नेपालमा ‘बेली डान्सर’का रूपमा राम्रै नाम कमाएकी थिइन्, सिन्धुपाल्चोककी बिनु शाक्यले । इन्स्टाग्राममा १ लाख १३ हजार फलोअर्स कमाइसकेकी उनले सिनेमा, म्युजिक भिडियो र स्टेजहरूमा काम पाइरहेकी थिइन् । उनै बिनुको अर्को अवतारकाे खुलासा भएको छ । उनी वैदेशिक ठगीमा संलग्न रहेको पाइएको छ ।
२८ वर्षे बिनुले आफ्ना प्रेमी २२ वर्षे सुजन आचार्यसँग मिलेर दर्जनौँ युवालाई ठगेको खुलासा भएको हो । अदालती विवाह गरेर सुजन र बिनु सँगै बस्दै आएका छन् । शिलापत्रलाई प्राप्त कागजातमा वैदेशिक रोजगारीका लागि भन्दै बिनुले युवाहरूबाट लाखाैँ रकम असुलेको देखिन्छ । श्रम नै नगरी सिधै सिङ्गापुर लगेर मासिक ४ लाख रुपैयाँसम्मको जागिर दिने आश्वासनमा सुजन र बिनुले करोडौँ रुपैयाँ असुलेर बिल्लीबाठ पारिदिएको पीडितहरूले बताएका छन् । बिनु र सुजनको जालमा परेका कतिपयले आर्थिक तनावका कारण मानसिक समस्यामा पुग्न लागेको बताएका छन् । खाको र बसेकाे खर्च तिर्न नसकेपछि केही युवा कोटेश्वरको एक होटलमा तीन महिनाभन्दा लामो समयदेखि बन्धकजस्तै भएका छन् ।
जग्गा बेचेर, महँगो ब्याजमा ऋण काढेर, परिवारको गहना धितो राखेर युवाहरूले बुझाएको पैसा बिनु र सुजनले सिङ्गापुरमा मोजमस्ती गरेर उडाइदिएका छन् ।
२२ वर्षे सुजन आचार्य र २८ वर्षीया बिनु शाक्य ।दुवै जनाविरुद्ध प्रहरीले पक्राउ पुर्जी जारी गरिसकेको छ । उनीहरू सिङ्गापुरमै लुकेर बसेको अनुमान छ । उनीहरू दुवैले झण्डै साढे ४ करोड रुपैयाँ ठगेको पीडितहरूको भनाइ छ ।
पीडितहरूका अनुसार, उदयपुर बोक्सेका सुजन र सिन्धुपाल्चोक लामसाँघुकी बिनुले सिङ्गापुरमा आफ्नै होटल, रेस्टुरेन्टहरू रहेको र त्यसमा जागिरको आश्वासन दिएर प्रतिव्यक्ति ५ लाखदेखि साढे १९ लाख रुपैयाँसम्म ठगी गरेका हुन् । केही दिनअघि काठमाडाैंमा पत्रकार सम्मेलन गरी पीडितहरूले बिनु र सुजनबाट ३९ जना ठगिएकाे बताएका थिए ।
बैंक स्टेटमेन्ट हेर्दा अधिकांश पीडितले बिनुको खातामा पैसा पठाएको देखिन्छ । ‘सुजनले आफू अकुत सम्पत्तिको मालिक भएकाले आफ्नो खाता सरकारी निगरानीमा रहेको' भन्दै बिनुको बैंक खातामा पैसा हाल्न लगाएको काभ्रेका जगमोहन बस्नेतले बताए । उनले आफ्नो र भान्जाको गरी ७ लाख रुपैयाँ बिनुको नबिल बैंकको खातामा हालिदिएका छन् ।

‘पैसा लिए तर काम दिएनन् । हुन्छ हुन्छ भनेर वर्ष दिन झुलाइदिए । पछि पो थाहा भयो, सिङ्गापुरमा उनीहरूको केही छैन,’ बस्नेतले भने ।
जगमोहनजस्तै अधिकांश पीडितले बिनुकै खातामा रकम हालिदिएका छन् । अछामका अनिल अधिकारीले पटक-पटक गरेर ३१ लाख २० हजार रुपैयाँ बिनु शाक्यको खातामा पठाएको देखिन्छ । ‘२८ लाख रुपैयाँ मैले मोबाइल बैंकिङमार्फत पठाएको हुँ । ३ लाख २० हजार रुपैयाँ बैंकमा गएर फारम भरेर बिनुकै खातामा पठाइदिएँ । ३ लाख रुपैयाँ क्यास बिनुको काकाकाे छाेरामार्फत दिएको हुँ, एक वर्ष भइसक्याे न जागिर पाइयाे, न त पैसा नै फिर्ता पाइयाे, हामी त नराम्ररी ठगिएछाैँ,' अनिलले शिलापत्रसित भने ।
‘ट्राभल हिस्ट्री’ बनाउन भन्दै सुजन र बिनुले केही युवालाई सिङ्गापुरसमेत लगेका थिए । अनिलसहित अछामका प्रेम साउद, कैलालीका पारस अधिकारी, प्रकाश बीके र आयुष बीके, झापाका मनोज उप्रेती, अभिषेक श्रेष्ठ, महेन्द्र तामाङ र अमित तामाङ, मोरङका ऋषिमान तामाङ, महेन्द्र तामाङ, काठमाडौंका सुमन दङ्गाल, बाँकेका अनिल भण्डारी, दाङका गोविन्द पुरीलगायत सिङ्गापुर पुगेर फर्केका थिए ।
कैलालीका पारसले भने, ‘सिङ्गापुरमा एक/दुईपल्ट हामीलाई ५०/१०० डलर दिन आएका बेला बिनुसँग भेट भएको थियो, बिनुले नसघाएको भए सुजनको ठगी धन्दाले यति ठूलो रूप लिनै सक्दैनथ्याे ।’ उनले आफ्नो र आफूमार्फत सम्पर्कमा पुगेका भान्जा र साथीको गरी २८ लाख रकम बिनुकाे बैंंक खातामा हालेका थिए ।
को हुन् बिनु ?
बलेफी गाउँपालिका, लामसाँघुकी बिनु बेली डान्सर भनेर चिनिन्छिन् । स्नातकसम्म अध्ययन गरेकी उनले युनिसेफमा समेत काम गरेकी थिइन् । उनी कार्यक्रमहरू उद्घोषण पनि गर्थिन् । टिकटकमा उनका १२ लाख फलोअर्स छन् । इन्स्टाग्राममा उनलाई १ लाख १३ हजारले फलो गरेका छन् ।
विगततिर फर्किंदा उनी अर्को एउटा ठगी प्रकरणको सन्दर्भसँग पनि गाँसिन्छिन् ।

२०७१ सालतिर एउटा ठूलै ठगीको घटना बाहिर आएको थियो । काठमाडौंको पुरानो बानेश्वरमा अफिस रहेको इनोभेटिभ नेपाल नामक कन्सल्टेन्सीले आकर्षक ब्याजको प्रलोभन दिई सयौँ मान्छेको करोडौँ रकम झ्वाम पारेकाे थियाे । बिनु सोही इनोभेटिभ नेपालमा एकाउन्टेन्ट थिइन् । यद्यपि, त्यो ठगी प्रकरणमा बिनुको भूमिका थियो, थिएन भन्ने खुलेको छैन । त्यो संस्थाले सयौँ व्यक्तिलाई बिल्लीबाठ पारिदिएको थियो ।
धनुषाका कपिल बर्मा इनोभेटिभ नेपालका प्रमुख थिए र बिनु उनकी विश्वासपात्र मानिन्थिन् । ‘त्यो बेला बिनु २० वर्षकी थिइन्, निकै चतुर लाग्थिन् । कपिल सरले भनेपछि कहिलेकाहीँ म उनलाई बालाजु पुलपारि डेरामा छोड्न जान्थेँ’, कपिलका तत्कालीन चालक ललितपुरका समिर श्रेष्ठले भने । उनका अनुसार, बिनुले त्यो संस्थामा डेढ वर्षजति काम गरेकी थिइन् । ‘आठ वर्षपछि अस्ति खै कति जना हाे, केटाहरूलाई बिनुले ठगेको सुनेँ’, श्रेष्ठले भने ।
विदेश डुल्ने बिनु
महिना दिनअघि कमेडियन सन्दीप क्षेत्रीले बिनुसँग कुराकानी गरेको भिडियो आफ्नो युट्युब च्यानलमा अपलोड गरेका छन् । अन्तर्वार्तामा उनले सोधेका छन्, ‘बिनु, तिमी त पर्फर्मेन्सका लागि धेरै देश पनि गएकी छौ, हैन ?’
बिनुले आफू व्यक्तिगत कामले विदेश जाने गरेको बताएकी छन् ।
‘हामी त पर्सनल कामका लागि विदेश जानै पाइएन । बिनु शाक्य, तिमी त खतरा रैछ्यौ, पर्सनल कामका लागि विदेश गइदिने है ?’, सन्दीपले आश्चर्य प्रकट गरेका छन् ।
बिनुको आम्दानी स्रोत र पारिवारिक पृष्ठभूमि हेर्दा ६/६ महिनामा व्यक्तिगत कामले विदेश घुम्ने कुरा पत्याउन मुस्किल पर्छ । उनी आफैँले भनेकी छन्, 'कलाकारका रूपमा नेपालबाहिर कतै जान पाएकी छैन ।' जागिरको सिलसिलामा पनि उनी विदेश गएकी होइनन् । सामान्य आय भएको परिवारकी बिनुलाई व्यक्तिगत कामले विदेश डुल्न पारिवारिक पृष्ठभूमिले पनि सघाउँदैन ।
पछिल्लो समय उनी सिङ्गापुरमै बस्दै आएकी छन् । खासमा बिनु ठगी आरोपी सुजनसँगै सिङ्गापुर, थाइल्यान्डलगायत देशमा जाने गरेकी थिइन् । ‘अनि सुजनले आफ्नै पैसाले कहिल्यै केही गरेका छैनन्, सबै ठगेको पैसा हो’, सुजनबाट ठगिएका बाँकेका अनिल भण्डारीले भने ।
गत शनिबार पीडितहरू बिनुले देखाएको उनकी दिदीको भक्तपुरस्थित घर पुगे । त्यहाँ बिनुकी दिदी र भाइ सुरज शाक्य थिए । पीडित र बिनुकाे परिवारबीच विवाद भएपछि केही बेरमा त्यहाँ प्रहरी आयो । र, दुवै पक्षलाई छलफल गराउन पुरानो ठिमी चौकी लग्यो ।
छलफलमा बिनुका भाइ सुरजले दिदीले दुई/तीन महिनामा पैसा लिएर आउने बताएकाे जानकारी गराए । दिदीले नदिए उनकाे खातामा आएको रकम आफूले फिर्ता गर्ने वचन सुरजले दिएकाे पीडित अनिल अधिकारीले बताए । प्रहरीसमेतकाे उपस्थितिमा भएकाे छलफलमा सुरजले होटलमा बन्धक बनेका पीडितहरूको उद्धार गरिदिने आश्वासन पनि दिएकाे अनिलकाे भनाइ छ ।
‘आफ्नो खाता सुजनलाई प्रयोग गर्न दिएर मेरी दिदीले गल्ती गरेकै हो । उसलाई समेत सुजनले ब्ल्याकमेल गरिरहेको छ, सुजन र बिनुले दुई/तीन महिनामा पैसा लिएर आउँछौँ भनेका छन्, उनीहरू आएनन् भने दिदीको खातामा जति रकम आएको छ, म फिर्ता गर्छु’, सुरजको भनाइ उद्धृत गर्दै अनिलले भने ।
प्रकाशित मिति: मंगलबार, जेठ ३०, २०८० १९:५५