राप्रपा अध्यक्ष एवं निवर्तमान उपप्रधानमन्त्री, ऊर्जा मन्त्री राजेन्द्र लिङ्देन र स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल इप्पानको टोलीबीच सोमबार छलफल भएको छ । इप्पानका नवनिर्वाचित अध्यक्ष गणेश कार्की लगायतका पदाधिकारी सदस्यहरू राप्रपा केन्द्रीय कार्यालय धुम्बाराही पुगी अध्यक्ष लिङ्देनसंग ऊर्जा क्षेत्रका विविध विषयमा कुराकानी गरेका छन् ।
त्यस अवसरमा अध्यक्ष लिङ्देनले हालैको अधिवेशनबाट निर्वाचित इप्पानको नयाँ नेतृत्वलाई बधाई तथा शुभकामना दिएको राप्रपाले जनाएको छ । भेटमा नेपालमा विद्युत् उत्पादनको क्षेत्रमा रहेका समस्या र सम्भावनाका बारेमा छलफल भएको प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिएका छन् ।

ऊर्जामन्त्रीको छोटो कार्यकालमै पनि ऊर्जा क्षेत्रको समस्याको पहिचान गरी त्यसको समाधानको प्रयास सुरु गरेकोमा इप्पान टोलीले लिङ्देनलाई धन्यवाद दिएको छ । ‘विद्युत् खरिद सम्झौता स्वतन्त्र ऊर्जा उत्पादकहरूका लागि घाँटीमा अड्किएको हड्डीको रुपमा रहेको थियो, तपाईंले आफ्नो छोटो समयमा पनि सम्झौता अघि बढाएर ऊर्जा उत्पादकहरूलाई गुन लगाउनु भएको र लगानीको सुनिश्चितता प्रदान गर्नुभएको छ’, लिङ्देनलाई इप्पान टोलीले भनेको छ । त्यसअवसरमा लिङ्देनले मन्त्रालयको नेतृत्वमा इमानदारिता र इच्छाशक्ति हुने हो भने नेपालमा ऊर्जा क्षेत्रको विकासमार्फत देशको कायापलट गर्न सकिने आफ्नो विश्वास रहेको बताएका थिए ।
प्रकाशित मिति: मंगलबार, साउन २, २०८० ०९:०६