अवैध लागुऔषध १५७ किलो गाँजासहित ७ जनालाई पक्राउ गरी जिल्ला प्रहरी कार्यालय बाराले सोमबार सार्वजनिक गरेको छ । गोप्य सूचनाका आधारमा इलाका प्रहरी कार्यालय सिमराबाट खटिएको प्रहरी टोलीले आइतबार बेलुकी जीतपुरसिमरा उपमहानरपालिका वडा नं २२ अमलेखगंजस्थित जंगलबाट गाँजासहित उनीहरूलाई पक्राउ गरेको हो ।
गाँजा ओसार पसारमा प्रयोग भएका ३ वटा सवारी र ४ जना भारतीय नागरिकसहित ७ जनालाई पक्राउ गरिएको बारा प्रहरीले जनाएको छ । बा ११ च ४९९२ नम्बरको स्कर्पियोबाट मकवानपुर जिल्ला हेटौंडा उपमहानगरपालिका १ बस्ने ३९ वर्षका रोशन नेगीले उक्त परिमाणको गाँजा ओसारेको प्रहरीले वनाएको छ । स्कर्पियोमा ६ पोकामा १५७ केजी गाँजा फेला परेको थियो ।
यस्तै सो गाँजा लिएर आउनेमा मकवानपुर भिमफेदी गाउँपालिका वडा नं ९ का ३० वर्षीय मुकेश लामा, जीतपुरसिमरा उपमहानगरपालिका वडा नं २२ अमलेखगंजका ३३ वर्षीय बुद्ध पाख्रिन पनि पक्राउ परेका छन् ।
यसैगरी गाँजा लिन आएको बीआर ०५ जी ८६५६ नंबरको भारतीय पिकअप एक र बीआर ०५ एजेड ८९६१ नंबरको भारतीय पल्सर मोटरसाइकल एकसहित ४ जना भारतीय नागरिकसमेत पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा भारत मोतिहारीका २६ वर्षका अलि अहमद भाट, २३ वर्षका जमालुदिन खान, १८ वर्षका देव कुमार र ३५ वर्षका जागिरदिन मियाँ रहेका छन् ।पक्राउ परेकाहरूमाथि आगुऔधषसम्बन्धी मुद्दामा जिल्ला अदालत बाराबाट म्याद लिई थप अनुसन्धान भैरहेको बाराका प्रहरी उपरीक्षक होबिन्द्र बोगटीले जानकारी दिए ।
प्रकाशित मिति: सोमबार, साउन २२, २०८० १६:५२