कृषि तथा पशुपन्छी विकासमन्त्री डा. बेदुराम भुसालले राष्ट्रिय दूग्ध विकास बोर्ड खारेज हुने कुराले आत्तिहाल्नुपर्ने अवस्था नरहेको बताएका छन् ।
बिहीबार राष्ट्रिय दूग्ध विकास बोर्डले विश्व दूध दिवसका अवसरमा ललितपुरमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री भुसालले दूग्ध विकास बोर्ड खारेज गर्ने सरकारको तयारी भए पनि बोर्डलाई पुनःसंरचना गर्ने वा बोर्ड नै कायम राखेर मन्त्रालयले काम गर्ने विषयमा छलफल गरेर टुंग्याउने बताएका हुन् । उनले बोर्ड खारेजका विषयमा सरोकारवाला निकायहरूबीच छलफल र सहकार्यमार्फत् नै प्रक्रिया अगाडि बढाउने बताए ।
मन्त्री भुसालले सार्वजनिक संस्थानहरूले संस्था व्यवस्थापन खर्चका लागि आफ्नै स्रोत बनाउनुपर्ने आवश्यकता भएपनि त्यस्तो नभएको कारण खारेज गर्नुपर्ने अवस्था आएको बताए । उनले संस्थान भएको औचित्य पुष्टि गर्न नसक्दा निर्णय गर्ने निकाय र सिफारिस गर्नेहरूले खारेज गर्न लागेको बताए ।
मन्त्री भुसालले अहिलेको आवश्यकता बोर्ड खारेजी नै हो वा पुनःसंरचनामा जाने तथा अन्य उपाय खोज्ने विषयमा छलफल गर्न सकिने भन्दै खारेज हुने कुराले आत्तिहाल्नुपर्ने अवस्था नभएको बताए । उनले बोर्ड खारेज भए पनि कर्मचारी व्यवस्थापन गर्ने सरकारको दायित्व भएको बताए ।
मन्त्री भुसालले सरकार कर्मचारी व्यवस्थापन गर्ने दायित्वबाट पन्छिन नपाउने बताए । उनले कर्मचारी व्यवस्थापन गर्ने स्वाभाविक रूपमा सरकारको दायित्व भए पनि यो समस्याको समाधान गर्ने उपाय मन्त्रालय खोज्ने बताए ।
प्रकाशित मिति: बिहीबार, जेठ १८, २०८० १६:५६