करिब एक क्विन्टल सुन पक्राउ प्रकरणमा को को संलग्न छन् भन्ने अहिलेसम्म खुलेको छैन । पक्राउ परेका चार जनाको बयानले सुन तस्करीको मुल नाइकेसम्म पुग्न सजिलो हुन सक्छ । सुरक्षा स्रोतका अनुसार बयानमा अहिलेसम्म प्रस्ट नामहरू आइसकेका छैनन्, यद्यपि सुन तस्करीमा व्यापारी दीपक मल्होत्राको समूह सक्रिय रहेको प्रारम्भिक अनुमान गरिएको छ ।
राजस्व अनुसन्धान विभागको प्रारम्भिक अनुसन्धानले मल्होत्राको समूह सक्रिय रहेको बताइए पनि त्यसको खास विवरण भने अहिलेसम्म सार्वजनिक गरिएको छैन । स्रोतका अनुसार २०७४ मा ८८ किलो सुनको प्रकरणमा संलग्न समूह नै हुनसक्ने देखिएको छ । केही मारवाडी व्यापारीहरू पनि संलग्न देखिएको स्रोतको दाबी छ ।
त्रिभुवन अन्तर्राष्टिय विमानस्थलबाट जाँचपासपछि मंगलबार नै २ बजे ट्याक्सीमा बाहिर निकालिएको थियो । त्यसको एक घण्टापछि सिनामंगलबाट सुन बरामद भएको हो । मंगलबार साँझ नै सुन बरामद भए पनि गोप्य राखेर बुधबार दिनभरी विभागले अप्रेसन चलाएको हो । करिब सय केजी सुन रहेको अनुमान छ ।
बरामद गरिएको सय किलो सुन १ सय ६० टुक्रामा पाइएको छ । क्याथे प्यासिफिकको विमानबाट आएको थियो । विमानस्थल भन्सार कार्यालयअगाडिबाट बा.२ च २३२४ नम्बरको ट्याक्सीमा राखेर सुन लैजान लागिएको थियो । यो तस्करीमा ठूलै व्यापारीको संलग्नताको आशंका गरिएको छ ।
अहिलेसम्म रेडी ट्रेडका सञ्चालक दिलीप भुजेल, रामकुमार भुजेल, भन्सार एजेन्ट राजेन्द्र राई र ट्याक्सीचालकलाई पक्राउ गरिएको छ । उनीहरूमाथि अनुसन्धान भइरहेको छ । उनीहरूले बयानमा के भनेका छन् भन्ने अहिलेसम्म खुलेको छैन तर उनीहरूको बयानले तस्करीमा संलग्नहरूको पोल खुल्ने संकेत पनि पाइएको बताइएको छ ।
सुरक्षा स्रोतका अनुसार उनीहरूको बयानले सुन तस्करीमा पुरानै समूहको रहेको पाइएको छ । सुरक्षा स्रोतले दिएको जानकारी अनुसार रेडी ट्रेडका दिलीपको बयानका आधारमा उनका सहकर्मी रामकुमार पक्राउ परेका हुन् ।
उनीहरूबीच नाता सम्बन्ध रहेको पनि पाइएको छ । रामकुमार दिलीपका मामा भएको बताइएको छ । यी मामा भाञ्जा बुधबार पक्राउ परेका हुन् भने भन्सार एजेण्ट राई र ट्याक्सी चालक मंगलबार नै पक्राउ परेका थिए ।
प्रकाशित मिति: बिहीबार, साउन ४, २०८० ०८:१४