एमाले सचिव योगेश भट्टराईले नीति तथा कार्यक्रममा जनयुद्ध शब्द प्रयोग गरेको भन्दै आपत्ति जनाएपछि नेकपा माओवादी केन्द्रका सांसद देवेन्द्र पौडेललेले संसदबाटै जवाफ दिएका छन् ।
सोमबार प्रतिनिधिसभा बैठकमा नीति तथा कार्यक्रममाथिको छलफलमा सहभागी हुँदै सांसद पौडेलले जनताले लडेको युद्धलाई जनयुद्ध भनिने भएकाले डिक्सनरी पल्टाएर हेर्न एमाले सचिव भट्टराईलाई सुझाव दिएका हुन् ।
सचिव भट्टराईलाई जवाफ दिँदै सांसद पौडेलले भने, ‘एकपटक शब्दकोष पल्टाएर हेर्नुस्, त्यो माछा वा भालु युद्ध थियो ? जंगलका अर्नाहरू लडेका थिए ? कि रुख, ढुंगाहरू लडेका थिए ? मानिसले लडेको युद्धलाई कि जनआन्दोलन भनिन्छ कि जनयुद्ध भनिन्छ । मानिसका छोराहरू लडेको युद्ध थियो ।’
सांसद पौडेलले १२ बुँदे सहमतिमा एमालेले गरेको हस्ताक्षर नबिर्सिन पनि आग्रह गरे । भट्टराईलाई प्रश्न गर्दै उनले भने, 'बृहत् शान्ति सम्झौता र तपाईंका नेताले १२ बुँदे सहमतिमा हस्ताक्षर गरेको बिर्सिनुभयो । हामी त्यही श्रृंखलामा छौँ ।’
नीति तथा कार्यक्रममाथिको छलफलमा सहभागी हुँदै एमाले सचिव भट्टराईले नीति तथा कार्यक्रमको पहिलो नम्बरमै जनयुद्ध शब्द प्रयोग गरिएको भन्दै आपत्ति जनाएका थिए । उनले भनेका थिए- 'विगतमा भएका आन्दोलनको व्याख्या गर्दै जनयुद्ध भन्ने शब्द प्रयोग भएको छ । यो विषयमा संविधानसभामा प्रयाप्त बहस भएको थियो । २०७२ सालको संविधानपछि नेपालका कुनै पनि दस्तावेजमा यो शब्द उल्लेख भएको छैन । पहिलोपटक प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डजीले यो शब्द राष्ट्रपतिको मुखबाट बाचन गर्न लगाउनु भएको छ । कांग्रेसले यसलाई स्वीकार्छ भने कांग्रेसकै इन्ड अफ द हिस्टी हो ।'
यो पनि पढ्नुस् :
जनयुद्ध शब्द प्रयोग भएकोप्रति एमालेको आपत्ति, योगेशले भने- कांग्रेसले स्वीकारेको हो भने इतिहासले बाइबाइ गर्न सक्छ
प्रकाशित मिति: सोमबार, जेठ ८, २०८० १३:२५