भारतको चन्द्रयान- ३ ले चन्द्रमाको सतहमा सफलतापूर्वक अवतरण गरेर इतिहास रचिसकेको छ । १४ जुलाई दिउँसो २ः३५ बजे श्रीहरिकोटाबाट उडान भरेको चन्द्रयान- ३ चालीसदिने यात्रा पूरा गरी २४ अगस्ट साँझ ६ः०४ मा चन्द्रमाको दक्षिणी ध्रुवमा उत्रेको थियो । यो ‘मून मिसनलाई सफल बनाउन भारतीय अन्तरिक्ष संगठन (इस्रो) को हरेक कदममा केही भारतीय महिलाको विशेष योगदान छ ।
आज महिलाहरू आफ्नो लगन र मिहिनेतका कारण हरेक क्षेत्रमा चम्किरहेका छन् । विज्ञान क्षेत्रमा पनि उनीहरूको दबदबा बढ्दो छ । चन्द्रयान- ३ को सफलतापछि पूरै संसारले महिलाहरू वैज्ञानिक/इन्जिनियरहरूकाे सुझबुझकाे तारिफ गरिरहेका छन् । भारतको ऐतिहासिक चन्द्रमा अभियान चन्द्रयान- ३ लाई सफल पार्न खास योगदान दिएका सात महिलाबारे जानौँ:
१. अनुराधा टीके

अनुराधा टीके इस्रोकी वरिष्ठ महिला वैज्ञानिक हुन् । उनी सन् १९८२ मा अन्तरिक्ष एजेन्सीमा आबद्ध भएकी थिइन् । इस्रोमा स्याटेलाइट प्रोजेक्ट डाइरेक्टर बन्ने उनी भारतकी पहिलो महिला थिइन् । उनको जन्म बेङ्लुरु, कर्नाटकमा भएकाे थियो । उनले बैंगलोरमा युनिभर्सिटी विश्वेश्वराय कलेज अफ इन्जिनियरिङबाट इलेक्ट्रोनिक्समा स्नातक गरेकी छन् । अनुराधाले १५ जुलाई, २०११ मा सतीश धवन अन्तरिक्ष केन्द्रबाट अन्तरिक्षमा जीएसएटी- १२ उपग्रह लन्च गर्न महत्त्वपूर्ण भूमिका निभाएकी थिइन् ।
परियोजना निर्देशकका रूपमा उनले जीएसएटी- १०, जीएसएटी- ९, जीएसएटी- १७ र जीएसएटी- १८ सञ्चार उपग्रहहरूको प्रक्षेपणको पनि निरीक्षण गरिन् । उनको विशेषता उपग्रह जाँच प्रणाली हो, जसले अन्तरिक्षमा एकपल्ट उपग्रह गयो भने त्यसको प्रदर्शन कस्तो हुन्छ भनेर उनी हेर्छिन् ।
२. मुथैया वनिता

इलेक्ट्राेनिक्स सिस्टम इन्जिनियर मुथैया वनिताले इस्रोमा स्याटेलाइट प्रोजेक्टको नेतृत्व गरेकी छन् । उनी इस्रोको चन्द्रयान- २ को पनि परियोजना निर्देशक थिइन् । चन्द्रयान- ३ को पूरै परियोजनाकी जिम्मेवार थिइन् उनी । उनको काँधमा मिसनको सुरुवातदेखि अन्तिमसम्मको जिम्मा थियो । मुथैवा वनिता ५९ वर्षकी भइन् । उनले चन्द्रयान- ३ मिसनमा इलेक्ट्रोनिक सिस्टम इन्जिनियर एवं उपनिर्देशकका रूपमा काम गरेकी छन् ।
३. मिनल रोहित

उनी भारतीय वैज्ञानिक हुन् । इस्रोमा उनी सिस्टम इन्जिनियरका रूपमा कार्यरत छिन् । उनी मिन सम्पथकाे नामले पनि चिनिन्छिन् । सन् १९९९ देखि उनी इस्रोमा काम गर्न थालेकी थिइन् ।
४. रितु करिधल

उनी रोकट वुमनको नामले प्रसिद्ध इस्रोकी वैज्ञानिक हुन् ।
५. मौमिता दत्त

मौमिता दत्त भौतिक वैज्ञानिक हुन् । उनी इस्रोमा वैज्ञानिक/इन्जिनियरका रूपमा काम गरिरहेकी छन् ।
६. नन्दिनी हरिनाथ

नन्दिनी हरिनाथ इस्रो स्याटेलाइट सेन्टरमा रकेट वैज्ञानिक हुन् । उनले आफ्नो जागिर नै इस्रोबाट सुरुवात गरेकी थिइन् । रकेट वैज्ञानिकका रूपमा कार्यरत उनी अहिले इस्रोकी उपनिर्देशक हुन् । नन्दिनीले मार्स अर्बिटल मिसन मंगल यान परियोजनामा पनि काम गरिसकेकी छन् ।
७. डा. भीआर ललितान्बिका

डा. भीआर ललितान्बिका भारतीय इन्जिनियर एवं वैज्ञानिक हुन् । उनी इस्रोमा लामो समयदेखि कार्यरत छिन् । उनको जन्म भारतको तमिलनाडुमा भएको हो ।
प्रकाशित मिति: शनिबार, भदौ १६, २०८० ०८:००