सुर्खेतकाे वीरेन्द्रनगर लगायत कर्णालीका बजारमा अहिले प्रशस्त रुपमा आँप बिक्री वितरणका लागि राखिएका छन् । यहाँको स्थानीय मौसमभन्दा पहिले नै बजारमा उपलब्ध यी आँपहरू खाँदा सजकता अपनाउनुपर्ने भने देखिन्छ ।
बजारमा ‘क्याल्सियम कार्बाइड’ हालिएका आँप खायौँ भने मानव स्वास्थ्यमा गम्भीर असर पर्ने जनस्वास्थ्यविद्हरू बताउँछन् । तर, कर्णालीको बजारमा भने भारतलगायत तेस्रो मुलुकबाट आउने यस्ता फलफूलहरू निर्वाध रुपमा भित्रिरहेका छन् ।
हालै वीरेन्द्रनगर बजारमा कर्णालीको खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयले क्याल्सियम कार्बाइड राखेको आँप नष्ट गरेको छ । वीरेन्द्रनगर क्षेत्रमा सञ्चालित तरकारी तथा फलफूलको एक थोक बिक्रेताको पसलमा अनुगमन गर्दा कार्यालयले क्याल्सियम कार्बाइड हालेको आँप फेला पारेको हो ।
‘क्याल्सियम कार्बाइड हालेको तीन क्यारेट आँप फेला पारेका थियौँ । बरामद भएका आँपहरू नष्ट गरिएको छ’, खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयका प्रमुख भेषबहादुर थापाले भने । केही समय यता खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयले बजार अनुमगनमा विशेष ध्यान दिएको छ ।
कार्यालयको अनुगमनमा थोरै परिमाणमा क्याल्सियम कार्बाइड राखिएको आँप फेला परे पनि बजार क्षेत्रमा मात्र यस्ता आँप कति वितरण भएको भन्ने विषयमा कुनै तथ्यांक छैन । खुला नाका तथा कर्णाली प्रदेशको सीमा क्षेत्रमा चेकजाँचको अभावका कारण यहाँको बजारमा अखाद्य वस्तु मिसाइएका फलफूल तथा तरकारी निर्वाध रुपमा प्रवेश पाउँछन् ।
‘हरेक वर्ष कर्णालीमा निर्वाध रुपमा अखाद्य वस्तुले प्रवेश पाउँछन् । कर्णालीका जनताले विषादी मिसिएका तरकारी र फलफूल खान बाध्य भएका छन्’, राष्ट्रिय उपभोक्ता मञ्चका कर्णाली प्रदेश अध्यक्ष आकाशतारा बयकले भने, ‘राज्यले नै कुन खाद्य वस्तु हो, कुन होइन ?, छुट्टाइदिनुपर्छ । तर त्यसका लागि संरचना नै छैन ।’
यसअघि कर्णाली भित्रिने फलफूल तथा तरकारीमा विषादी परिक्षणका लागि दुई स्थानमा प्रयोगशाला निर्माण प्रक्रिया अघि बढाइएको थियो । कर्णाली प्रदेश सरकारले आफ्नो नीति तथा कार्यक्रममा समावेश गरे पनि सो प्रक्रियाले भने अन्तिम रुप नै लिएन ।
‘प्रदेश सरकारले क्वारेन्टाइन बनाउने प्रक्रिया अघि बढाएको थियो । तर अन्त्यमा काम नै भएन । यो विषय त्यसै सेलायो’, अध्यक्ष बयक भन्छन्, ‘क्वारेन्टाइन नभएर कर्णालीमा कस्ता खाले तरकारी तथा फलफूल आउँछन् भन्ने कुनै ठोस तथ्यांक नै छैन । उपभोक्ताले आफ्ना आँखाले हेरेरै तरकारीको पहिचान गर्नुपर्ने अवस्था छ ।’
नागरिकमा यस विषयमा चेतनाको समेत अभाव छ । राज्य पक्षले नै खाद्य र अखाद्य वस्तु विषयमा नाकामा नियमित परिक्षण गर्नुपर्ने अध्यक्ष बयकको धारणा छ । यसका साथै कर्णालीमा तरकारी तथा फलफूलमा प्रयोग भएको विषादीको मात्रा परीक्षण गर्ने सरकारको दायित्व हो ।
यस विषयमा कर्णालीको प्रदेश सरकार तथा यहाँका स्थानयी निकाय गम्भीर हुनुपर्ने उनले बताए । ‘कर्णालीमा भित्रिने तरकारी तथा फलफूललाई विषादी परीक्षण गरेरै मात्र यहाँ भित्रिन दिनुपर्छ । यो नागरिक स्वास्थ्यसँग जोडिएको गम्भीर विषय हो’, उनले भने ।
स्मरण शक्तिमा असर
क्याल्सियम कार्बाइड मिसाइएका आँपको सेवन स्वास्थ्यका लागि निकै हानिकारक छ । हाल वीरेन्द्रनगरका बालबालिकाहरू उल्टी गर्ने, टाउको दुख्ने लगायतको समस्या लिएर चिकित्सक कहाँ आइरहेका पनि छन् । बालरोग विशेषज्ञ डा. नवराज केसीले भने, ‘अहिले बालबालिकाहरूमा यि लक्षण पनि देखिएका छन् । यो क्याल्सियम कार्बाइडको असरले पनि हुन सक्छ ।’
मुख्यतः यसले शरिरको नशामा असर गर्ने चिकित्सकहरूको भनाइ छ । तत्काल देखिने लक्षणबाहेक शरीरको नशामा असर गर्ने भएकाले क्याल्सियम कार्बाइडले मानिसको स्मरण शक्तिमा समेत असर गर्ने उनले बताए । ‘क्याल्सियम कार्बाइडमा आर्सनिक र फस्फोरस मिसिएको हुन्छ । शरीरमा नियमित यसले प्रवेश पायो भने यो निकै हानिकारक हो’, उनले भने । आँप तथा केरा पकाउन क्याल्सियम कार्बाइडको प्रयोग गर्दा यसले मानव स्वास्थ्यमा निकै असर गर्ने उनले बताए ।
प्रकाशित मिति: सोमबार, असार २५, २०८० १७:०३