बितेका केही महिनादेखि बीबीसीले उत्तर कोरियाका तीन नागरिकसँग गाेप्य कुराकानी गरिरहेकाे छ । यी तीन जनाले अहिले उत्तर कोरियामा के भइरहेको छ भन्ने यथार्थकाे पर्दा खोलेका छन् । उत्तर कोरियाले साढे तीन वर्षअघि आफ्ना सीमानाका बाहिरी संसारका लागि बन्द गरिदिएको थियो । त्यसपछि त्यहाँका जनता भोकमरी र हैकमको कठोर कारबाही झेलिरहेका छन् । उनीहरूसँग भागेर निस्कने कुनै बाटो छैन ।
तीन उत्तर कोरियाली नागरिकको सुरक्षाका लागि उनीहरूको वास्तविक नाम खुलाइएको छैन ।
म्योङ सुक आफ्नो फोनमा व्यस्त छिन् । आफ्नो थोरै सामान बेच्न उनी कोसिस गरिरहेकी छिन् । म्योङ एक चलाख व्यापारी महिला हुन् । उनी सामान्य औषधि चाहिएकालाई लुकीछिपी बेच्छिन् । यस्तो औषधि चीनबाट तस्करी गरी उत्तर कोरिया ल्याइन्छ । औषधि बेचेर उनी मुस्किलले गुजारा चलाइरहेकी छन् ।
उनी एकपल्ट पक्राउ परिसकेकी छिन् । दोस्रोपल्ट समातिने जोखिम उनी उठाउन सक्दिनन् । फेरि पनि दबाई बेच्दै गरेको अवस्थामा समातिइन् भने उनले जेल जानुपर्नेछ । नजाने भए घुस त दिनैपर्छ । उनीसँग यत्रो पैसा पनि छैन । तर, ढोकामा जुनसुकै बेला ढकढक आवाज आउन सक्छ भनेर उनलाई डर लागिरहन्छ ।
यसरी ढोका ढकढक्याउने पुलिस नै हुन्छ भन्ने छैन । म्योङलाई त आफ्ना छिमेकीदेखि समेत डर लाग्छ । उनी अहिले कसैको भरोसा गर्न सक्ने अवस्थामा छैनन् । तर, पहिला यस्तो थिएन । उनको औषधि कारोबार मजासित चलेको थियो ।
कोभिड- १९ महामारी आएपछि यसबाट बच्न उत्तर कोरियाले २७ जनवरी २०२० देखि आफ्नो ढोका बाँकी संसारका लागि बन्द गरिदियो । बाहिरबाट मान्छेको आउजाउ मात्र होइन, अन्न र अन्य खालका सामान भित्र्याउनसमेत रोक लगाइयो ।
उत्तर कोरियाका नागरिकलाई त्यसअघि पनि आफ्नो देश छोडेर बाहिरिन दिइँदैनथ्यो । तर, अहिले उनीहरू आफ्नो गाउँ, शहरमै कैद भएका छन् । राहतकर्मी र कूटनीतिज्ञले पनि आफ्नो बोरा बिस्तारा बाँधेर उत्तर कोरिया छोडिसकेका छन् ।
सीमाका सुरक्षाकर्मीलाई उत्तर कोरियाका शासकबाट आदेश छ, 'कोही सीमानजिकै आयो भने गोली ठोकिदिनू ।' संसारको सबैभन्दा फरक देश उत्तर कोरिया सूचनाको मामिलामा ‘ब्ल्याक होल’ जस्तै बनिसकेको छ । किम जोङ उनको निरङ्कुश तानाशाही राज्यमा उत्तर कोरियाली जनताले बाहिरी संसारसँग कुनै खालको सम्पर्क गर्न सक्दैनन् ।
डेली एनके नामको संगठनले उत्तर कोरियामा आफ्नो सूत्रको एक नेटवर्क चलाउँछ । त्यसको मद्दतबाट बीबीसीले उत्तर कोरियाका तीन आमनागरिकसँग कुराकानी गरेको थियो ।
देशको सीमा बन्द हुँदा आमजिन्दगी कसरी तहसनहस भइरहेको छ भन्ने कुरा सुनाउन उनीहरू आतुर छन् । यो विषयमा अरुसँग बोलेको सरकारले थाहा पाएमा आफू मारिन सक्ने कुरा पनि उनीहरूलाई थाहा छ ।
उनीहरूको सुरक्षाका लागि पनि हामी उनीहरूले दिएका जानकारीमध्ये थोरै कुरा मात्र तपाईंलाई बताउन सक्छौँ । तैपनि ती नागरिक अनुभवबाट थाहा पाउन सकिन्छ, यतिबेला उत्तर कोरियाली आमजनता कति भयानक आपत्सँग जुधिरहेका छन् ।
म्योङ सुक
म्योङ सुक भन्छिन्, ‘खानालाई लिएर यति बिजोक हाम्रो कहिल्यै भएको थिएन ।’
उत्तर कोरियाका धेरै महिलाजस्तै म्योङ पनि आफ्नो परिवारकी कमाउ सदस्य हुन् । खासमा उत्तर कोरियामा पुरुषका लागि सरकारी जागिर अनिवार्य हुन्छ । त्यसैले श्रीमतीहरूले घर चलाउन नयाँनयाँ तरिका अपनाउँछन् ।
सीमा बन्द हुनुअघि म्योङ सुक, चीनबाट तस्करीमार्फत ती औषधिको तारताम्य मिलाउँथिन्, जसको माग उच्च छ । यसमा एन्टिबायोटिक्स पनि पर्थ्यो । उनी औषधिहरू स्थानीय बजारमा बेच्थिन् । सीमा बन्द भएपछि एकपल्ट त म्योङले आफैँ औषधिको तस्करी गर्ने कोसिस गरिन् । तर, उनी समातिइन् र अहिले उनीमाथि लगातार निगरानी भइरहेको छ ।
त्यसैले अहिले म्याेङ उत्तर कोरियामै बनेका औषधि मात्रै बेच्छिन् । तर, अचेल आफ्नै देशको औषधि भेटिन पनि मुस्किल छ । परिणामतः म्योङको आम्दानी आधा घटेको छ ।
उनका पति र बच्चा सुतेर उठ्दा उनीहरूलाई भुट्टोको नास्ता दिन्छिन् । उनको परिवारले नास्तामा सादा चामल खान सक्ने दिन त बितेर गइसकेकाे छ । म्योङका भोका छिमेकी अक्सर खाना माग्न उनको ढोका ढकढक्याउने गर्छन् । तर, म्योङले उनीहरूलाई खाली हात फर्काउनुपर्छ । उनी भन्छिन्, ‘हामी त कालको मुखमा उभिएका छौँ भन्दा हुन्छ ।’

चान हो
सीमानजिक अर्को एक नगरमा बस्ने चान हो बिहानैदेखि थाकेका छन् । निर्माण क्षेत्रका कामदार चान निकै जिद्दी स्वभावका छन् । उनी आक्रोशित भावमा भन्छन्, ‘म मानिसहरूलाई भन्न चाहन्छु- यस्ताे देशमा जन्मेकोमा मलाई निकै अफसोच छ ।’
आफ्नी पत्नीलाई पसल लगाउनमा मद्दत गर्न सकियाेस् भनेर चान बिहान सबेरै उठ्छन् । उनी पूरै जिम्मेवारीसाथ आफ्नी पत्नीको सामान पसलसम्म लगिदिन्छन् र स्टल सजाउँछन् ।
त्यसपछि उनी आफ्नो कामतिर लाग्छन् । चान होलाई राम्रोसँग थाहा छ, श्रीमतीको यो पसल चलेकैले उनी अहिलेसम्म जीवित छन् । चानले हरेक दिन ४ हजार वोन (४ डलर वा तीन पाउण्ड) कमाउँछन् । तर यति पैसाले एक किलो चामल पनि आउँदैन ।
उनको परिवारले सरकारी रासन नपाएको थुप्रै भइसकेको छ । कहिले पाएका थिए, उनीहरूले बिर्सिसकेका छन् । चानका अनुसार, जुन बजारबाट उत्तर कोरियाका मानिसले खाद्यान्न किन्छन्, अहिले त्यो बजार करिब चकमन्न छ । चामल, मकै र मसलाको मूल्यले आकाश छोएको छ । वास्तवमा उत्तर कोरियाले त्यति अन्न फलाएकै छैन, जति उसका नागरिकलाई चाहिन्छ ।
ऊ अर्को देशबाट आयात गरिएको खाद्यान्नमा निर्भर छ । तर, देशको सीमा बन्द गरी सरकारले अत्यावश्यक खाद्यान्नको आपूर्ति रोकिदिएको छ । यसका अलावा, खेती गर्नका लागि आवश्यक खाद र मेसिनरी पनि बाहिरबाट आउन बन्द भएको छ । पहिला त चानलाई कोभिडबाट मरिने हो कि भनेर डर लागेको थियो । तर, समय बित्दै जाँदा उनलाई भोकमरीबाट मरिने डरले सताउन थाल्यो, त्यो बेला जब उनले आसपासका मानिस भोकले मरेको देखे ।
उनको गाउँमा भोकले सबैभन्दा पहिला एक आमा र उनका २ बच्चाको मृत्यु भएको थियो । आमा बिमार भएकी थिइन् । काम गर्न नसक्ने अवस्थामा पुगेकी थिइन् । जबसम्म सकिन्, ती महिलाले भिख मागेर काम चलाइन् । तर, अन्त्यमा ती तीनै जना बिते ।
हालै मात्र चानका एक परिचितको छोरालाई सेनाले छुट्टी दियाे । किनकि, ऊ कुपोषणको सिकार थियो । चान होलाई आज पनि त्यो केटाको सडेको अनुहार याद छ । एक हप्तामै उसको मृत्यु भएको थियो ।
‘मेरा बच्चाले सधैँ अनपेक्षित यही नर्कमा रहनुपर्छ भन्ने सोचेर मेरो निद्रा हराउँछ,’ चान भन्छन् ।
जी येओन
जी येओन, खानपिनको सामान बेच्ने पसलमा काम गर्छिन् । यसबाट कमाउने थोरै पैसाले उनले आफ्ना पति र दुई बच्चा बचाएकी छन् । पहिला उनी आफ्नो मालिकको पसलबाट फल र तरकारी चोरेर बजारमा बेच्थिन् । उनका श्रीमान्ले आफ्ना साथीहरूबाट घुसबापत पाएकाे सिगरेट बेचेर पनि केही पैसा आउँथ्यो ।
जी येओन त्यो पैसाले चामल किन्थिन् । तर, अब पसलबाट घर निस्कने बेला कडाइका साथ तलासी हुन्छ । उनका श्रीमान्ले पनि घुस पाउन छोडे । अब कुनै पनि मान्छे केही दिन नसक्ने अवस्थामा पुगेका छन् ।
जी येओन रिसाउँदै भन्छिन्, ‘अब त उनीहरूले कमाउने सबै बाटोहरू बन्द गरिदिएका छन् ।’
उनी मानिसहरूलाई आफूले तीन छाक खाना खाने गरेको ढाडस दिन्छिन् । तर यथार्थमा उनी दिनमा एकपल्ट मात्रै खाना खान्छिन् । उनी भोक सहन सक्छिन् । तर, मान्छेका अगाडि आफू गरिब भएको कुरा खोल्न वा अभिव्यक्त गर्न चाहँदिनन् ।
जी येओन आज पनि त्यही साताको याद गरेर शिर उठाउँछिन्, जतिबेला उनले पुलजुक नामको खाेले खाएर गुजारा गर्नुपरेको थियो । सब्जी, बिरुवा र घाँस मिलाएर पुलजुक तयार गरिन्छ । पुलजुक, उत्तर कोरियाको इतिहासको सबैभन्दा खराब समयको साक्षी हो ।
सन् १९९० को दशक थियो । उत्तर कोरियामा भयङ्कर अनिकाल परेको थियो । सो अनिकालमा ३० लाख मानिस मरेका थिए । जी येओन भन्छिन्, ‘हामी दश दिनपछाडिको सोचेर जिउँदाे छौँ । म र मेरा श्रीमान् भोकै बस्यौँ भने कम्तीमा आफ्नो बच्चाको पेट त भर्न सकिन्छ भनेर साेच्छु ।’
हालै मात्र जी येओनले खाना नखाई दुई दिन कटाउनुपरेको थियो । उनी भन्छिन्, ‘सुतेकै अवस्थामा मर्छु कि, बिहान देख्न पाउँदिनँ कि जस्ताे लागेकाे थियाे ।’
आफ्ना धेरै समस्या भए पनि उनी आफूभन्दा समस्याग्रस्त मानिसको ख्याल राख्छिन् । अहिले शहरका सडकमा मागेर पेट भर्नेहरूको संख्या बढेको छ । उनी भुईंमा लम्पसार मानिसहरूको छेउमा पुगेर हेर्छिन् । धेरैजसो मरेकाहरू नै पाउँछिन् ।
एक दिन जी येओनले आफ्ना छिमेकीको ढोका ढकढक्याएर पानी दिन आग्रह गरिन् । तर, भित्रबाट कुनै जवाफ आएन । तीन दिनपछि सरकारी कर्मचारी घरभित्र छिर्दा पूरै परिवार भोकले मरिसकेको थियो । उनी भन्छिन्, ‘यो विनाश हो । सीमाबाट कुनै सामान आएको छैन । त्यसैले मानिसहरू कसरी बाँच्ने, केही सोच्न सकिरहेका छैनन् ।’
हालै मात्र येओनले कुनै मान्छेले आफ्नो घरभित्रै आत्महत्या गरेको कुरा सुनिन् । कतिपय मानिसचाहिँ मर्नका लागि चुपचाप पहाडतिर गए । उनी शहरमा यति कठोर दुःख छ भन्दै सुनाउँछिन् ‘तपाईंको नजिकैको घरमा पनि कोही मर्याे भने तपाईं आफ्नोबारेमा मात्र सोच्नुहुन्छ ।’
केही महिनादेखि मानिसहरू भोकले मरिरहेको अफवाह पनि फैलिरहेको छ । यसपछि फेरि त्यहाँ अनिकाल परेको आशंका गरिएको छ । उत्तर कोरिया मामिलाका जानकार अर्थशास्त्री पिटर वार्ड यो अवस्थालाई असाध्यै चिन्ताजनक मान्छन् । उनी भन्छन्, ‘तपाईंले मानिसहरू भोकले मरिरहेको सुन्नुसम्म ठीक छ । तर, तपाईंले छिमेकी भोकमरीको सिकार भएकाे देख्नुभयाे भने यसको मतलब अवस्था निकै गम्भीर छ । सायद अहिले सन् १९९० को दशकको अनिकालभन्दा पनि खराब स्थिति छ ।’
उत्तर कोरियाको निकै छोटो इतिहासमा अनिकाल निर्णायक साबित भएको थियो । यसबाट त्यहाँ कठोर सामाजिक तानाबाना चरमराएको थियो ।
हुकुमी शैलीले मानिसहरूको पेट भर्न असफल भएपछि मानिसहरूलाई थोरै स्वतन्त्रता दिइयो । हजारौँ मानिस देश छोडेर भागे । उनीहरू दक्षिण कोरिया, युरोप वा अमेरिकामा शरण लिएर बसे । यस क्रममा निजी बजार पनि फल्यो फूल्यो । महिलाहरूले सोयाबिनदेखि कपडा र चीनको इलेक्ट्रोनिक सामानसम्म बेच्न थाले । तब एक असंगठित अर्थव्यवस्था जन्मियो । योसँगै उत्तर कोरियाका नागरिकको एउटा पुस्ता हुर्कियो, जसले सरकारबाट पाइने सामान्य सहयोगबाट गुजारा गर्न सिकेको थियो । निभ्न लागेको साम्यवादी देशमा सानोतिनो पुँजीवाद फली फूलिरहेको थियो ।
बजार खाली भएपछि म्योङ सुकले दिनभरिको कमाइ गर्ने माध्यम निकै घटेको पाइन् । उनको चिन्ता के छ भने, हुकुमी शासनका कारण एकपल्ट फेरि निकै कमाउने उनको पिँढी पछि परेको छ ।
कर्मचारीले महामारीको बहानामा एकपल्ट फेरि आममानिसको जिन्दगीमाथि आफ्नो पेच कसिदिएको म्योङलाई लाग्छ । उनी भन्छिन्, ‘अहिले सरकारले तस्करी रोकिरहेको छ । तपाईं चीनतर्फ जाने नदीतिर जानुभयो भने उनीहरूले कडा सजाय दिन्छन् ।’
घर बनाउने काम गर्ने चान होको पर्खाइ समाप्त भइरहेको छ । यो उनको जिन्दगीको सबैभन्दा खराब समय हो । अनिकालको समय असाध्यै कष्टकर थियो । तर, त्यो बेला अहिलेजस्तो अत्याचार नरहेको उनी बताउँछन् ।
उनी भन्छन्, ‘कडा सजाय हुँदैन थियो । त्यो बेला कोही मानिस भाग्न चाहन्थे भने सरकारले खासै केही गर्न सक्दैनथ्यो । तर, आज तपाईंको एक कदम मात्रै गलत पाइयो भने गोली मारिदिन्छन् ।’
हालै मात्र चान होका साथीका छोराले सरकारी अधिकारीहरूलाई गोली हान्दै गरेको देखेका थिए । हरेकपल्ट तीनदेखि चार मानिस मारिए । उनीहरूको अपराध यति मात्र थियो कि उनीहरूले भाग्ने कोसिस गरेका थिए ।
‘म नियममा रहेँ भने पनि भोकले पक्कै मर्नेछु । आफ्नो ज्यान बचाउने कोसिस गरौँ भने गिरफ्तार हुने डर छ । अनि गद्दार घोषित गरेर मलाई मारिदिनेछन् । हामी त यहाँ फसेका छौँ, अब मृत्यु कुरिरहेका छौँ,’ उनले भने ।
सीमा बन्द हुनुअघि उत्तर कोरियाबाट हरेक वर्ष करिब १ हजार मानिस भागेर दक्षिण कोरिया पुग्थे । तर, सन् २०२० पछि असाध्यै कम मानिसले मात्र सीमा नाघेका छन् ।
ह्युमन राइट्स वाचले स्याटेलाइट तस्वीरको विश्लेषण गरी बताएअनुसार, बितेका तीन वर्षमा उत्तर कोरियाले आफ्नो सीमामा विभिन्न नयाँ पर्खाल, घेरा र निगरानी चौकी खडा गरेको छ । त्यहाँबाट भाग्न लगभग असम्भव हुन्छ ।
अहिले उत्तर कोरियाका मानिसका लागि अन्य देशका मानिससँग सम्पर्क गर्नु पनि खतरनाक हुँदै गएको देखिन्छ । पहिला सीमानजिकै रहने मानिसहरू चीनबाट तस्करीमा ल्याइएका फोन र त्यहाँको मोबाइल नेटवर्ककको मद्दतमा लुकेर फोन गर्ने गर्थे । तर, अब हरेक सार्वजनिक बैठकमा चीनमा बनेका फोन राख्नेहरूले त्यसलाई जम्मा गर्न भनिन्छ ।
हालै मात्र म्योङ सुकको एक परिचितलाई चीनका कोहीसँग कुरा गर्दागर्दै पक्राउ गरिएको थियो । यसपछि उनलाई केही वर्षका लागि जेल पठाइएको छ । बाहिरी संसारसँग सम्पर्क गर्नेहरूलाई सजाय दिएर उत्तर कोरियाले आफ्ना नागरिकलाई सजिलोसँग जिउनसमेत दिइरहेको छैन ।
नर्थ कोरियन डाटाबेस सेन्टर फर ह्युमन राइट्सकी हाना सङ्ग भन्छिन्, ‘नागरिकलाई खाना मिल्न नै कठिन भएको कुरा उत्तर कोरियाको सरकारलाई राम्रोसँग थाहा छ । कडाइको असर नागरिकमा गहिरोसँग परेको छ ।’
तर, यति कडाइका बावजुद उत्तर कोरियाले कोरोना भाइरसलाई रोक्न सकेन । महामारीको करिब अढाइ वर्षपछि, १२ मे २०२२ मा उत्तर कोरियाले कोरोना भाइरसको पहिलो संक्रमित भेटिएको पुष्टि गरेको थियो ।
यद्यपि, परीक्षण गर्ने संसाधन थिएन । यस्तोमा जसलाई ज्वरो आउँछ, उसलाई दश दिनका लागि घरमै कैद गरिन्थ्यो । परिवारको कुनै पनि सदस्यलाई घरभन्दा बाहिर पाइला राख्ने अनुमति थिएन । संक्रमण बढ्दै गएपछि पूरै शहर र टोललाई बन्द गरियो, कहिलेकाहीँ त दुई हप्ताभन्दा बढी ।
जी येओनले प्योङयाङमा देखेकी थिइन्, उनका छिमेकीको घरबाहिर दुई दिनको अन्तरालमा केही तरकारी राखिन्छ तर सीमावर्ती इलाकामा बस्नेलाई सरकारले कुनै मद्दत गर्दैन । यस्तो अवस्थामा म्योङ सुक निकै डराइन् । उनको घरमा अन्नको नाममा एक दानासम्म थिएन । त्यसैले उनी लुकीचोरी औषधि बेच्न थालिन् । म्योङलाई लाग्यो, भोकको सिकार हुनुभन्दा राम्रो जसरी हुन्छ पैसा कमाउनु । बरु भाइरसले सिकार बनायो भने अफसोच हुने छैन ।
चान होका अनुसार, केही मानिस त लकडाउनका कारण मृत्युको मुखमा पुगे । कैदमुक्त हुँदासम्म उनीहरू आधा मरेसरह भएका थिए । अन्धकार रातमा लुकीछिपी खाना खोज्न निस्कने गरेका कारण उनीहरू जीवित थिए । तर, जसले नियम तोड्ने हिम्मत गरेनन्, उनीहरू बाँचेनन् ।
चान होले भनिन्, ‘आफू भोकले मर्ने चिन्तामा मानिसहरू कराउँथे । केही दिनसम्म सरकारले आफ्नो भण्डारबाट केही चामल दियो तर त्यसले पुगेन ।’
घरेलु उपचार विधिबाटै आफ्नो ध्यान राख्न सरकारले सुझाव दिन्थ्यो । जी येओन बिरामी भएका बेला उनले एक साथीको सल्लाहमा प्याजको जरा हालेर पानी उमालेर पिइन् ।
जी येओन उनको देशमा कोभिड १९ बाट ज्येष्ठ नागरिक र बालबालिकाको मृत्यु भएको बताउँछिन् । संयुक्त राष्ट्र संघका अनुसार, उत्तर कोरियामा ४० प्रतिशत जनसंख्या कुपोषित छ । यस्तोमा बच्चा र ज्येष्ठ नागरिक बढी जोखिममा हुन्छन् ।
जी येओनलाई एक डाक्टरले भनेअनुसार, प्योङयाङमा कोरोना भाइरसबाट ५ सय ५० मध्ये एक जनाको मृत्यु भएको थियो । यो अनुपात उत्तर कोरियाको पूरै जनसंख्यामा लागू गर्दा ४५ हजारभन्दा बढी मानिसको मृत्यु भएको हुन सक्छ । उत्तर कोरियाले कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ७४ जना मात्र रहेको बताउँदै आएको छ ।
हरेक मान्छेको मृत्युको कारण फरकफरक बताइयो । कसैलाई टीबी त कसैलाई लिवर सिरोसिस ।
संक्रमण फैलिएको तीन महिनापछि अगस्ट २०२२ मा उत्तर कोरियाले महामारीलाई जितेको घोषणा गरेको थियो । त्यहाँको सरकारले भाइरसलाई पूर्णतः समाप्त गरिदिएको दाबी गरेको थियो । तर, उत्तर कोरियामा क्वारेन्टाइनका विभिन्न नियम अहिलेसम्म लागू छन् ।
जब किम जोङ उनले देशका सीमा बन्द गर्ने निर्णय गरे, तब अन्तर्राष्ट्रिय समुदाय छक्क परे । परमाणु हतियारका कारण उत्तर कोरियामाथि संसारकै धेरै प्रतिबन्ध लागेको छ ।
उत्तर कोरिया आफ्नो संसाधन कसैलाई बेच्न सक्दैन । आफ्नो काम चलाउनका लागि उसले बाहिरबाट इन्धन पनि किन्न सक्दैन । उसो भए आफ्नो सीमा बन्द गरेर थप संकटमा भासिन किन चाहन्छ उत्तर कोरिया ?
पिटर वार्ड भन्छन्, ‘भाइरसबाट मान्छे मर्ने पो हुन् कि भन्ने डर उत्तर कोरियालाई थियो । यस्ता मान्छेको मृत्यु, जसको मृत्युबाट उसलाई ठूलो हानि हुन्छ ।’ पिटरको इशारा सेना र सरकारको मुट्ठीमा रहेका अधिकारीतिर थियो । किम खानदानलाई सत्तामा राख्न यी मानिस अत्यावश्यक छन् ।
यद्यपि, उत्तर कोरियाको स्वास्थ्य सेवा संसारमै सबैभन्दा खराब छ । त्यहाँका मानिस कुपोषित छन् । उनीहरूले कोरोना भाइरसविरुद्धको खोपसमेत लगाएनन् । एनकेडीबीस्थित हाना सङ्गको भनाइमा महामारीले किम जोङ उनलाई मानिसको जिन्दगी मुट्ठीमा कस्न ठूलो मौका दियो । किनकि, उनी सधैँ आफ्ना जनतालाई संसारका बाँकी देशबाट टाढा राख्न चान्छन् ।
प्योङयाङमा त अलिअलि खाना खाएपछि जी येओन भाँडा धोएर तुरुन्तै सुत्न जान्थिन् । तर, बोर्डरको नजिक सुनसान हुँदै गएको गाउँमा म्योङ सुकले खानापछि मन बराल्न सानो मौका पहिल्याइन् । उनी आफ्नो परिवारसँग बसेर टीभी हेर्न थालिन् । टीभी त्यो ब्याटरीबाट चल्छ, जसलाई उनले दिनमा चार्ज गर्ने गर्छिन् । म्योङ सुकलाई दक्षिण कोरियाको टीभी सिरियल मन पर्छ । यद्यपि, उत्तर कोरियामा प्रतिबन्ध छ ।
सिरियल एसडी कार्डमा लुकीछिपी ल्याइन्छ । देशको सीमा बन्द भएपछि भने म्योङ सुकले कुनै नयाँ टेलिभिजन ड्रामा हेर्न पाइनन् । किनकि, अब बाहिरबाट तस्करी गरी ल्याउन असाध्यै खतरापूर्ण भइसकेको छ । डिसेम्बर २०२० मा उत्तर कोरियाले रिएक्सनरी आइडियोलोजी एण्ड कल्चर रिजेक्सन एक्ट पारित गरेको थियो । यो कानुनअन्तर्गत कसैले बाहिरबाट तस्करी गरी भिडियो ल्याएर बाँडेमा मृत्युदण्ड हुन सक्छ ।
चान हो यसलाई सबैभन्दा भयानक कानुन भन्छन् । किनकि, कोही मान्छे भिडियो हेर्दाहेर्दै समातियो भने यो कानुनअन्तर्गत उसलाई दश वर्षको कैद सजाय हुन सक्छ । उत्तर कोरियाको दस्तावेजअनुसार, यो कानुनको उद्देश्य ‘समाजलाई भ्रष्ट गर्ने सडेको विचारधारालाई रोक्नु हो ।’
कानुन बनेयता उनीहरूले. दक्षिण कोरियाका नयाँ भिडियो नाटक हेर्न पाएका छैनन् । युवा पिँढी मात्र यसलाई हेर्न साहस गर्छन् । यद्यपि, यसबाट उनीहरू बुबाआमा डराउँछन् ।
जी येओन भन्छिन्, '२२ वर्षका एक नौजवानले मानिसहरूलाई दक्षिण कोरियाको गीत र फिल्म बाँड्दै गरेको अवस्थामा समातिएपछि उसलाई दश वर्षको कडा सजाय दिइएको थियो । उसलाई दण्डित गर्नका लागि स्थानीयस्तरका नेता भेला भएका थिए, जसबाट जनतामा कडा सन्देश जाओस् ।'
रयू ह्युन लु उत्तर कोरियाका पूर्व कूटनीतिज्ञ हुन् । उनले सन् २०१९ मा आफ्नो देश छोडिदिएका थिए । उनी भन्छन्, 'यस्तो काननुको उद्देश्य के हुन्छ भने, युवापुस्ताको बफादारी हुकुमी शासनप्रति कायम रहोस्, किनकि आजका नौजवानले प्रश्न उठाउँछन् । सरकार उनीहरूका लागि के हो, किन हो भनेर सोध्छन् ।'
यो कानुन लागू गर्नका लागि किम जोङ उनको सरकारले अधिकारीहरूको दस्ता बनाएको छ । यो समूह मानिसहरूको बीचमा जान्छ । समाजवादका विरोधी भनिएकालाई यसले सजाय दिन्छ ।
एकपल्ट जी येओनलाई पनि यही कानुनअन्तर्गत सोधीखोजी गरिएको थियो । त्यसपछि उनले कसैमाथि भरोसा गर्न छोडिन् । ४० वर्षयता उत्तर कोरियाका बारेमा अध्ययन गरिरहेका प्रोफेसर आन्द्रेई लेङ्कोभ पछिल्लो अवस्था चिन्ताजनक रहेको बताउँछन् । उनी भन्छन्, 'मानिसहरूलाई एकअर्काप्रति नै भरोसा छैन भने विरोधको सुरुवात कहाँबाट हुन्छ ? यसको अर्थ के हो भने, उत्तर कोरिया आगामी कैयौँ वर्ष वा दशकसम्म यस्तै हुनेछ ।’
यसै वर्ष जनवरीमा किम जोङ उनको सरकारले एउटा नयाँ कानुन बनाएको छ, जसले दक्षिण कोरियाको भाषामा रहेको शब्द प्रयोग गर्न आफ्ना नागरिकलाई रोक लगाएको छ । गम्भीर घटनामा यो कानुन तोड्नेलाई मृत्युदण्डको सजाय हुन सक्छ ।
जी येओन भन्छिन्, ‘देशमा यति कानुन छन् कि हामीलाई सम्झन पनि मुस्किल छ । कहिलेकाहीँ मानिसहरू समातिँदा सोध्ने गर्छन्, आफूले कुन कानुन तोडेको हो भनेर । त्यो बेला अधिकारीले भन्छन्, यो थाहा पाउन जरुरी छ, यति मात्रै सम्झिनु, तिमीले कानुन तोडेका छौ ।’
लिबर्टी इन नर्थ कोरिया संगठनले उत्तर कोरियाबाट भाग्नेहरूलाई सहयोग गर्छ । संस्थासँग जोडिएका सोकिल पार्क भन्छन्, ‘यस्तो लाग्छ, उत्तर कोरियामा आज जति दमन र तानाशाही छ, यस्तो पहिला थिएन । यो बेला उत्तर कोरियाली नागरिक असाध्यै बिजोक अवस्थामा छन् ।’
उत्तर कोरियाले आफ्नो सीमा खोल्ने तयारी गरिरहेको चर्चा पनि छ । धेरैजसो नागरिकलाई कोरोनाविरुद्धको खोप लगाइएको छ । उत्तर कोरियाको कस्टम विभागले चीनबाट अन्न र आँटा ल्याउन अनुमति दिएको छ । सायद यसको उद्देश्य खानाको अभावबाट मुक्ति खोज्नु र अनिकालबाट बच्नु हुन सक्छ ।
यद्यपि, सीमा खुलेपछि पनि उत्तर कोरियाली जनतालाई पहिलाजस्तै स्वतन्त्रता पाउँछन् भन्ने अपेक्षा पनि धेरै गर्न सकिँदैन । उत्तर कोरियामाथि नजर राख्ने संगठन एनके प्रो चलाउने चाड ओकेरोल भन्छन्, ‘नागरिकलाई नियन्त्रित गर्ने कदम अझै कडा हुनेछ । यसबाट हाम्रा लागि त्यहाँको अवस्था बुझ्न अझै कठिन हुने छ । तर, अफसोच त के भने उत्तर कोरियाका मानिसले बाहिरी संसारमा के भइरहेको छ भन्ने कुरा थाहा पाउन अझै मुस्किल हुनेछ ।
सानोतिनो सही, यस्तो संकेत पनि देखिँदै छ, यी प्रतिबन्धको असर किम जोङ उनकै तानाशाही हुकुमी सत्तामा पनि पर्नेछ । चान हो भन्छन्, ‘अब जनताले सरकारी टीभीमा चलिरहेको प्रोपोगाण्डामा विश्वास गर्न छोडेका छन् । सरकारले हामीलाई आफ्नो आमाको काखमा रहेको बताउँछ । तर कुन आमा होलिन्, जसले आफ्नो बच्चालाई भोकमरीबाट जोगिन चीन जाने कोसिस गरेकै आधारमा मारिदिन्छिन् ?
उता म्योङ सुक भन्छिन्, ‘महामारीभन्दा पहिले किम जोङ उनको बारेमा मानिसहरू राम्रो सोच्थे । आज हरेक व्यक्ति असन्तुष्ट छन् ।’ जी येओन ती दिन सम्झिन्छिन्, जतिबेला २०१८ मा किम जोङ उन र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच भेट भएको थियो । उनले आफ्नो परमाणु अतियार नष्ट गर्ने कुराकानीका लागि भेटेका थिए । अब अर्को देशसम्म यात्रा गर्न पाइने ठानेर आफू निकै खुसी भएको जी येओन बताउँछिन् । तर, भेटवार्ता असफल भयो । त्यसयता किम जोङ उनले देशको पैसाजति परमाणु हतियार बनाउनमै लगाइरहेका छन् । सन् २०२२ मा उत्तर कोरियाले कीर्तिमानी संख्यामा मिसाइल परीक्षण गरेको थियो ।
जी येओन भन्छिन्, ‘हामीमाथि धोका भयो । सीमाबन्दीले हाम्रो जिन्दगीलाई २० वर्षपछाडि धेकेलिदिएको छ । हतियारमा पैसा खर्च गरेको जनताले रुचाएका छैनन् । यसबाट पुस्तौँपुस्ताको जिन्दगी कष्टकर तरिकाले बितिरहेको छ ।’
यसो हुनुमा अन्तर्राष्ट्रिय समुदायलाई जिम्मेवार मान्छन् चान हो । उनी भन्छन्, ‘यस्तो लाग्छ कि संयुक्त राष्ट्र संघ र अमेरिका दुवै मन्दबुद्धि हुन् । किमले आफ्नो परमाणु हतियार नष्ट गर्दैनन् भन्ने कुरा प्रस्ट हुँदा पनि उसैसँग वार्ता गर्नुको के अर्थ ?’
अमेरिकाले उनको देशमा आक्रमण गरोस् भन्ने चाहन्छन् चान हो । ‘युद्ध होस् र हाम्रा सबै नेता मारिऊन् । अनि मात्र हामी बाँच्न सक्छौँ,’ उनी भन्छन् । वार वा पार एकैपल्टमा फैसला हुनुपर्ने उनी बताउँछन् र उनको कुरामा सहमति जनाउँछिन् म्योङ सुक ।
जी येओनको चाहना भने निकै साधारण छ । मानिसहरू भोकले नमर्ने समाजमा रहने उनको इच्छा छ । जहाँ उनका छिमेकी जिउँदा हुन् र मानिसहरूले एकअर्काको जासुसी गर्नु नपरोस् । उनी दिनमा तीनपल्ट चामलको खाना खान चाहन्छिन् ।
जब उनीसँग हाम्रो अन्तिम कुराकानी भएको थियो, त्यो बेला उनीसँग आफ्नो बच्चालाई खुवाउन पर्याप्त खाना थिएन । हामीले आफ्नो यो खोजलाई उत्तर कोरियाको सरकार सामुन्ने पनि राख्यौँ । लण्डनमा उत्तर कोरियाको दूतावासका एक प्रतिनिधिले भने, ‘तपाईंले जुन जानकारी जुटाउनुभयो, त्यो पूर्णतः सही होइन । यो उत्तर कोरियाको सरकारका विरोधीहरूको फर्जी बयानमा आधारित छ । उत्तर कोरियाले सधैँ आफ्ना जनताको हितलाई प्राथमिकता दिँदै आएको छ । यहाँसम्म कि, अप्ठेरो समयमा पनि हामी जनताको भलाइका लागि बलियोसँग डट्छौँ ।’
ती प्रतिनिधिले अप्ठेरो र चुनौतीमाझ पनि जनताको भलाइ आफूहरूको सबैभन्दा ठूलो प्राथमिकता भएको बताए ।
प्रकाशित मिति: आइतबार, असार १७, २०८० १८:४०