बेल्जियममा बस्नु भएका पत्रकार महोदय आदरणीय सनत आचार्यले गत भदौ १० गते शिलापत्रमा प्रकाशित 'एनआरएन बेल्जियममा विधिको प्रश्न र लुकाइएका सूचना' शीर्षकको लेखमा मलाई सूचना नदिएको आरोप लगाउनु भएको रहेछ । उहाँले सूचना पारदर्शिताको हवाला दिँदै म अर्थात गैरआवासीय नेपाली संघ, बेल्जियमकी अध्यक्ष सीता सापकोटालगायत सिंगो टिममाथि लगाएका आरोपहरूप्रति अत्यन्त जिम्मेवारीबोधका साथ स्पष्टीकरण दिन जरुरी देखेर मैले यो खण्डन पठाएकी छु ।
उहाँले लगाएका आरोपमा मेरो मात्र नाम प्रयोग गरेको भए पनि सूचना पारदर्शिताको सम्पर्क व्यक्ति संगठनको महासचिव हुने भएकाले र बोधार्थको इमेल हाम्रा महासचिवलगायत सबैलाई पुगेकोले सिंगो टिमप्रतिकै आरोप खण्डनको बोध गर्दै यो खण्डन लेख्न बाध्य भएकी हुँ । मन नलागीनलागी दिन बाध्य पारिएका जवाफसहितको खण्डन विश्वभरि रहेका सबै आदरणीय नेपालीलगायत शुभचिन्तक तथा स्वयम् पत्रकारज्यूहरूले सहज रूपले स्वीकार गर्नु हुनेछ भन्ने आशा गर्दछु ।
'एनआरएनए बेल्जियमको ०२१-०२३ को तालिम विज्ञ समूहको रूपमा पनि काम गर्ने अवसर प्राप्त गरेको थिएँ' भनेर तपाईंंले थाहा भएकै तात्कालीन आफ्नो पदको सांकेतिक दबाब दिएर मलाई पत्र लेख्नु भएको रहेछ । तपाईंंका सबै पदहरूबारे मलाई थाहा थियो । मैले धेरै कुराहरू मौखिक रूपमा तपाईंं अर्थात पत्रकार सनत आचार्यलाई दिई सकेको र अन्य प्रश्नहरूको कुरामा संगठनको महासचिवलाई ध्यानाकर्षण गरेको अवस्थामा हतार-हतार समाचार नै बनाएर पत्र पत्रिकामा दिइएकोप्रति मेरो गम्भीर आपत्ति छ ।
सामान्यतया संगठनको प्रक्रियाअन्तर्गत तपाईंंले सोधिएका प्रश्नहरू प्रायः व्यक्तिगत नभएर संगठनसँग सम्बन्धित छन् । तर, ती प्रश्न महासचिवलाई सम्बोधन गरेर सोधिनुपर्नेमा मेरो नाममा मात्र सोधिएकाले यो कतै नियत त हैन भन्ने आशंका जन्माएको कुरा मैले यहाँ जानकारी गराउनु आवश्यक छ। पत्रकार महोदयद्वारा मलाई सम्बोधन गरेर सोधिएका प्रश्नहरू सम्पूर्ण भर्खरै निर्वाचित टिमसँग सोधिएका हुन् भने हाम्रा महासचिवमार्फत जवाफ पठाउनुपर्ने हुन्थ्यो । हार्ने-जित्ने सबै पक्षसहित सर्वसम्मत रूपले गरेका अघिल्ला निर्णयहरूबारे गरिएका तपाईंंका प्रश्नहरू कार्यसमितिलाई हाे, मभन्दा अगाडिको कार्य समितिलाई हाे वा मलाई मात्र ? त्यसले खुलेर उत्तर दिन पनि मलाई अल्मल्याएकै हो ।
यस विषयमा पनि तपाईंंको प्रतिक्रिया माग पत्रले केही खुलाएको थिएन । अर्को स्पष्ट पार्नुपर्ने कुरा, घटना र विचार साप्ताहिकको युरोप प्रतिनिधिको हैसियतले घटना र विचार साप्ताहिकका लागि भनेर प्रश्न सोध्नु भएको थियो । तपाईंंसम्बद्ध रहेको भनिएको सम्पादक मण्डलसँग बुझ्दा तपाईंं उक्त पत्रिकामा नरहेको जानकारी प्राप्त भयो र मलाई पत्र पठाएको केहीपछि तपाईंं आफैँले समेत उक्त साप्ताहिक पत्रिकामा आफू नभएको जानकारी दिनुभयो । हामीले ती प्रश्नहरूको जवाफ घटना र विचार साप्ताहिकका आधिकारिक प्रतिनिधिलाई दिनु पर्ने थियो, तपाईंंले जस्तै सञ्जालमा राख्नु पर्ने थियो वा व्यक्तिगत रूपले तपाईंंलाई मात्र इमेल गर्नु पर्ने थियो ? यिनै कारणहरूले मैले आफ्नो कुरा पठाउन सकेकी थिइनँ ।
अर्को कसैको पनि सार्वजनिक छवि र गोपनीयताको नागरिक हकका कारणले पनि मैले सार्वजनिक सञ्जालमार्फत प्रतिउत्तर दिन नसकेकी हुँ। तपाईंंले नै मेरो नाममा सार्वजनिक रूपले लेख नै प्रकाशित गरिसकेपछि म बाध्य भएर तपाईंंका प्रश्नहरूको जवाफ प्रश्न सोधेको क्रमअनुसार नै दिन जाँदै छु ।
१. हजुरको पहिलो प्रश्न रहेछ, 'यहाँहरूले तय गरेको एमआईएस सिस्टमअनुसार बेल्जियमका सदस्यता लिनका लागि २६०५ जनाले आवेदन दिएको र एनसीसी बेल्जियमले प्रकाशन गरेको अन्तिम परिणामअनुसार २५७३ जनाले सदस्यता प्राप्त गरेको औपचारिक जानकारी दिएअनुसार अगस्त १५ तारिखको राति १०.५५ बजे (यहाँको समयअनुसार) एमआईस सिस्टमले समेत २५७३ जना नै देखाएको र विश्वस्त सूत्रअनुसार केन्द्रले ३००५ जनाको सदस्यता शुल्क बुझेर भर्पाईसमेत एनआरएनए बेल्जियममा पठाएको बुझिएकाले थप ४३२ जनाको नामावली उपलब्ध गराइ दिनहुन अनुरोध गर्दछु ।'
आदरणीय पत्रकारज्यू, एमआइएस सिस्टम 'यहाँहरूले तय गरेको' भनेर भन्नुभएको रहेछ । तर त्यो सिस्टम बनाएको आइसीसीको बैठकले हो । त्यतिबे ला म आइसीसी मात्रै नभएर एनआरएनए एनसीसीको कुनै निर्णायक हैसियतमा पनि थिइनँ । बरु तपाईं अघिल्लो कार्यकालमा 'एनआरएनए बेल्जियमको ०२१-०२३ को तालिमविज्ञ समूह' मा रहेको कुरा तपाईं आफैंले पत्र मार्फत बताउनु भएको छ । त्यसैले हजुरले मैलेभन्दा बढी जिम्मेवारी लिँदै 'यहाँहरूले' भन्नुको सट्टा 'हामीहरूले' वा 'आइसीसी'ले भनेको भए राम्रो हुन्थ्यो । अर्को कुरा सदस्य संख्याको तालिका केन्द्रले केन्द्रीय अधिवेशनअगाडि नै निकाल्दै होला । पर्खेर हेरौँ ।
त्यस्तै, बेल्जियममा मात्रै नभएर संसारभरि एनआरएनए एकीकरण अभियान पनि सँगसँगै चलिरहेको कुरा हजुरलाई विदितै छ । प्राविधिक कारणले पनि सदस्यहरूको पूर्ण संख्या हुन सक्ला, सबै सदस्यहरूको नामावली सिस्टममा नदेखिएको । एकता अभियानका कारण केही नामहरू थपघट भएका पनि हुन सक्ने भए । यी कुराहरू बुझ्न म पनि तपाईं जस्तै प्रतीक्षारत छु, आशा गरौँ सबै ठीक हुन्छ।
२. सदस्य संख्या ३००५ को केन्द्रले पैसा बुझेर भर्पाई समेत पठाएको' तपाईं आँफैले स्वीकार गरिसकेकोले तपाईंंको यो प्रश्नको जवाफ मैले भन्दा पनि केन्द्रले दिनपर्ने देखिएको र अर्को कुरा, सदस्य संख्याको प्रमाणीकरण गरी तीन जना आइसीसीसमेत निर्वाचन गरेर प्रमाणपत्र दिने निर्णय मैले नभएर निर्वाचन समितिले गरेको हुनाले तात्कालिक निर्वाचन समितिले तपाईंंका प्रश्नहरूको उत्तर दिँदा तात्कालिक परिस्थिति, निर्वाचनकोअवस्था र सन्दर्भको सवालमा सान्दर्भिक देखिन्थ्योजस्तो लाग्छ । यसमा मेरो उत्तर योभन्दा बढी केही छैन ।
यस सन्दर्भमा, के पनि सत्य हो भने विधि विधान र नियमहरू कहिलेकाहीँ व्यावहारिक परिवेशमा असान्दर्भिक भए वा संस्थागत एकता र हितको सन्दर्भमा बाधक भए भने सर्वसम्मत रूपमा परिमार्जन गरेर मर्म नखलबलिने गरी कहिलेकाहीँ व्यवहारमा जानुपर्ने बाध्यता पनि आइलाग्दछ । त्यसको उदाहरण आइसीसीको (केन्द्र) अघिल्लो कार्यकाललाई लिन सकिन्छ ।
व्यवहारमा गरिएका यी सब प्राक्टिस परिस्थितिजन्य कुरा हुन् भनेर बुझ्नुस् र सदस्यता संख्याको कुराबारे पनि त्यही कुरा सत्य हो महोदय । अहिले भएको संख्या एकता अभियान र अन्य कारणले थोरै यताउताजस्तो देखिए पनि सार कुरा यसले संस्थाको हितलाई प्रतिकुल असर पार्छ कि पार्दैन भनेर पारख गर्नुपर्ने हुन्छ । आदरणीय पत्रकार ,तपाईंं नै भन्नु - छोरी वा छोराको कुनै कक्षाको परीक्षा कम उमेर भएको कारणले रोकिने स्थिति आयो भने त्यो विद्यार्थीको परीक्षा रोकी दिने कि उमेर बढाएर भए पनि जाँच दिन लगाउने ? यसमा तपाईंंका पनि आफ्नै तर्क हुन सक्छन् भने मेरा पनि आफ्नै तर्क छन् ।
नामावली प्रकाशनको सन्दर्भमा मेरो प्रश्न निर्वाचन समितिलाई समेत नभएर तपाईं पनि एनआरएनए बेल्जियममा विज्ञ समूहको तत्कालीन नेतृत्व भएकाले हजुरलाई पनि हो ।
बुझ बुजारथभन्दा अगाडि जति पनि कार्यहरू सम्पन्न भए अथवा गरिए, ती सबैको निर्णय बकाइदा अघिल्लो कार्यसमितिको बैठकले गरेको हो । कुनै पनि संगठनको आन्तरिक जीवन आफ्नै प्रणालीअन्तर्गत चलिरहेको हुन्छ भन्ने हेक्का रहोस् । यस विषयमा के तपाईंले तत्कालीन एनआरएनए बेल्जियमको निवर्तमान नेतृत्व र निर्वाचन समितिलाई यी विषयहरूमा ध्याकर्षण गराउनुभएको थियो ? कुनै पत्र पठाएर पारदर्शिताका विवरण माग्नु भयो ? माग्नु भएन भने त्याे ममाथिको पूर्वाग्रह हो भन्नुपर्छ मैले । संसारभरिका सबै पत्रकार तथा एनआरएनहरूले पनि त्यसलाई नियत नै भनिरहेका छन् ।
सामान्यत विधि विधानमा हेक्का राख्ने जो सुकैलाई थाहा हुने कुरा हो कि कानुनी रूपमा 'जो जससँग सम्बन्धित छ, उसैसँग बयान उठाउनु' भन्ने हुन्छ । प्रश्नकर्ता वा बयान लिने व्यक्तिले यो प्रचलित कानुनी मान्यताको धज्जी उडाएर जोसँग पनि उत्तर माग्ने भन्ने कुरा हुन्छ र ? कानुनी सन्दर्भ जोडेर भन्दा तपाईंंका प्रश्नहरूले खोजिरहेका उत्तरहरू मेरो कार्यकालभन्दा अगाडिका पदाधिकारी, निर्णय र कार्यान्वयनसँग सम्बन्धित भएकाले मैले उत्तरदायित्व बहन नगरेका प्रश्नहरूको उत्तर नदिए के हुन्छ ?
यी सवाल तपाईंंले काम गरेको मिडिया हाउसका सम्पादकहरूलाई पनि सोधेँ ।उहाँहरूको प्रति उत्तरबाट तपाईंंले मप्रति राखेकाे पूर्वाग्रहको पराकाष्ठा हो भन्नेकुरामा अझै स्पष्ट भएँ ।
तपाईंंले सोधेका प्रश्नहरूको सन्दर्भमा मैले भन्नै पर्छ- तपाईंंलाई वा बुझबुझारथमा उपस्थित संघसंस्थाका प्रतिनिधि वा पत्रकार वा, अधिवेशनमा उपस्थित सर्वसाधारणलाई जति जानकारी छ, त्योभन्दा बढी मलाई पटक्कै जानकारी छैन । थाहै छ, एनआरएनए बेल्जियमका यी सबै औपचारिक कार्यहरू कुनै गोप्य कोठा, जंगलको एक अन्धकार कुना वा अँध्यारोमा सूचना लुकाएर गरिएको नभएर बकाइदा सार्वजनिक सूचना दिएर सबैको पहुँच हुनसक्ने ठाउँमा गरिएको थियो । त्यहाँ हजुर वा अन्य पत्रकारहरू पुग्नु भयो वा भएन थाह भएन ।
सबै कुराको सवाल-जवाफ गर्ने स्थान, समय र स्वाभाविक सन्दर्भहरू हुन्छन् ।पुराना समितिका आदरणीय मित्रहरूको चित्त दुख्ने वा आफ्ना व्यक्तिगत लाभ हानिको आकलन गरेर सम्मेलन वा भेलामा तपाईंं वा अरु कसैले प्रश्नहरू नउठाउनु, न त आयोजकको कमजोरी हो न मेरो । त्यसैले मैले शपथ लिएको महिना दिन नपुग्दै वा सबै प्रश्नहरूको सतहीरूपले उत्तर दिने अवस्था सिर्जना नहुँदै सार्वजनिक वालमा ममाथि प्रश्नहरूको चाङ थुपार्नु तपाईंंका लागि महान् कार्य गरेको अनुभूति हुन्छ भने मेरो भन्नु केही छैन । अन्यथा एक विवेकशील र संथागत समाजमा विश्वास राख्ने पत्रकार वा सर्वसाधारण जोकसैले नेतृत्वलाई मानसिक तयारीका लागि समय दिएर मात्र उसले गरेका निर्णय र कार्यहरूउपर जवाफदेहिताको अपेक्षा गर्नु मेरो विचारमा सान्दर्भिक होजस्तो लाग्छ ।
हजुरले सोधेको दोस्राे प्रश्न 'हालै थप गरिएका ४३२ जना गैरआवासीय नेपाली संघको विधानको कुन धारा तथा दफाअनुसार थप गरिएको हो ? सो प्रष्ट खुलाइ दिन हुन' भन्ने तपाईंंको प्रश्न सम्बन्धमा मैले अगाडि नै उत्तर दिएजस्तो लाग्छ । मैले अझै भन्दछु, जवाफदेहिता र जिम्मेवारीको हैसियतले यस जिज्ञासाको प्रस्ट उत्तर तत्कालीन निर्वाचन समिति र केन्द्रसँग माग्दा उपयुक्त हुने छ । त्यस्तै निवर्तमान समिति जसले निर्वाचन समितिको निर्माण गरेको थियो । तपाईंंलाई नै थाह छ कि त्यो बेला म तपाईंंजतिकाे संस्थागत हैसियतमा पनि थिइनँ । अर्थात एक अध्यक्षको उमेद्वारबाहेक केही थिइनँ । यसर्थ, मैले पूर्ववत् ती सबै प्रश्नको उत्तरको अपनत्व कसरी ग्रहण गर्न सकूँला र !
मलाई राम्रोसँग थाह छ, तपाईं पत्रकार भएर पनि निर्वाचनमा एउटा निश्चित समूहका उमेद्वारहरू बोकेर ममाथि तथानाम कल्पित आरोप लगाउँदै हिँड्नुभयो । त्यो कार्यले तपाईंंको प्रतिष्ठा के भयो ? तपाईंंको पत्रकार आचारसंहिता कता पुग्यो ? एउटा पत्रकारमा हुनुपर्ने सूचना सन्तुलनको मर्यादा के भयो ? ती विषयहरू पुरानो पत्रकार भएकाले तपाईंं स्वयम्ले मनन गर्नुपर्ने हो ।
३. तपाईंंले मलाई सोध्नु भएको रहेछ, 'अगस्त १२ मा सम्पन्न १९ औं सचिवालय बैठकले बेल्जियमबाट ३ जना आईसीसी प्रतिनिधित्व रहनेगरी ३००५ जनाको शुल्क पठाउने भन्नेसमेत बूझिएकाले के ३००५ सदस्य संख्या कायम गर्न एनसीसी बेल्जियमको कुन बैठकले अनुरोध र पत्राचारसमेत गर्याे ?'
यस प्रश्नको उत्तर पनि आंशिक रूपमा मैले दिइसकेकी छु । अहिले सीता सापकोटा अध्यक्ष पदमा बसेको कति समय भयो ? तपाईंंलाई त्यसको हेक्का नहुने कुरा भएन । मैले अगाडि नै भनिसकेँ कि विशेषगरी माथिको प्रश्नको पूर्ण दायित्व लिने भनेको निवर्तमान कार्यसमिति तथा तत्कालीन निर्वाचन समितिले नै हो । त्यो निर्वाचन समिति कसले बनायो ? कार्यक्रम र बजेट विनियोजनको नीतिगत व्यवस्थापन कसले कसरी गर्याे ? सहमतिका लागि के-के प्रयासहरू भए ? अधिवेशन वा शपथअगाडिका कार्यक्रम कसरी तय गरिए ? निर्वाचन समितिमा को-को थिए ? निर्वाचन कहिले भयो र प्रमाणपत्र कहिले वितरण गरियो ? बुझबुजारथ कहिले गरियो ? यी सब घटनाबाट तपाईंं अनविज्ञ पक्कै हुनुहुन्न भन्ने लाग्छ । गहन चासो राख्नेहरूका लागि त्यसका भिडियो फुटेजहरू पनि अझै होलान् र समाचारका लिंक पनि होलान्, हेर्न सक्नुहुन्छ, आदरणीय सनतजी ।
ती सबैको विश्लेषण गरेर तपाईंं वा कुनै पत्रकारले समीक्षा लेख्नु भएको छ भने बरु मलाई लिंक पठाई दिनु होला । किनकि त्यस्ता समीक्षाले अघिल्लो कार्यकालका कमीकमजोरीहरूबाट मैले वा हाम्रो टिमले आगामी दिनमा पाठ सिक्ने मौका पाउने छौँ ।
यिनै प्रश्नहरूबाट समीक्षा बनाउन खोज्नु भएको हो भने त्यो ममाथि अन्याय मात्र हाेइन, अपराध हुने छ । कार्यकाल सम्हालेको एकाध महिनामै समीक्षाको अग्निदाहमा कसैलाई नियतवश होम्न खोज्नु तपाईंंको विवेक र मानवताको मर्मले पनि दिन्छजस्तो लाग्दैन । मान्नुस् वा नमान्नुस्, म एनआरएनए बेल्जियमको भर्खरै निर्वाचित अध्यक्ष मात्र नभएर बहिनी वा छोरी चेली र आम मानिस पनि हुँ । त्यस्तो हर्कत तपाईंंले पक्कै गर्नुहुने छैन भन्ने लाग्छ ।
४. तपाईंंले सोधेको चौथो प्रश्नको सन्दर्भ पनि मसँग सम्बन्धित होजस्तो लागेन । 'यदि एमआईस सिस्टमले माग गरेको सूचनाहरू परिविस्ठ नै नगरी केन्द्रले मौखिक आधारमा सदस्यता दिन संघको कुन विधान, नीति र कानुनले दिन्छ ?' भनेर सोध्नु भएको रहेछ । तपाईंंको यो प्रश्नको मर्म ठीकै हो भने तपाईंंले एनआरएनए केन्द्र वा अदालतमा पुगेर कानुनी उत्तर वा अदालतबाट आदेश माग गर्न पनि सक्नु हुन्छ । मैले अघि नै भनिसकेकी छु, हमेसा नियम मात्र भनेर संगठन वा घर चल्दैन, कतिपय कुराहरू व्यावहारिक अभ्यासबाट पनि समाधान गर्नुपर्ने बाध्यताहरू हुन्छन् । जस्तै, संघको विधानमा संगठनभित्र अनुशासनहिनता भयो भने के गर्ने भन्ने कुरामा कारबाहीको स्पष्ट विधि छ तर संघ नै फुट्ने वा संघ नै कोल्याप्स हुने स्थितिको विधानमा कल्पना गरिएको हुँदैन । व्यवहारमा भने यसका धेरै अनौपचारिक तरिकाहरू हुन सक्छन् । जस्तो कि, वार्ता, विवाद समाधानका उपाय र पुनः एकीकरणको अभ्यास आदि ।
अहिलेको एनआरएनएभित्र पनि करिबकरिब अवस्था यही थियो र छ । यस्तो कतिपय अवस्थामा संघभित्र व्यवस्था गरिएको नियम, ऐन र विधानले पनि काम गर्दैन । यसर्थ संगठनको संकटमा व्यवहार हाबी भएर जान्छ । संघमा जस्तै समाज वा घर परिवारमा पनि यही कुरा सत्य हो ।
आदरणीय सनतजी, दूराग्रह, पूर्वाग्रह र सदाबहार आक्रमणले समाजमा कसैको भलो गर्दैन । तपाईंंले मलाई हरेक कुरामा पारदर्शी र सचेत गराउने हदसम्म म सदैव सकारात्मक हुने छु तर द्रौपदीलाई दुशासनले नङ्ग्याउन खोजेजसरी सार्वजनिक सञ्जालमा विनाधार मलाई नंग्याउन खोज्ने प्रवृतिप्रति सदैव सचेत हुँदै प्रतिरोध गरिरहने छु ।
सबैले ख्याल गर्नु पर्ने कुरा के हो भने, आत्मस्वाभिमानको तृष्णा सबैको लगभग उस्तै उस्तै हुन्छ । सार्वजनिक प्रतिष्ठाको तृष्णा र संवेदना पनि सबैको उस्तै-उस्तै हुन्छ । त्यो कुरालाई हामीले हेक्का राख्न सक्यौं भने सबैले उस्तैगरी सम्मान प्राप्त गर्ने अवसर मिल्ने छ । आदरणीय सनत महोदय, यसरी कसैलाई पनि खेदी रहने, समाचार वा पत्र देखाएर तर्साउने, आफ्नो र अरुकोअधिकारमा समानता नदेख्ने र सूचना ब्ल्याक मेलिङ गर्ने कार्य पत्रकारिताभित्र पर्छजस्तो मलाई लाग्दैन । सूचना समुदायको एक सेवा हो । पत्रकारित मतभेदहरू चर्काएर समाज विभाजन गर्ने वा कसैलाई उचालेर कसैको विरुद्ध प्रयोग गरी आफ्नो निजि स्वार्थ सिद्ध गर्ने औजार कदापि हैन । यो मर्मलाई सामान्यतः सबैले र विशेषगरी पत्रकारहरूले हेक्का राख्नैपर्छ ।
मेरो यो पत्रबाट हजुरका प्रश्नहरूको जवाफ नपुगेजस्तो लाग्यो भने पनि हामी धेरै टाढा छैनौं । समय मिलाएर टेबुलमा बसौंला । एनआरएन अभियानमा हजुरको सकारात्मक ऊर्जाको अपेक्षा सधैं रहिरहनेछ । आफ्नो समुदायभित्र हुने तपाईंं हाम्रो मित्रता र सहकार्यले नै वैदेशिक भूमिको सानो समाजमा आशाको मैन जलिरहन पाउने अवस्था बन्न सक्छ । त्यसको तपाईंंले पक्कै ख्याल गर्नु हुनेछ भन्ने लाग्छ । तपाईंंका बाँकी दिनहरू सदैव शुभ र उज्याला रहून् ! नमस्कार !!
प्रकाशित मिति: शनिबार, भदौ १६, २०८० १०:४७