसहितको हलमा पानस बत्तीको जस्तो मधुरो उज्यालो छरिएको थियो । मचानमा प्रमुख टिप्पणीकार गुरु हुनुहुन्थ्यो । गुरुसँगै फिल्म निर्देशक तथा समीक्षक प्रकाश सायमी, कवि विमला तुमखेवा र कृतिकार आसीन थिए । सहजकर्ताको भूमिकामा साहित्यिक पत्रकार एवम् समीक्षक राजकुमार बानियाँ थिए ।
मचानबाट प्रसारित धेरै कुरा चाखिला थिए । प्रकाश सायमीले लाहुरेको रेलिमाईसँग जोडेर मित्रसेन थापा र धर्मराज थापाको लोकगायन शैली एवं राष्ट्रप्रेमलाई समान हैसियतमा उभ्याए । धर्मराज देशभित्रै जन्मे–हुर्के तर प्रवाससम्म पुगेर नेपाली लोकगीत–सङ्गीत तथा लोकसंस्कृतिको गायन, लेखन र प्रचारप्रसारमा घोटिइरहे । मित्रसेन प्रवासमा जन्मे–हुर्के तर नेपाली लोकगीत, लोकसंस्कृतिप्रति हुरुक्क भएर आजीवन यसैको प्रचारप्रसार, संरक्षण र जगेर्नामा आफूलाई समर्पित गरे ।
‘यो पुस्तक लाहुरेले, लाहुरेका विषयमा लेखेको अहिलेसम्मकै पहिलो कृति हो । युद्ध–साहित्यमा यो ‘मास्टर पिस’ भएर रहनेछ; गुरुवाणीका यी हरफहरूले ममा कृतिप्रति थप आकर्षण बढ्यो ।
त्यो दिन म दुइटा कुरामा प्रस्ट भएँ– पहिलो, मित्रसेन भाग्सु (भारत) मा जन्मेका रहेछन् । दोस्रो, उनी लाहुरे रहेछन् । अर्को गज्जबको कुरा, लाहुरेको रेलिमाईका सर्जक विजय हितान पनि पूर्वबेलायती लाहुरे रहेछन् । यो कृति हिजो ब्रिटिसहरूले भारतमा शासन गर्दा उनकै फौजमा भर्ती भएर गएका मित्रसेनको जीवनीमा टेकेर आज बेलायती सेनामा पुगेका लाहुरेको सिर्जना रहेछ । कस्तो मीठो संयोग ! पक्कै पनि एउटा गैरलाहुरेले लाहुरेलाई लेख्नु र लाहुरेले लाहुरेलाई नै लेख्नु जति न्याय अरू हुँदैन होला ।
बेल्जियमको फ्लान्डर्समा गोरेनी युवतीहरूसँग लाहुरेहरूको देखादेख हुन्छ । बेलायती राजकुमारीले पठाएको उनको फोटो खोपिएको ब्रासबक्स पाउँदा नेपाली लाहुरेहरूको हृदयमा जमेको प्रेम भुर्लुक्क उम्लिन्छ ।
त्यो दिन विजय दाइले भनेका पनि थिए, ‘यो कृतिमा ८० प्रतिशत तथ्य छ । २० प्रतिशत मात्र मैले मेरो कल्पना मिसाएको छु ।’ यो सुन्दा मलाई पुस्तकभित्र कतिबेला छिरौँ भइसकेको थियो । कार्यक्रम सकिएपछि हातमा लाहुरेको रेलिमाई च्यापेर कृतिकारसँग दुई–चार किस्ता फोटो खिचेँ । बेँसीको फाँट जोतेर उकालिएका हलगोरुजस्तै घाम पश्चिमतिर उक्लिँदै थिए । म पनि गुरुसँगै निवासतिर फर्किएँ ।
पठन–प्रवेश
११ अगस्त, १९१४ अर्थात् भाग्सु धर्मशाला छाउनी छोडेको दिन । (पृ. ७)
मलाई सुरुमै यो वाक्यले तान्यो । म रूख–बिरुवामा वनका लहरा फनफनी बेरिएझैँ बेरिएँ । फुत्किन सकिनँ । त्यहाँबाट उम्किने ढोका थिएन । लुकेर भाग्न झ्याल थिएन । म आफैँ पनि उम्किन कहाँ सकेँ र ! यो उत्तरआधुनिक कुइनेटोमा जन्मेको मेरो भावना उडेर २०० वर्षअघिको इतिहासतिर फर्कियो । कहिले त भावनाको उल्टो दिशामा हिँड्न उत्पातै हर्ष, कौतुहलता र रोमाञ्च हुँदो रहेछ; प्रियसीको जाले रुमालको रुमानी याद साँचेर पल्टन हिँडेको लाहुरेजस्तै ।
१/१ गोर्खा राइफलमा भर्ती भएको ठिटो मित्रसेनको पहिरनले उसैगरी तान्यो– जसले, मेरो भावनाको देउरालीमा प्रागःइतिहास, पुराण, महाभारत, गीता, मिथक, मिमांसा र आधुनिक इतिहासका कलेवरहरू एकै पटक टल्किए । टाउकोमा मकै भुट्ने हाँडीजस्तो हेल्मेट, बलिष्ट ज्यानमा खाकीको कमिज, खैरो जाँगे, जाँगेलाई खैरो पेटीले अड्काएको, पेटीमा धारिलो खुकुरी झुण्डिएको, खुट्टामा बुटपट्टी कसेको ! (पृ. ७) म के वर्णन गरूँ ? पठनको थालनीमै आँखामा एउटा प्राचीन थेटरको झल्को आयो ।
जोतेरै नसकिने जिन्दगीको बाँझो फोर्न बिहानै झर्नुपर्छ बेँसीतिर, अनि उक्लिनुपर्छ सहर निदाएर घुर्ने बेलामा । यो व्यस्तताको झाडीभित्र पनि मलाई लाहुरेको रेलिमाईले पछ्याइरह्यो; मित्रसेन, पहिलो विश्वयुद्ध, छाउनी र लाहुरेका कथा भनिरह्यो । कहिले दुई–चार पृष्ठ त कहिले तरुनी रात ह्वाङ्गै हुँदासम्म म लाहुरेको रेलिमाईभित्र मित्रसेनसँगै पानीजहाजमा युद्ध–मैदानतिर हिँडिरहेँ ।
भाग्सु धर्मशालादेखि पठानकोट, धौलाधर शिमशृङ्खला हेर्दै, कालापानी तरेर बम्बई जाने रेल चढेको मित्रसेनको यात्राले म नोस्टाल्जियामा हराउँदै गएँ– मोहनी हरक मिसिएर बग्ने हावा पिएका पाखा–पखेराका बलिया पाखुराहरू त्यसरी नै गोरखपुर भर्ती हिँडेका थिए होलान् । रातभरि रोदीमा जोर मादलको तालमा रेलिमई झ्याउरे गाएका ठिटाहरूको अनुहार बिहान मलिन हुन्थ्यो । तिनीहरू भालेको डाँकोसँगै दुई–चार फाँक सोल्टीनीको कसिलो माया रुमालमा भरेर पल्टन फर्किन्थे होलान् । बैना रुमाल नपाउनेले भन्थे होलान्– मै साँची राखूँला, मायालु देऊ रुमाल फूल भरेको ...।
त्यही र त्यस्तै भाका गुनगुनाउँदै धौलागिरि हिमाललाई कोल्टे पारेर, कालीगण्डकीको सुसाइमा पिरती सुसेल्दै हिँड्थे होलान् वा माछापुच्छ्रे र अन्नपूर्णमा ऐना हेर्दै छड्के कपाल कोरेर, भञ्ज्याङको वर–पीपललाई दाहिँने पारेर नागबेली ओरालो झर्थे होलान् । यसरी नै गण्डकी पानीढलोबाट बगेर जाने लाहुरेहरू, खस्यौली झरेर, बटौली हुँदै नौतुना तर्थे र गोरखपुर कुनाघाटको डिपोमा मिसिन पुग्थे होलान् । उता, पूर्वका गणेश, मकालु, वरुण र कञ्चनजङ्घाको आशीर्वाद थापेर भर्ती जानेहरू उति नै हुन्थे होलान् । धनकुटाको साँघुरी भञ्ज्याङ हुँदै ओरालिन्थे होलान् । नागबेली बाटो पछाडि छोड्दै भेडेटारबाट त..ल धरान पुगेर ब्रिटिस भारतीय छाउनीका लागि ज्यान नै बन्धकी राख्थे होलान् ।
मित्रसेन भाग्सु धर्मशालमा जन्मेर ब्रिटिस फौजमा भर्ती भए पनि उनले सिङ्गै पितृभूमि बोकेर हिँडेका छन् । धौलाधर हिमाललाई धौलागिरि र माछापुच्छ्रे कल्पेका छन् । कालङ्गा र चक्की नदीलाई कालीगण्डकी, मर्स्याङ्दी र त्रिशूली कोसीसँग मीत लाइदिएका छन् । जसमा, कृतिकारले केही आफ्नै मिमांसाको चटनी पनि मिसाएका छन् ।
लाहुरेको रेलिमाईमा युद्धकथा मात्रै छैन, प्रेम–विरह छ । धर्म–संस्कृति, मान, मर्यादा, संस्कार र सभ्यता पनि छ । अझ भनौँ, गीत–सङ्गीतका मखमली भाका छन् । रोदीको मादलको पाक्कुम गुमको झझल्को, मुरलीको तिरिरि, चाँपको छ्याइँछ्याइँ के मात्रै छैन । त्यो भन्दा पनि पर पितृभूमिप्रतिको अघ्घोरै प्रेम छ । यो संस्कार र सभ्यता परभूमिमा कसरी अक्षुण्ण राख्ने भन्ने ठूलो पिरलो छ । यो बेलायती लाहुरे जीवनको ऐतिहासिक अमेट चित्र हो ।
पहिलो विश्वयुद्ध लड्न समुद्रको क्षितिजमा तैरिँदै बेल्जियमको फ्लान्डर्स तथा मेसोपोटामियातिर हिँडेको दृश्यले कता–कता अर्नेस्ट होमिङ्ग्वेको उपन्यास बुढो माझी र समुद्रको झझल्को पनि दिलाउँछ । समग्रमा मित्रसेनले भाग्सुको आफ्नै निवासमा जीवनको अन्तिम आरती गाउँदासम्म युद्ध, संस्कार–सभ्यता, प्रेम, कुरीतिजस्ता अनेक मार्मिक कहानी भन्छन् । जसले कहीँ उत्तेजित बनाउँछ, कहीँ आफूसँगै बम, गोली र ग्रिनेट बर्साउँछ, त कहीँ सँगै राखेर गौराङ्ग रूपजीवाहरूसँग पिरती लाउँछ । आफ्नी सहयात्रीप्रतिको प्रेम उर्लिएर आउँछ । उता, नेपाली गोर्खाहरूले सोल्टिनीको पिरती साँची राखेको कथा भनिरहन्छन् ।
युद्धमा पुकुपुक सहयोद्धाहरू ढल्दै गएपछि वियोगमा अनायाशै मेरा पनि आँखा भरिन्छन् । त्यो विरानो भूमिमा अनाहकमा गोर्खालीहरूलाई ज्यानको आहूति दिन बाध्य पार्ने ब्रिटिस गोराहरूप्रति मित्रसेन मुरमुरिन्छन् । कृतिको सुरुदेखि अन्त्यसम्म गोर्खाली सेनाको स्वतन्त्र बाँच्ने अधिकार खोसेर जबर्जस्ती युद्धमा होमेको अन्यायपूर्ण गाथा रोकिँदैन । साच्चै, मित्रसेनको कहानीले कति ठाउँमा त अरेली काँडाले जस्तै हृदय चिथोरेर छियाछिया बनाउँछ ।
युद्ध–कर्खा
लाहुरेको रेलिमाईलाई युद्ध–कर्खा भन्दा अत्योक्ति हुँदैन । यसमा युद्धका घटना, परिघटना, गोली, बारुद, दुष्मन र हमलाका घटना मात्रै छैन । ८०–१०० वर्ष अगाडि नेपाली गाउँगाउँ डुलेर गन्धर्वहरूले गाउने लडाइँ, सामाजिक घटना र हर्क बढाइँका कर्खाको लयात्मक भाव पनि छ । त्यसमा सुरु, ताल, भाव, आँसु–हाँसो र विरहका गाथा छन् । लाहुरेको रेलिमाई, झलकमान गन्धर्वले गाएको आमैले सोध्लिन् नि, खै छोरो भन्लिन् ... बोलको युद्ध–कर्खाजस्तै मार्मिक छ । त्यहाँ कलमले तथ्यको सारङ्गी रेटेको छ । भावना उम्लेर अक्षर खसेका छन् । अक्षरहरू विह्वल भएर विलापको धुन निकालेका छन् ।
भाग्सुदेखि जल र थलको यात्रा गर्दै श्वेज नहर तरेर ४ महिनामा ४ हजार माइलभन्दा लामो दूरी तय गरेर युद्ध सैनिकहरू फ्रान्सको गिभान्ची पुग्छन् । १४ डिसेम्बर, बिहान १० बजेबाट हमला सुरु हुन्छ । युद्ध लडिरहँदा मित्रसेनमा चरम निराशा उत्पन्न हुन्छ । मरेको, मारेको, मर्न प्रेरित गरेको, सीमा कब्जा तथा विस्तारवादको आधिपत्य जमाउनेप्रति आक्रोश पोखिन्छ ।
निकै मिहिन ढंगले विस्तारवादी गोरा र सरल गोर्खाहरूको तुलना गरिएको छ । गोराहरूमा लुट्ने, साम्राज्यवाद विस्तार गर्ने र हैकम जमाउनेजस्ता प्रवृत्ति हाबी भएको देखिन्छ । यता, गोर्खाली सैनिकले कर्तव्य पालना गर्ने, अरूको सम्पत्ति लिनै परे पनि अरूलाई खुसी पारेर लिन चाहने प्रवृत्तिको चित्रण गरिएको छ ।
युद्ध–दर्शन, मानवीयता, पाप र धर्मको लेखाजोखा यसरी गरिएको छ– अमूल्य रगत बेकारमा किन बगाइँदै छ ? उता हाम्रा परिवारजनलाई किन तड्पाइँदै छ (पृ. ६८) ?युद्धरत पक्ष तथा देशहरूले पाप र धर्मलाई बेवास्ता गरेको असन्तृष्टि छ । यस्तो स्थितिको समूल नष्ट हुनुपर्ने उद्घोष छ– यी जर्मन, ब्रिटिस, फ्रेन्च सबै पापी हुन् । अरूको ज्यान लिने हामी पनि पापी हौँ । पापीहरू यो लोकबाट नष्ट हुनुपर्छ । यी पापीहरू विलिन हुन धरती फुटेर आउनु नि ! (पृ. ऐ)
युद्धमा पनि नियम र अनुशासन अपरिहार्य रहेको पक्षमा उत्तिकै जोड दिइएको छ । यिप्रको युद्धमा जर्मन सेनाले क्लोरिन ग्यास छोडेर युद्ध–अनुशासनको उल्लङ्घन गर्छन् । जुन, अन्तर्राष्ट्रिय सन्धिविपरित थियो– ... लडाइँ आखिर लडाइँ नै हो तर पनि दुवै पक्षले नियमको पालना गर्नुपर्छ (पृ. १०९) । महाभारत र रामायणका युद्धमा पनि नियम थिए । आधुनिक नेपालका निर्माता पृथ्वीनारायण शाहले समेत युद्ध–नियम मानेर साना–साना राज्यहरू संगठित गरेका थिए ।
अर्कोतिर, युद्धमैदानको हृदयविदारक कहानी छ । बम, गोली र बारुदले कति सैनिकहरू शहीद बन्न पुग्छन् । डिसेम्बरको चिसो ठिहीमा लाशहरू फ्रिजमा राखेजस्तो हिउँको ढुङ्गा बन्न पुग्छन् । बाँचेका सहयोद्धाले तिनलाई धमाधम खाल्डो खनेर दर्जनौँ लासहरू पुर्छन् । पढ्दै जाँदा युद्धका यस्ता विभत्स दृश्यले शरीर थरथर काम्छ । मुटु फुटेर बाहिर निस्केला जस्तो हुन्छ । सँगैका सहयोद्धा मारिइरहँदा जिउँदाहरूमा मृतकप्रति प्रेमभाव बढ्दै जाने होला । शत्रुसँग बदला लिनकै लागि लाहुरेलाई जीवनप्रति बेप्रवाह बनाउँदो हो, र त मृत्युतिर धकेलिरहने होला ।
नेपाली समाजमा लाहुरेको चित्र कति सुकिलो देखिन्छ; उसको फुर्तीफर्ती, धन–पैसा, रवाफ, मान–सम्मान, त्याग र इज्जत । सामाजिक परम्पराको फलैँचामा उसको स्थान कता हो कता माथिल्लो तहमा हुन्छ । तिनै लाहुरेहरूको युद्ध मैदानको वास्तविक जीवनलीला कस्तो हुन्छ ? धेरैले कल्पना गरेका हुँदैनन् । सँगैको साथी लड्दा–लड्दै मर्यो भने राम्रो दाहसंस्कार पाउँदैन । खोला, खोल्सा, भिर, पहरामा बाघ–भालुकै लागि छोडेर रुँदै हिँड्नुपर्ने; कस्तो विडम्बना !
कति अपत्यारिलो लाहुरेको जीवन, कस्तो विचित्र परिघटना; बाँचेकै छ भन्ने व्यक्ति मरेको हुन सक्ने । मर्यो भनेर दाहसंस्कार गरेको फर्केर आउने । यस्तै घटनाहरूले भयाक्रान्त परिस्थिति सिर्जना गरेको छ– मर्यो भनेर दाहसंस्कार गरेको नम्बरी नरसिंह जर्मनीको युद्धबन्दीबाट छुटेर आएपछि । यति हुँदा पनि युद्धभूमिप्रति लाहुरेहरूको कत्रो आकर्षण हुँदो रहेछ । सायद, त्यही ठाउँलाई रगत र पसिनाको बलि चढाएकाले होला !
नेपालबाट लाहुरे बनेर जाने कतिपयले आफ्ना चेलीलाई प्रवासमा लगेर देहव्यापारमा होमेको कारुणिक पक्ष पढ्दा मन भरङ्ग हुन्छ । लाहुरेभित्र पनि त्यस्तो व्यभिचारयुक्त आपराधिक मानसिकता कसरी जन्म्यो होला ?
यो कृतिले युद्धजन्य अभिघातक कहानी कहेको छ; त्यसका भोक्ता हुन् लाहुरेहरू । सम्झिँदा पनि मन ज्वालामुखी भएर आउँछ । मर्नेहरू त मरेर जान्छन् । बाँच्नेहरूको कथा संसारका कमै कृतिहरूमा लेखियो होला । वास्तवमा लाहुरेहरू सयौँपटक मरेर बाँचेका हुँदा रहेछन् । त्यही युद्धले खाएको, चिथोरेको र कोपरेको शरीर फर्काएर ल्याउँछन्; बाआमा, छोराछोरी, प्रियसी र सोल्टिनीहरूका नाममा । यो नदेखिने वियोगको कथा गाउँगाउँमा एउटा अलग्गै उत्सव बनेर भित्रिन्छ; कस्तो अचम्म र उदेक ! लेख्न छुटेका गोर्खाहरूका मुटु चिरिने कति कथाहरू अझै पनि टिग्रिस र युफ्रेटस नदी किनारमा, मार्से र गिभान्चीमा, जङ्गल र पहाडहरूमा, मरुभूमिको वालुवामा, बेलायत, फ्रान्स र बेल्जियमका सीमाहरूमा अर्धचेत अवस्थामै होलान् ।
विश्वमा युद्ध किन हुन्छ ? युद्ध–सौन्दर्यका आँखाले हेर्दा, यो नयाँ आविष्कारको द्योतक (हेर्नू, युद्ध सौन्दर्य चिन्तन– रक्ष राई) हो भनिन्छ । यद्यपि, युद्ध हुनुको खास कारण साम्राज्यवादको विस्तार नै हुनुपर्छ । आफूमा शक्ति सञ्चय गर्नु, सम्बन्धित देशभित्रका प्राकृतिक स्रोतमाथि आधिपत्य जनाउनु र कमजोर राष्ट्रलाई दबाइरहने नियतहरू युद्धका उत्प्रेरक होलान् । टर्किस सैनिकले बासरा परित्याग गरेर जाँदा यहाँस्थित तेलका इनारहरूलाई आगो लगाएर छोडिदिए (पृ. १६९) भन्ने वाक्यांशले पनि त्यसैलाई इङ्गित गरेको छ ।
अहिलेको रसिया–युक्रेन युद्धले पनि स्रोत र शक्तिमाथिको कब्जालाई प्राथमिकता दिएको पुष्टि हुन्छ । मुख्यतः विश्वमा युद्ध हुनुका दुइटा कारण होलान्– पहिलो, प्राकृतिक स्रोतमाथि कब्जा जमाउने र शक्ति सञ्चय गर्ने । दोस्रो, साम्राज्यवादको विस्तार र आवश्यकताका लागि नवआविष्कार ।
बन्दुक, खुकुरी, बम, गोली, बारुद्ध, मेसिनगन र क्षेप्यास्त्रले मात्र युद्ध गरिँदैन भन्ने पक्ष आख्यानले उजागर गरेको छ । युद्धका लागि ज्ञान, विवेक, ट्याक्टिस, चलाखी र युद्ध–रणनीति अति महत्वपूर्ण पक्ष हुन् । हिजो असाक्षर वा अर्धसाक्षर नेपालीहरू भर्ती जानु, लडाइँमा होमिनु र ठूलो सङ्ख्यामा ज्यान गुमाउनुका पछाडि पक्कै शिक्षाको अभाव हो । नेपाली तथा गोर्खालीहरूको तुलनामा गोराहरू कम हाताहात हुनुले पनि यसलाई पुष्टि गर्छ ।
युद्धकला एउटा विद्या हो; यसमा कुशलता र उच्च मनोबलको खाँचो पर्छ तर उच्च शिक्षा हासिल गर्न नसकेका वा इच्छा नभएकाहरू भर्ती भएर जान्छन् । आज पनि यो सिलसिला उस्तै छ । पहिलो तथा दोस्रो विश्वयुद्धदेखि अशिक्षित र अर्धशिक्षित नेपाली/गोर्खालीहरूलाई गोराहरूले मोहोरा बनाउँदै आए । उच्च शिक्षा अभावकै कारण यस्ता सिपाहीहरू जहिल्यै माथिल्लो दर्जामा पुग्न सक्दैनन् । अनि, मित्रसेनजस्तै कटुवा/घटुवामा परेर फर्केका थुप्रै अवशेषहरू गाउँघरमा अझै भेटिन्छन् । यी प्रसंगहरू झलक सुवेदीकृत ब्रिटिस साम्राज्यका नेपाली मोहोरामा समेत मार्मिक ढंगले प्रस्तुत गरिएको छ ।
विदेशी भूमि हेर्ने बहरको रहरमा अल्झिएर गल्लाहरूको माखेसाङ्लोमा पर्नु, साथीभाइको लहैलहैमा लाग्नु, पिता–पुर्खाको बाटो पच्छ्याउनु, समाजले दिने मान–सम्मान र इज्जतको लोभमा फस्नु तथा चरम अशिक्षाको बादलले ढाक्नुजस्ता कारणहरूले गाउँगाउँबाट अबोध सोझाहरू लाहुरे हुने संस्कृतिको विकास भयो होला ।
पौराणिककालदेखि आजसम्म युद्धका तौरतरिका, विधि र प्रक्रिया बदलिँदै आएका छन् । अब त भर्ती जानु, युद्ध लड्नु भनेको उच्च शिक्षा हासिल गरेको सिर्जनशील व्यक्ति तयार हुनु हो । वैज्ञानिक युगमा युद्धमा जाने लाहुरेले विज्ञान र प्रविधिको पर्याप्त ज्ञान राख्न जरुरी हुन्छ । आजको युगमा साइबरिय ज्ञानले सुशिक्षित तथा एउटा कुशल आविष्कारक वा इन्जिनियर मात्र आजको दिनमा खाँटी लाहुरे हुन सक्छ । यो कृतिले पटाक्षेपमा मधुरो–मधुरो यी कुराहरू पनि बोलेको छ ।
युद्ध र पर्यावरण
युद्धको एउटा पाटोलाई नवआविष्कारको अपरिहार्यता वा सौन्दर्यसँग तुलना गरिए पनि ‘यो पर्यावरणीय ध्वसंको प्रमुख द्योतक हो’ भन्न सकिन्छ । बम, गोली र बारुद्धले वायुमण्डल दूषित बनाउँछ । नदी–खोलाको पानीको स्वच्छता खलबलिएर जलप्राणी मर्न सक्छन् । यसले, जलपर्यालाई दूषित गरिदिन्छ । उता, वनजङ्गलमा छोडिएका ग्रिनेट र बमका छर्राले वन्य–प्राणीलाई असर गर्ने मात्र होइन, उनीहरूको अस्तित्व नष्ट हुँदै गएको हुन्छ । यही कारण रूख–बिरुवाले पर्याप्त अक्सिजन उत्सर्जन गर्न नसक्दा पृथ्वीका सम्पूर्ण प्राणीको जैविकता सङ्कटमा परेको हुन्छ ।
गिभान्चीको युद्धमा मरेका आफ्ना सहयोद्धालाई खाल्डो खनेर पुरिन्छ र लास पुरिएको जमिनमाथि कटुस र सल्लाका बिरुवा रोपिन्छ । मित्रसेनले तिनका हाँगामा रातो ध्वजा बाँधेर कुलदेवता भाग्सुनाथलाई सम्झिए पनि त्यहाँ पर्यावरणीय चिन्ता जोडिएर आएको छ । यस्तै, बारुदको धुवाँले क्षति पुर्याएको टिग्रिस र युफ्रेटस नदी क्षेत्रको सिमसार नासिँदै गएको पीडा छ ।
टिग्रिस नदी किनारमा युद्धको प्रतिकारमा तैनाथ योद्धाहरूले खान र बाँच्नका लागि अनेक उपाय रच्छन् । बल्छीमा गँड्यौला उनेर नदीमा लहरै बसेर बल्छी हान्छन् । यहाँ, मित्रसेन एकैछिन आफैँ नदी बन्छन् र भन्छन्– 'तिमीहरू यहाँका रैथानजस्ता देखिन्नौ त ! मेरो छातीको स्रोत निकालेर खानलाई कसले दियो अनुमति हँ ?... (पृ.१७६) । यो आफूभित्रको स्रोत सुरक्षा र अस्तित्व जोगाउन प्रकृति आफैँ सिपाही बनेर उत्रिएको प्रतीक हो ।
प्रतिकूल भूगोलका युद्धमा बम–गोलीसँग लुकामारी खेल्नु मात्र जीवन होइन; मुसलधारे वर्षा, हिमपात, तुषारो, घामको प्रचण्ड तापसँग पनि जुध्नु हो । वर्षा, हिमपात, तुषारो र अग्नि पर्यावरण रक्षामा उत्रिएका प्राकृतिक योद्धा भन्न सकिन्छ । यिनलाई पनि प्रकृतिले आफ्नो रक्षाका लागि नरजातिसँग गरेको प्रतिकारसँग तुलना गर्न सकिन्छ ।
जब एम्बुसमा परेर आफ्ना योद्धाहरूको एकै चिहान हुन्छ, तब मित्रसेन अर्धमूर्च्छित हुन्छन् । मृतकहरूलाई टिग्रिस किनारमा दाहसंस्कार गरिन्छ । उनले आफ्ना सहयोद्धाहरूको अभिघात पीडा नदीलाई सुनाउँदै हिँड्छन्– 'देखिस् मेरा सात भाइ (२१३) ?' उल्टै टिग्रिसले प्रश्न गर्छिन्– 'तँ बिरानो मान्छे भएर आफ्नो पवित्र भूमिलाई कुल्चिएर किन बन्दुक पड्काउँदै छस् (पृ.ऐ) ? कस्तो विचित्र मानव–प्रकृति संवाद । मित्रसेन आफ्नो र आफ्नाहरूको रक्षामा उत्रिएका छन्, नदी आफ्नो अस्तित्व र पर्यावरणीय चक्र चलाइरहन प्रतिकारमा उभिएकी छन् । यहाँनिर, सिङ्गो मानव–जगत्लाई प्रश्न गरूँ–गरूँ हुन्छ, ‘के प्रकृति (टिग्रिस नदी) को प्रतिकार अन्ततः मान्छे जातिको संरक्षणकै लागि होइन र ?’
एक अर्को सन्दर्भमा मानवजगत संरक्षण गर्न संसारीमाईको पूजा गर्ने प्रचलन उल्लेख गर्दै मित्रसेन भन्छन्– 'प्रकृतिलाई चिरेर बिउ छरेपछि उनको गर्भबाट मानव जातिलाई जीवित राख्ने अन्न उम्रन्छ । यस्ता आमाजस्ती पर्यावरणको संरक्षण गरिनुपर्छ ।' ... तर अन्धा भएर प्रकृतिको विनाश पनि गरिरहेका हुन्छौँ, ... (पृ.२४९) । आख्यानकार आफैँ पर्यावरणविद् भएको हुँदा उनले मित्रसेनमार्फत यसको संरक्षणमा जोडदार आवाज उठाएका छन् । युद्धका दर्दनाक परिघटनाहरू सहँदै हिड्नुपरे पनि मानव अस्तित्वका लागि धर्म र पर्यावरण संरक्षणमा उनको अटुट निष्ठा देखिन्छ ।
धर्म र मिमांसा
लाहुरेको रेलिमाई जीवनीपरक उपन्यास भएको हुँदा यसले नेपाली धर्म, संस्कार र जीवनपद्धतिलाई डोर्याउने पयो बाटेको छ । मित्रसेनकी आमा अति धार्मिक स्वभावकी भएकाले उनमा हुबहु आमाकै स्वभाव र आचरण सरेको कृतिकारले सविस्तार वर्णन गरेका छन् । उनको पुस्ट्याइँ छ– आज पनि छाउनी तथा लाहुरमा गाइने भजनहरू मित्रसेनले नै सिर्जना गरेका हुन् । कृतिमा यी भावहरू मिहिन ढङ्गले खिपेर लिपिबद्ध गरिएको छ ।
लाहुरेको रेलिमाई युद्ध–आख्यान भए पनि हिन्दु धर्म, संस्कृति, परम्परा र संस्कारजन्य पक्षलाई भरपूर स्थान दिइएको छ । युद्ध–वर्णनपछि यो कृतिको सबैभन्दा शक्तिशाली पक्ष नै धर्मप्रतिको आस्था, त्यसको आचरण र परिपालना नै हो । धर्मले मानिसलाई आचरण र अनुशासनमा बाँध्ने मात्र होइन, जातीय रक्षामा अतुलनीय भूमिका खेलेको हुन्छ भन्ने पाटो सहर्षै मनन गर्न सकिन्छ । धार्मिक मान्यताले सिपाहीको मनोविज्ञान कस्तो बनाउँदो रहेछ भन्ने पक्षलाई खोतलखातल पारिएको छ । यदि, यस कृतिबाट धर्म–संस्कारका विषय झिकिदिने हो भने यो कोरा वर्णन मात्र बन्ला !
हिन्दु धर्मावलम्बी गोर्खाली फौजलाई गोरुको मासु खान दबाब दिने गोराहरूप्रति मित्रसेन विद्रोही देखिएका छन् । ‘हामीलाई गोरुको मासु खान लगाएर अपवित्र नबनाइयोस् । हाम्रो हिन्दु धर्मले दिँदैन । यसले सिपाहीको मनोबल गिर्छ’ (पृ. ५२) । एकातिर, यसलाई गोराहरूले हिन्दु धर्ममाथि गरेको प्रहार, सांस्कृतिक अतिक्रमण र धर्मान्तरणको प्रयत्नको रूपमा लिन सकिन्छ । अर्कोतिर, गोर्खाली सैनिकहरूमा हिन्दुत्व त्याग्दा वा हिन्दुविरोधी गतिविधिले युद्धहीन भावना जगाउने र युद्ध हार्न सकिने मनोवैज्ञानिक सन्देश छ ।
युद्ध मैदानबाट मित्रसेनले पहिली श्रीमती कलावतीलाई पत्र लेख्छन् र आफूले लडिरहेको युद्ध महाभारत र रामायणको भन्दा कम नरहेको वर्णन गर्छन् । युद्ध–सैनिकलाई रामायणका हनुमान, महाभारतका कृष्णसँग तुलना गर्छन् । ‘यस्तो भएको भए एक्लै विरोधीलाई जित्न सक्थेँ, शत्रुको जालमा फसेका सहयोद्धालाई उद्धार गर्न सक्थेँ’ भन्ने कल्पना छ । विश्वयुद्धलाई पाण्डव र कौरव, राम र रावणसँग तुलना गर्नुले युद्धगाथालाई हिजोदेखि नै धर्मले सँगसँगै तानेर हिँडाएको अनुभूति हुन्छ । आजमात्र होइन; पौराणिककालदेखि नै युद्ध हुनुको एउटा प्रमुख कारण ‘एक समुदायको धर्म वा आस्तामा अर्कोले प्रहार वा हस्तक्षेप गर्नु हो’ भन्ने पनि प्रस्टिन्छ ।
आज विश्वव्यापी हिन्दु र मुसलमान, मुसलमानभित्र पनि सुन्नी र सियाबीच बेलाबेला द्वन्द्व भइरहेको छ । क्रिष्टियनभित्र क्याथोलिक र प्रोटेस्टेन्ट वा यहुदी वा अर्थोडक्सहरूबीच अनेक विवाद, मतभेद र असन्तृष्टिले विश्व राजनीतिलाई तरल बनाइरहेकै छ । पछिल्लो समय भारतमै हिन्दु र मुसलमान वा हिन्दु र क्रिष्टियनबीचको विवाद फराकिलो देखिएको छ । यसको ज्वलन्त उदाहरण हो, भारतको मणिपुर राज्यमा मैतेयी र कोकी तथा नागा जातिबीच भड्किएको हिंसा । देशभित्रै पश्चिम नेपालगन्जमा पनि बेलाबेला हिन्दु–मुसलमानबीचको सद्भाव खलबलिने गरेको छ । भर्खरैको इजरायल र प्यालेस्टाइनी हमास समूहबीचको नरसंहारले पनि धर्म र युद्धलाई गाँसेको छ । अतः लाहुरेको रेलिमाईले ‘धर्मबाट युद्ध वा हिंसा पृथक् रहन सक्दैन’ भन्ने तर्क पेस गरेको छ ।
प्राकृतिक संरचना र बनोटलाई पनि भगवान्को लीला कल्पनु, लडाइँमा ज्यान जोगाउन ‘रणकौशलमा निपूण भएर मात्र हुँदो रहेनछ, भगवान् दाहिना हुनपर्ने’ जस्ता वाक्यांशले धार्मिक आस्ताप्रतिको मित्रसेनको अनुरागलाई झल्काउँछ । लडाइँमा जानी–जानी मर्नुभन्दा ज्यान जोगाउनु नै उत्तम भनिएको छ, 'चौरासी करोड जुनीपछि बल्ल मानव जुनी पाइन्छ भन्छन्, हतारमा मर्नुभन्दा सम्पूर्ण प्राणी र मानवजगतको भलो हुने कार्य गर्दै पूर्ण मानव जीवन जिएर मर्नू (पृ. १९२)।' यी भावहरूले धार्मिक आस्थालाई अझ दरिलोसँग बाँधेर अध्यात्म–चिन्तन वा मिमांसासम्म पुर्याएको छ ।
भएको धन–पैसा भट्टीवाल्नी र तरुनीको गुन्युमा खन्याएर रित्तिएका लाहुरेहरू नौतुना र बटौलीतिरबाटै घर नगई लाहुर फर्किने गरेका धेरै उदाहरण गाउँघरमा उहिल्यैदेखि सुनिँदै आएको हो । कृतिले यसलाई पनि घामझैँ छर्लङ्ग बनाएको छ ।
(क) भाग्यवाद: युद्धमा दुस्मनले गोली बर्साइरहँदा भगवान्को नाम जपिरहनु, मर्नु–बाँच्नु परमेश्वरको हातमा छोडिदिनुले भाग्यवादप्रतिको विश्वास दरिलो बनाएको छ । यहाँ धर्मिक आस्था, कर्म र भाग्य एकअर्काका सहायक वा परिपूरकको रूपमा आएका छन् । गीतामा श्रीकृष्णले ‘कर्म गर, फलको आशा नगर’ भनेझैँ युद्धबाट योद्धाहरूले के प्राप्त गर्छन् भन्ने पक्षलाई बिर्सिएको छ । लडिरहनु कर्म हो र लडाइँ जितिने वा हारिने वा मर्ने–बाँच्नेको जिम्मा भाग्यमै सुम्पिनुले फलप्रति आशक्ति नदेखाएको नै बुझ्न सकिन्छ ।
भगवान्को लीला पनि कस्तोकस्तो ! एउटै भौगोलिक बनोटमा यता बगेको छ, टिग्रिसजस्तो विशाल जलमग्न नदी । उता छ यसै भूगर्भभित्र तेलको गहिरो भण्डार (पृ. १७७) । यो प्राकृतिक संरचनालाई किन भगवान्को लीला भन्नुपर्थ्यो र ! यसबाट पनि प्रस्ट हुन्छ, मित्रसेन आफ्नो धर्मप्रति अटुट आस्था राख्ने भाग्यवादी लाहुरे थिए ।
कुखुरा काटेर हतियार पूजा गर्दा ‘हे इष्टदेव भाग्सुनाथ’ भन्नु धार्मिक आस्था र भाग्यवादको ‘फ्युजन’ हो । युद्धभूमिमा जाँदै गर्दा केही लाहुरेहरूले यात्रामा गोरुको मासु खान्छन् । पछि, कतिले छाद्छन् । कति बिरामी पर्छन् । अनि, ‘कुलले सहेनन्’ भन्नु, ‘बाँचेर घर पुगेँ भने कुल देउतालाई भेडा चढाऊँला’ भन्नु पनि आस्था र भाग्यवाद हो । भाग्यले घेरेर त्यस्तो ठाउँमा पुर्याएकोमा उनीहरू पश्चात्ताप गर्छन् ।
(ख) मृत्युचेत: शत्रुसँग लड्दा–लड्दै मरियो भने के होला ? मृत्यु स्वाभाविक हो र यसलाई त्यहीअनुसार स्वीकार्नुपर्छ भन्ने पक्ष पनि कृतिले उजागर गरेको छ । लडाइँ लड्नु जित्नका लागि मात्रै होइन, जतिबेला पनि मर्न तयार रहनुपर्छ भन्ने भावोव्यक्ति अति नै मार्मिक छ । यो अति यथार्थवादी चिन्तन तथा दर्शन पनि हो । ट्रेन्च खनेर बस्नका लागि गैँती–बेल्चाले खाल्टो खनिरहँदा नम्बरी नरसिंहले मित्रसेनलाई सोध्छन्, ‘राइफल छँदै छ त ! किन गैँती–बेल्चा थमाएको ?’ ठट्यौली पारामा मित्रसेनले जवाफ दिन्छन्, ‘तिमी मर्यौ भने मलाई, म मरेँ भने तिमीलाई, खाल्टो खनेर गाड्नलाई (पृ. ५८) !’
हास्यरसमा मिसाएर यसरी शाश्वत् मृत्युचेत प्रकट भएको छ; यस्ता मर्मभेदी वाक्यांशहरू दर्जनौँ ठाउँमा जोडिएका छन् । जसले, अनेकपटक तन र मनलाई तरल बनाइदिन्छन् । शरीरभरि काँडा उम्रिन्छन् । लड्दा–लड्दै मरेको सहयोद्धालाई केको श्रद्धाञ्जली, केको दाहसंस्कार, केको दागबत्ती ? खाल्टो खनेर पुर्न भ्याइयो भने मात्र पनि त्यो पुण्य–कर्म मानिन्छ । नत्र त ढलेका आफ्ना साथी–सङ्गाती र हितैषीलाई लडाकुले जहाँ जस्तो अवस्थामा छ, त्यस्तै छोडेर हिँड्नुपरेको छ । योद्धाले मरनलाई सजिलै स्वीकार्नुपर्छ भन्ने चेत अति यथार्थवादी छ ।
कृतिको सुरुदेखि अन्त्यसम्म हिन्दु धर्मप्रतिको सचेतना, आस्था, यसको परिपालना र जगेर्नामा मित्रसेन अटुटरूपमा लागेका छन् । यस्ता प्रसंग दशौं होइन, सयौँ छन् । युद्ध थामिएपछि कटुवामा परेका उनको जीवन झनै धार्मिक हुँदै जान्छ । धार्मिक भजन गायन, नाटक लेखन तथा मञ्चन र गीत–संगीतमा आफ्नो सिङ्गो जीवन नेपाली जातिकै लागि अर्पण गर्छन् ।
प्रेम र पिरती
गीत–संगीत, प्रेम र पिरती एकअर्काबाट छुट्टिनै नसक्ने तत्त्व हुन्; नङ र मासुजस्तै । लाहुरेको रेलिमाईभित्र यी प्रसंग निकै प्रबलरूपमा देखापरेका छन् । प्रेमले परिवार, साथी–सङ्गाती वा आफन्तप्रतिको निकटतालाई भन्दा प्रेमी र प्रेमिकाबीचको भावात्मक अभिव्यञ्जनालाई उद्घाटित गरेको हुन्छ । यस कृतिमा पनि विदेशी छाउनीवरपर भेटिएका अपरिचित युवती, भाग्सुमा रहेकी मित्रसेनकी धर्मपत्नी वा नेपाली पाखा–पखेराबाट बगेर गएका लाहुरेहरूको लोलीबोलीमा प्रेमिल छटाहरू झरनाको पानी जस्तै छङछङ बगेका छन् ।
बेल्जियमको फ्लान्डर्समा गोरेनी युवतीहरूसँग लाहुरेहरूको देखादेख हुन्छ । बेलायती राजकुमारीले पठाएको उनको फोटो खोपिएको ब्रासबक्स पाउँदा नेपाली लाहुरेहरूको हृदयमा जमेको प्रेम भुर्लुक्क उम्लिन्छ । यो देख्दा मित्रसेनले बेलायती राजकुमारीको कपाल मृगको रङ र आँखा श्वेज नहरको पानीको रङसँग तुलना गर्छन् । उता, मार्सेको रेल्वे स्टेसनमा बाईबाई गरेकी फ्रेन्च युवतीलाई सम्झिन्छन् । मनोलोकमा तैरिरहेका यस्ता प्रेमिल अभिव्यक्तिले मित्रसेनलाई कलावतीको सम्झनाले व्याकुल बनाउँछ– युद्ध मैदानभरि सुसेलेरै नसकिने आफ्नै जिन्दगीका लयहरूले उनलाई हुरुक्क बनाउँछ । अनि, फ्लान्डर्स फिल्डको ट्रेन्चबाट कलावतीलाई चिठी लेख्छन्– पहेंलिएर झरेका पातहरू र सामुन्ने अहिले बर्षिदै गरेका सेता हिउँले बताइसकेका छन्, यता हिउँद सुरु भएको । मेरो आफ्नै बैँसको हिउँदचाहिँ उहिले अन्त्य भएको हो, ... (पृ. ८५) । आफ्नी प्रियसीलाई यी हरफहरू लेखिरहँदा उनमा बाआमाप्रतिको प्रेम र कर्तव्य पनि उद्वेलित भएर आउँछ ।
फ्लान्डर्समै एक भट्टी पसलमा रक्सी बेच्ने दुई फ्रेन्च तरुनीसँग गोर्खालीहरूका नसालु आँखा साटिन्छन् । मन परेर के गर्नु, भाषा मिल्दैन । आँखा हेरेरै तृप्त हुन्छन् । इशाराले नै बैँसको उद्वेग तुरिन्छ । अनि, उनीहरू गाउँ कल्पिन्छन्– गाउँतिर हुन्थ्यो भने तानीतानी बसालेर झाम्रे गाउन सुरु गरिन्थ्यो । (पृ. ९५)
दुन्दुभि युद्धभूमि नजिकिँदै जाँदा लाहुरेहरू गाउँको बाटो हुँदै अघि बढ्छन् । बीचैमा कुखुराको फार्म भेटिन्छ । त्यहाँ कुखुरा लखेट्दै गरेका दुई तरुनीसँग उनीहरूका आँखा जुध्छन् । युवतीहरू मुस्काइदिन्छन् । तिनीहरूको कामुकता देखेर सिपाहीको जवानी नौनीसरी पग्लियो, (पृ. ५६) । एउटीले त पसिना पुछ्ने रुमाल पनि दिएकी थिई । यही बेला नम्बरी नरसिंहले भन्छन्– भरे हामी भएतिर आउनू । पकाएको कुखुराको मासु दिन्छौँ । (पृ. ऐ)
त्यही सन्दर्भमा मित्रसेनले प्रेमिल व्यंग्य छोड्छन्– तिम्रा गाउँका ठिटी भएको भए एक भन्दा पटिन्थे, लाहुरे देखेर । यहाँका गोरेनी तरुनीले पत्याएनन्, (पृ. ऐ) । लाहुरेको रेलिमाईभित्रका यस्ता अनेक प्रसंग छन्; जसले सहधर्मिणीको झझल्कोलाई नजिक ल्याउँछ । रहर र कहरले मुग्लानिएका कति लाहुरेहरू समयमा गाउँ फर्किन नसक्दा श्रीमती पोइला गएको खबरले उनीहरू रुँदै कर्तव्य निभाइरहेका हुन्छन् । प्रियसी, सोल्टिनी र मायालुको सम्झना आलो बनेर आउँछ । उनीहरूले गाउँघर, वनपाखा, लेकबेँसी, छाँगा–छहरा, उकाली–ओराली, देउराली–भञ्ज्याङ सम्झिरहन्छन् । रोदीघरमा झ्याउरे, बालन, कौरा र सालैजो गाएको क्षण चाहेर पनि बिर्सिन सक्दैनन् ।
...हिजोजस्तै लाग्यो होला भञ्ज्याङमा फूलपाती चढाउँदै धनमाया कान्छीसँग साँचो पिरतीको कसम खाएको । छुट्ने बेला एक अँगालो माया पोको पारेर कुसुमे–रुमाल उपहार साटेको (पृ. १५४) । यसरी, बैना रुमाल लिएर लाहुर हिँडेका लाहुरेलाई यस्ता भावहरूले पगालेर भुईंमा न भाँडामा पुर्याइदिन्छ ।
गीत–सङ्गीतको रन्को
परदेशीलाई भुल्दा हुन् गामले त
तर, गामलाई भुल्दैनम हामले त, ...।
म्याग्दी र बागलुङतिर गाइने यो झ्याउरे भाका गायक नवीन राना र जयलक्ष्मी छन्त्यालको स्वरमा रेकर्ड भएको छ । यो गीतले परदेशिएकाले घरदेश सम्झेको बहनी छ । लाहुरेको रेलिमाईमा यस्ता थुप्रै बहनी छन्, जसले बेलाबेला बतासको पुल हालेर गाउँघरतिर पुर्याइदिन्छ ।
लाहुरेहरूलाई घरको सम्झना बिर्साउने र मन बहलाउने प्रशाधन कि त तिनै विदेशी छाउनी वरपर भेटिने गोरेनीहरूका अनुहार हुन्, कि त गीत–सङ्गीत नै । युद्धमा गोता खाएको, सहयोद्धा गुमाएको र शत्रुबाट जोगिन हरेक क्षण मृत्युसँग जुधेर बाँच्नुपर्ने बाध्यताको घाउमा लगाउने अचुक मलम गीत–सङ्गीत भन्दा अरू के नै पो हुन्छ र !
कालापानी तरेर जाँदै गर्दा घरपरिवार र गाउँको सम्झनालाई मधुरो बनाउन मित्रसेनले यसरी पहिलो भजन रचेका छन्–
कोही कसैको हुन्न जगत्मा हंस उडी गएपछि
के पो रहिजाने बाँकी जिउ गली गएपछि, ... (पृ.१८)
भर्ती हिँडेका मित्रसेनले सहकर्मी लाहुरेहरूलाई मनोरञ्जन दिन र बतासमा उडेको आफ्नै मन कसी लाउन पनि गीत र भजन सिर्जना गरी गाउँछन् । यसले, लाहुरहरूको छुटेको पिरती र टुटेको जीवनलाई बम, गोली, बारुद, राइफल, ग्रिनेट, मान्छेका आँसु र चीत्कारबाट थोरै भए पनि टाढा राखेको छ । अनि, युद्ध–मैदानको उराठलाग्दो जीवनमा भ्रान्ति लेपन गरेर सामान्यमा फर्काएको छ ।
उता, नम्बरी नरसिंहले मित्रसेनलाई झ्याउरे भाकाको बहनी सुनाउँछ– गाउँघरमा काम हुन्न । घाँसदाउरा, मेलापात गयो । तरुनीहरूसँग जिस्केर बस्यो । गीतका टुक्काले हान्यो । दिन काट्यो, .... रातभरि तरुनीहरूसँग झाम्रे बस्यो, बिहान उज्यालो पार्यो (पृ.२६) ।
यी भावले मित्रसेनलाई हुरुक्क बनाउँछ । उनको मन हुर्रिएर पुख्यौली थलो लेखानी, राङखानी र राखुपुल्लातिर पुग्छ । अनि, गुनगुनाउँदै कोर्न थाल्छन्– मलाई खुत्रुक्कै पार्यो जेठान तिम्रो बहिनीले, ... (पृ.२७) । भाग्सुमा जन्मे–हुर्केका मित्रसेनलाई लोकगीत र झ्याउरेप्रति सम्मोहित गराउने मुख्य तत्त्व लाहुरे जीवन नै हो । नेपालबाट भर्ती भएर जाने दाजुभाइहरूसँगको संगत र उठबसले उनलाई कालजयी गीत सिर्जना गर्न हौस्याएकै हो । यसैबाट प्रभावित भएर यिप्रकोटबाट बिलेट जाँदै गर्दा बाटोमा उनले आफूले रचेको गीत पहिलोचोटी गाउँछन्– लाहुरेको रेलिमई, ...।
पल्टनबाट फर्के पनि मित्रसेनलाई भजन, गीत–संगीत र साहित्यले पच्छ्याउन छोड्दैन । झ्याउरे गीत रचेर सङ्गीत भर्दै, गाउँदै प्रवासदेखि पुर्खाको थलोसम्म पुग्छन् । अझ, तत्कालीन श्री ३ महाराज जुद्धशमशेरको दरबारसम्म भित्रिन्छन् । दरबारमा लोकशैलीका झ्याउरे गीत गाउँदा उनलाई हियाइन्छ तर उनले गाउन छोड्दैनन् । जुद्धशमशेरले उर्दू र फारसीका गजल सुन्न चाहँदा उनले लयात्मकरूपमा नेपाली भाव व्यक्त गर्छन्– गाउँन आउँछ ती विदेशी भाषामा, नआउने होइन तर हाम्रै नेपाली लोकभाकाका गीतलाई प्रोत्साहन दिनुपर्छ (पृ. ३५६) ।
मित्रसेनको त्यो बोली सुनेपछि महाराज जुद्धशमशेरले अबदेखि हामी हिन्दी भाषाका गीत नसुनौँ, आफ्नै मौलिक भाषाका गीत लेखौँ, गाऔँ र सुनौँ पनि (पृ.३५६) भन्नु कत्रो परिवर्तन ? नेपाली गीत–संगीतप्रति मित्रसेनको कत्रो सम्मान, कत्रो अनुराग, कत्रो प्रेम । मास्टर रत्नदास प्रकाशमा समेत नेपाली गीत गाउनुपर्छ भनेर प्रेरणा जगाउन सक्ने मित्रसेनको योगदानलाई बिर्सियो भने उनीमाथि ठूलो अन्याय हुनेछ ।
नेपाली लोकगीत–सङ्गीतको उत्थान तथा श्रीवृद्धिमा मित्रसेनको समर्पण अतुलनीय रहेछ । यो पक्ष सिङ्गो नेपाली जातिले सिकेरै नसकिने एउटा लोक–पहिचानको रैथाने पुराणजस्तै लाग्छ । कृतिकारले यी भाव र सन्दर्भलाई सुरुदेखि नै ज्यादै सुललित ढङ्गले लिपिबद्ध गरेका छन् । जसले, नेपाली सभ्यतालाई अक्षुण्ण राख्न भरभग्दुर प्रयास गरेको छ ।
घरदेश र सभ्यता
मानिसलाई सबैभन्दा बढी आफ्नो जाति, पहिचान र अस्तित्वको पिरलो हुँदो रहेछ । खासमा, जन्मेदेखि सोलामा नपुग्दासम्म त्यसको धित मर्दैन । लाहुरेको रेलिमाईमा यसले आँसु, विरह, चिन्ता र छटपटीको आगो बनेर मित्रसेनलाई बालिरहेको छ । कालापानी तरेर गिभान्चीको युद्धमैदानतिर हिँड्दै गर्दा नै उनले हृदय निचोरेर बगाएका छन्– देशको सेवा गरूँ भने आफ्नो देशमा जन्मिने भाग्य भएन, ... (पृ.१८) ।
यहाँ पनि कुरो मिल्दैन । २२ वर्ष पूरा हुँदा पल्टनबाट फर्क्यो । १७ वर्षमा तीन वर्षको सन्तान हुन १४ वर्षमै विवाह हुनुपर्यो । यो हुनलाई श्रीमान्–श्रीमतीको उमेर बराबर हुनुपर्छ र डेढ वर्षको अन्तरमा दोस्रो सन्तान जन्मिनुपर्छ । यसलाई ‘ब्लन्डर’ भन्न त नसकिएला तर पत्याउन गाह्रो हुन्छ ।
मित्रसेन पुर्खाको भूमि सम्झेर पटक–पटक आहत हुन्छन् । अमरसिंह थापाको फौजमा मिसिएर काँगडा पुगेका आफ्ना जिजुबाजेको इतिहास सम्झेर उनलाई आफ्नो अस्तित्व पनि कुनै निर्जन विदेशी भूमिमा मेटिने हो कि भन्ने तापले पोलिरहन्छ । उनी कल्पिन्छन्– अमरसिंहका सैनिकले काँगडामा हार बेहोरेका थिए । ती सैनिक युद्धपश्चात् नेपाल फर्केनन् । चाहेर पनि फर्किन सकेनन् होला; भौगोलिक दूरी, विकटता र युद्धबन्दीका कारणले । अनि, काँगडातिरै बसेका हुँदा हुन् । मेरो हालत पनि मेरा जिजुबाजेको जस्तो बन्न सक्छ, यहाँ । यस युद्धमा हारेर म यतै पलायन हुन सक्छु । अनि, मेरा सन्तान मजस्तै अरूका लागि लड्दै युरोपतिरै भौँतारिन सक्छन्, ... (पृ.४२) । यो कत्रो अभिघात चिन्ता ।
युद्ध जितेर आफ्नै देश फर्किने वा फर्किन नपाउने चिन्ताले मस्तिष्क उद्वेलित बनाइरहेको हुन्छ । उता, मित्रसेनका पिताले पल्टनमा रहेको छोरालाई पत्र लेख्छन्– ... आफ्नै देशको जस्तो बनाएर ल्याउन नभुल्नू, आफ्नो देशको जस्तो हुन नसकेको तिम्रो लाहुरे जिन्दगी (पृ.१११) । यो वाक्यले दोहोरो अर्थ दिएको छ– पहिलो, आफ्नो जन्मभूमि भाग्सु छोडेर युद्ध–मैदानमा युरोप पुग्नुपरेको पीडा । दोस्रो, पुर्खाको भूमि नेपालको जस्तो हुन नसकेको दुःख ।
यसरी नै बेलायती महाराजलाई तत्कालीन नेपालका राजा श्री ५ त्रिभुवनसँग तुलना गरेर मित्रसेनले नेपालप्रतिको अटुट प्रेम प्रकट गरेका छन् । यति मात्रै होइन, कृतिभरि नै पुर्खाको भूमि सम्झेर मित्रसेन धेरै पटक कुँडिएका छन् । परदेशमा आफ्नै जातिलाई देख्न भेट्न पाउँदा उनी हर्षविभोर पनि भएका छन्– भाग्सुमा गोर्खालीको बाक्लो बस्ती छ । भाग्सु धर्मशालालाई नेपाली भूभाग नै माने पनि हुन्छ । अहिले पो नेपालको भूभाग होइन तर इतिहासकालमा त थियो नि । धेरै होइन, सय वर्ष अगाडि मात्रै ... अमरसिंहले काँगडा किल्लाबाट यस क्षेत्रमा तीन वर्ष नेपाली झण्डा फरफराएका थिए (पृ.२९३) । यसरी मित्रसेन देशप्रेमले अभिभूत भएर छचल्किएका छन् ।
युद्धरत लाहुरेहरूले विदेशी पनको सिको गर्न थालेको चिन्तादेखि भाग्सु, पन्जाब होस् वा अमृतसरका गोर्खालीहरूले नेपाली चालचलन, रहनसहन, चाडपर्व, धार्मिक मान्यता, वेशभूषाको मौलिकता फुकाल्दै गएको पीडाले मित्रसेन धेरै ठाउँमा विरेचित छन् । भोलि नेपाली/गोर्खालीको गौरवपूर्ण इतिहास मेटिँदै जाने त होइन भन्ने पीरले भावविह्वल भएका छन् ।
लाहुरेका अनैतिक कृत्य, गोर्खाली जाति त्यतैका पठान र शिखमा परिणत भएको, दौरा–सुरुवाल, गुन्यूचोली जस्तो भेषभुषा बिर्सेर कुर्ता–पाइजामा तथा कुर्ता–सुरुवाल लगाउन थालेको र गोर्खालीको महान इतिहासप्रति बेप्रवाह भएर मौलिकता बिर्सिँदै गएको देखेर मित्रसेन दिग्दारिन्छन् ।
...प्रवासमा जन्मिनु पर्दा जीवनका ऊर्जाशील क्षणहरू विदेशीको सेवामा समर्पित गरेबापत मलाई लाग्ने पापलाई नेपाली शब्द–सिर्जनाहरूले पखाल्न चाहन्छु (पृ.३४६) । यसरी, मित्रसेनलाई जीवनभरि पहिचान र अस्तित्वले लखेटिरहेको छ । यी सन्दर्भलाई कृतिकारले उनको जीवनबाट हुबहु उतारेजस्तो लाग्छ ।
लाहुरे र देहव्यापार
नेपाली/गोर्खाली लाहुरेहरूको जातिप्रेम, देशप्रेम, सभ्यता र संस्कारप्रतिको चिन्ता देखेर हरेक व्यक्तिलाई चकित बनाउँछ । ‘यो पिरलो बोकेर हिँडिरहेकाहरूभित्र कलुषित भाव पनि छिपेको हुन्छ’ भन्ने कमैले अनुमान गर्न सक्छन् । नेपालबाट लाहुरे बनेर जाने कतिपयले आफ्ना चेलीलाई प्रवासमा लगेर देहव्यापारमा होमेको कारुणिक पक्ष पढ्दा मन भरङ्ग हुन्छ । लाहुरेभित्र पनि त्यस्तो व्यभिचारयुक्त आपराधिक मानसिकता कसरी जन्म्यो होला ? हरेक पेसा, व्यवसाय, समुदाय वा जातिभित्र सुषुप्त अवस्थामा केही न केही खराबी हुँदो रहेछ । सायद, यो लाहुरेहरूमा पनि थियो ।
अशिक्षा, अभाव, गरिबीजस्ता सामाजिक संकटबाट बाहिर निस्किन लाहुरिएकाहरूमा रातारात धनार्जन गर्ने भोक जागेको हुन सक्छ । यही भोक मेट्नका लागि तिनले नेपाली चेलीहरूलाई बिहे गरेर भारतमा पुर्याई बेच्ने र देहव्यापारको दलदलमा धकेलेका हुन सक्छन् । यसलाई पनि कृतिकारले मित्रसेनको जीवनीको ऐनमार्फत छर्लङ्ग देखाएका छन् ।
यौन–व्यापार भारतीय उपहाद्विपमा मात्रै होइन आधुनिक गोराहरूका शहरहरूमा समेत छ्यालब्याल्ती पोखिएको देखाइएको छ– ...फ्रेन्च र जर्मन सिपाहीलाई वेश्यालय जान मनाही थिएन तर बेलायती र इन्डियन सिपाहीलाई मनाही थियो, ... (पृ.९५) । पोर्न फिलिमको भल पश्चिमी खोल्साहरूबाटै बगेको हो । बिस्तारै तिनका बाछिटा यता पर्दै गए । सायद, देहव्यापारको सिको पनि लाहुरेहरूले तिनै गोराहरूबाट सिकेर आफ्नो जातिमा लागू गरेका हुन् कि !
पल्टनीया जीवनमा पूर्णविराम लागेपछि मित्रसेन गीत-सङ्गीत र साहित्य सिर्जनामा होमिएका छन् । जीविका चलाउन घरायसी व्यापार सुरु गरेका छन् । व्यापारका लागि सामान लिन पठानकोट जाँदा उनी श्रीरङसँग पानगली हुँदै अनारकली बजारतिर सोझिन्छन् । त्यो, गोर्खालीहरूको बसोबास रहेको क्षेत्रमा देहव्यापार हुँदो रहेछ । पल्टनबाट अवकाश भएपछि त्यतै बसेका पूर्वलाहुरेले यस्तो काम गरेको देख्दा उनलाई क्लान्त बनाउँछ– लाहुरेले नेपालबाट बुढी बनाई ल्याएर कोठीमा बेच्दा पनि रहेछन् (पृ.२५६) । करकाप र अन्जानमा मात्र होइन, सामाजिक डसाइबाट जोगिन बाध्यताले देहव्यापार अँगाल्नुपर्ने पक्ष उठाइएको छ । विधवा जीवन, परिवार/समाजको तिरस्कार, आफन्तको हेपाइका कारण पनि परदेशमा नारीलाई यस्तो पेसाले वशीभूत बनाएको देखिन्छ । उता, भाग्सुमै गोर्खाहरूले महिला वा श्रीमतीप्रति गर्ने व्यवहारले पनि उनको हृदय द्रवीभूत भएको छ ।
नेपाली लाहुरेहरूले मुग्लान पस्ने र बाहिरिने गौंडो बटौली वा नौतुना वरपर पनि देहव्यापारको झलक देखिन्छ । यहाँको अवस्था उता भाग्सु पञ्जाब वा लाहौरतिर लाहुरेले गर्ने व्यवहारभन्दा फरक छ । सीमा क्षेत्रमा भट्टीवाल्नीले लाहुरेको धन धुत्न फस्ल्याङ–फुस्लुङ पार्ने, गीतका तानाबाना र मायाजालको जाल थाप्ने, त्यो पनि भएन भने लाहुरेहरूको बैँसलाई तारो हानेर यौनक्रिया गर्ने/गराउने कुरीति कहिएको छ ।
भएको धन–पैसा भट्टीवाल्नी र तरुनीको गुन्युमा खन्याएर रित्तिएका लाहुरेहरू नौतुना र बटौलीतिरबाटै घर नगई लाहुर फर्किने गरेका धेरै उदाहरण गाउँघरमा उहिल्यैदेखि सुनिँदै आएको हो । कृतिले यसलाई पनि घामझैँ छर्लङ्ग बनाएको छ– ... पहाड घरबाट लाटीसुधी युवतीलाई पैसा, झिलिमिली बजार, रङ्गीचङ्गी लत्ताकपडा, सुखमय जीवनको लोभ देखाई फस्ल्याङ–फुस्लुङ पारेर साथमा ल्याउँदा रहेछन् । अनि, यतातिर मधेसीलाई बेचिदिँदा रहेछन् (पृ.३७५) । यही कु–धन्दाको बाढी बग्दै–बग्दै बम्बई, भाग्सु धर्मशाला हुँदै पञ्जाबका कोठीसम्म पुग्दो हो ।
यी अदृश्य अमानवीय प्रवृत्तिका कारण त्यता पुर्याइएका चेलीहरूले लाहुरे÷गोर्खालीप्रति घुणाको फुँकार ओकलेका छन् । ... निच ! पापी ! स्वास्नी बेचुवा ! गोर्खाली जाति ! अबला नारीलाई धोका दिई हाम्रो जीवनलाई सधैँका लागि सत्यनाश पारिदियौ (पृ.३७५) । यो वाक्यांशले आफ्नो जातिप्रतिको प्रेम र विश्वास रित्तिइसकेको देखाउँछ । हिजो मात्र होइन, आजको उत्तरआधुनिक समाजमा समेत यस्तो ‘गैरमानवीय व्यवहारको जरो कुनै न कुनै रूपमा जिवितै छ’ भन्ने कृतिको निचोड छ ।
अपत्यारिला सन्दर्भ
लाहुरेको रेलिमाई जीवनीपरक आख्यान हो । यसभित्रका ‘प्रसंग, कथा, उपकथा वा सन्दर्भ सबै पत्यारिला हुनुपर्छ’ भन्ने हुँदैन । तथ्यसँग भिडाउँदा मिल्नुपर्छ भन्ने पनि होइन । आख्यान कल्पनाको मनोलोकमा उभ्याइएको स्वर्ग हो । त्यस्तो स्वर्ग कल्पेर आनन्द लिन सकिन्छ तर हुबहु सामाजिक परिघटनासँग मिल्दैन । यद्यपि, आख्यान सामाजिक परिवेश र सन्दर्भबाट फुत्केर बाहिर जान सक्दैन । सामाजिक रीतिस्थिति, परम्परा र जनजीवनको डोरीले काल्पनिक उडानलाई खिचेर राखिरहेको हुन्छ ।
अझ, यो कृति आख्यान भईकन मित्रसेनको जीवनीसँग जोडिएको हुँदा यसमा अधिकांश पक्ष तथ्यसँग मिल्दा छन् । आख्यानकारले ‘८० प्रतिशत तथ्यसँग नजिक छ’ भनिरहँदा यसभित्रका पक्षलाई पाठकले पत्याउनुपर्छ तर केही सन्दर्भहरू कल्पनालाई जितेर उडेका हुन् कि जस्तो लाग्छ । पाठकको मनमा प्रश्न उठाउने केही प्रसंगहरू यस्ता छन्ः
सन्दर्भ एक: सन् १९१४, अगस्ट ११ मा कृतिका मूल पात्र मित्रसेन १९१८, डिसेम्बर २८ मा मेसोपोटामियाको बसराबाट सधैँका लागि घर फर्किन्छन् । उनले ४ वर्ष ६ महिना १७ दिन युद्धमा बिताउँछन् । त्यतिबेला उनी जम्मा २३ वर्षमा मात्र टेकेका हुन्छन् । त्यहाँ, जेठी श्रीमती कलावतीले उनको जन्मदिन स्मरण गर्छिन्– तपाईंको सिन्दुर पहिरेको पनि सात वर्ष भएछ (पृ.२२१) । यसको आधारमा मित्रसेनको विवाह १५ वर्षमै भएको थियो ?
मानौँ, उनको विवाह १५ वर्षमै भएको भए कलावतीको उमेर कति थियो ? मित्रसेन युद्धमा जाने बेला (१८ वर्ष) मा २ सन्तान जन्मिसकेका हुन्छन् । सन्तान जन्माउन श्रीमती परिपक्व थिइन् ? यो कुरा कृतिमा खुल्दैन । यस्तै, अर्को सन्दर्भ छ– ... डेढ वर्षे र तीनवर्षे छोराछोरीलाई छाडेर हिँडेको म पाँच वर्षपछि बा हुँ भनेर विश्वास दिलाउन मुस्किल परिरहेको थियो (पृ.२२९) । यहाँ पनि कुरो मिल्दैन । २२ वर्ष पूरा हुँदा पल्टनबाट फर्क्यो । १७ वर्षमा तीन वर्षको सन्तान हुन १४ वर्षमै विवाह हुनुपर्यो । यो हुनलाई श्रीमान्–श्रीमतीको उमेर बराबर हुनुपर्छ र डेढ वर्षको अन्तरमा दोस्रो सन्तान जन्मिनुपर्छ । यसलाई ‘ब्लन्डर’ भन्न त नसकिएला तर पत्याउन गाह्रो हुन्छ ।
सन्दर्भ दुई: कृष्ण जन्माष्टमीको दिनमा पण्डितले विश्वयुद्धलाई महाभारत (पाण्डव र कौरव) को युद्धसँग यसरी तुलना गर्छन्, ...युद्धरत रहनुहुँदा सम्पूर्ण जगत् तपाईंहरूको पक्षमा उभिएको थियो (पृ.२५९) । जर्मनविरुद्ध लडिरहेको बेलायती सेनाका पक्षमा सम्पूर्ण जगत् कसरी हुन सक्छ ?
सन्दर्भ तीन: भाग्सुमा कालारात्री मनाउने क्रममा मित्रसेनले नेपाली गाउँघर र वनपाखा सुहाउँदा गीत सिर्जना गरेर गाउँछन् । यो प्रासङ्गिक छ तर आधारातमा मारुनी, सोरठी, कौडा, झाम्रे नृत्य प्रदर्शन भए (पृ.२६२) भन्ने सन्दर्भ पत्याउन सकिएन । भाग्सुमा यस्तो नाचियो होला र ? यो प्रश्नको जवाफ पाइँदैन ।
सन्दर्भ चार: जुवातास खेल्ने, जुवामा सबै हारेर श्रीमतीलाई नै दाउमा राख्ने । कसैले जुवामा जितेको धनको फुर्ती लाउँदै घरमा श्रीमती हुँदा–हुँदै ... यही पैसाले कान्छी ल्याउँछु (पृ.२७०) भन्नुमा नारीप्रतिको अपमानलाई झल्काउँछ । तत्कालीन समाजको यो कथन अन्यथा नभए पनि आजको सन्दर्भमा अपमान मात्रै होइन, अपराध हो । यहाँनिर, कृतिकारले ‘समाजका यस्ता खराब प्रचलनमा मित्रसेनले प्रतिवाद गरे’ भनेर देखाएको भए हुन्थ्यो ।
यसैगरी, मित्रसेनले कलावतीको निधनपछि लाजवन्तीसँग दोस्रो विवाह गर्ने क्रममा दाम राखेर पक्का गर्नुपर्ने चलनले छोरी–चेलीलाई खरिद–बिक्रीको वस्तु बनाइएको छ– ... छोरी माग्नु भनेको मालसमान खरिद–बिक्रीजस्तै हो क्या । बैना मार्नुपर्यो नि, ... (पृ.२८४) । विवाह खरिद–बिक्री नै थियो ? यो संस्कारका अगाडि मित्रसेन आफैँले घुँडा टेकेको देखिन्छ भने कृतिकारले पनि न्याय गरेका छैनन् । त्यो बेलाको समयमा छोरीलाई ‘वस्तु’सरह ठानियो; ठीकै छ तर समानता देखाएर ‘मित्रसेनले यस्ता कुरीतिको विरोध गरे’ भनेको भए के हुन्थ्यो ?
सन्दर्भ पाँच: गुरुदासपुरमा ‘नूर कि पुतली’ मञ्चन गर्ने बेलामा १५–१६ वर्षकी किशोरीसँग मित्रसेनको भेट हुन्छ । ती किशोरीले बोलेका वाक्यहरू अति दार्शनिक छन्, जुन उनको उमेर सुहाउँदा लाग्दैनन् । ... फलको पहिला बोक्रा कुहिन्छ, त्यसपछि भित्रको गुदी । यस्तै त होला हाम्रो समाज पनि, ... (पृ.३०३) । आफ्नै बाद्वारा कोठीमा बेचिएकी र आफूलाई केही जान्दिनँ भन्ने उनको यो संवाद त्यति पत्यारिलो लाग्दैन ।
उनका पुर्खा बागलुङ राखुपुल्लाका हुनु, उनी मगर समुदायका हुनु तथा यो झ्याउरे भाका मगर र गुरुङ समुदायमै प्रचलित रहनुले पनि गीतमा प्रयुक्त थेगो ‘रेलिमाई नभएर रेलिमईको नै हो’ भन्न सकिन्छ ।
सन्दर्भ छ: मित्रसेनले पहिलो पटक पुर्खाको भूमि टेक्छन् । नौतुना र बटौलीको रमझम सङ्गाल्दै उकालो लाग्छन् । ... उत्तरबाट बग्दै झरेको तिनाउ खोला, ... नुवाकोट डाँडामाथिबाट जून झुल्किसकेको, ... (पृ.३११) । पहिलो पटक नेपाल टेकेका मित्रसेनलाई तिनाउ खोला भन्ने कसरी थाहा भयो ? कहाँको नुवाकोट डाँडो हो ? त्यो डाँडो नुवाकोट नै हो भन्ने उनलाई कसरी थाहा भयो ? यस्तै, ... रातभरि मादल र डम्फूको ... (पृ.३१२) बटौलीतिर डम्फू होइन खैँजडी बजाइन्छ ।
सन्दर्भ सात: ... नुवाकोट भञ्ज्याङ पुगेपछि देखियो, धौलागिरि र माछापुच्छ्रे हिमाल । त्यसपछि, दोभान, सिस्ने खोला, मस्याम ... (पृ.३१३) । मित्रसेनलाई यी ठाउँको नाम कसरी थाहा भयो ? आख्यानकारले यी नाम सँगै गएका भरियाहरूबाट बोल्न लगाएको भए हुन्थ्यो । जस्तैः अगाडि देखिएको हिमाल धौलागिरि र माछापुच्छ्रे रै'छ, .... उसले भन्दै गयो, ‘ती ठाउँहरू दोभान, सिस्ने खोला, तेल्घा, शीतलपाटी हुन्, ...।’
सन्दर्भ आठ: श्वेज नहरको किनारै–किनार जहाजमा हिँडिरहँदा लाहुरेहरूले त्यहीँ दसैँ मनाउँछन् । ... दसैँको उपलक्ष्यमा बडाखाना भयो, खसीको मासुसँग, ... (पृ.३५) । पानीजहाजमा खसी लगेका थिए होलान् र ? लगेको भए पनि त्यो विषय कतै खुलेको छैन । यसैले, यो अलि अपत्यारिलो लाग्छ ।
सन्दर्भ नौ:मा ... चिक्नी .... (पृ.९३) । यस्तो गहन र ऐतिहासिक कृतिमा यो शब्द मलाई त पाच्य हुँदै भएन । पाठकले पनि पक्कै रुचाउँदैनन् ।
१३. थप प्रश्नहरू
– हिँड्दै गरेको लाहुरेले गोठमा बाँधेको गाई दूध दिने हो कि होइन कसरी थाहा पायो ? (पृ.५४)
– आगोले पोलेसरी ठण्डी कसरी हुन्छ ? (पृ.६१)
– सम्झनाको भकारी त ठिक छ तर भकारी कसरी चिमोट्नु ? (पृ.७६)
– पौने चारतिर कसरी साँझ पर्यो ?पौने चार नहुँदै साँझ पर्यो भनेको भए हुन्थ्यो । (पृ.७८)
– नेपाल नै नदेखी मित्रसेनले कसरी कहाँ खुसीको राप्ती बगाए ? कुन ठाउँको राप्ती हो ? (पृ.८५)
– आमाको दूध पिउने कि चुस्ने ? पिउनु त गिलासबाट होइन र ? (पृ.१२६)
– लङ्गडो भन्नु भन्दा अपाङ्ग ठीक होइन र ? (पृ.१२७)
– भाग्सुमा जन्मेका मित्रसेनले गुरुङ मगरको वेशभूषा भाङ्ग्रा भन्ने कसरी थाहा पाए ? (पृ.१५४)
– मजेत्रो लाउने कि ओढ्ने ? (पृ.२३१)
– भाग्सुमै जन्मे–हुर्केकाले घलेक र खुर्पेटो कसरी पुर्याए ? (पृ.२७८)
शब्द र भाषिका
आख्यान सुललित र पानीको कुलुलुजस्तै प्रवाहित भए पनि कतिपय सन्दर्भमा प्रयुक्त भाषिका र शब्द विन्यासमा विचलन पाइन्छ । मित्रसेनको जन्मस्थान भाग्सु यसवरपरको भूमि कृति सिर्जनाको आधार भूमि हो । त्यसपछि पहिलो विश्वयुद्धका धेरै ठाउँ, पन्जाब, लाहोर र उनको पुर्ख्यौली थलो बागलुङसम्म पुगेको छ । कृतिकार गुल्मीको भएको हुँदा त्यहाँको जनबोली पनि टिप्ने प्रयास गरिएको छ । मित्रसेन साहित्य र गीत–संगीतको प्रचारमा दार्जिलिङ र सिलोङसम्म पुगेका छन् । त्यही भएर हो कि सन्दर्भबिना केही ठाउँमा पूर्वेली र दार्जिलिङे भाषिका पनि छिरेका छन् ।
पात्र र ठाउँ अनुसार भित्रिएका शब्दलाई त्यसरी नै बुझ्नुपर्छ । परिवेशअनुसार पात्रले बोल्ने भाषिका तथा शब्दमा पनि यही पृष्ठभूमिको घनत्व हुनु स्वाभाविक हो तर केही ठाउँमा मुख्य पात्र (मित्रसेन), सहायक र उपपात्रहरूले बाटो बिराएका छन् । पात्रले नमागेका शब्दहरू बल गरेर घुसेका छन् । जसले, कृतिको अविछिन्न लयलाई बेसुर बनाएको हो कि भन्ने लाग्छ ।
गुल्मेली भाषिका: गुल्मीतिर बोलिने बाँचेपार, मिलेपार, मस्तै, चौपारी, उपति, जिम्दै, धन्सार, जाँगे, भङ्जालो, उत्न, ... जस्ता शब्दलाई आख्यानकार आफैँले भित्र्याएका छन् ।
पूर्वेली भाषिका: पूर्वी भेग जहाँ राई लिम्बूहरूको बाक्लो बसोबास छ, त्यहाँ बोलिने; गई पठायो, मिलिक्क, निदाइपठाएँछु, ... जस्ता शब्दहरू भित्रिएका छन् । जुन, त्यति आवश्यक थिएन ।
लाहुरे शब्दावली: लेकिन, तसल्ली, आगे, तक्लिफ, बहुत, दुवा, ओर, भेजिदिएँ, ... जस्ता प्रशस्त हिन्दी शब्दहरू प्रयोग गरिएको छ । जुन, नेपाली लाहुरेहरूले नेपाली भाषाभित्र घुसाएर बोल्ने गर्छन् । यो चलन आजपर्यन्त चलेकै छ ।
युद्ध–शब्दावली: रिवाली, एजुटेन्ट, सबमरिन, माइन, जीआर, ब्याटल, फटिग, बेनेट, पन्चोकेप, मार्चिङ, चिन स्ट्रेप, बम्बार्डमेन्ट, विथ्ड्रल, रिओर्ग, रेके, ... जस्ता सयौं शब्दहरू छन् । जुन, पाठकले सजिलै बुझ्दैनन् ।
निष्कर्ष तथा सुझाव
रेलिमई गण्डकी पानीढलोभित्र गाइने निकै चर्चित झ्याउरे लोकभाकाको थेगो हो । लाहुरेको रेलिमाई त्यही थेगोको गर्भबाट जन्मेको छ । मित्रसेनको गीतकै आधारमा उनको जीवनीपरक आख्यान सिर्जिएको हुँदा गीतमा प्रयुक्त थेगो रेलिमाई नभएर रेलिमई छ । उनको लेखनीमा रेलिमाई पाइए पनि गायनमा रेलिमई सुनिन्छ ।
नेपाली वा हिन्दी भाषामा ‘माई’को अर्थ आमा, देवी वा नदी हुन्छ । ‘मई’को नेपाली अर्थ काठको दाँदे भन्ने बुझिन्छ तर गुरुङ वा मगर भाषामा प्रेमिका, मायालु वा सोल्टिनीलाई ‘मई’को अर्थमा बुझ्ने गरिन्छ । जस्तोः गुरुङ भाषामा ‘ङोल्स्यो मई’ भनेको मायालु वा सोल्टिनी हो । यसैले, रेलमा मायालुलाई सम्झिँदै लाहुर हिँडेको लाहुरेले ‘रेलिमई’ गाएको हुनुपर्छ । अर्कोतर्फ, ‘रेलिमई’ भाका मगर र गुरुङ समुदायमै मात्र प्रचलित रहेको हुँदा पनि गीत ‘रेलिमाई’ नभएर ‘रेलिमई’सँग मिल्न जान्छ ।
मित्रसेनले युद्ध–मैदानमै रहँदा यो गीत सिर्जना गरेका छन् । जुन, ‘नेपालको गण्डकी क्षेत्रबाट भर्ती भएर गएका गुरुङ र मगर लाहुरेहरूले गाएको सुनेर वा त्यसकै प्रभावबाट सिर्जना भएको हो’ भनियो भने अन्याय हुँदैन । उनका पुर्खा बागलुङ राखुपुल्लाका हुनु, उनी मगर समुदायका हुनु तथा यो झ्याउरे भाका मगर र गुरुङ समुदायमै प्रचलित रहनुले पनि गीतमा प्रयुक्त थेगो ‘रेलिमाई नभएर रेलिमईको नै हो’ भन्न सकिन्छ ।
व्याकरणका दृष्टिले ‘अ’ र ‘आ’मा धेरै भिन्नता हुन्छ । अझ, गीतमा खुकुरी होइन खुकरी गाइएको छ । अतः आख्यानकारले अर्को संस्करणमा यसबारे विचार गर्ने कि ? यसो गरिएन भने मित्रसेनको गीतको मर्म त बिग्रिन्छ नै समयान्तरमा रेलिमईको मौलिकता आधुनिक वनमाराले मासिदिन्छ । यसैले, यो कृति लोकगीत–संगीत प्रेमीले अध्ययन गर्दा प्रिय नलाग्न सक्छ । मित्रसेनले गाएका दुइटा गीतमा प्रयुक्त रेलिमई थेगो दोहोर्याएर, तेहेर्याएर पनि सुन्न सकिन्छः
१. लाहुरेको रेलिमई फेसनै राम्रो
रातो रुमाल रेलिमई खुकरी भिरेको, ...
२. हा हा हा रेलिमई बैंश र जाँदो बैशाख
जाँदो रेलिमई सालको नि पात पलाई, ...
अर्कोतर्फ, आख्यानभित्र कहीँ झ्याउरे त कहीँ झाम्रे शब्द प्रयोग गरिएको छ । कतै भाग्सु त कतै भाक्सु छ । काठमाडौँको प्रसंगमा मित्रसेनले जुद्धशमशेरलाई धेरै ठाउँमा आदरार्थी ‘तपाईं’ र एक ठाउँमा मात्र उच्च–आदरर्थी ‘गरिबक्सेको’ सम्बोधन गरेका छन् । बुवा–आमाको सम्बोधनमा पनि ‘तपाईं’ र ‘तिमी’ प्रयुक्त छ । यी सबैमा एकरूपता हुँदा भाषिक लालित्यको गरिमा र लय कायम हुन्छ । यस्तै, युद्धसम्बन्धी शब्दको अर्थ पादटिप्पणी वा सन्दर्भ सूचीमा राखियो भने पाठकलाई बुझ्न सजिलो हुन्छ ।
बिसौनीमा
मित्रसेनलाई नजानेका नपढेका, नसुनेकाहरूका लागि लाहुरेको रेलिमाई महाभारत वा गीता हो । यसको पाठपछि उनका विषयमा साङ्गोपाङ्ग बुझ्न र थप अनुसन्धान गर्न प्रेरणा मिल्छ । कृतिको आधा भाग युद्धका अभिघात कथाको व्यथा छ; शेष गीत–सङ्गीत र साहित्य । यद्यपि, जीवनको अन्त्यसम्म उनलाई युद्धको धङधङीले छोड्दैन । साढे ४ वर्षे युद्ध–जीवनले यत्रो कृति जन्माउन सक्छ भने आजीवन गीत–सङ्गीत र साहित्य साधनामा समर्पित उनका विषयमा ठेलीका ठेली आख्यान/गैरआख्यान जन्मिनुपर्ने खाँचो देखिन्छ । यो अलग्गै अनुसन्धानको पाटो पनि हुनुपर्छ । अतः ‘मित्रसेनका विषयमा अध्ययन/अनुसन्धान र चिन्तन गर्नेहरूका लागि यो कृति आधारभूत ग्रन्थ नै हो’ भन्दा हुन्छ ।
प्रकाशित मिति: मंगलबार, कात्तिक ७, २०८० ०६:२१