अर्थमन्त्री डा. प्रकाशशरण महतले जलाशययुक्त दुधकोसी जलविद्युत् परियोजनामा लगानी प्रक्रिया अगाडि बढाउन एसियाली विकास बैंकलाई आग्रह गरेका छन् । बिहीबार अर्थ मन्त्रालयमा माथिल्लो अरुण जलविद्युत् परियोजनामा लगानी जुटाउन विभिन्न दातृ निकायका प्रतिनिधिरुसँग छलफल भएको थियो ।
सो छलफलका क्रममा अर्थमन्त्री महतले जलाशययुक्त दुधकोसी जलविद्युत् परियोजनामा पनि लगानी प्रक्रिया अगाडि बढाउन एसियाली विकास बैंकलाई आग्रह गरे । उनले सुक्खायाममा भारतबाट बिजुली आयात गर्नुपरेको उल्लेख गर्दै नेपाललाई धेरै जलाशययुक्त योजनाहरू आवश्यक रहेको उल्लेख गरे । उनले नेपालमा पेट्रोलियम पदार्थको उपभोग घटाउने क्रममा रहेको भन्दै यहाँ जलविद्युत्को ठूलो सम्भावना रहेको बताए ।
उनले भने, ‘अहिले पनि नेपालले सुक्खायाममा भारतबाट बिजुली आयात गर्नुपरेको छ । त्यसैले हामीलाई धेरै जलाशययुक्त योजना आवश्यक छ । प्रधानमन्त्रीको भारत भ्रमणले पनि नेपालमा उत्पादित १० हजार मेगावाट बजार सुनिश्चित गरेको छ । हामी आन्तरिक बजार बढाउँदै पेट्रोलियम पदार्थको उपभोग घटाउने क्रममा रहेका छौँ । त्यसैले नेपालमा जलविद्युत्को ठूलो सम्भावना छ ।’
उनले विश्व बैंकले माथिल्लो अरुणमा लगानी गर्न खोज्नु सकारात्मक भएको बताए । उनले भने, ‘हामीले अरुण तेस्रोमा नै विश्व बैंकको लगानी चाहेका थियौँ । विश्व बैंक पनि लगानी गर्न तयार थियो, तर विविध कारणले अरुण तेस्रोमा लगानी हुन सकेन । अहिले माथिल्लो अरुणमा लगानीको विषयमा छलफल हुँदा निकै खुसी लागेको छ ।’
१०६१ मेगावाट क्षमताको अर्ध जलाशययुक्त माथिल्लो अरुण जलविद्युत् परियोजनामा लगानी जुटाउन अर्थ मन्त्रालयमा विश्व बैंक, एसियाली विकास बैंक, जाइका, जर्मनी सरकार, ओपेक फण्ड, युरोपियन युनियन, युरोपियन लगानी बैंक, कुबेद फण्ड, जर्मन, नर्वे, साउदी विकास फण्डलगायतका दातृ निकायका प्रतिनिधिहरूसँग छलफल भएको थियो ।
प्रकाशित मिति: बिहीबार, जेठ २५, २०८० १९:१५