प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आफ्नो औपचारिक भ्रमणका क्रममा चीनको हाङ्चाओ पुगेका छन् । त्यहाँ उनी आजदेखि सुरु हुने एसियाली खेलकुद उद्घाटन कार्यक्रममा सहभागी हुने छन् । उनी हिजाे अमेरिकाबाट चीन पुगेका थिए ।

एसियाली खेलकुद प्रतियोगिताको उद्घाटन चिनियाँ राष्ट्रपति सी चिनफिङले गर्नेछन् । त्यसपछि प्रधानमन्त्री दाहालले सीसँग भेट गर्ने बताइएकाे छ । एसियाली खेलकुदको यो १९औँ संस्करण हो । प्रतियोगिताको उद्घाटन समारोहमा भाग लिन सिरियालगायत विभिन्न देशका राष्ट्रपति, सरकार प्रमुख र नेताहरू हाङ्चाओ शहर पुगिसकेका छन् ।
८ अक्टुबरसम्म हुने प्रतियोगिताअन्तर्गतका खेलहरू ५४ भेन्युमा हुनेछन् । विश्वका ४५ देशको सहभागिता रहने कुल ४० खेलमध्ये प्रतियोगितामा नेपालको तर्फबाट २९ खेलमा एक सय २७ महिला र १ सय २६ जना पुरुष गरी २ सय ५३ जना खेलाडीले प्रतिस्पर्धा गर्नेछन् ।
प्रकाशित मिति: शनिबार, असोज ६, २०८० १०:५०