वैदेशिक रोजगार विभागको अवरुद्ध भएको अनलाइन सेवा सञ्चालनमा आउन अझै तीन दिन लाग्ने भएको छ ।
विभागको अनलाइन प्रणालीको सर्भरमा समस्या आएसँगै मंगलबारदेखि सर्भर अवरुद्ध छ । सर्भरको ‘एफईआईएमएस’ प्रणालीको फाइल सर्भर माइग्रेट गर्न समय लागेकाले सर्भरमा फाइल माइग्रेट नभएसम्म सेवा अरुद्ध नै रहने विभागले बताएको हो ।
एफईआईएमएस प्रणालीमा फाइनल अपलोड नहुँदा अनलाइनबाट श्रम स्वीकृतिका लागि आवेदन दिनेहरूलाई समस्या भएको छ । तर, यता वैदेशिक रोजगार विभागका महानिर्देशक मदन दाहालले अवरुद्ध भएको अनलाइन सेवा खुल्न अझै तीन दिन लाग्ने बताए । उनले बुधबार वैदेशिक रोजगार व्यवस्थापन सम्बन्धमा पत्रकारहरूसँगको छलफल कार्यक्रममा बोल्दै सर्भरमा डाटा ट्रान्सफरको काम नसकिएकाले अनलाइन सेवा सुचारु हुन अझै तीन दिन लाग्न सक्ने बताए ।
उनले वैदेशिक रोजगारीसम्बन्धी सेवा सहज बनाउने काममा सिस्टम बाधक भएको बताए । उनले सरकार सेवा दिने काममा धेरै अगाडि गए पनि सर्भर २०६४ सालको नै भएकाले समस्या आएको बताए । उने अनलाइन सेवा ७५३ स्थानीय तहमा पुगे पनि जडित प्रविधिलाई समयानुकूल स्तरोन्नति गर्न नसकिएको बताए । उनले नयाँनयाँ प्रविधि र सर्भिसहरू दिइरहेकाले त्यहीअनुसारको प्रविधिलाई समयानुकूल स्तरोन्नति गर्न नसकिएको बताए । उनले सर्भर स्तरोन्नति गर्नका लागि वैदेशिक रोजगार बोर्डबाट १० करोड रुपैयाँ छुट्याएकाले चाँडै काम थालनी गर्ने बताए ।
यस्तै, श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव केवलप्रसाद भण्डारीले अनलाइन प्रविधिलाई स्तरोन्नति गर्न लागिएको बताए । उनले स्थानीय तह, व्यक्तिगत, एजेन्सीहरू गरी १२ सयभन्दा बढीले प्रयोग गर्ने भएकाले सर्भरले धान्न नसक्दा समस्या आएको बताए । उनले सर्भरले १२ सयभन्दा बढीले एकैपटक प्रयोग गर्ने अपेक्षा नभएको बताए ।
उनले अहिले अवरुद्ध भएको अनलाइन प्रणाली केही दिनमा नै समस्या समाधान भएर सुरु गर्ने तयारीमा मन्त्रालय लागेको बताए ।
प्रकाशित मिति: बुधबार, साउन २४, २०८० १८:०३