आँखा पाक्ने रोग (एक्युट कन्जंक्टिभाइटिस) को संक्रमण फैलिएपछि काठमाडौंको गोकर्णेश्वर नगरपालिकाले चार दिनका लागि विद्यालय बन्द गर्ने निर्णय गर्यो ।
साउन ३० देखि भदौ १ गतेसम्म नगरपालिकाभित्रका १७ सामुदायिक, १ सय ४३ निजी, १० वटा धार्मिक तथा वैकल्पिक विद्यालय बन्द गर्ने निर्णय गरिएको हो । नगरपालिकामा ४० प्रतिशत बालबालिकामा आँखा पाक्ने रोगको संक्रमण फैलिएको हुँदा स्कुल बन्द गर्ने निर्णय गरिएको नगर प्रमुख दीपककुमार रिसालले बताए ।
त्यस्तै, साउन २९ गतेदेखि दुई दिनका लागि भक्तपुरको मध्यपुर थिमि नगरपालिकाले विद्यालय बन्द गर्ने गर्यो । आँखा पाक्ने रोगको संक्रमण बढेपछि नगरपालिकामातहतका १८ सामुदायिक र ६३ वटा संस्थागत विद्यालय बन्द गरिएका हुन् ।
हरेक दिन विद्यार्थी र शिक्षक आँखा पाक्ने रोगबाट संक्रमित भएपछि विद्यालय बन्द गरिएको थियो । पोखरामा पनि आँखा पाक्ने रोगको संक्रमण बढ्दै गएपछि यही साउन २३ गतेदेखि तीन दिनका लागि पोखराका स्कुलहरू बन्द भए ।
बालबालिकामा संक्रमण धेरै देखिन थालेपछि विद्यालय बन्द गर्ने निर्णय गरेको पोखरा महानगरपालिकाले गरेको थियो । संक्रमित विद्यार्थीबाट अन्य विद्यार्थीमा रोग नफैलियोस् भन्नका विद्यालय बन्द गरिएको थियो । त्यस्तै, यही साउन २२ गतेदेखि तीन दिनका लागि पश्चिम नवलपरासीको सुनवल नगरपालिकाले आँखा पाक्ने रोग बढ्दै गएपछि विद्यालय बन्द गर्यो । विद्यालय जाने बालबालिकामा आँखा पाक्ने रोगको संक्रमण बढ्दै गएपछि नगरपालिकाले विद्यालय बन्द गर्ने निर्णय गरेको थियो ।
पछिल्लो केही हप्तायता देशभर आँखा पाक्ने रोग (एक्युट कन्जंक्टिभाइटिस) व्यापक रूपमा फैलिरहँदा यसको संक्रमणबाट जोगिनका लागि विभिन्न स्थानीय तहले धमाधम विद्यालय बन्द गरिरहेका छन् । विद्यालयमा धेरै भिडभाड हुने भएकाले बालबालिकामा संक्रमणको जोखिम बढी हुने गरेको जनस्वास्थ्यविद् डा. बाबुराम मरासिनी बताउँछन् । उनी भन्छन्, ‘स–साना बालबालिकाले आफ्नो ख्याल राख्न सक्दैनन् । कुनै पनि संक्रामक रोग फैलिएसँगै त्यसको जोखिममा सबैभन्दा बढी बालबालिकाहरू हुने गर्छन् ।’
आँखा पाक्ने रोगको संक्रमण बढ्दै गएपछि अहिले पालिकाहरूले आ-आफ्नो क्षेत्रका विद्यालय बन्द गर्दै आएका छन् । विद्यालय बन्द गरिए पनि प्रकोपको रूपमा फैलिरहेको यो रोगको संक्रमण अझै लामो समयसम्म फैलिन सक्ने विज्ञहरूको अनुमान छ ।
संक्रमण रोकथामका लागि स्कुल बन्द
यो एक सरुवा रोग हो । यो रोगको संक्रमण हुँदा आँखा चिलाउने, बिझाएजस्तो हुने, कचेरा लाग्नेलगायतका लक्षणहरू देखिने गर्छन् । कसैकसैलाई भने आँखा पाक्दा ज्वरोसमेत आउन सक्छ । संक्रमित व्यक्तिबाट आँसुको माध्यमबाट यो रोग अर्को व्यक्तिमा सर्ने आँखा रोग विशेषज्ञ डा. कौशल पोखरेल बताउँछन् ।
तर, सरसफाइमा ध्यान दिन सकिएन भने यसको रोकथाम हुन गाह्रो छ । यसको संक्रमण सबैभन्दा धेरै हुने ठाउँका रूपमा विद्यालयलाई लिने गरेका छन्, विज्ञहरूले । केही दिनयता यसको रोकथामका लागि केही विद्यालयहरू बन्द गरिँदै आए पनि सरकारले कुनै ठोस कदम भने चालेको छैन । स्थानीय तह तथा पालिकाले आ–आफ्नो हिसाबले विद्यालय बन्द गर्दै आएका छन् । तर, कति दिन बन्द गर्ने ? कस्तो ठाउँका विद्यालय बन्द गर्ने ? योसम्बन्धी कुनै कानुन भने बनेको छैन ।
विकसित देशहरूमा ‘विद्यालय स्वास्थ्य ऐन’ बनेका छन्, जसअनुसार विद्यार्थी बिरामी हुँदा वा रोग फैलिँदा त्यसको नियन्त्रणका लागि विद्यालय बन्द गर्ने वा सञ्चालन गरिरहने भन्ने उल्लेख गरिएको हुन्छ । तर, नेपालमा विद्यालय स्वास्थ्यसम्बन्धी कुनै पनि ऐन अहिलेसम्म बनेको छैन । न त स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नै यससम्बन्धी कुनै चासो देखाएको छ ।
त्यस्तै, संक्रमणको रोकथामका लागि विद्यालयलाई बन्द गर्नु उत्तम उपाय ठान्छन्, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारी । उनी भन्छन्, ‘एकैपटक सबै ठाउँका विद्यालयहरू बन्द गर्नुपर्छ भन्ने छैन । तर, अवस्था हेरेर पालिकाले बन्द गर्ने निर्णय गर्नु राम्रो कुरा हो । यसो हुँदा संक्रमण फैलिने सम्भाव कम भएर जान्छ ।’
आँखा पाके के गर्ने ?
अहिले तिलगंगा आँखा प्रतिष्ठानलगायत विभिन्न सरकारी तथा निजी अस्पतालहरूमा आँखा पाक्ने समस्या लिएर उपचारका लागि पुग्नेहरूको चाप बढ्दो छ । यो रोगको संक्रमण एक व्यक्तिबाट अर्कोमा आँसुको माध्यबाट सर्ने भएकाले समयमा सतर्क अपनाउनुपर्ने संक्रामक रोग विशेषज्ञ डा. प्रभात अधिकारी बताउँछन् । उनी भन्छन्, ‘यो आँसुको माध्यमबाट सर्छ । त्यस कारण हातको सरसफाइमा ध्यान दिन अत्यन्तै आवश्यक हुन्छ । अझ भनौँ, यो कोरोनाजस्तै आफूलाई ‘स्यानिटाइज’ गर्नुपर्ने हुन्छ ।’
रोग आफैँ निको नहुन सक्छ
विज्ञहरूका अनुसार रोगका लक्षण देखिएको १/२ हप्तामा क्रमिक सुधार हुँदै जान्छ । र, २/३ हप्तामा यो रोग निको हुन्छ । सामान्य आँखा मात्रै रातो भएको अवस्थामा यो रोग आफैँ निको भएर जाने आँखा रोग विशेषज्ञ डा. इन्दु ढुंगेल बताउँछन् ।
तर, आफैँ निको हुने भएका कारण आँखा पाकेको अवस्थामा सरसफाइमा ध्यान नदिँदा आँखामा अन्य समस्या निम्तिन भने सक्छ । जसका कारण आँखा पाक्नेबित्तिकै सामान्य चेकजाँचका लागि मात्रै भए पनि अस्पताल पुग्नुपर्ने डा. पोखरेल बताउँछन् । अन्यथा आँखामा अन्य संक्रमण भई थप समस्या निम्तिन सक्छ, जसले गर्दा निको हुन धेरै समय लाग्न सक्छ र केही व्यक्तिको आँखैसमेत गुम्न सक्छ ।
इन्टेरो भाइरस बढी संक्रामक
धेरै प्रकारका भाइरसले आँखा पाक्ने रोग लाग्न सक्छ । यो एडिनो भाइरसले पनि हुन सक्छ । यो भाइरसले आँखा र घाँटीमा संक्रमण गराउने गर्छ । भाइरल कन्जंक्टिभाइटिसको मुख्य कारण भाइरस संक्रमण रहेकोमा ८० प्रतिशत एडिनो भाइरसको कारणले हुने गरेको पाइएको छ ।
तर, अहिले नेपालमा देखिएको आँखा पाक्ने रोग ‘इन्टेरो भाइरस’का कारण भएको पुष्टि भएको छ । गएको साउन २२ गते राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा इन्टेरो भाइरस भएको पुष्टि भएको थियो ।
कन्जंक्टिभाइटिस भएकाहरूको नमुना परीक्षण गर्दा ८० प्रतिशत नमुनामा इन्टेरो भाइरस देखिएको प्रयोगशालाले जनाएको थियो । अहिले पत्ता लागेको इन्टेरो भाइरस एडिनो भाइरसभन्दा बढी नै संक्रामक हुने डा. अधिकारी बताउँछन् ।
किन फैलिहरेको छ, आँखा पाक्ने रोग ?
२०५० सालमा तराईका केही जिल्लाहरूमा ठूलो बाढी गएको थियो । त्यो बेला आँखा पाक्ने रोग धेरै फैलिएको थियो । त्यसपछि फेरि २०६० सालतिर काठमाडौंलगायत धेरै जिल्लाहरूमा यो रोग फैलिएको थियो ।
२०६० सालपछि बीचमा नदेखिएको यो रोग अहिले आएर देशभर फैलिइरहेको छ । धेरैजसो संक्रामक रोगको ‘प्याटर्न’ हेर्ने हो भने केही वर्षको अन्तरालमा देखिँदै आएको छ । र, यो रोग पनि त्यसरी नै देखिने गरेको विगतले देखाएको छ ।
तर, बीचमा भने भूकम्प आएका कारण मानिसको आवतजावत धेरै कम भयो । त्यसपछि कोरोना भाइरसको संक्रमण फैलिएपछि मानिसहरू लामो समयसम्म घरभित्रै बसे । जसका कारण यो रोग अहिले देखिएको डा. मरासिनी बताउँछन् । उनी भन्छन्, ‘बीचमा भूकम्प, कोरोना नआएको भए यो रोग पहिले नै देखिन सक्थ्यो ।’
कुनै ठाउँमा संक्रामक रोग फैलिनका लागि संक्रमित नभएको वा संक्रमणविरुद्धको खोप नलगाएका व्यक्तिको जनसंख्या पर्याप्त भइसकेपछि मात्रै फैलिन्छ । यो भन्नुको मतलब नयाँ बालबालिका जन्मिएको १०/१२ वर्षमा ठूलो संख्या बन्छ । र, उनीहरूमा संक्रमण हुन्छ । संक्रमित व्यक्ति एक ठाउँबाट अर्को ठाउँ सहजै पुग्न सक्ने भएका कारण उनीहरूबाट अन्य व्यक्तिलाई यो रोगले सजिलै आक्रमण गर्न सक्छ । डा. मरासिनीका अनुसार त्यसैले अबको केही वर्षमा फेरि यो रोग व्यापक रूपमा देखा पर्न सक्छ ।
कसरी फैलियो देशभर ?
केही वर्षअगाडिको मात्र कुरा गर्ने हो भने पनि अहिलेजस्तो यातायातको उपलब्धता सहज थिएन । अहिले यातायातको पहुँच राम्रो छ । संक्रमित व्यक्ति सहजै रूपमा एक ठाउँबाट अर्को ठाउँमा पुग्न सक्छन्, जसले गर्दा एक ठाउँको रोग अर्को ठाउँमा सजिलैसँग सर्न सक्ने विज्ञहरूको भनाइ छ ।
महामारी भन्न मिल्छ ?
देशभर फैलिरहेको आँखा पाक्ने रोगलाई महामारी घोषणा गर्न मिल्ने संक्रामक राेग विशेषज्ञ डा. अधिकारी बताउँछन् । उनी भन्छन्, ‘महामारीलाई दुई किसिमले चिन्ने गरिन्छ, एउटा संक्रमणका कारण ठूलो संख्यामा मृत्यु हुनु र अर्को ठूलो संख्यामा संक्रमित हुनु । अहिले ठूलो संख्यामा मृत्यु नभए पनि ठूलो संख्यामा संक्रमण देखिएको छ ।’
यसको संक्रमणबाट बालबालिका तथा वृद्धवृद्धालाई जोगाउनुपर्ने चिकित्सकको भनाइ छ । यसको संक्रमणको जोखिम सबै व्यक्तिलाई उस्तै नै छ । तर, बालबालिका र वृद्धवृद्धामा रोग प्रतिरोधात्मक क्षमता कम हुने भएका कारण उनीहरूलाई जोखिम बढी हुने गर्छ ।
के गर्दै छ, सरकार ?
आँखा पाक्ने रोगको संक्रमण रोक्नका लागि सरकार लागिरहेको बताउँछन्, डा. अधिकारी । उनी भन्छन्, ‘हामीले निगरानी राख्ने, जनचेतना फैलाउने काम गरिरहेका छौँ । साथै, यसको उपचारका लागि अस्पतालहरूसँग समन्वय पनि गरिरहेका छौँ ।’
आँखा पाक्ने रोग व्यक्तिगत सरसफाइसँग जोडिएकाले यसको रोकथाममा केही चुनौती थपिएको उनीको भनाइ छ ।
प्रकाशित मिति: मंगलबार, साउन ३०, २०८० १८:०४