अरुण गोविल र दीपिका चिखलियाको तस्वीर मन्दिर अनि धेरैका घरमा पुजिन्छ । तर, यी कुनै भगवान् होइनन्, कलाकार मात्र हुन् । तीन दशकअघि रामानन्द सागरको ‘रामायण’मा राम-सीताको भूमिका निभाएका अरुण र दीपिकालाई दर्शकले भगवान्कै दर्जामा राख्छन् ।
रामायणको पौराणिक कथा र पात्रलाई उनीहरूले मान्छेका आस्था र भावनासँग जतनले उनेका थिए । कालजयी अभिनयकै कारण उनीहरू आजसम्म सम्मानसहितको स्मरणमा छन् । अहिले पनि हाम्रा हजुरबुवा, हजुरआमालाई युट्युबमा रामायण लगाएर हेर्न दियो भने पात्र देख्नासाथ दण्डवत् गर्नुहुन्छ । यो रामायण र पात्र अभिनयको प्रभाव हो ।
तीन दशकपछि रामायणकै कथा दाबी गर्दै आएको ‘आदिपुरुष’ फिल्मले पौराणिक पात्रबारे मजाक मात्र गरेको छैन, भ्रम पनि फैलाएको छ । नयाँ पुस्तालाई लक्षित गरी निर्माण गरिएको यो फिल्मले रामायण त बुझाउँदैन नै, जे भन्छ यसअघि हामीले पढेको वा सुनेकोभन्दा विपरीत भन्छ ।
०००
जसरी मलाई ‘आदिपुरुष’ फिल्म नलागेर ‘भिडियो गेम’ लाग्यो, त्यसरी नै यो लेखलाई ‘फिल्म समीक्षा’ नमानेर ‘ब्लग’ मानिदिनुहोला । तीन घण्टा बर्बाद भएको झोकमा एउटा दर्शकका रूपमा आफूलाई लागेको कुरा मात्रै लेखेको हुँ ।
फिल्मको सुरुमै एक/डेढ मिनेटको डिस्क्लेमर देखायो । पछि पो थाहा भयो, कथा बर्बाद पारेकाले सुरुमै माफी मागेको रहेछ ।
बाहुबली स्टार प्रभास अभिनित फिल्मले ‘सीतालाई भारतकी छोरी’ भनेर भ्रम फैलाएकोमा दुःख लागेको थियो । तर, फिल्म हेरिसकेपछि यस्तो दुःख कम भयो । किनभने, यो फिल्म ‘रामायण’ को कथामा आधारित लाग्दै लाग्दैन । पैसा छाप्नका लागि मात्रै रामायणको नाम बेचेको होजस्तो लाग्यो । अर्कै सीतालाई भारतको भनेको हुनुपर्छ भनेर चित्त बुझाइयो । कथा र पात्रलाई हल्का तरिकाले देखाएकाले सीता भारतकी छोरी हुन् भन्ने भ्रममा कोही पनि पर्ने छैन । यो फिल्मकै आधारमा कसैले सीतालाई भारतकी छोरी मान्ने छैन ।
धेरैअघि टीभीमा हेरेको रामायणको अपेक्षा राखेर हल छिरियो भने निराश भएर फर्किनुको विकल्प छैन । फिल्ममा त्रेतायुग खोजियो भने निराश भइन्छ । ओम राउतले नयाँ फेसनमा पस्किने नाममा रामायण गाथाको सत्यानाश गरिदिएका छन् । सीता, राम र हनुमानलाई पुज्ने त्यत्रो जनसंख्या भएको भारतमा यो फिल्म कसरी चल्न दिएका छन्, छक्क परिरहेको छु । ऐतिहासिक, पौराणिक विषयमा फिल्मलाई यस्तो मजाक गर्ने वा भ्रम फैलाउन छुट हुँदैन । आस्था र विश्वाससँग जोडिएको कथा, पात्रमाथि यो तहको मजाक अनुयायीलाई कसरी पचेको होला ।
'आदिपुरुष'मा मुकुट लगाएको रावण कतै देखाइएको छैन । मुकुटबिनाको पनि राजा हुन्छ ? रावणलाई उल्टै आधुनिक हेयर स्टाइलमा देखाइएको छ । १० टाउकोवाला सिन त कम्ता हाँसउठ्दो लाग्दैन ।
म रामायणको ज्ञाता होइन तर हिन्दु समाजमा हुर्केकाले रामायण पढेँ, यसमाथि बनेका टेलिफिल्म हेरेँ, प्रवचनहरू सुनेँ । त्यसैका आधारमा भन्छु, 'आदिपुरुष'ले रामायणलाई अच्कल्टो मात्रै पस्किएको छैन, पात्रहरूलाई गलत तरिको देखाएको पनि छ ।
फिल्मका संवाद लेखक मनोज मुन्तासिरले एक अन्तर्वार्तामा काइते तर्क गरेछन्, सन् १९०३/०४ तिर भारतमातहत नै थियो नेपाल भनेर । उनको झुट र अल्पज्ञान अन्तर्वार्तामा भन्दा ज्यादा फिल्ममा देखिन्छ । फिल्मको सबैभन्दा झुर पक्षमा भनेकै संवाद हो ।
कपडा तेरे बाप का
तेल तेरे बाप कि
आग् तेरे बाप कि
तो जलेगी भी तेरे बाप कि !
यो डायलग आदिपुरुषमा हनुमानले रावणपुत्रलाई भनेको संवाद हो । अनि यो संवाद तयार गर्ने अरु कोही नभएर उनै मनोज मुन्तासिर हुन् । लाग्दैन त, कुनै मसलेदार साउथ इन्डियन फिल्मको जस्तो ?
अर्को एक संवादमा हनुमानले कसैलाई भनिरहेका छन्, ‘अब तेरी जलेगी, अब मे तेरा लङ्का लगाउंगा ।’ के भनेको यो ? लापर्वाहीले सीमा नाघेको छ यो फिल्ममा ।
रावणपुत्रले रामलाई तँतँ गरेर हकारेको संवाद छ । ‘यहाँबाट भाग्’ जस्तो डायलग रामका लागि प्रयोग गरिएको छ । यस्तो हेरे/सुनेर नयाँ पुस्ताले राम र हनुमानलाई कुन रूपमा लेलान् ?
रामायणबारे सोच्दा हाम्रो दिमागमा असल र खराब चरित्रसँगै हरियो जंगल, नदीनाला, सुन्दर जनावर आउँछ । आदिपुरुषमा सबै कार्टुनै कार्टुन देखाइएको छ । कतै रामायणको स्वाद आए त मर्नु ! धेरै दृश्य त मलाई पब्जी र आइस एण्ड फायरजस्तो लागिरहेको थियो ।
अन्तिममा असत्यमाथि सत्यको जित हुने सन्देश रामायणले दिन्छ । तर, आदिपुरुषले जित देखाउन पौने घण्टा कार्टुनहरूबीचको पट्यारलाग्दो लडाइँ देखाइदिन्छ । पहिलो हाफसम्म त जसोतसो टिकिएला, दोस्रो हाफ अन्तिमसम्म हेर्नुस्, कुनै यातनाभन्दा कम हुने छैन ।
यो फिल्म तीन घण्टाको छ । जसमा मुस्किलले ९/१० जनाजति मान्छे देखिन्छन् । ती पनि थोरै समयका लागि । अरु सबै समय कार्टुनलाई देखाइएको छ । झुर भीएफएक्स त हामीले टिजरमै देखेका हौँ । फिल्ममा त्योभन्दा धेरै झेल्नुपर्छ ।
यो फिल्मका निर्माताले नयाँ पुस्तालाई टार्गेट गरेको दाबी गरेका छन् । तर, फिल्म सीतालाई रावणले हरण गरेको दृश्यबाट सुरु हुन्छ । पृष्ठभूमि केही देखाइएको छैन । यो फिल्म अनि पात्रसित कोही कनेक्ट हुन सक्दैन । सीता र रामबीचको प्रेमलाई मात्र देखाउन खोजिएको हो भने त्योसमेत गतिलोसँग देखाइएको छैन ।
टिजर सार्वजनिक हुँदा नै धेरैले प्रभासलाई रामको भूमिका पटक्कै नसुहाएको बताएका थिए । लागेको थियो, फिल्म दमदार छ कि ! तर छैन ।
यसअघि रामायण हेरेकाले राम भन्नासाथै मनमनै एकखालको चित्र बनाउँछन्, मुस्कानसहितको अनुहार, क्रोधहीन, शान्त अनि मर्यादा पुरुष । फिल्मभरि रामको रूपमा जुँगावाला प्रभासको रिसाहा अनुहार देखाइएको छ । उनलाई रावण बनाएको भए सुहाउँथ्यो होला ! बाहुबली सम्झेर प्रभासलाई हेर्न हल पुगियो भने धोका पक्का छ । फिल्ममा प्रभास अतिथि कलाकारजस्ता छन् । धेरैजसो कार्टुनको बोलवाला छ ।
राम वनवास जानुको कारण, जानुअघि राजा दशरथ र राम, माता कैकेयी र भरतबीचको संवाद फिल्ममा छैन । जुन देखाएको भए कम्तीमा इमोसन भन्ने चीजको महसुस हुन्थ्यो कि !
रामायणको रावण कुनै टोले गुण्डा वा गाउँको सामन्ती मुखिया थिएन । ऊ सुनैसुनको लंका देशको राजा थियो । तीन लोकको विजयी थियो । हामीले पढेको, सुनेको रावण गलत थियो तर ऊ विद्वान् थियो, संसारकै धनी, पराक्रमी थियो । यस्तो पौराणिक पात्रलाई ‘आदिपुरुष’मा एउटै कालो भेषमा उतारेर तीन घण्टा घुमाइएको छ । मुकुट लगाएको रावण कतै देखाइएको छैन । मुकुटबिनाको पनि राजा हुन्छ ? रावणलाई उल्टै आधुनिक हेयर स्टाइलमा देखाइएको छ । १० टाउकोवाला सिन त कम्ता हाँसउठ्दो लाग्दैन । योभन्दा राम्रो इफेक्ट त केटाकेटीले हेर्ने काटुनहरूमा हुन्छ ।
फिल्म नै यस्तो झुर भएपछि मनोज मुन्तासिरको अभिव्यक्तिको चर्चामा खासै शब्द खर्च गर्न मन लागेन । हेपाहा मानसिकताले ग्रसित उनको प्रवृत्ति फिल्मका संवादहरूमै झल्किन्छ । खासमा 'आदिपुरुष'ले दर्शकको अपमान गरेको छ । यस्तो फिल्म फेरि कहिल्यै हेर्न नपरोस् ।
रामसित युद्ध लड्ने विषयमा विभीषण र कुम्भकर्णसित रावणको संवाद रामायणको महत्त्वपूर्णमध्ये एक मानिन्छ । विभीषणले रामसित नलड्न रावणलाई बारम्बार सम्झाउँछन् । तर, अहंकारी रावणले नमानेर उल्टै राज्यबाट निस्केर जान भनेपछि मात्र विभीषण रामको शरणमा गएका हुन्छन् । तर, फिल्ममा त रामका सेनामाझ विभीषण टुप्लुक्क आफैँ पुगेको देखाइएको छ । कुम्भकर्णले रावणलाई भनेको चर्चित संवाद थियो, सही गलत जे भए पनि मेरो दाइ भएकाले म तिम्रो पक्षमा उभिन्छु ।’ यस्तो कुनै पनि संवाद फिल्मबाट गायब छ ।
फिल्मले पौराणिक कथालाई तोडमरोड गरेको छ । हामीले पढेको रामायणमा रावणले सीतालाई हरेर लैजाँदै गरेको कुरा जटायु (गिद्ध पात्र) ले मात्र देखेको हुन्छ । उसले सीतालाई छुटाउन रावणसँग युद्ध पनि गर्छ । तर, रावणले आफ्नो तरबारले पखेटा काटिदिएपछि जटायु एउटा जंगलमा खस्छ । त्यही बेला सीता खोज्दै आइपुगेका रामलाई उसले सुनाउँछ– सीता हर्ने अरु कोही नभएर रावण हो ।
तर, फिल्मले राम र लक्ष्मणलाई रावणको पछिपछि दौडेको देखाउँछ । पखेटा काटिएर खसेको जटायुसित रामको कुनै संवाद छैन । राम र लक्ष्मण मिलेर जटायुलाई तुरुन्तै जलाइहाल्छन् ।
रामायणमा अशोक बाटिकालाई असाध्यै सुन्दर बगैँचाका रूपमा बयान गरिएको छ । तर, आदिपुरुषमा कालो देखाइएको छ । सुनैसुनको लंकालाई पनि कोइलाजस्तो कालो देखाइएको छ ।
युद्धका क्रममा मूर्च्छित लक्ष्मणलाई जगाउन सञ्जीवनी बुटी चाहिन्छ । रामायण कथाले भनेअनुसार, हनुमानले बुटी नचिनेकाले पूरै गोवर्द्धन पर्वत उठाएर लगेका हुन्छन् । सञ्जीवनी पिलाएपछि लक्ष्मण जागेको पुराणहरूमा उल्लेख छ । तर, यो फिल्ममा हनुमानजीले सञ्जीवनी अरुलाई पनि चाहिन सक्छ भनेर पहाड नै लगेको देखाइएको छ । अनि लक्ष्मणका लागि लगेको औषधि अहिलेको फ्याक्ट्रीमा जसरी बनाइएको छ, पिलाउनुको साटो शरीरमा दलेर जगाइएको छ ।
यो फिल्म बनाउन ५ अर्ब रुपैयाँ खर्च भएको दाबी गरिएको छ । तर, एकै ठाउँमा, ७/८ जना कलाकार राखेर बनाइएको फिल्मका लागि यत्रो खर्च भयो भनेर पत्याउन मुस्किल पर्छ ।
फिल्म नै यस्तो झुर भएपछि मनोज मुन्तासिरको अभिव्यक्तिको चर्चामा खासै शब्द खर्च गर्न मन लागेन । हेपाहा मानसिकताले ग्रसित उनको प्रवृत्ति फिल्मका संवादहरूमै झल्किन्छ । खासमा 'आदिपुरुष'ले दर्शकको अपमान गरेको छ– चेतनास्तरलाई हल्का रूपमा लिएर । यस्तो फिल्म फेरि कहिल्यै हेर्न नपरोस् ।
प्रकाशित मिति: आइतबार, असार ३, २०८० १६:५०