धेरैजसोलाई मानसिक स्वास्थ्यको समस्या वयष्कलाई मात्र हुन्छ भन्ने लाग्छ । तर, वयष्कमा जस्तै बालबालिका तथा किशोरकिशोरीहरूमा पनि मानसिक स्वास्थ्यका उस्तै खाले समस्या हुन सक्छन् ।
केही बालबालिकामा भने व्यवहारसम्बन्धी समस्या पनि हुने गर्छ । जसलाई ‘अपोजिसन डिफाइन डिसअर्डर’ भन्ने गरिन्छ । यसमा बालबालिकाहरू भनेको नमान्ने, अटेरी हुने, अभिभावकले भनेको उल्टो गर्ने, झुट बोल्ने, चोरी गर्नेलगायतका समस्या देखिन सक्ने बालबालिका तथा किशोरकिशोरी मनोचिकित्सक डा. उत्कर्ष कार्की बताउँछन् ।
उनी भन्छन्, ‘त्यस्तै, बालबालिकामा देखिने अर्को समस्या स्पेसिफिक लर्निङ डिसअर्डर (एसएलडी) हुने गर्छ ।’ यसमा बालबालिकालाई पठनपाठनमा मात्रै समस्या हुने गर्छ । बालबालिकाले अक्षर पढ्न सक्दैनन् । कसरी लेख्ने, कुन नम्बर ठूलो सानो भनेरसमेत नबुझ्ने हुन्छ ।
किशोरावस्थामा बढीजोखिम
विश्व स्वास्थ्य संगठनका अनुसार ५० देखि ६० प्रतिशत मानसिक समस्या १४ देखि १५ वर्षको उमेरबाट सुरु हुन्छ । डा. कार्कीका अनुसार यो उमेर समूह भनेको एमदमै संवेदनशील समूह हो ।
त्यसैले उनीहरूको समस्याको पहिचान गर्न अत्यन्तै जरुरी हुन्छ । बालबालिका तथा किशोरकिशोरीको मानसिक स्वास्थ्यको पहिचान गर्ने पहिलो व्यक्ति अभिमावक हुन् । र, किशोरकिशोरीको अवस्थामा कहिलेकाहीँ साथीभाइ पनि हुन सक्छन् ।
त्यस्तै, विश्वव्यापी रूपमा १० देखि २० प्रतिशतसम्म बालबालिकाहरू मानसिक समस्याको सिकार हुने गर्छन् । सेन्टर फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सन (सीडीसी)का अनुसार अमेरिकामा मात्रै २ देखि ८ वर्षसम्मका १७ प्रतिशत बालबालिकामा मानसिक समस्या देखिने गरेको छ ।
नेपालमा पनि नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का अनुसार ७.७ प्रतिशत किशोरकिशोरीहरू मानसिक स्वास्थ्य समस्यामा पर्ने गरेका छन् ।
त्यसैगरी, ०.६ प्रतिशत मादक पदार्थ तथा नशालु पर्दा सेवनको कुलतमा पर्ने र ०.७ प्रतिशतले आत्महत्याको प्रयास गर्ने गरेको तथ्याङ्कले देखाएको छ ।
६ वर्ष भन्दामुनिमा देखिने कस्तो समस्या हो ?
डा. कार्कीका अनुसार पूर्वबाल्य अवस्था अर्थात् ६ वर्षअगाडि नै पनि मानसिक समस्या देखिन सक्छ । र, यो उमेर समूहमा मानसिक समस्या भएमा शारीरिक लक्षणहरू पेट दुख्ने, स्कुल जान नमान्ने, चिडचिडापन देखाउने, धेरै रुने हुन्छन ।
फेरि उनीहरूमा लक्षण मात्रै भएर पनि पुग्दैन । उनीहरूको दैनिकीमा पनि परिर्वतन आउनुपर्छ, भन्नुको मतलब उनीहरूको पठनपाठन, खानपिन, निन्द्रामा असर पर्न थाल्यो । अन्तर्क्रिया गर्दा कठिनाइ भएमा मात्र मानसिक स्वास्थ्यमा समस्या भएको भनेर त्यसको उपचार सुरु गरिन्छ । वा परामर्शका लागि पुग्नु पर्छ ।
तनाव भयो भने मात्रै मानसिक समस्या हुन्छ ?
मानसिक समस्या उत्पन्न हुनलाई तनाव हुनैपर्छ भन्ने हुँदैन । धेरै मानसिक समस्याहरू जैविक कारणले गर्दा हुन्छ । वातावरणीय कारणले हुने गरेको डा. कार्की बताउँछन् ।
उनी भन्छन्, ‘बालबिालकाको वरपरको वातवरणले कस्तो असर पारिरहेको छ, त्यो महत्त्वपूर्ण हुन्छ । र, अर्को भनेको बच्चाको स्वयम्को स्वभावमा पनि भर पर्छ ।’
अभिभावकले आफ्नो बालबालिकाको कुरा सुनिदिनुपर्छ । उनीहरूलाई बुझ्ने प्रयास गर्नुपर्छ ।
प्रकाशित मिति: सोमबार, भदौ ४, २०८० १९:००