नेपाल जनसांख्यिक तथा स्वास्थ्य सर्वेक्षण-२०२२ ले १५ देखि ४९ वर्षका महिलाको सबै गर्भ परिणाममध्ये ८० प्रतिशत मात्र जीवित जन्मिने गरेको देखाएको छ ।
सर्वेक्षणले बाँकी २० प्रतिशत खेर गएको उल्लेख गरिएको छ । त्यसमध्ये ९ प्रतिशतको आफैँ गर्भ खेर गएको थियो भने १० प्रतिशतले गर्भपतन गराएको पाइएको छ । र, १ प्रतिशतको मृत बच्चा जन्मेको थियो ।
सर्वेक्षणका अनुसार बढ्दो गर्भावस्था क्रमसँगै गर्भपतन गर्नेको संख्या बढेको देखिन्छ । पहिलो गर्भावस्थामा गर्भपतन गर्ने २ प्रतिशत थिए भने पाँचौँ वा त्योभन्दा माथिका गर्भावस्थामा २९ प्रतिशतले आफ्नै इच्छाले गर्भपतन गराएका थिए ।
त्यसो त सरकारले सुरक्षित गर्भपतनलाई कानुनी मान्यता दिएको छ ।
सुरक्षित मातृत्व तथा प्रजनन् स्वास्थ्य अधिकारसम्बन्धी ऐन, २०७५ को भाग ४ को दफा १५ ले गर्भवती महिलाको अवस्थाअनुसार १२ हप्तादेखि २८ हप्तासम्मको गर्भपतन गराउन सकिन्छ । गर्भवती महिलाको मन्जुरीमा १२ हप्तासम्म गर्भ पतन गराउन सकिन्छ ।
तर, गर्भपतन नगराएमा महिलाको ज्यानमा खतरा पुग्न सक्ने वा निजको शारीरिक, मानसिक स्वास्थ्य खराब हुनसक्ने, विकलाङ्ग बच्चा जन्मिन सक्ने भएमा चिकित्सकको सल्लाह अनुसार त्यस्ता महिलाको मञ्जुरीमा २८ हप्तासम्मको गर्भपतन गराउन पाइने व्यवस्था ऐनमा उल्लेख गरिएको छ ।
यसबाहेक जबर्जस्ती करणी वा हाडनाता करणीबाट रहन गएको गर्भ, रोग प्रतिरोधात्मक क्षमता उन्मुक्ति गर्ने जीवाणु वा त्यस्तै प्रकृतिको अन्य निको नहुने रोग लागेमा महिलाको मन्जुरीमा २८ हप्तासम्म गर्भपतन गराउन पाइने व्यवस्था ऐनमा छ ।
गर्भपतन कुन उमेरमा धेरै ?
सर्वेक्षणका अनुसार २५ देखि २९ वर्ष उमेर समूहका महिलाले सबैभन्दा धेरै १५ प्रतिशत गर्भपतन गराउने गरेका छन् । त्यस्तै, २०-२४ वर्षसम्मका १२ प्रतिशत र ३०-३४ वर्षका ११ प्रतिशत महिलाले गर्भपतन गराउने गरेको पाइएको छ । उसो त धेरै जसो नेपालीहरूको बिहे २५ वर्षदेखि २९ वर्षको आसपासमा हुने गरेको पाइन्छ । यो बेला गर्भधारणका लागि सबैभन्दा उपयुक्त पनि मानिने प्रसूति तथा स्त्री रोग विशेषज्ञ डा. कृतिपाल सुवेदी बताउँछन् ।
उनी भन्छन्, ‘गर्भधारण गर्ने बेला भनेकै यही हो । यसमा धेरै कुराहरू जोडिएका छन् । कसैको पहिलो बच्चा अस्वस्थ हुनसक्छ, जसका कारण गर्भ पतन गर्नुपर्ने हुनसक्छ ।’ त्यस्तै, कतिको नचाहँदा नचाहँदै पनि गर्भ बसेको हुनसक्छ । कतिको गर्भ रहेर बिहे भएको छ भने केही समयपछि बच्चा योजना बनाउन गर्भपतन पनि गर्न सक्छन् । र, कतिले असुरक्षित यौग सम्पर्क गर्दा गर्भ रहे पछि गर्भपतन गराइरहेका हुन सक्छन् ।
डा. सुवेदीका अनुसार ३४ वर्षपछि अधिकांशले परिवार नियोजनबारेमा सोचिरहेका हुन्छन्, जसले गर्दा यो उमेर समूहमा गर्भपतन कम हुने गर्छ ।
बच्चा जन्माउन उपयुक्त उमेर कति हो ?
त्यसैगरी, ३५-४४ वर्ष उमेरका महिलाको सबैभन्दा धेरै १७ प्रतिशत गर्भ खेर भएको पाइएको थियो भने २० वर्षभन्दा कम उमेरका महिलामा १२ प्रतिशत गर्भ खेर भएको थियो ।
प्रसूति तथा स्त्री रोग विशेषज्ञ डा. शान्ति जोशीका अनुसार ३५ वर्षमा पनि गर्भधारणका लागि धेरै समस्याहरू देखिने गरेको छ । उनी भन्छिन्, ‘३५ वर्षभन्दा माथिको उमेरका महिलाको अन्य रोगसँगै गर्भधारणका लागि धेरै कम्पिलिकेसनहरू देखिने गर्छ । र, मिस्क्यारेज (गर्भ खेर जाने) हुने सम्भावना पनि बढी रहन्छ ।’
सरकारले कानुनी रूपमा २० वर्षलाई मान्यता दिने गरेको छ । सरकारले तोकेको उमेरदेखि ३० वर्षसम्म गर्भधारणका लागि उपयुक्त उमेर मानिन्छ । २० वर्षभन्दा कम उमेरका महिला शरीरिक तथा मानसिक रूपमा स्वस्थ नहुने डा. जोशीको भनाइ छ ।
‘३० वर्षपछि गर्भ बस्नै गाह्रो हुने र बसे पनि गर्भ खेर जाने सम्भावना धेरै हुन्छ’, डा. जोशीले भनिन् । त्यस्तै सबैभन्दा कम गर्भपतन मुस्लिम समुदायमा ३ प्रतिशत र मधेशी समुदायमा ४ प्रतिशतले गराउने गरेका छन् । बाहुन-क्षेत्री समुदायमा सबैभन्दा धेरै १३ प्रतिशतले गर्भपतन गराउने गरेका छन् ।
डा. सुवेदीका अनुसार मुस्लिम समुदायमा धर्ममा गर्भपन गराउनु र परिवार नियोजनका साधनको प्रयोग गर्नु धर्म विपरीत मान्ने गरिन्छ । जसका कारण उनीहरूमा धेरै बच्चा जन्माउने चलन छ ।
त्यस्तैगरी, १५-१९ वर्षका सबैभन्दा गरिब १९ प्रतिशत महिला गर्भवती हुने गरेका छन् भने सबैभन्दा धेरै धनी ४ प्रतिशत महिला गर्भवती हुने गरेको पाइएको छ । शैक्षिक स्तर अनुसार अशिक्षित ३३ प्रतिशत, सामान्य साक्षर २० प्रतिशत र माध्यमिक तह अध्ययन गरेका ८ प्रतिशत किशोरीले गर्भधारण गरेको देखिन्छ ।
यो पनि : दबाबमा गर्भवती हुन्छन् ९ प्रतिशत महिला
प्रकाशित मिति: मंगलबार, असार १९, २०८० १४:३०