मधेश प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८०/८१ का लागि ल्याउने बजेटको तयारी अन्तिम चरणमा पुर्याएको छ ।
प्रदेश सरकारले असार १ गते बजेट सार्वजनिक गर्नुपर्ने संवैधानिक व्यवस्थाअनुसार मधेश सरकारले बजेट ल्याउने तयारी गरेको हो ।
प्रदेश सरकार अर्थ मन्त्रालयका सचिव प्रेमप्रसाद भट्टराईका अनुसार सरकारले आगामी आर्थिक वर्षका लागि करिब ३५ अर्ब बराबरको बजेट ल्याउने तयारी गरेको छ ।
'चालु वर्षभन्दा आगामी वर्षमा बजेटको आकार घटेर आउने भएको छ, 'उनले भने, 'प्रदेश सरकारको २० अर्ब र संघीय सरकारले दिने १५ अर्ब गरी करिब ३५ अर्बको बजेट ल्याउने तयारी भइरहेको छ ।' सबै मन्त्रालयलाई पठाइएको बजेट सिलिङ र मार्गनिर्देशनको आधारमा बजेट निर्माण हुने उनको भनाइ छ ।
'अधिकांश मन्त्रालयको बजेट निर्माण अन्तिम चरणमा छ । संघ सरकारले आगामी आर्थिक वर्षका लागि २२ प्रतिशत बजेट कटौती गरी पठाएकाले बजेटको आकार घट्ने भएको हो,' अर्थसचिव भट्टराईले भने । चालु आर्थिक वर्षमा मधेश प्रदेश सरकारले ४६ अर्ब ९१ करोड ४८ लाख ८८ हजारको बजेट ल्याएको थियो ।
गत मंगलबार प्रदेश प्रमुख हरिशंकर मिश्रले प्रदेशसभामा एक सय ८९ बुँदे नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए । सरकारको नीति तथा कार्यक्रममाथि तीन दिन संसदमा छलफल भएर गत शुक्रबार सर्वसम्मतिले पारित भइसकेको छ । रासस
प्रकाशित मिति: सोमबार, जेठ २९, २०८० १२:१४