शुक्रबार काठमाडौंको गैह्रीगाउँमा भएको सामूहिक हत्या काण्डको प्रहरीले रहस्य पर्दाफास गरेको छ । प्रहरीले घटना भएको तेस्रो दिन अपराधी र अपराधको मोटिभसमेत खुलासा गरेको हो । प्रहरीका अनुसार चार जनाको हत्या भएको सो काण्डका अपराधी सिन्धुपाल्चोक बाह्रविसेका सञ्जय भण्डारी हुन् । बोल्न नसक्ने उनले खुकुरी प्रहार गरी दिव्य सःमिलभित्र चार जनाको हत्या गरेको प्रहरी समक्ष लेखेर स्वीकार गरेका छन् । उनले ‘आई किल फोर पिपल’ लेखेर अपराध स्वीकार गरेको प्रहरीले जनाएको छ । उनी आजै पक्राउ परेका थिए ।
शुक्रबार राति करिब साढे १२ बजे प्रहरी वृत्त बानेश्वरमा रगतले लतपतिएका एक युवक पुगे । उनले दिव्य सःमिलमा चार जनाको हत्या भएको विवरण प्रहरीलाई सुनाए । उनी थिए दीपेन्द्र राई । राई मदिराले मातेको र शरीरमा रगत देखिएपछि प्रहरीले उनलाई त्यहिँ नियन्त्रणमा लिएर हिरासतमा राख्यो र उनले सूचना दिएको घटनास्थल पुग्यो ।
प्रहरीले त्यहाँ चार जनाको विभत्स शव फेला पार्यो । चारै जनामाथि धारिलो हतियार प्रयोग भएको देखिएकाले हत्या नै हो भन्ने निष्कर्षका साथ प्रहरीले अनुसन्धान थाल्यो । प्रहरीले सूचना दिन आउने दीपेन्द्रलाई नै संदिग्ध ठान्यो र थप केरकार गर्यो । तर उनको घटनामा संलग्नता नरहेको पाइएपछि प्रहरी थप अनुसन्धानमा केन्द्रित भयो ।
काठमाडौं उपत्यका प्रहरी कार्यालयले यो घटनालाई उच्च महत्व दिएर छानबिन समिति नै गठन गरेको थियो । प्रहरीले घटनास्थल नजिकको सीसीटीभी फुटेज अनुसन्धान गर्दा एक जना व्यक्ति खुकुरी लिएर सःमिलबाट बाहिरिएको देख्यो । उनको खोजीमा प्रहरी लाग्यो । उनी आइतबार पक्राउ परे । तर, उनी बोल्न नसक्ने व्यक्ति भएकाले सुरुमा प्रहरीलाई समस्या पर्यो । तर यथेष्ठ प्रमाणसहित उनलाई पक्राउ गरिएकाले प्रहरी ढुक्क थियो । दोभासेको प्रयोग गरी प्रहरीले उनको प्रारम्भिक बयान लियो । भण्डारीले प्रहरीसँगको बयानमा अपराध स्वीकार गरेका छन् ।
केही दिन अगाडि चावहिलमा नवीन राईले ठक्कर दिएको र उनलाई खोजी गर्दै शुक्रबार राति सःमिलमा पुगेको भण्डारीले बताएका छन् । सुरुमा नवीनसँग झगडा भएको र त्यसपछि उनले झोलामा बोकेर लिएको खुकरी प्रहार गरे । नवीनको हत्या गरेपछि सःमिलको तल्लो तलामा रहेका दोलखाका ५५ वर्षीय कुमार भुजेल, उनकी श्रीमती ५२ वर्षीया अम्बिका भुजेल, आमा शुभद्रा भुजेलको पनि उनले खुकुरी प्रहार गरी हत्या गरेको प्रहरी समक्ष उनले बयान दिएका छन् ।
मोरङ बेलबारीका नवीन राईले केही दिन अगाडि भण्डारीलाई चावहिलमा बाइकले ठक्कर दिएको र सोही बदला लिन भण्डारी नवीन बस्ने गैह्रीगाउँको दिव्य सःमिलमा पुगेको भण्डारीले स्वीकारेका छन् । यदि त्यस दिन नवीनलाई भेट्न गएका दीपेन्द्र पनि त्यो समयमा त्यहिँ भएका भए उनको पनि हत्या हुन सक्ने सम्भावना थियो । तर, उनी मदिरा सेवन गर्न लाग्दा ढिला भयो र ढिलागरी सःमिलमा पुगे । जब उनी त्यहाँ पुगे उनले त्यहाँ चार जनाको शव देखे । त्यसपछि उनी ट्याक्सी बुक गरेर प्रहरी वृत्त बानेश्वर आए र प्रहरीलाई सूचना दिए ।
गैह्रीगाउँ हत्या प्रकरणः अर्का एक व्यक्ति पक्राउ
प्रकाशित मिति: आइतबार, भदौ ३१, २०८० १८:५७